Best Online News From Nepal

नेपालीहरु नेपालमा बाहिरबाट आएका हुन् त ?

प्रवीण अधिकारी ,

 

17309147_610672935805879_680713324045525268_n

आजको विश्वमा नेपाल त्यस्तो देश हो जुन देशका विद्वानहरु निर्लज्ज भएर आफुलाई यस देशको मूलवाशी होइन , बाहिरबाट आएर बसेको बताउँदा गर्व महशुश गर्ने गर्दछन | तिनको ज्ञान चक्षुले यस देशका प्रत्येक नागरिकका पूर्खाहरु सबै विदेशबाट आई यस देशमा बसोवास गर्न थालेको देख्दछ | उनीहरुको विचारमा म प्रवीण अधिकारी लगायत आर्य नस्लको हुँ र मेरा पुर्खा बाहिरबाट यहाँ आई बसोवास गरेका हुन , अझ विषेश गरी तिनको नेत्रले मेरा पुर्खालाई वनारसबाट आई यहाँ बसोबास गर्न थालेको देख्दछ | एक छिनलाई तिनको कुरो स्विकारौँ | त्यो बनारस भन्ने ठाउँमा मेरा पुर्खा काहाँबाट आएर बसोबास गर्न थालेका थिए ? यसको सटीक र चित्तबुझ्दो जवाफ दिन सक्ने विद्वानहरु नेपालमा भेटिन्नन | तर , हामी बाहिरबाट आएका हौँ भनेर कराउने राजनितिज्ञ र विद्वानहरु दिनानुदिन बढदो देखिन्छन | एकछिन हामी नेपालमा बाहिरबाट आएर वसोवास गर्न थालेको स्विकारौ तर त्यो बाहिर भन्ने ठाउँ अहिले कतातिर पर्छ ? नेपालमा भितृने तिनीहरुको पहिलो पुस्ताहरु को को थियो ? नेपालमा आइ पुग्नु अघि कुन कुन ठाउँमा बसोवास गरेका थिए ? हाम्रो प्रथम पुस्ता को हो भनेर बताउने आज सम्म कोही जन्मिएका देखिन्नन तर कहाँबाट आएको थियौं भन्नेकुराको जवाफ खोज्दा विभिन्न भनाईहरु राख्ने गरिएको छ – त्यस मध्ये कसैको मतमा हामी सेंट्रल एशियाबाट आएका हौ , कसैको मतमा साइबेरियाबाट, कसैको मतमा मंगोलियाबाट , कसैको मतमा ट्रांसकोकेशियाबाट अनि कसै कसैको मतमा हामी स्कांडेनेवियाबाट आएको भन्ने भनाइ छ | होला , तर , हाम्रा मूल पुर्खाहरु यस पृथ्वीको कुन भूभागको निवासी थिए त भनेर सोध्यौं भने ती विद्वानहरुको जवाफ एक नासको हुने गर्दैन ,किनभने झूठ कुरो काट्टेपनि मिल्दैन | त्यसकारण यो कुरो मेरोलागि मात्र होइन यो विषय बस्तुमा प्रवेश गर्न चाहाने प्रत्येक शुभ चिन्तकहरुकोलागि आजको दिनमा मिथक मात्र हुन पुगेको छ | यसको अर्थ के हो भने हाम्रा कुनैपनि विद्वानहरु आर्यहरु बाहिरबाट आएका हुन भनेर किटानी साथ प्रमाणित गर्न सक्ने अवस्थामा छैनन | त्यसकारण यी विद्वानहरुले यो कुरो प्रष्ट्याउन साइबेरियादेखि स्कांडेनेवियन देश सम्मको कथा हाल्ने गरेका छन र हरेक विद्वानहरु आ आफ्नो मन गढन्ते तर्क राखेर आर्यहरुको प्राचिन ठेगाना बताउने असफल प्रयाश गरिरहेका छन |

कसरी पह्लायो पश्चिममा आर्य सिद्धान्त
========================
हामी प्रत्येक नेपालीहरुको हकमा यो आर्य सिद्धान्त , हाम्रो प्राचिनता संग गाँसिएको कुरो हो | हाम्रा विश्‍वविद्यालयका ठूल ठूला इतिहांसकारहरु , विषयवस्तुका विशेषज्ञहरु प्रश्न गर्नेका मनसाय र प्रश्‍नहरु माथि पर्दा हाल्ने असफल प्रयाश गरि मेकाले थ्योरी भट्याई रहेछन | उनिहरुले भन्ने गरेको ” आर्य आक्रमण सिद्धांत” को उत्पत्ति ईसाई-यहूदी वैचारिक लड़ाईबाट हुर्किएको थियो | यो सिद्धांत १८ औं शताब्दीमा यूरोपमा ख़ासगरी जर्मनीतिर उम्रिएको थियो | त्यतिखेरका इतिहाँसकार र दार्शनिकहरुले यूरोपीय सभ्यतालाई जुडाइज्म (यहूदी) बाट मुक्त गर्न यो सिद्धांत प्रतिपादन गरेका थिए | उनीहरुले यूरोपीय सभ्यतालाई जुडाइज्म संग गाँसेर हेर्न नचाहंदा यो सिद्धान्त प्रतिपादित हुन पुगेको थियो | त्यसकारण यूरोपमा बसेका मान्छेहरु यहूदी बाहुल्य क्षेत्रबाट आएको नभई चीन र भारतबाट यता आएको भनेर बताउंदै तिनको नाउँ उनीहरुले आर्य राख्न पुगे | तिनको मन गढन्ते कथा भित्र एशिया महादेशको पहाड़मा बस्ने गोरो छाला भएका कबीलाई मान्छेहरुलाई आर्य भनाइएको थियो | उनीहरु यूरोपमा पुगी बस्न थाल्दा उनिहरुले ईसाई धर्म अपनाए | त्यतिखेरदेखि यूरोपमा आर्यहरुलाई एउटा बेग्लै नस्लको जाति बनाएर हेर्न थालियो र यसैलाई सर्वमान्य सिद्धान्त बनाउन अनेकौं हथकन्डा अपनाउदै लगियो | आर्य आक्रमण सिद्धान्तको उत्पत्तिको मूल कुरो यूरोपकोलागि तयार पारिएको थियो तर हाम्रा विद्वानहरुले नेपालका नागरिकहरुको इतिहास खोतल्न तिनका अनुयायी बनि त्यै सिद्धान्त नेपालमापनि लागू गर्न पुगे | जसका कारण सन् १८६६ देखि आर्य आक्रमण सिद्धान्तलाइ यो सम्पूर्ण क्षेत्रको अविभाज्य र अकाट्य इतिहास मान्न थालियो |

आर्यलाई विदेशी भनिनुको भित्री रहश्य
==========================
नेपाल ,भारत , बंगलादेश ,पाकिस्तान आदि ठाउँका मानिसहरुमा आफ्नो एक क्षत्र राज्य कायम गर्न अंग्रेजहरुले यहाँका मूल वासिन्दाहरु पश्चिमबाट आएको एउटै प्रजातिका मान्छे भएको कथा हाल्दै आए | यही सिद्धान्तको भ्रम छर्दै अंग्रेजहरु नेपाल छोडि यस क्षेत्रका सबै देशमा शासन गर्न पुगेका पनि हुन | यस क्षेत्रमा अंग्रेजको अकन्ट शासन व्यवस्था चलाउन यही सिद्धान्त जरुरी ठानी अङ्गीकार गरिएको थियो | यस्तै मनगढ़ंते सिद्धान्त रचिंदा उहिले हिटलर जस्तो तानाशाह जन्मिएको कुरो सबैले बिर्सदै गएका हुन | यूरोपमा आधुनिक विज्ञानको निकै विकास हुनपुगि नस्लीय सिद्धान्तलाई अविश्‍वसनीय र अवैज्ञानिक घोषित गरि सकिएको अवस्था थियो | त्यैपनि पछिल्लो ७० बर्षदेखि आर्य नस्लमा धेरै अनुसन्धानहरु गर्दै रहे | विभिन्न देशका विद्वानहरुले यस्ता अनुसन्धानहरुमा भाग लिए र अखिरमा सबैले एक स्वरमा भने आर्य नस्ल होइन यो कल्पित ,मिथक र झूठको पोको मात्र हो | यहाँ भ्रम छर्न गरिएको झूठको खेति हो | तरपनि आजका वामपंथी इतिहासकारहरुले यो अप्रमाणित नस्ल सिद्धान्तलाई नेपालमा समातेर बसिरहेको देखिन्छ |

वैज्ञानिक अनुसन्धानको रिपोर्ट
====================
६ बर्ष अघि ,९ डिसम्बर , २०११ मा सेलुलर मोलिकुलर बायोलोजीका वैज्ञानिकहरुले धेरै महादेशका मान्छेहरुमाथि गरिएको रिसर्च प्रकाशित गराएका थिए | त्यस रिसर्चमा एक देशको मात्र नभै विभिन्न देशका वैज्ञानिकहरु सहभागी थिए र त्यो रिसर्चको काम ३ बर्ष सम्म लगातार गरिएको थियो | त्यतिखेर धेरै समूहका मान्छेहरुको डीएनए नमूना परिक्षण गरिंदा के भेटियो भने यस भूभागमा बस्ने प्रत्येकको डीएनए संरचना एक खालको छ र यसमा बाहिरबाट आएका कुनै अर्को प्रजाति या नस्लको सम्मिश्रण छैन | झन्डै विगत ६० हज़ार बर्षको इतिहाँसमा यस भूभागमा कुनै पनि बाहिरी जिन मिसिएको देखिएन | त्यस रिसर्चको रिपोर्टले भनेको छ आर्यहरुको – आक्रमण कथा एक मिथक मात्र हो | त्यो रिसर्चको रिपोर्ट ईक्षुक साथीहरुले ” अमेरिकन जनरल अफ ह्यूमन जेनेटिक्समा ९ दिसंबर, २०११ मा प्रकाशित भएको हेर्न सक्नु हुन्छ ( http://www.cell.com/ajhg/issue?pii=S0002-9297(11)X0012-5) | यो एक प्रामाणिक रिसर्च हो | यसमा विज्ञानको आजसम्मको सबैभन्दा उच्च कोटिको प्रविधि प्रयोग गरिएको थियो | यो रिपोर्ट छापिएको ६ बर्ष भयो | तर यतिका बर्ष पछि पनि सबै चुप चाप बसेका छन , आखिर किन त? बास्तविकता के हो भने यो भूभागको इतिहास तुच्छ राजनीतिबाट ज्यादै ग्रसित हुन पुगेको छ | इतिहांसकार र इतिहासका किताबहरुले साँचो कुरो बताउनुको साटो साँचो कुरो लुकाउने प्रयाश मात्र गरिरहेका छन |

नेपाली विद्वानहरुको जिद्धि
=================
नेपालका विद्वानहरु भन्छन आर्यहरुको आगमनको समयमा आर्यहरु घुमन्ते कबीलाई जातिका मान्छे थिए | इनिहरु संग रथ थियो | तिनले आफु संग भएका वेद पनि साथमै लिएर आए | तिनीहरु संग आफ्नू भाषा ,लिपि सबै कुरो थियो | यसको मतलव ती पढ़े लेखेका विद्वानहरु थिए | यो यस संसारको सबैभन्दा अनौठो उदाहरण हो जुन इतिहास अंग्रेजहरुले लेखेका थिए त्यसैको उनीहरुले अनुशरण गरेर देखाए | सन् १८६६ मा भारतमा बसेर आर्यहरुको आफ्नो मनोचित कथा लेख्ने काम मेक्समूलरले गरे | उसले आर्य भनेको नस्ल हो भनेर बताए | त्यो मेक्स मूलर जर्मनीको नागरिक थियो | त्यो जमानामा दस हज़ार डलर तलव पाउने गरि उसलाई ईस्ट इंडिया कंपनीले ‎आफूअनुकुल वेद बुझ्न र त्यसको अनुवाद गर्न नियुक्त गरेको थियो | त्यस पछाडि अंग्रेजहरुको एउटै उद्द्येश्य थियो , आफ्नो अविच्छिन्न अकन्ट शासन व्यवस्था यस क्षेत्रमा चलाउने | यहांको समाजको विषयमा भएका सम्पूर्ण जानकारीहरु तोड्मोड् गरेर प्रस्तुत् गरि भ्रम् छर्ने | यै दीर्ध उद्देश्य प्रप्तिकोलागि लर्ड ‪‎मेकालेले मेक्स मूलरलाई यो काम सुम्पिएको थियो | त्यो मेकालेले यस भूभागमा त्यस्तो बर्ग तयार गर्ने जिम्मेवारी बोकेको थियो जसले अंग्रेजहरुद्वारा शासन गर्ने समाजसंग एक किसिमको सम्पर्क स्थापित गरेर शासन ब्यवस्था लम्ब्याउन अनेक हथकंडा अपनाउन सकोस र अंग्रेजको हाली मुहालीको बन्दोवस्त मिलाउन सकोस | तत्कालिन भारतीय बौद्धिक बर्गहरु रंग र रगतले भारतीय भएतापनि आचार-विचार, नैतिकता र बुद्धिले अंग्रेजको पक्का सेवक् हुन पुगेका थिए | यो एजेंडा प्राप्तगर्न उनिहरुले भारतमा त्यसै अनुकुलको शिक्षा नीति लागू गराए , यहाँका सम्पूर्ण धार्मिक ग्रंथहरुको विश्‍लेषण आफु अनुकुल गराई अर्थ लाउने काम गरे | हाम्रो इतिहाँस त्यसै अनुरुप लेख्न लाए | भारतको स्वतन्त्रता अघि र पछि भारतमा जति शासक वर्ग देखिए ति सबैले लर्ड मेकालेको सपना साकार पार्न आफ्नो उर्जा मात्र थपे | त्यतिखेरका धेरै इतिहासकारहरुलेपनि यसै प्रबृत्तिलाई बल दिए | कुरो त्यहि सकिएन , नेपालका प्रथम र अहिलेका पुस्ताहरुपनि धेरै जसो त्यहि दीक्षित हुन पुगेका हुन | फलत: त्यै रोगले नेपाल भित्रपनि त्यै तर्क छिर्यो | अंग्रेजहरुको प्रत्येक कागज पत्र संगालेर राख्ने बानीका कारण वेदलाई सम्झिन र सम्झाउन तिनले गरेको अनुवाद गर्नु पछाडिको सत्यकथा आजको दिनमापनि हामीहरुले पढ्न पाएका हौँ र तिनको विरोध गर्न सकेका छौं |

म्याक्स मूलर र मेकालेको चर्तिकला
=======================
‪म्याक्स मूलरले वेद अनुवाद गरिसकेपछि एउटा चिट्ठी लेख्यो जसमा यस भूभागको धर्म जुठ्याउने काम सकिएको उद्घोष गरिएको थियो | अब ईसाई मिशनरीले आफ्नो काम गर्न सकेन भने त्यो दोष कस्को हुने भनेर उसले चिट्ठी लेख्यो | हाम्रो सनातनी ईतिहांस ख्रीष्टाब्द या विक्रमाब्दले तोक्न सक्ने कुरो होइन | यो सनातन सृष्टि र आधुनिक विद्वानहरुको मस्तिष्क रूपी अनुवीक्षण यन्त्रको दृष्टि भन्दा निकै परको कुरो हो , किनभने आर्यहरुको इतिहास नै यस विश्वको पहिलो इतिहाँस हो | हाम्रा आर्य ऋषिहरु साहित्य, ज्योतिष, विज्ञान, आयुर्वेद आदि समस्त कला क्षेत्रमा शिखरमा पुग्न सकेका थिए | उनीहरुले त्यो ज्ञान ज्योतिष, गणित र वैदिक ऋचाहरुमा घुसाउन सकेका थिए | हामी जतिखेर यस विश्वमा छरिएका थियौं त्यतिखेरको विश्वमा हाम्रा पूर्खा बाहेक अन्य कोहि थिएनन | हाम्रो प्राचीनतामा हाम्रो ऐतिहासिक गौरव सन्निहित रहेको छ | आजको विश्व वैदिक साहित्यको व्याख्यानको रूपदिन विकसित र गम्भीर हुँदोछ | त्यसैले वैदिक साहित्य संसार भरिको साहित्य हुन् पुगेको छ | तर , नेपाली विद्वानहरु भाषागत कठिनाई र हाम्रो इतिहासको प्रमाण खोज्नुको गाह्रोले पश्चिमा सिद्धान्त पछ्याई रहेका छन् र सत्यकुरा Mythology बन्न पुगेको छ | हाम्रो पुराण साहित्य गफ्फिको पेटारो अनि रामायण र महाभारत रूपक ठानिन पुगेको छ | संस्कृत साहित्यको अनुशीलनबाट हाम्रो इतिहासको खोज गर्न सकिन्छ | धैर्यता रहन सकेको खण्डमा हामीले उपनिषद्, पुराण र महाभारतको भौगोलिक वर्णनबाट धेरै कुरो पत्ता लाउन सम्भावना अझै जिउँदो छ |

आर्य शब्दको अर्थ केलाउनु अघि यस भूभागमा आजभन्दा १५१ बर्ष अघि कार्यरत केहि विदेशी इतिहाँसकारहरु र विद्वानहरुले लेखेका लेखोटहरु हेर्ने प्रयाश गरौँ जसबाट हाम्रो भूखण्डमा बसेर उनीहरुले गरेको षड्यंत्र आजको पुस्ताले राम्ररी थाहा पाउन सकोस | यस्तो कपट गर्ने प्रथम व्यक्ति थियो T .B .Macaillay जसको मूख्य उद्द्येश्य सनातनी हिन्दुहरुलाई आफ्नो धर्म , धर्मग्रन्थहरुको बिरुद्ध भड़काएर यस क्षेत्रमना अंग्रेजी शिक्षाको प्रचार प्रसार गरि इसाई धर्मलाई वृद्धि गर्नु थियो | उसले आफ्नो बाबुलाई लेखेको त्यो चिट्ठी हेर्नोस जस्ताको त्यस्तै | यसरी नै life and letter of maxmullar मा माक्समुलरले लेखेको अर्को चिट्ठीको अंश पनि हेर्नोस जुन चिट्ठी उसले १८६६ मा आफ्नी स्वास्नीलाई लेखेको थियो –

” I hope I shall finish the work and I feel convinced though I shall not live to see it yet this addition of mine and the translation of the vedas will here after tell to great extent on the fate of India and on the growth of millions of souls in that country. it is the root of their religion and to show them what the root is I feel sure, is the way of uprooting all that has sprung from it during the last three thousand years.”

यस्तै अर्को पत्र म्याक्समुलर १६ डि . १८६८ मा भारतका तत्कालीन मंत्री ड्यूक अफ आर्गायललाई लेखेको थियो – ” the ancient religion of India is doomed , if Christianity does not step in , whose fault will it be ? अर्थात भारत बर्षको प्राचीन धर्मको पतन भै सकेको अवस्था छ , अबपनि इसाई धर्म व्यापक रुपमा प्रचारित हुन सक्तैन भने यो कसको दोष हो ? माथिका दुइटै चिट्ठी हेर्नोस यता आउने तत्कालिन विदेशीहरु के उद्देश्य लिएर आएका थिए ? आफै थाहापाउने कोशिश गर्नोस |

आर्यहरु इरानका बासिन्दा होइनन
======================
यी गोराहरूले यो षड्यंत्र गरेर आर्यहरुलाई इरानका वाशिन्दा हुन भनि बताए र आजपनि नेपालका विश्वविद्द्यालयमा आर्यहरु इरानबाटै यता आए भनेर पढाउने गरिन्छ | जबकि ईरानीहरुको साहित्यले त्यो भन्दा धेरै विपरीतकुरो लेखेको छ | त्यहाँको ग्रन्थहरुमा आर्यहरु भारतबर्षबाट ईरान आए भनेर यसरी उल्लेख गरेको छ , जानकारिकोलागि सप्रमाण उधृत गरेको छु , पढनुहॊस –

“चंद हजार साल पेश अज जमाना माजीरा बुजुर्गी अज निजाद आर्यों अज कोह हाय कस्मने मास्त कदम निहादन्द | ब चू आवो माफ्त न्द दरी जा मसकने गुजीदन्द द आरा बनाम खेश ईरान खिया द न्द |”( जुगराफिया पंज किताऊ बनाम तदरीस दरसाल पंजुम इब्त दाई सफा ७५ ,कालम १ सीन अव्वल व चहारम अज तर्क विजारत मुआरिफ व शुरशुद ) |

अर्थ – अर्थात केही हजार बर्ष पहिले आर्यहरु हिमालय पर्वतबाट ओर्लेर यहा आईपुगे र यहाँको जलवायु अनुकूल पाएका कारण ईरानमै बस्न थाले | यो प्रमाण हेर्दा मात्रपनि आर्यहरु ईरानबाट आएका हुन भन्ने कुरो कपोल कल्पना हो भन्नेकुरा थाहा हुनजान्छ | तिनले गर्ने ,भन्ने कुराको पर्याप्त खंडनपनि हुन पुग्दछ |

आर्य शब्दको अर्थ
============
महाकुलकुलीनार्यसभ्यसज्जनसाधव:। -अमरकोष ७ ।३ अर्थात : आर्य शब्द को प्रयोग महाकुल, कुलीन, सभ्य, सज्जन, साधु आदि मानवको लागि गर्ने गरिन्थ्यो | आर्य शब्दको प्रयोग बडो मिजासिलो ढंगले वेद र वैदिक ग्रंथहरुमा धेरै अर्थमा गरिएको पाइन्छ | त्यसको प्रयोग हेर्दा विशेषण ,विशेष्यकोलागि प्रयोग भएको देखिन्छ | जस्तो – निरुक्त ६/२६ मा महर्षि यास्क भन्छन ” आर्य: ईश्वरपुत्र:” अर्थात आर्यहरु भनेको ईश्वर पुत्र हो | त्यस्तै ऋग्वेदले ६/२२/१०मा “आ संयतमिन्द्र णः सवस्तिं शत्रुतूर्याय बर्हतीमम्र्ध्राम | यया दासान्यार्याणि वर्त्रा करो वज्रिन सुतुका नाहुषाणि ||” भनेर आर्य शब्दको प्रयोग बलवानको अर्थमा गरेको छ | ऋग्वेद ६/६०/६ मा ” हतो वर्त्राण्यार्या हतो दासानि सत्पती | हतो विश्वा अप दविषः ||” भन्दै वृत्रलाई आर्य भनिएको छ | केही मान्छेहरु वृत्र अनार्य थियो भन्ने गर्दछन जबकि ऋग्वेदले नै ” हतो वृत्राण्यार्य ” भनेको छ | यहाँ आर्य शब्द बलवानको रुपमा प्रयोग गरिएको हो जसको अर्थ हो बलवान वृत्र र वृत्रको अर्थ निघंटुमा मेघ वा वादल भनेर लेखिएको छ अर्थात बलवान मेघ/वादल | यसरी नै वेद मन्त्रमा उपदेश दिंदै भनिएको छ ” कृण्वन्तो विश्वार्यम ” अर्थात सम्पूर्ण विश्वलाई आर्य बनाउन सकौं | यहाँ आर्य शब्द श्रेष्टको अर्थमा प्रयोग गरिएको हो | यदि आर्य कुनै जाति या नस्ल विशेषलाई भनिएको थियो भने ” सम्पूर्ण विश्वलाई आर्य बनाऔं ” भन्ने उपदेश दिइने थिएन |

आर्य शब्दको विविध प्रयोग
==================
ऋग्वेद १/१०३/३ मा ” स जातूभर्मा शरद्दधान ओजः पुरो विभिन्दन्नचरद विदासीः | विद्वान वज्रिन दस्यवे हेतिमस्यार्यं सहो वर्धया दयुम्नमिन्द्र || ” ,ऋग. १/१३०/८मा ” इन्द्रः समत्सु यजमानमार्यं परावद विश्वेषु शतमूतिराजिषु सवर्मीळ्हेष्वाजिषु | मनवे शासदव्रतान तवचं कर्ष्णामरन्धयत | दक्षन न विश्वं तत्र्षाणमोषतिन्यर्शसानमोषति || ” र १०/४९/३ मा “अहमत्कं कवये शिश्नथं हथैरहं कुत्समावमाभिरूतिभिः | अहं शुष्णस्य शनथिता वधर्यमंन यो रर आर्यं नाम दस्यवे ||” भनि आर्य शब्दको प्रयोग श्रेष्ठको अर्थमा गरिएको छ | ऋग्वेद ५/३४/६मा “वित्वक्षणः सम्र्तौ चक्रमासजो ऽसुन्वतो विषुणः सुन्वतो वर्धः | इन्द्रो विश्वस्य दमिता विभीषणो यथावशं नयति दासम आर्यः || “भनेको छ , १०/१३८/३ मा ” वि सूर्यो मध्ये अमुचद रथं दिवो विदद दासय परतिमानमार्यः | दर्ळानि पिप्रोरसुरस्य मायिन इन्द्रो वयास्यच्चक्र्वान रजिश्वना ||” भन्दै ऐश्वर्यवान (इंद्र समान )को रूपमा प्रयोग गरिएको हो | ऋग्वेद ८/६३/५ मा ” आदू नु ते अनु करतुं सवाहा वरस्य यज्यवः | शवात्रमर्का अनूषतेन्द्र गोत्रस्य दावने || ” भन्दै सोमको विशेषणको रुपमा प्रयोग गरेको छ | ऋग्वेद १०/४३/४ मा “वयो न वर्क्षं सुपलाशमासदन सोमास इन्द्रं मन्दिनश्चमूषदः | परैषामनीकं शवसा दविद्युतद विदत्स्वर्मनवे जयोतिरार्यम ||” भन्दै ज्योतिको विशेषणको रुपमा गरेको छ | ऋग्वेद १०/६५/११ मा ” बरह्म गामश्वं जनयन्त ओषधीर्वनस्पतीन पर्थिवीम्पर्वतानपः | सूर्यं दिवि रोहयन्तः सुदानव आर्याव्रता विस्र्जन्तो अधि कषमि ||” भन्दै वृत्तको विशेषणको रुपमा गरेको छ | ऋग्वेद ७/३३/७ मा ” तरयः कर्ण्वन्ति भुवनेषु रेतस्तिस्रः परजा आर्या जयोतिरग्राः | तरयो घर्मास उषसं सचन्ते सर्वानित ताननुविदुर्वसिष्ठाः ||” भन्दै प्रजाको विशेषणको रुपमा गरेको छ | ऋग्वेद ३/३४/९ मा “ससानात्यानुत सूर्यं ससानेन्द्रः ससान पुरुभोजसं गाम | हिरण्ययमुत भोगं ससान हत्वी दस्यून परार्यंवर्णमावत || ” भनेर वर्णको विशेषणको रुपमा गरेको छ | ऋग्वेद १०/३८/३ ” मायो नो दास आर्यो वा पुरुष्टुतादेव इन्द्र युधये चिकेतति | अस्माभिष टे सुषहाः सन्तु शत्रवस्त्वया वयं तान्वनुयाम संगमे || ” भनेर ” दासा आर्यों ” भन्यो | यहाँ दासको अर्थ शत्रु ,सेवक ,भक्त आदि हो र आर्यलाई महान ,श्रेष्ट र बलवान भनेको हो जसको कारण दासा आर्य भनेको बलवान शत्रु ,महान भक्त .श्रेष्ठ सेवक आदि हुन पुग्छ | यहाँ दासलाई नै आर्य भनिएको छ | अत: हामी सबैले प्रष्ट संग भन्न सक्नु पर्दछ कि आर्य शब्द नस्ल या जातिवादी होइन बरु महान ,श्रेष्ठ ,बलवान .ऐश्वर्यवान ,ईश्वरपुत्र , आदि हो जुनकुरो यस विश्वको कुनैपनि व्यक्ति ,जाति ,वंशकोलागि प्रयोग हुन सकेको हो |

विभिन्न महापुरुषहरुले ,सभ्यताहरुले ,विभिन्न भाषा आदिमा प्रयोग गरिएको आर्य शब्द
======================================================
” उहिले ईरानको राजाहरुलाई आर्य मेहरको उपाधिले विभूषित गर्ने गरिन्थ्यो किनभने उनीहरु आफुलाई सूर्यवंशी क्षत्रिय सम्झन्थे |”

” हित्ती (हत्ती या हित्ती प्राचीन खत्तिय (हित्ताइत) जातिले बोल्ने भाषा हो )त्यसको लिपि प्राचीन सुमेरी-बाबुली-असूरी छ र त्यसको साहित्य अक्कादी (असूरी-बाबुली) मा लेखिएको छ | भाषामा आर्य शब्द प्रयोग गरिएको छ “|

“न्याय दर्शन १-१० को वात्सायन भाष्यमा आर्य शब्द प्रयोग गरिएको छ | “
” महाभारतको उद्योग पर्वमा आर्य शब्द प्रयोग गरिएको छ “ |

” रामायण बालकाण्डमा आर्य शब्द प्रयोग भा छ |

१.भगवान श्री रामको उत्तम चरित्रको वर्णन गर्दै वाल्मीकि रामायणमा महर्षि नारद भन्दछन –

आर्य: सर्वसमश्चायमं, सोमवत् प्रियदर्शन: | (रामायण बालकाण्ड १/१६) अर्थात् श्री राम आर्य , धर्मात्मा, सदाचारी, सबैलाई समान दृष्टिले हेर्ने र चंद्रमा सरह प्रिय देखिने थिए “ | ” किष्किन्धा काण्ड १९/२७ मा बालि की पत्नी ताराले आफ्ना पति बालिको वध भएको देखेपछि उसलाई आर्य पुत्र भनेर बिलौना गरेकी थिइन् |” भविष्य पुराणमा आर्य शब्दको प्रयोग गर्दै मुहम्मदलाई म्लेच्छ भनिएको छ “| ” मृच्छकटिका नाटकमा ” देवार्य नंदन ” शब्दमा आर्य शब्दको प्रयोग गरिएको छ “ आर्यबाटै आरमीनि शब्द बनेको हो जसको अर्थ हो शूरवीर “

२. दुर्गा सप्तशतीमा ” श्री दुर्गाष्टोत्तरशतनामस्तोत्रम् ” अंतर्गत देवीको १०८ नाम मध्ये एउटा नाउँ आर्या भनेर बताइएको छ | (गीता प्रेस गोरखपुर पृष्ठ ९)

३. छन्द शास्त्रमा एउटा छन्दको नाउँ आर्या पनि रहेको छ |

४. भगवद्गीतामा भगवान श्री कृष्णले अर्जुन आफ्नो क्षत्रीय धर्मबाट विचलित हुँदै गएको देखेपछि मोहमा बाधिएका अर्जुनलाई भनेका थिए –
” कुतस्त्वा कश्मलमिदं, विषमे समुपस्थितम् |
अनार्यजुष्टमस्वर्ग्यम्, अकीर्ति करमर्जुन | (गीता २/३)
अर्थात् हे अर्जुन, यो अनार्य एवं दुर्जनहरुद्वारा सेवित, नर्क लैजाने , अपयश दिलाउने पाप यस्तो कठिन समयमा तिमीले कसरी प्राप्त गर्यौ ? यहाँ श्री कृष्णले अर्जुनलाई आर्य बनाउनकोलागि अनार्यत्व त्याग गर भनेका हुन |

५. सिखहरुको गुरुविलासमा आर्य शब्दको उलेख गर्दै भनिएको छ –
” जो तुम सुख हमारे आर्य |
दियो सीस धर्म के कार्य |”

६. बुद्ध धर्मिहरुको विवेक विलासमा आर्य शब्द –
” बौधानाम सुगतो देवो विश्वम च क्षणभंगुरमार्य सत्वाख्या यावरुव चतुष्यमिद क्रमात |”
बुद्ध वग्गमा आफ्ना उपदेशहरुलाई बुद्धले चार आर्य सत्य नामले प्रकाशित गरेका छन् –
चत्वारि आरिय सच्चानि (अ.१४ ) “ धम्मपद अध्याय ६ वाक्य ७९/६/४
जो आर्यहरुले भनेको मार्गमा हिडदछन तिनीहरु पंडित हुन |

७. जैन ग्रन्थ रत्नसार भाग १ पृष्ठ १ मा जैनहरुको गुरुमंत्रमा आर्य शब्द प्रयोग गरिएको छ –
” णमो अरिहन्ताण णमो सिद्धाण णमो आयरियाण णमो उवज्झाणाम णमो लोए सब्ब साहूणम “
यहा आर्यहरु अर्थात सबै श्रेष्टहरुलाई नमस्कार भनिएको छ |

८. जैन धर्मलाई आर्य धर्मपनि भन्ने गरिन्छ | [पृष्ठ xvi, पुस्तक : समणसुत्तं (जैनधर्मसार)]
जैनधर्मी साध्विहरुलाई अझैपनि आर्या वा आरजा भन्ने गरिएको छ | काशी विश्वनाथ मंदिरमा आर्य शब्द नै लेखिएको छ | यस्तै अन्य थुप्रै प्रमाणहरु छन् आर्य शब्द प्रयोग गरिएको सम्बन्धमा जसलाई विस्तारित हुने भयले यहाँ उल्लेख गर्न सकिएन |

आर्यहरु यताबाटै अन्यत्र गएका थिए
========================
मनु स्मृतिको निम्न प्रमाण हेर्नुहोस –
शनकैस्तु क्रियालोपादिमा: क्षत्रियजातय:।
वृषलत्वं गता लोके ब्रह्माणादर्शनेन्॥१० :४३ ॥

हाम्रा यस क्षेत्रका क्षत्रिय जातिहरु उता पुगेपछि आफ्नो कर्मलाई निरन्तरता दिन सकेनन , उनीहरुले आफ्नो कर्म त्याग्नु पर्यो अर्थात यज्ञ ,अध्यापन,तथा संस्कारादि कार्य गर्न उपयुक्त ब्राह्मणहरु पाउन नसकेको कारण शुद्रत्व प्राप्त गरे |
” पौण्ड्र्काश्र्चौड्रद्रविडा: काम्बोजा यवना: शका:।
पारदा: पहल्वाश्र्चीना: किरात: दरदा: खशा:॥१० :४४ ॥

पौण्ड्रक,द्रविड, काम्बोज,यवन,शक,पारद ,पह्लव, चीनी, किरात,दरद,खश आदि जातिहरुले शुद्रव प्राप्त गर्न पुगे , धेरै म्लेच्छ भए , यिनको विद्वानहरु संग कुनै संपर्क रहन सकेन | माथिको श्लोकले स्पष्ट संग भनेको छ कि आर्यहरु यताबाट उता गई बसेका थिए र आफ्ना कर्मप्रति समर्पित विद्वानहरु नभेटिएका कारण म्लेच्छ हुन पुगे |

आर्यहरुको विदेश गमन –
================
आर्यहरुको मिश्र गमन –
भविष्य पुराण खंड ४ अध्याय २१ मा कण्व ऋषि मिश्र पुगेको लेखिएको छ जहाँ पुगेर उनले १०००० व्यक्तिको शुद्धिकरण गराएका थिए | आर्यहरुको रूस र तुर्किस्थान गमन – lassen को indiscehe alterthumskunda मा आर्यहरु तुर्क र रूसमा पुगेको कुरो उल्लेख गर्दै लेखिएको छ – ” it appears very probable that at the dawn of history ,east turkistaan was inhabited by an aryan population ”

आर्यहरु सिथिया देश(हालको रुस ) पुगेको –
===========================
यो सिथिया देश कुनै बेला यताबाट गएका शक भनेर चिह्निने क्षत्रियहरुले बसाएका थिए जसको प्रमाण विष्णुपुराण ३/१/३३-३४ मा रहेको छ ” वैवस्त मनुका इस्वाकु ,नभग ,धृष्ट ,शर्याति ,नाभानेदिष्ट ,करुष ,प्रिश्ध्र ,वसुमान ,नरीशयत नाउँ गरेका छोराहरु थिए | हरिवंश पुराण अध्याय १० श्लोक २८ अनुसार – ” नरिष्यंतका छोराहरुको नाम नै शक थियो “ विष्णु पुराण ४/३/२१ मा यी शकहरुलाई राजा सगरले आधिकपाल लुड्याएर यहाँबाट निकालेका थिए | यिनीहरु सिन्थ्निया (शकप्रदेश ) मा गएर बसे |

आर्यहरुको चीन गमन –
===============
मनुस्मृति बाहेक चीनि हरुका आदि पुरुषका सम्बन्धमा प्रसिद्ध चीनी विद्वान यांगत्साईले सन १५५८ मा एक ग्रन्थ लेखेका थिए | यस ग्रन्थलाई सन १७७३ मा हुया नाउँ गरेको विद्वानले सम्पादित गर्यो जसलाई पादरी क्लार्क ले अनुवाद गरेको थियो | त्यस ग्रन्थमा लेखिएको छ ” अत्यंत प्राचीनकालमा भारतको मो लो ची राज्यको आह . यू . नाम गरेको राजकुमार युनन्न प्रांतमा आए | तिनको छोराको नाउँ ती भोगंगे थियो | उ बाट नौ भाई छोराहरु जन्मिए | इनका सन्तति बाटै चीनिहरुको वंश वृद्धि हुन पुग्यो |

यहाँका क्षत्रिय वैश्य ब्राह्मणहरु अन्य कारणलेपनि समुन्द्र पार जाने गर्दथे किनभने आर्यहरुसंग ठूल ठूला नौकाहरु थियो जुन कुरोको उलेख हाम्रा प्राचीन वाङ्गमय वेद, रामायण, महाभारत, पुराण आदिमा लेखिएको छ | जस्तो बाल्मीकि रामायणको अयोध्या कांडमा त्यस्तो ठूलो नाउँको उल्लेख गरिएको छ जसमा सैकडौ योद्धाहरु सवार रहने गर्दथे |

नावां शतानां पञ्चानां कैवर्तानां शतं शतम। सन्नद्धानां तथा यूनान्तिष्ठक्त्वत्यभ्यचोदयत्‌॥
अर्थात्‌-सैकडौ जवानहरुले भरिएको पांच सय डुङ्गाहरु सैकडौ धीवरहरुले तान्नेगर्दथे | यसैगरी महाभारतमा यंत्र-चालित डुङ्गाहरुको वर्णन गरिएको छ |

सर्ववातसहां नावं यंत्रयुक्तां पताकिनीम्‌।

अर्थात्‌-यंत्र पताका युक्त डुङ्गो , जसले सबै प्रकारको हावा सहन सक्थ्यो | कौटिल्यको अर्थशास्त्रमा राज्यको तर्फबाट डुङ्गाहरुको बन्दोबस्तको सम्बन्धमा जानकारी गराइएको छ | ५ औं शताब्दीको वारहमिहिर कृत ‘बृहत्‌ संहिता‘ तथा ११ औं शताब्दीको राजा भोज कृत ‘युक्ति कल्पतरु‘ मा जहाज निर्माण गर्ने तरिका बताइएको छ | डुङ्गा विशेषज्ञ भोज चेतावनी दिंदै भन्दछन जहाजमा फलामको प्रयोग नगर | नत्र समुद्री चट्टानमा भएको चुम्बकीय शक्तिले दुर्घटना हुन पुग्नेछ | अत : आर्यहरु डुङ्गा चलाएर आउने जाने गर्दथे भंनेकुरो प्रष्ट छ |

निष्पक्ष पाश्चात्य विद्वानहरुको दृष्टिमा आर्यहरु यताका मूल निवासी हुन
=============================================
(१) युनानी राजदूत मैगस्थनिज लेख्दछन – भारत बर्ष अनगिन्ति जात जातिहरुको बसोबास भएको क्षेत्र हो | ती कोहिपनि विदेशी होइनन |

(२) नोबल पुरूस्कार विजेता विश्वविख्यात विद्वान् म्याटरलिंक आफ्नो ग्रन्थ सीक्रेट हर्टमा लेख्छन –

” It is now hardly to be contested that this source(of knowledge) is to be found in india.thence in all probability the sacred teaching spread into egypt,found its way to acient persia and chaldia , permeated the hebrew race and crept in greece and south of europe, finaaly reaching china and even america.”

अर्थात यो निर्विवादित सत्य हो कि विद्याको मूल स्थान भारतवर्ष हो र सम्भवत यह पवित्र विद्या मिश्रमा फैलिन पुग्यो | आर्यहरुले मिश्रबाट ईरान तथा कालदियाको बाटो समेटेर यहूदी जातिलाई प्रभावित गरे अनि फेरी यूनान तथा यूरोपको दक्षिण भागमा पसे र अंतमा चीन र अमेरिका पुगे |”

(३) इतिहासविद मयूर muir : original sanskrit text vol २ मा लेख्छन ” यो निश्चित रुपमा भन्न सकिन्छ कि संस्कृतको कुनैपनि पुरानो ग्रन्थहरुमा आर्यहरु विदेशी थिए भन्ने कुरो लेखिएको छैन |”

(४)विश्वविख्यात एलफिन्सटन आफ्नो पुस्तक ” elphinston:history of india vol1 “ मा भन्छन – “मनुस्मृतिमा र वेदहरुमा आर्यहरु बाहिरबाट आएको वर्णन गरिएको छैन |

अब म यतिमात्र कुरो गरेर यो आलेख समाप्त गर्न चाहान्छु कि आर्यहरु विदेशी जातिका थिएनन , न ती यहाँको संस्कृति नष्ट गर्न विदेशबाट यता आएका थिए | ती सबै यहीका मूलनिवासी थिए | आर्य शब्द एक किसिमको विशेषण मात्र थियो जुन शब्द कोहिपनि उपयुक्त मान्छेलाई प्रयोग गर्ने गरिन्थ्यो | जस्तो यो शब्द वनवासी ,शुद्र ,दलित सबैलाई प्रयोग गरिन्थ्यो | तर , त्यस्ताको कर्म श्रेष्ट हुनु जरुरी थियो | रामायणमा जाम्बवान ,हनुमान ,बालि ,सुग्रीव आदि वनवासी जातिहरु सबै आर्य शब्दले बोलाइन्थे | यसर्थ नेपाली मात्रले यस देशको एकता कायम गर्न यो आर्यहरु विदेशी थिए भन्ने झूठो कथनलाई तिलाञ्जली दिउन र आफ्ना आर्य महापुरुषहरुलाई पक्षपात रहित भएर सम्मान गर्न सिकुन |प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *