#गोविन्द शरण उपाध्याय
सन् २००६ मा लेखकले उपत्यकाका विभिन्न १० बटा विद्यालयका विद्यार्थीहरूका बीच अनुसन्धान गरेको थियो | अनुसन्धानको मुख्य लक्ष अंग्रेजी र नेपाली सिकाई मध्ये कुन भाषामा विद्यार्थीहरूले सरल र सहज तरिकाले समस्या समाधान गर्न सक्छन् भनेर बुझ्नु थियो |
उनीहरूलाई नेपाली र अंग्रेजीमा लेखिएका एकएक कथाहरू पढ्न दिएको थियो र प्रत्येक कथाका अन्त्यमा उनीहरूले समस्याहरूको समाधान गर्नु पर्दथ्यो | समस्या मूलत: बुझाईसंग समन्धित थिए र समय सीमा केवल २० मिनट थियो |
सहभागीहरूमा काठमाडौँका महंगा अंग्रेजी विद्यालयमा पढ्ने र सरकारी विद्यालयहरूमा पढ्ने विद्यार्थी थिए | कथा ८ देखि १० सम्मका विद्यार्थी उपरोक्त क्रियाकलापमा सहभागी थिए |
अचम्म मान्नुपर्छ, अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरूले केवल २७% अग्रेजी माध्यमा समस्या समाधान गर्न सके भने नेपाली माध्यममा पढ्ने ८३% विद्यार्थीहरूले समस्याको सही समाधान गर्न सफल भए |
सोही कथा अंग्रेजी माध्यममा सरकारी विद्यालयका विद्यार्थीहरूलाई दिंदा केवल १७% विद्यार्थीले समाधान गर्न सफल भए भने अंग्रेजी विद्यालयहरूमा नेपालीमा दिंदा २३% र अंग्रेजीमा दिंदा २७% ले समस्या समाधान गर्न सफल भए |
समस्या समाधानका यी दुई प्रकृतिलाई विश्लेष्ण गर्दा महंगा विद्यालयहरूमा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरूको “समस्या समाधान गर्ने बुझाई” सरकारी विद्यालयहरूमा पढ्ने विद्यार्थी भन्दा निकै न्यून भेटियो |
आज ११ वर्षपछि मेरो ८ वर्षीय छोराले पढ्ने विद्यालयमा विद्यार्थीहरूले गरेको क्रियाकलापमा भाषा र बुझाईले पर्ने स्पट अन्तर पुन: देखियो | एसेम्बलीमा उभिएका करिव ७० जना स-साना नानीबाबुहरूलाई अंग्रेजीमा गीतमा क्रियाकलापमा समावेश गर्दा बजेका मध्ये दूवै गीतहरूमा ५०% बालबालिकाहरू सक्रिय रहेको भेटें | अरू आफ्ना सहपाठी वा मिसहरूलाई हेरेर नक्कल उतारेको देखियो |
त्यसपछि मेरो अनुरोधमा नेपाली बालगीत बजाइयो | नेपाली गीतमा बालबालिकाको सक्रियता लगभग १००% नै देखियो | केवल ३ जना बालबालिकाहरू अल्मलिएको देखियो | अंग्रेजी गीतमा पनि मैले उनीहरू सक्रिय रहेको देखेको थिइन |
उपरोक्त अनुसन्धान र आज मैले हाम्रै छोराको विद्यालयमा भोगेको बुझाईले के स्पस्ट पार्छ भने बुझाईमा मातृभाषाको सबैभन्दा बढी महत्व हुन्छ | बालबालिकाले जति स्पस्ट तवरले आफ्नो बोलीमा बुझ्न सक्छन् त्यसरी अरूमा बुझ्न सक्दैनन् | सिकाईका नाममा जतिधेरै विदेशी भाषालाई लादिन्छ त्यतिनै तिनको बुझाई र बुझाईको अभावमा समस्या समाधान गर्ने क्षमता गुन्दैजान्छ | यो तत्थ्य मेरो अनुसन्धानले देखाएकै छ |
यदि अंग्रेजी लादिएर बच्चाहरू जान्ने हुन्थे भने अंग्रेजी विद्यालयमा महँगो शुल्क तिरेर पढ्ने बालबालिकाले समस्याको समाधान धेरै गर्नु पर्थ्यो तर सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले समस्याको समाधान बढी गरे | समस्या समाधानमा बुझाईको बढी महत्व हुन्छ, घोकाई तथा रटाईको हुँदैन भन्ने स्पस्ट छ |
नीतिनिर्माता, विद्यालयसंचालक तथा अभिभावकहरूले बुझ्नुपर्छ कि अंग्रेजी भाषा थोपरेर बालबालिकाको बुझाई राम्रो हुँदैन | उनीहरूले स्पस्ट रूपमा बुझ्न नसक्ने भाषामा कुनै क्रियाकलाप जवर्जस्ती गराउनु एकप्रकारको अत्याचार नै हुन्छ | यसले उनीहरूको आत्मविश्वासमा नकारात्मक असर पर्छ र सिकाई र समस्या समाधान गर्ने क्षमतामा निकै असर पर्छ |
मैले अंग्रेजी माध्यमको विरोध गरेको होइन | घरमा बोलचाल गर्ने भाषा बाहेक अन्य भाषाहरूले बालबालिकामा सिकाई र बुझाईको विकास न्यून हुन्छ भन्ने मात्र हो | मलाई लाग्छ, अहिलेको लादिएको अंग्रेजी भन्दा पूरानो शिक्षामा कक्षा चारदेखि आरम्भ गरिने अंग्रेजी शिक्षण बैज्ञानिक छ | यो उमेर देखि अंग्रेजी भाषा वा अन्य भाषालाई बैज्ञानिक विधि अपनाएर पठनपाठन गराउने हो भने १२ कक्षासम्म पुग्दा विद्यार्थीले अंग्रेजी पनि राम्रै सिक्छन् र बुझाई र समस्या समाधान गर्ने क्षमताको पनि राम्रै विकास हुन्छ |
माधुर्यमक्षरब्यक्त पदव्यक्त तु सुस्वरम् | धैर्यम् लघुसमायुक्त षडेते पाठके गुणा ||
मन लगाएर, निरन्तर, पद बोल्दा अर्थ बुझिनेगरि, मीठो स्वरमा, अत्यन्त धैर्यपूर्वक, छोटो, माध्यम तथा लेब्रो तानेर उच्चारण गर्नुपर्ने स्वरहरू त्यसै गरी विद्यार्थीलाई पढाउनु पर्छ भन्ने ऋग्वेदीय शैशेरिया शिक्षाको कथनलाई मात्र सम्झेर पठनपठन गराउने हो भने क्याम्ब्रिज, अक्सफोर्डजस्ता विदेशीहरूको सहयोग लिनुपर्दैन |
हामी नेपालीहरू विश्वका ती दुर्लभ र दुर्भाग्यशाली नागरिक हौँ जहाँ विद्यालयहरूमा आफ्नो मातृभाषा बोल्दा दण्डित गरिन्छ | सरकार र अभिभावकहरूले यस्तो अमानवीय कृत्यलाई समर्थन गर्छन् तथा अनुमोदन गर्छन् | अंग्रेजी बोल्न नासक्मे र नजान्नेलाई “पाखे” ठानिन्छ | ठूला विद्यालयले ती बालबालिकालाई मात्र आफ्नो विद्यालयमा प्रवेश दिन्छन् जसका अभिभावकहरू अंग्रेजी बोल्न सक्छन् |
बालबालिकालाई सिकाओं तर शिक्षाका नाममा उनीहरूले बुझ्नै नसक्ने बोलीहरू लादेर उनीहरूको बाल्यकालमाथि अत्याचार नगरौं | शिक्षा बुझाई र समस्या समाधानको बलियो आधार हुनुपर्छ अनुकरणको आधार हुनसक्दैन |
सङ्घीय सरकारले आधुनिकताका नाममा अंग्रेजी भाषा लादेर बालबालिकाको बाल्यकाल निल्छ कि बैज्ञानिक विधि अपनाएर अंग्रेजी लगायतका स्वदेशी तथा विदेशी भाषा समेत सिक्ने सिकाउने ब्यबस्था गर्छ हेर्न बाँकी नै छ |