Best Online News From Nepal

नेपालको नेसन ब्राण्ड राम्रोसंग संचार माध्यममा ल्याउन नसक्नुको उपज नै हामि ससारमा नचिनिनु हो

नेपाल भनेको कुन देश हो कहाँ पर्छ ? स्वतन्त्र देश हो कि होइन ?” भनेर प्रश्न गर्ने पनि भेटेको छु फिनल्याण्डमा । यो नेपालको नेसन ब्राण्ड राम्रोसंग संचार माध्यममा ल्याउन नसक्नुको उपज हो ।

कुकर तिहार

ब्राण्डको परिभाषा वस्तु र सेवा हुदै राष्ट्रलाई समेत समेटेको छ । नेसन ब्राण्डिङ्ग ब्राण्डिङ्गको क्षेत्रमा कान्छो विधाको रुपमा अध्ययन भईरहेको बिषय हो । फ्रान्सको के लागि प्रख्यात फेसन र परफ्युम । स्पेन के को लागि प्रख्यात फुटबल र बलौटे समुद्री तट । जापान के को लागि प्रख्यात विज्ञान प्रविधि । कुनै पनि देशका भौगोलिक अवस्था, सांस्कृतिक तथा धार्मिक बिशेषता अथवा कुनै पनि पृथक बिषय नै त्यसको ब्राण्ड हो । नेसन ब्राण्ड इन्डेक्सका निर्माता सिमोन अनोहल्टले कुनै देशको संस्कृति पनि नेसन ब्राण्ड निर्माणको छ वटा मध्ये एक कारक हो भनेर राखेका छन् ।
कुकुर पुजा नेपालको एक मौलिक पर्व हो । त्यहीं छेउको भारतमा पनि ठुलो संख्यामा हिन्दु रहे पनि उनीहरू कुकुर पुजा मनाउँदैनन जसरी नेपालमा मनाईन्छ । मानिसको सबै भन्दा नजिकको साथी भनेर नेपालमा कुकुर पुजाको दिन गरिने सम्मानलाई अन्तराष्ट्रिय संचार माध्यम र सामाजिक संजालका पृष्ठहरूले बिशेष स्थान दिएका पनि छन् । दर्जनौ पोस्ट मार्फत, हजारौं लाइक सहित लाखौ मानिसहरू सम्म यस “कुकुर पुजा र नेपाल” जोडिएको सुचना पुगिसकेको छ जुन निशुल्क विज्ञापन हो ।

True Activist – 28k (Likes)
China Xinhua news – 3.7k
Pulptastic – 6.9K
Meditation masters – 1.3K
Dog Bless you – 31K
Educate Inspire Change – 1k
The Idealist – 3K
Indiatimes – 4.9K
AJ+– 19K
Higher perspective – 5.1K
One green planet – 7.9K
LADbible– 24K

त्यसमा आएका कमेन्टहरू नेपालतिर सकारात्मक भावना प्रकट गरिएका छन् । कुकुर संसारका सबै जसो देशहरूमा घर पालुवा जनावरको रुपमा मात्र होइन प्रहरी सेनाको सहयोगीको रुपमा समेत पालिने गरेको छ ।

झन्डै चालिस लाख नेपाली संसारका थुप्रै देशहरूमा बसोबास गरिरहेको आंकलन छ । नेसन ब्राण्डको दृष्टिकोणबाट हेर्दा तिनीहरू नेपालका ब्राण्ड दुत (Brand Ambassador) हुन् । यदि नेपालमा मनाईने कुकुर पुजा आफु बसोबास गरिरहेका देशहरूमा पनि मनाउने, सामाजिक संजाल मार्फत प्रचारप्रसारमा ल्याउने हो भने सोहि देशका नागरिक पनि बिस्तारै कुकुर पुजाको दिन आफ्नो घरपालुवा कुकुरको सम्मानमा कुनै न कुनै कार्यक्रम गर्न प्रेरित हुन सक्छन । नेपालबाट भित्रिएको संस्कार एक दिनको लागि भएपनि घरघरमा भित्रिनु भनेको नेपालको नेसन ब्राण्ड चिन्ने एउटा अर्को आधार तयार हुनु हो जसले नेपालमा कुकुर प्रेमी देखि लिएर पर्यटकहरू भित्र्याउन मद्दत गर्छ । जसरी भ्यालेण्टाइन्स डे मा चकलेट र कार्डहरूको ब्यापार हुने गरेको छ त्यसै गरी कुकुर पुजाको दिन नेपालमा बनेको ” हिमालयन च्यु (कुकुरको खानेकुरा)” को माग संसारभरी नबड्ला भन्न सकिन्न ।

नेसन ब्राण्ड र सफ्ट पावर:
नेसन ब्राण्डले पर्यटक भित्र्याउन मद्दत त गर्छ नै साथ साथै त्यस देशको उत्पादनले बजार पाउनुको साथै अन्तराष्ट्रिय क्षेत्रमा कुटनीतिक क्षमता ” सफ्ट पावर ” निर्माण गर्न मद्दत गर्छ ।

संसारका शक्तिशाली व्यक्ति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट गर्दा आफु पनि योग सिक्न चाहेको कुरा बताएका थिए । त्यस बखत मोदीले भारतलाई योग केन्द्र र आफु शिक्षक झैँ प्रस्तुत गरे । यो भारतको नेसन ब्राण्डिङ्गको सफलता मान्न सकिन्छ जसले परिभाषा दिने क्षमता नै भारतको हातमा पारिदियो ।

एकछिनलाई मानौ संसारभरी कुकुर पुजाको दिन कुकुरको सम्मानमा कुनै न कुनै कार्यक्रम हुन थाल्यो भने त्यसदिनलाई कुकुर दिवस (Dog’s day) को रुपमा अन्तराष्ट्रिय रुपमै मनाउन पहल गर्न सकिन्छ । यदि त्यसमा सफलता पाउन सकियो भने कुकुर दिवस निर्माणको स्रोत र तिथि निधारणमा नेपालकै भूमिका हुन्छ किन भने कुकुर तिहार तिथिको आधारमा मनाईन्छ ।
त्यसपछि कुकुर दिवस मात्रै होइन नेपालमा प्रकृतिसंग नजिक रहेर जीवनयापन गर्ने पद्दति र दिगो बिकासका अवधारणा बोकेका संस्कारहरूलाई एकपछि अर्को गर्दै अन्तराष्ट्रिय क्षेत्रमा प्रदर्शन गर्न सकिन्छ । जसले क्रमश नेपालको नेसन ब्रान्ड अवेरनेसको साथसाथै बिबिध बिषयका परिभाषा दिने क्षमता समेत नेपालकै पोल्टामा पार्नेछ ।

नेताले देश बिगार्यो भनेर सरापेरै मात्र बस्नुभन्दा आफु जुन ठाउँमा छौँ, त्यहि ठाउँबाट देशको निम्ति केहि गर्ने हो भने नेपाललाई नयाँ वैश्विक संरचनाको केन्द्र बनाउन धेरै समय लाग्दैन थियो ।

तिहारको सबैमा हार्दिक शुभकामना
सुशिल गौतम

Leave a Reply

Your email address will not be published. Required fields are marked *