Best Online News From Nepal

नेता र धर्मगुरु

Vallabha Chaitanya Das

-वल्लभ चैतन्य दास—-

वर्तमान परिप्रेक्षमा यी दुई पद, “नेता” र “धर्मगुरु” सबैभन्दा वदनाम हुन। यी दुबै पदले स्वतः स्फूर्त रूपमा “स्वच्छ छवि”को माँग गर्दछ, माँग अनुसार कै स्वच्छ छवि पूर्ति भएमा यी दुवै नै पद अति नै आदरणीय र उच्च पद हुन तर वर्तमान अवस्थाको दूषित समयमा “स्वतः स्वच्छ छवि” प्राप्त गर्नु प्रायः असंभव नै भएकोले यी दुवै पद सबैभंदा बढ़ी बदनाम भएका हुन।

यी दुवै पदको प्रकृति समान रहेको छ अर्थात दुवै पदको उत्तरदायित्व सामान्य स्तरका जनमानसलाई डोर्याउनु नै हो, दुवै पदधारीको प्रमुख कर्तव्य मार्गनिर्देशन गर्नु नै हो। दुवै पदधारीको दायित्व जनसमूहलाई उचित पथको नेतृत्व गर्नु नै हो तर पनि निम्न लिखित दुई प्रमुख कारणहरूले गर्दा यी दुई पद “नेता” र “धर्म गुरु” हालको अवस्थामा वदनाम र तिरस्कृत भएका छन।

क) पहिलो प्रमुख कारण भनेको यी दुई पद धारणको लागि न्युतम योग्यता नचाहिनु वा न तोकिनु। नेता वा धर्म-गुरु हुन चाहे अनपढ़ होस, चाहे २ कक्षा फेल होस, चाहे कालो हृदयको होस वा फटाहा होस(कसले देख्छ र), कुनै योग्यताको जरूरत हुदैन। यही कारणले प्रायः पढ्न नसकेका, काम नपाएकाहरू तर बोल्न जानेकाहरू र अवसरवादीहरू नै नेता वा धर्मगुरु हुने गर्दछन। नेता वा धर्म-गुरुको पद अति नै मर्यादित र उच्च हो, साधारण जनमानसको साधारण बुद्धिदेखि परका विलक्षण प्रतिभाधारी व्यक्तित्वहरू मात्र वास्तबिक उत्तराधिकारी हुनुपर्नेमा यो पदमा न्युनतम योग्यताको समेत व्यबस्था नहुदा हालका यी पदधारी व्यक्तित्वहरूबाट सावधान हुनुपर्ने अवस्थाको सृजना भएको छ।

ख) दोश्रो महत्वपूर्ण कारण भनेको यी दुई पदधारी व्यक्तितित्वहरूका लागि श्रोता अर्थात भिड़को कहिल्यै कमी नहुनु। कुकुर बुद्धिको नेता वा धर्मगुरु छ भने त्यस्तै बुद्धि भएका अर्थात कुकुरमय अन्त:करण भएकाहरूको भिड स्वत: त्यसले प्राप्त गरीहाल्दछ भने सुङ्गुर झै बुद्धि भएकोले सुङ्गुर झै नै मनस्थित भएकाहरूको भिड़ स्वतः विना प्रयास प्राप्त गर्दछ अनि कुकुरहरूले वा सुङ्गुरहरुले आफुलाई मन पर्ने आफ्नो नेता वा गुरुको पुष्ठपोषण त गर्ने नै भए। त्यसमाथि यो कलियुगमा त झन तमोंगुणी प्रभावितहरूको नै भिड़ धेरै भएकोले त्यस्तै तमोगुणी नेता वा धर्मगुरुहरू नै सफल देखिन्छन तर सतोगुणी सतहृदयका नेता वा धर्मगुरुहरू भने विस्थापित नै हुने ख़तरापूर्ण अवस्था रहेको छ।

तसर्थ हामी श्रोता सधै सजग रहौ। नेता चयन गर्नु छ भने व्यक्तिगत बुद्धि र स्वार्थदेखि माथि उठी राष्ट्र कल्याणार्थ लागि परेको स्वच्छ छवि भएको नेता नै आफ्नो रोजाईमा पारौं भने धर्म गुरु चयन गर्नु छ भने सनातनिय शास्त्रीय शिद्धांतलाई गुरु-शिष्य परम्पराबाट बुझेको, कुनै निश्चित वर्गदेखि माथि उठेको, समस्त मनुष्य, पशु आदि समस्त जीवात्माकोहरूको नै उद्धार गर्न लागि परेको, भगवान श्रीकृष्णलाई नै परम तत्व बुझेको तत्वदर्शी, ज्ञानी सदगुरुको नै चयन गरौं।

हरे कृष्ण ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *