Best Online News From Nepal

निर्वाचन प्रतिमान बहस

नुमनाथ प्याकुरेल—
लोकतन्त्रको गहना नै आवधिक निर्वाचन हो। महान उत्सव जस्तो गरेर धुमधाम रुपमा मनाइने निर्वाचनको माहोल तातेको बेलामा मात्रै हैन, निर्वाचनको खास उद्दश्य जनतामा रहेको सार्वभौम सत्ता आफ्ना जनप्रतिनीधिहरुमा हस्तान्तरण गरी आफूलाई नै शासन गर्ने कानुन बनाउने, कानुन कार्यान्वयन गर्ने जस्ता दीर्धकालीन लक्ष्य बोकेको निर्वाचन उसै पनि खास महत्वको छ। जनता प्रति जिम्वेवार, जवाफदेही, उत्तरदायी बनी साधारण जनता र सरकारको बिचमा पुल बनि राजनीतिक सामाजिकीकरण गर्ने आवधिक निर्वाचन लोकतन्त्रको संस्थागत विकासमा महत्वपूर्ण हुन्छ, तर नेपालको परिस्थिति भने नितान्त फरक देखिन्छ। मेन्यु हेर्यो हेर्यो लास्टमा ममस् भने जस्तै भ्रष्टचार, सिन्डिकेट, कमिसन, भागवन्डा, व्यभिचार र अकर्मण्यताको दोहोलो काढेर कुख्याति कमाएका नेतृत्व निर्वाचनको माहोलमा आफ्ना कुकृत्य कार्पेटमुनि राखेर कोट, पैन्ट तथा दौरामा अत्तर छर्केर सफा र चिटिक्क परेर निर्वाचनको प्रचार प्रसारमा निस्केको देख्दा लज्जाले शिर निहुरिन्छ।
स्थानीय सरकारको निर्वाचन होस, या प्रान्तीय संसदको निर्वाचन, या होस सङ्घीय निर्वाचन, कसले जित्यो या हार्यो गौणकुरा हो तर कस्तो पद्धति र प्रतिमान स्थापित गरिन्छन्, ती महत्वपूर्ण हुन्छन्। हामीले निर्वाचन लाई कसरी बुझेका छौंरु निर्वाचनको प्रयोग कसरि गर्दैछौँरु यी र यस्ता कुरा निर्वाचनको सङ्घारमा ज्यादै महत्वपूर्ण हुन्छन्। जनताको सार्वभौम सत्ता जनताका प्रतिनिधीहरूमा हास्तान्तरण गर्ने माध्यम निर्वाचन नै भएकाले लोकतन्त्रको संस्थागत विकासका लागि यो महत्वपूर्ण छ। स्थानीय निकायको निर्वाचनका कतिपय अपृय तथा अलोकतान्त्रिक दृष्य हाम्रा आँखाबाट ओझेल नपर्दै, थरिथरिका स्वार्थपूर्ण अलोकतान्त्रिक दृष्य तथा परिदृष्य देखिन र भोगिन थालेको यथार्थ हो। तथाकथित बाम गठबन्धन होस या स्वघोषित प्रजातान्त्रिक गठबन्धन यी न आवश्यकता हुन्, न प्राथमिकता हुन्, यी त सत्ता आरोहणको सिँढी निर्माणका बाध्यता र अनिवार्यता मात्रहुन्।
देशले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रको गुणात्मक विकासमा खुसीले दङ्ग परौँ किरु खुसियालीमा दिपावली गरौंरु गठबन्धनको खास लक्ष्य निर्वाचन पश्चात निर्माण गरिने लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित सरकार नै बनेको छ। प्रजातन्त्रिक कालमा निर्वाचन पश्चात सरकार बनाउन अङ्कगणितीय खेल हुन्थ्यो, लोकतान्त्रिक गणतन्त्रमा निर्वाचन अगावै अङ्कगणितीय खेल भएको यथार्त थरिथरिका गठबन्धन नै हुन्, हैन ररु यसको कारण निर्धारित निर्वाचनमा तथाकथित प्रगतिशील समावेसी समानुपातिक प्रतिनिधित्व हुने भनी स्वागत गरिएको समानुपातिक निर्वाचन प्रणाली कै कारण कुनै पनि दलको स्पष्ट बहुमत नआउने निश्चय भएकै कारण गठबन्धनको ढोँग रचिएको निश्चित हो।
लोकतान्त्रिक गणतन्त्र सम्मको प्रजातान्त्रिक यात्रामा निर्वाचनमा जे जस्ता विधि, पद्धति तथा प्रतिमान स्थापित गरिएका छन् तिनका आधारमा वर्तमानमा अभ्यास गरिएको निर्वाचन ढोङमात्र हो। निर्वाचनको प्रतिस्पर्धामा रहेका प्रत्येक दलका न मौलिक सिद्धान्त छन्, न रैथाने अवधारणा, न दुरदृष्टि छ, न विकासको एजेन्डा। प्रतिकृयात्मक राजनीति र घृणाको व्यापार कतिन्जेल टिक्लारु प्रभुको निगाहमा पाएका तथा आशिर्वादबाट निर्देशित निर्धारित सिद्धान्त बाट उहिलै स्खलित भैसकेका छन्। राजनीतिमा विवेक सकिएपछि बलको प्रयोग हन्छ र गुन्डाको प्रयोग बाट निर्वाचनको परिचालन र सरकारको निर्माणसम्म हुन्छ।
भ्रष्टचार प्रमाणित भई जेल सजाय पुरा गरेर पुन राजनीतिको मुलधारमा फर्किएका कथित त्यागी, जेलनेल भोगेका, धरौटी तथा बिगो तिरेका आदर्श राजनीतिक नेतृत्व र तिनैले निश्चय गरेका दलका झोले उमेद्वारहरुबाट न तिनै दलको समृद्धि संभव छ, न राष्ट्रको विकास, न लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास नै। निर्वाचनका स्थापित प्रतिमान घृणा, द्वेश, क्लेष तथा प्रतिशोध साध्ने औपचारिक अभ्यास बनाइएका छन्। लोकतन्त्रमा निर्वाचन शब्द सुन्दा जति राम्रो सुनिन्छ, त्यसको अभ्यास त्यतिनै विकृत तुल्याइएको छ। प्रोपोगन्डा, प्रतिशोध, सिन्डिकेट, भागबन्डा, पौसाको खेल, गुन्डा तथा भ्रष्टहरुको चयनका लागि निमुखा, सोझासाझा सर्वसाधारण जनताको दुरुपयोग गर्ने निर्वाचन तथाकथित लोकतन्त्रको उपहास हो।
अघिल्लो संविधानसभा निर्वाचनमा एउटै उमेद्वारले ४ करोड रुपैया खर्च गरेर पनि निर्वाचन हारेको सुनियो। यस पटक गुन्डा नाइके, भ्रष्ट, ब्यभिचारी निर्वाचनमा उठाएको प्रष्टै छ। अख्तियारले भ्रष्ट राजनीतिक नेतृत्वप्रति नजर लगाउदा, अख्तियार प्रमुखलाई अयोग्य भनी बर्खास्ति गर्ने, भ्रष्टचारी राजनीतिक नेतृत्वप्रति अदालतले नजर लगाउंदा न्यायमूर्ति विरुद्ध महाअभियोग लगाएको साना नानिहरुलाई समेत कन्ठ छ।
पार्टीका घोषणापत्र पाखण्डीपनको पराकाष्ठा हुन्। निर्वाचनका दौरानमा तयार गरिएका निर्वाचन घोषणा पत्र कहिलै कार्यान्वयन गर्नु पर्दैन। २०४७ सालका घोषणापत्रमा र २०७४ सालका घोषणापत्रमा तात्विक भीन्नता छैन। ५ बर्ष र १० बर्षमा त्यो गर्छौँ भनि प्रतिवद्धता गरिएकै हुन् तर त्यस्ता ५ वर्ष र १० वर्ष धेरै गए। परिणाम हाम्रा सामु छर्लङ्ग छ। ४ र ७ को आशन मात्र यताउता भएको छ। लोकतान्त्रिक दलले निर्धारण गरेको सिद्धान्त कहिलै पालना गर्नु पर्दैन। विदेसी विधर्मी सिद्धान्तको च्याखे थापेर जुवाको दाउमा खुसुक्क माल कामाए जस्तो आयातित पश्चिमी प्रतिमानको प्रयोगमा अभ्यस्त भएकाले नै नेपालका आफ्ना मौलिक अवधारणा, सिद्धान्त, संस्कार तथा संस्कृति अन्धविश्वासी लाग्न थालेका छन्। हाम्रो सृजनशिलता, कृयात्मकता, अनुसन्धान तथा तत्परतामा ह्रास आएको खास कारण पनि विधर्मी प्रतिमान नै हुन्। अर्काको जुठो, बासी सिद्धान्त, अवधारणा तथा प्रतिमान स्थापित गर्न तिनकै तलुवा चोट्ने प्रबृत्तिले न यो देशको कल्याण हुन्छ न जनताको। सिद्धान्त होस या अवधारणा, पुजी होस या प्रविधि, ज्ञान होस या विज्ञान, पद्धति होस या प्रतिमान, साध्य होस या साधन माग्ने संस्कृतिले देश समृद्ध भएको कहि देखिएको तथा सुनिएको छैन। निर्वाचनको आवरणमा कहिँ नभएको जात्रा हाँडिगाउँमा देख्न र भोग्नु परिरहेको छ, तै पनि मनुवा बालुवामा पनि खन्याउन तयार भएको देख्दा उदेक लाग्छ।
ढोल पिटिएको लोकतान्त्रिक निर्वाचन, स्थापित मान्यताका आधारमा नाटक हो। आदर्श एउटा आचरण अर्को, कथनी एउटा करणी अर्को। निर्वाचनको माहोलमा ओझेल परेका विकृति ताथा विसङ्गति निर्वाचन पस्चात छरपष्ट हुने निश्चित छ। त्यति वेला पश्चाताप बाहेक हामी आम सर्वसाधारण जनताले पाउने अन्य केही कुरो हुने छैन। कथित लोकतान्त्रिक परिवर्तनको चौथो दशकमा पुग्दा इतिहास तथा क्रान्तिको धाक दिने लोकतान्त्रिक दलहरुले केही लछारपाटो लाएका छैनन् तर निर्वाचनको दौरानमा छ वर्ष भित्रैमा देशको कायापलट गर्ने सिंहगर्जन सुनेर गडडडड ताली पिट्ने सर्वसाधारण जनताको चेतनाको स्तर कसरि विकासित भएको मान्नेरु हरेक दलमा भ्रष्ट, कमजोर मनोविज्ञान, लालच, लोभ बढी भएकाहरुको हालीमुहाली छ। यसपालीको निर्वाचनबाट पनि स्वच्छ, धार्मिक, नैतिकवान, योग्य, स्वाभिमानलाई उचो राख्ने निर्वाचित सदस्य प्राप्त गर्नु सिलाखोज्नु भन्दा पनि कठिन हुनेछ।
जबदेखि नेपाली समाज भौतिक सुख सुविधा तर्फ उन्मुख भयो, मानविय धर्मयुक्त अर्थ बिर्सियो र आर्थिक उपार्जनको एकोहोरो रटान लगाएर धर्मिक र आध्यात्मिक कुरा गौण हुदै गयो। राजनीति बिना लगानी कमाउने व्यापारमा परिणत भइसकेको छ। पैसा कमाउने होडवाजीमा लागेका नेपाली राजनीतिक पङ्ती अनैतिक तथा विधर्मी कामलाई अँगाले र अर्थ सङ्कलन गर्ने छोटो तर सजिलो बाटो अपनाई काफी सम्पत्ति कमाई राजनीतिक आवरणमा आफुलाई सुरक्षीत गर्न विधर्मी प्रतिमान स्थापित गरी देश लुट्ने र लुटाउने पर्वको शङ्खघोष सरु हुदैछ।
दलको बिरोध हैन, निर्वाचनको बिरोध हैन, लोकतन्त्रको विरोध हैन, संघीय गणतन्त्रको बिरोध पानि हैन, बिरोध हो संघिय लोकतान्त्रिक गणतन्त्र तथा राजनीतिको आवरणमा संस्थागत भएको भ्रष्टचार, व्यभिचार, अपराध, जालझेल, सिन्डिकेट, भागवन्डा तथा अख्तियारको दुरुपयोगको। कुन दलले जित्यो, कुन दलले हार्यो, कुन व्यक्ति ले जित्यो, कुन व्यक्तिले हार्यो गौण कुरा हो तर लोकतन्त्रले हार्दा विद्वान बर्गले दलिय संकृणता त्यागेर तटस्थ तथा मध्यम मार्गवाट, समन्वायात्मक बिधि तथा पद्धती बाट अभिव्यक्त किन नगर्नेरु प्रजातन्त्र स्थापनाकाल देखि आजका मितिसम्म समयमा र निर्धारित आवधिक निर्वाचन गर्न नसक्नु मुलधारका राजनीतिक दलहरु तथा नेतृत्वको अकर्मण्यताको प्रमाण मान्ने कि नमान्नेरु लोकतान्त्रिक निर्वाचनले स्थापित गरेका गलत प्रतिमानहरु उदाहरणर्थस संस्थागत धाँधली, राजनीतिक फिक्सिङ, वंशानुगत राजनीति, खर्चालु निर्वाचन, प्रतिशोधको राजनीति, अङ्कगणितको राजनीति, घृणाको संस्थागत विकास, साँढेको जुदाइ बाच्छाको मिचाइ, जनताको अपमान, राजनीतिक भागबन्डा तथा सिन्डिकेट, छापामार शैलीमा न्यायालयको प्रयोग, कम्युनिस्ट(पुजीवाद ९कपु०को विकृत अभ्यास जस्ता गलत प्रतिमान परिवर्तन गर्न सङ्गठित भएर लाग्नु आजको कर्तव्य हो। यी प्रतिमान नबदले सम्म जतिनै राम्रा घोषणा पत्र लेखे पनि जति किरिया खाए पनि हुने वाला केहि छैन।
नेपालका रैथाने र मौलिक सभ्यता र संस्कृतिलाई मुलधारमा राखेर हाम्रो हजारौँ वर्षदेखि चलिआएको सांस्कृतिक समन्वयताको भावनालाई बिज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सद्भावलाई नेपालको संस्कृतिसंग जोडेर मौलिक रैथाने शक्तिको निर्माण नभएसम्म नेपालको सहि विकासको बाटो खुल्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *