Best Online News From Nepal

निर्माण कार्य ढिलाईले १७ करोड बढ्यो लागत : ११ वर्षपछि यस्तो बन्यो भेरी पुल

निर्माण सुरु भएको ११ वर्षपछि छिन्चु–जाजरकोट सडकअन्तर्गत सल्यानको देवस्थल र सुर्खेतको राकम जोड्ने भेरी नदीमा पुल निर्माण सम्पन्न भएको छ । २०६२ सालबाट निर्माण थालिएको यो पुल बनेसँगै अब छिन्चु–जाजरकोट सडकको यातायात सेवा सहज हुने भएको छ ।

यो पुलबाट जाजरकोट, रुकुम, सल्यान, डोल्पा, जुम्ला र सुर्खेतलगायतका जिल्लाका बासिन्दा लाभान्वित हुनेछन् । पुल निर्माणसँगै निर्माण सामग्री, खाद्यान्नलगायतका अन्य मालसामान ढुवानी र सीधा यातायात सञ्चालनमा सहजता आउनेछ ।

पुल निर्माणको काम सकिए पनि यातायात सञ्चालन भने वैशाख तेस्रो साताबाट गर्ने तयारी भइरहेको छ । यो अवधिमा पहुँच मार्ग निर्माणको काम सम्पन्न गरिनेछ । सबै काम पूर्ण रूपमा सकेर वैशाख तेस्रो सातादेखि पुलबाट यातायात सञ्चालन हुने सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले २० वैशाखमा पुलको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

११ वर्षअघि दुई वर्षभित्र निर्माण सक्ने गरी पुल निर्माणकोे जिम्मा स्वच्छन्द, काष्ठमण्डप, धनथान, प्रदीप, रविन निर्माण सेवाले संयुक्त रूपमा लिएका थिए । तर, कामले गति लिन नसकेपछि स्वच्छन्द निर्माण सेवा कम्पनीले कामको जिम्मा लियो । सडक विभागसँग सब स्ट्रक्चर निर्माणका लागि ३ करोड र सुपर स्ट्रक्चर निर्माणका लागि ८ करोडमा सम्झौता भएको थियो । ११ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको १ सय ८० मिटर लामो पुलको निर्माण कार्य ढिलाइ हुँदा लागत बढेर २८ करोड पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *