Best Online News From Nepal

नारायणहिटीप्रति बढ्दो आकर्षण : टिकटबाट मात्रै १७ करोड भन्दा बढी आम्दानी

नेपाल सङ्घीय गणतन्त्रमा प्रवेश गरेपछि स्थापना भएको नारायणहिटी दरबार सङ्ग्रहालय स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेको छ । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रका रुपमा रहेको नारायणहिटी राजदरबार अवलोकन गर्न अहिले पर्यटकहरुको ओइरो लाग्ने गरेको छ ।

राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डको साक्षी भएकाले पनि यहाँ स्वदेशी तथा विदेशी जिज्ञासु तथा अवलोकनकर्ता आउने क्रम बढ्दो छ । सङ्ग्रहालयका अनुसार २०६५ फागुन यता स्वदेशी तथा विदेशी गरी २० लाख ७९ हजार ७ सय ६० जनाले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन् । स्वदेशी दर्शकका रुपमा १० लाख ६ हजार १ सय ५५ जना र नेपाली विद्यार्थी मात्रै ९ लाख ५ हजार ३ सय ३० जना यहाँ आइसकेका छन् । चीनसहित दक्षिण एसियाली मुलुकका १ लाख १८ हजार ६ सय ९९ तथा अन्य मुलुकका ४९ हजार ५ सय ७६ जनाले सो सङ्ग्रहालयको अवलोकन गरेका छन् । टिकट बिक्री तथा पार्किङ शुल्कबापत सङ्ग्रहालयले १७ करोड ४२ लाख ८५ हजार ६ सय रुपैँया आम्दानी पनि गरेको छ ।

दरबारको नजिकै रहेको नारायणको मन्दिर र हिटीपोखरीको संस्मरणमा राजदरबारको नाम नारायणहिटी भएको हो। नेपाल भाषामा हिटीको अर्थ धारा हो । विदेशी वास्तुविद्को डिजाइनमा नारायणहिटी राजदबारको निर्माणकार्य विसं २०२० मा सुरु भई २०२६ मा सम्पन्न भएको थियो । राजदरबार निर्माण हुुनुअघि विसं १९०३ मा तत्कालीन प्रधानसेनापति शिवरामसिंह बस्न्यातका कान्छा छोरा काजी धोकलसिंह बस्न्यातको सम्पत्तिका रुपमा रहेको घरपरिसरलाई वीरशम्शेरका पालादेखि चर्चिन थालिएको हो । वीर शम्शेरले निर्माण गर्न लगाएको यो दरबार आफ्ना दुई छोरीको विवाह राजा पृथ्वी वीरविक्रम शाहसँग गराइदिएपछि हनुमानढोका दरबारबाट शाह राजाहरुलाई यहाँ बस्न लगाइएको हो ।

नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख रोहितकुमार ढुङ्गानाले सङ्ग्रहालयले हाल नारायणहिटीभित्र रहेको १९ वटा कक्ष सर्वसाधारणका लागि खुल्ला राखेको जानकारी दिए । बजेटको सीमितता र पूर्वाधारको अभावमा १२ वटा कक्ष खोल्न नसकिएको उनको भनाइ छ । सङ्ग्रहालयमा १ सय ४२ कर्मचारी कार्यरत छन् । सङ्ग्रहालयको बृहत्तर विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले यहाँ अवलोकनका लागि आउने आगन्तुकलाई एक दिनको प्याकेज उपलब्ध गराउने योजना रहेको बताए । नारायण राजदरबारभित्र घटेको दुर्दान्त घटनाको प्रमुख स्थल त्रिभुवन सदनको पुनःनिर्माण कार्यको प्रथम चरण सकिन लागेको छ । भूकम्पपछि अवरुद्ध दोस्रो चरणको निर्माण कार्य विसं २०७४ भित्र सम्पन्न गरी सर्वसाधारणका लागि खुल्ला गर्ने लक्ष्य सङ्ग्रहालयले राखेको प्रमुख ढुङ्गानाले बताए ।

स्व श्री ५ त्रिभुवनबाट निर्माण गर्न लगाइएको त्रिभुवन सदनभित्र विसं २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती, अधिराजकुमार नीराजन र राजपरिवारका अन्य केही नातेदारको निधन भएको थियो । सो कक्षको अवलोकनपछि धादिङबाट आउनुभएका सरिता पौडेलले अझै आफूलाई राजा वीरेन्द्र र रानी ऐश्वर्याको देहावसान भइसकेको भन्ने यथार्थता पत्याउनै मुस्किल भइरहेको बताए । वि.सं. २०६५ असार १ गते स्थापना भएको नारायणहिटी सङ्ग्रहालयलाई सोही वर्षको फागुन १५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *