Best Online News From Nepal

नाकाबन्दीले घरेलु उद्योगमा वृद्धि, सिप सिक्नेहरु पनि बढे

अघिल्लो वर्षसँग तुलनामा झन्डै २४ प्रतिशतले यस वर्ष घरेलु उत्पादन वृद्धि भएको छ । लामो समयको नाकाबन्दी र तराई आन्दोलनले घरेलु तथा साना उद्योगको उत्पादनमा राम्रो प्रभाव परेको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा घरेलु तथा साना उद्योगहरूले अघिल्लो वर्षको भन्दा झन्डै २४ प्रतिशत बढी उत्पादन गरेका छन् । आठ महिनाको अवधिमा लघु तथा घरेलु उद्योगले ७ अर्ब ३९ करोड ५१ लाखभन्दा धेरै मूल्यको उत्पादन गरेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । समिति अन्तर्गतका ४८ जिल्लामा दर्ता भएका उद्योगले सो रकम बराबरको उत्पादन गरेका हुन् । यतिमात्र हैन नाकाबन्दीको अवधिमा केही जिल्लामा नयाँनयाँ घरेलु उद्योग थपिएका छन् । ग्यास तथा पेट्रोलियम पदार्थ अभाव भएका बेला उक्त माग पूरा गर्ने गरी घरेलु उद्योग थपिएका छन् । सिन्धुपाल्चोक र दोलखा जिल्लामा पौने दुई सय ब्रिकेट उद्योग स्थापना नाकाबन्दीकै बेलामा भएको तथ्याङक छ । काठमाडौं लगायत स्थानमा पेट्रोलियम पदार्थको माग पूरा गर्न घरेलु उद्योग स्थापना भएका थिए ।’ त्यस्तै नाकाबन्दीको अवधिमा ब्रिकेट लगायत चाउचाउ, चाउमिन जस्ता घरेलु उद्योग थपिएका छन् । स्थानीय स्रोत–साधनबाट उत्पादन हुने वस्तु अल्लोका कपडा, ढाकाका वस्तु लगायत उत्पादन वृद्धि भएको समितिले जनाएको छ । समितिका अनुसार लघु, घरेलु र साना उद्योग स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनमा आधारित हुने भएकाले नाकाबन्दीको असर परेन ।स्थानीय स्रोतको प्रयोगबाट उत्पादन हुने यी वस्तु स्थानीय बजारमै बिक्री हुने र स्थानीय समुदायबाट सञ्चालित हुने भएकाले यसको उत्पादन बढेको समितिको भनाइ छ ।

चौमासिक अवधिमा साढे ३ सय घरेलु उद्योग दर्ता 
समितिको तथ्यांकअनुसार दोस्रो चौमासिक अवधिमा घरेलु उद्योग ३ सय २० र साना उद्योग ४ हजार ६ सय ५८ दर्ता भएका छन् । यीमध्ये १ हजार ३ सय ५९ जना महिला उद्यमी र ४ हजार १ सय ५४ जना पुरुष उद्यमीले आफ्नो उद्योग दर्ता गराएका छन् । घरेलु तथा साना उद्योगमा चालु आर्थिक वर्षमा २७ हजारले रोजगारी पाएको समितिले जानकारी दिएको छ । त्यस्तै, समितिको तथ्यांक अनुसार घरेलु उद्योगमा काम गर्ने कामदारको संख्या पुरुषको तुलनामा महिलाको बढी रहेको छ । तथ्यांक अनुसार महिला १६ हजार २ सय ६९ जना र पुरुष ११ हजार २ सय ९१ जनाले रोजगारी पाएका छन् ।
घरेलु तथा साना उद्योग विकास समिति अन्तर्गत मुलुकभर ४८ जिल्लामा दर्ता भएका उद्योगको स्थिर पुँजी २ करोड ३८ लाख ५७ हजार र चालु पुँजी २ अर्ब ७३ करोड ८६ लाख ५९ हजार गरी जम्मा ४ अर्ब ७४ करोड ४७ लाख ९९ हजार रहेको समितिले जनाएको छ । घरेलु र साना उद्योगबाट दोस्रो चौमासिक सम्ममा २ करोड ३५ लाख ४२ हजार २२ रुपैयाँ राजस्व संकलन भएको छ ।
सीपमूलक क्षेत्रमा पनि वृद्धि 
यस अवधिमा सेवामूलक क्षेत्रमा पनि वृद्धि भएको छ । समितिले सीपमूलक झन्डै १ सयभन्दा बढी विषयमा तालिम प्रदान गर्दै आएको छ । तालिमका माध्यमबाट उद्योग सञ्चालन गर्ने उद्यमीको संख्या बर्से्नि रुपमा बढ्दै आएको छ । तालिमका माध्यमबाट कम लगानीमा उद्योग सञ्चालन गर्न सकिने भएकाले घरेलु तथा साना उद्योग सञ्चालन गर्ने र रोजगारी पाउने अवसरमा वृद्धि भएको मिश्रको भनाइ छ ।
समितिले भूकम्पबाट क्षति भएका भवन निर्माणमा सहयोग पुग्ने गरी यस वर्ष १ हजार ९ सय ३३ जनालाई डकर्मी, सिकर्मी, हाउस वायरिङ, प्लम्बिङ र कपाल काट्ने तालिम दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *