Best Online News From Nepal

( नयाँ बर्ष / नयाँ संवत्सर सुखदायी बनोस ) शृंखला -३ ,शुक्ल यजुर्वेद र नयाँ बर्ष/संवत्सर

प्रवीण अधिकारी——

17814384_623025851237254_2107862431843716898_o

” संवत्सरो ऽसि परिवत्सरोऽसीदावत्सरो ऽसीद्वत्सरो ऽसि वत्सरो ऽसि । उषसस् ते कल्पन्ताम् अहोरात्रास् ते कल्पन्ताम् अर्धमासास् ते कल्पन्तां मासास् ते कल्पन्ताम् ऋतवस् ते कल्पन्ताम संवत्सरस् ते कल्पताम् । प्रेत्या ऽ एत्यै सं चाञ्च प्र च सारय ।सुपर्णचिद् असि तया देवतयाङ्गिरस्वद् ध्रुवः सीद ॥ “- यजुर्वेद/२७/४५ ********* ” यमाय यमसूम् अथर्वभ्यो ऽवतोकाम् संवत्सराय पर्यायिणीं परिवत्सरायाविजाताम् इदावत्सरायातीत्वरीम् इद्वत्सरायातिष्कद्वरीं वत्सराय विजर्जराम् संवत्सराय पलिक्नीम् ऋभुभ्यो ऽजिनसंधम् साध्येभ्यश् चर्मम्नम् ॥ “- यजुर्वेद/३० /१५ ”

माथिका वैदिक ऋचाहरु अनुसार संवत्सर / वर्ष एउटा त्यस्तो असाधारण कालगणना प्रक्रिया हो जसले सूर्य , चन्द्र र पृथ्वी विचको अन्तरसम्बन्धलाई व्यवस्थित गरी समयलाई ३६५ दिन ६ घण्टा १९ सेकेन्ड , १२ महिना र ६ ऋतुमा बाँडेर त्यसको प्रकृति संगको सामिप्यतालाई दर्शाउने गर्दछ | ब्रह्माजीले सृष्टि निर्माण गरेकैदिन यस शृष्टिभित्र रहन पुगेका देवी ,देउता, यक्ष ,राक्षस, गंधर्व, ऋषिमुनि, खोला नाला ,पहाड , हिमाल , पशुपक्षि , मान्छे , रोग र कीटाणुहरु समस्त मानवजातिप्रति अनुकुल होउन भनि यसलाई स्वागत गर्ने चलन बसेर गयो | महर्षि याज्ञवल्क्यले ” शतपथ ब्राह्मण ” मार्फत प्रजापति ब्रह्माको शरीरको छायाँ नै संवत्सर हो भनेको देखिन्छ | यस अर्थमा संवत्सरको पूजा र उपासना, प्रजापति ब्रह्माको उपासना हुने ठहर्छ | शृष्टिको पहिलो सूर्योदयमा संवत्सर र अहोरात्र ब्रह्मको अनन्त ज्ञान भित्र रहंदा वेदोपदेशद्वारा यो संवत्सरारम्भको ज्ञान मन्त्रद्रष्टा ऋषिहरुलाई हुन पुगेको थियो | तिनै मन्त्रद्रष्टा ऋषिहरु मार्फत संवत्सरारम्भ नवसंवत्सरको रुपमा प्रतिवर्ष मनाइदा वर्ष, महिना पक्ष ,अहोरात्र , दिन ,वार ,होराको रुपमा परिभाषित भई संसारभरी प्रचलित हुन पुग्यो | आकाशीय नक्षत्रहरुको उदयास्त संग यो सम्बन्धित भएको हुँदा यसका वार ,महिना , तिथिहरु पृथ्वी , सूर्य र चन्द्रमाको गतिमा आश्रित भएकोदेखि प्राचिन ऋषि मुनिहरुले सूर्य सिध्दान्तको प्रतिपादन गर्न पुगे | त्यसपछि विक्रम-संवतले ती सबैकुरा समेट्न पुगी प्रचलित गराएर ल्याएको कारण यस संवतको प्रचलन आजको दिन सम्मपनि नेपालमा जस्ताको त्यस्तै रहन सकेको हो | वेद वेदांगका मर्मज्ञहरु ,सूर्य सिध्दान्तको मान संसारभरी स्तुत्य रहेको ठान्दछन | सृष्टि संवतको प्रारम्भिक चरणदेखि आजसम्म यसका कुनैपनि गणनाहरु फरक परेका छैनन् , कुनै तलवितल भएको देखिन्न | त्यसकारण सौर मंडलका ग्रह, नक्षत्रहरुको गति ,स्थिति हाम्रो दिन, महीना र वर्षमा आधारित रहन सकेको हो | प्रजापति ब्रह्माले सूर्य, चंद्र, नक्षत्र, स्वर्ग, पृथ्वी, अंतरिक्षको रचना गरेपछि नव-संवत्सर शुरु भएको हुँदा सृष्टि संवतको कालगणना र सृष्टिको आयुपनि सम्वत्सरले नै निर्धारण गर्दै ल्याएको हो | १२ महिनाको एक वर्ष, ७ दिनको एक सप्ताह राख्ने परम्परा यसैले भित्र्याएको छ | सूर्य चन्द्रको गतिको आधारमा बर्षको गणना गरिएको हुँदा यै पद्धति अंग्रेज र अरवीहरुले अनुसरण गर्न पुगेका हुन |

ऋग्वेद वेद र नयाँ बर्ष /संवत्सर
====================
प्रख्यात ब्रह्माण्ड विज्ञानी स्टिफ़न हकिंसको पुस्तक ” द ब्रिफ हिस्ट्री अफ टाइम ” मा आदि द्रव्यमा बिगब्यांग अर्थात महा विष्फोट भएपछि यो ब्रह्माण्ड अव्यक्त अवस्थाबाट व्यक्त अवस्थामा आउन थाल्यो भनेका छन् | यसै कालबाट समयको उत्पत्ति हुन् पुगेको उनको निष्कर्ष छ | यै कुरो हजारौं बर्ष अघि ऋग्वेदकालका ऋषिमुनिहरुले नासदीय सूक्तमा उल्लेख गरि सृष्टिको उत्पत्तिको वर्णन गरेका थिए | हेरौ त्यो सूक्त –

” नासदासीन नो सदासीत तदानीं नासीद रजो नो वयोमापरो यत | किमावरीवः कुह कस्य शर्मन्नम्भः किमासीद गहनं गभीरम ||
न मर्त्युरासीदम्र्तं न तर्हि न रात्र्या अह्न आसीत्प्रकेतः | आनीदवातं सवधया तदेकं तस्माद्धान्यन न परः किं चनास ||
तम आसीत तमसा गूळमग्रे.अप्रकेतं सलिलं सर्वमािदम | तुछ्येनाभ्वपिहितं यदासीत तपसस्तन्महिनाजायतैकम ||
कामस्तदग्रे समवर्तताधि मनसो रेतः परथमं यदासीत | सतो बन्धुमसति निरविन्दन हर्दि परतीष्याकवयो मनीषा ||

तिरश्चीनो विततो रश्मिरेषामधः सविदासी.अ.अ.अत | रेतोधाासन महिमान आसन सवधा अवस्तात परयतिः परस्तात ||” -ऋग्वेद १०/१२९
भावार्थ :- ब्रम्हांड खुला स्थान हो जसको कुनै सीमाना छैन , कुनै अन्त छैन ,यसको लम्बाई, चौड़ाई, ऊँचाई र गहराई अनंत छ तर यसको रचना कसरी र किन भयो ? ब्रह्माण्ड विज्ञान र ब्रह्मांडको उत्पत्ति सम्झाउने यो सूक्तले यो संसारको उत्पत्ति हुनु भन्दा पहिले यहाँ कसैको आस्तित्व थिएन र न कसैको अनस्तित्व नै थियो भनेको छ | यसको अर्थ यो संसारको शुरुआत शून्यबाट हुन पुगेको हो भन्ने कुरा बताएको छ | त्यतिखेर हावा,आकाश केही थिएन | चारैतिर समुन्द्र सरह गंभीर र गहन अंधकार मात्र थियो | त्यतिखेर मृत्यु ,अमृत ,जीवन ,स्वर्ग ,नर्क रात दिन क्यै थिएन | एउटा प्रकृति मात्र शुरुवात विहिन अवस्थामा थियो | त्यतिखेरको अंधकार पानी जस्तो रुपहिन अवस्थामा थियो जसले आयतन बदलिन्थेन तर स्वरुप बदलिने गर्दथ्यो | त्यै अनादि पदार्थमा रचयिता भगवान प्रकट भए | तिनको इक्षा सृष्टि रचना गर्ने भयो ,त्यो नै सृष्टि उत्पत्तिको पहिलो बिउ हुन् पुग्यो | ती रचयिताले आस्तित्व र अनस्तित्वको खाल्डो पुर्ने काम गरे | त्यस बीजबाट चारैतिर सूर्य किरण जस्तो समान ऊर्जा तरंग निक्ल्यो र त्यसले नै त्यो अनादि पदार्थ(प्रकृति) संग मिलेर सृष्टि रचना गर्न थाल्यो |

महर्षि कणादले आफ्नो वैशेषिक दर्शनमा समयलाई म्याटरको रुपमा वर्णन गर्दै – ” पृथिव्यापस्तेजो वायुराकाशम कालो दिगात्मा मन इति द्रव्याणि ” अर्थात पृथ्वी , जल, अग्नि , वायु , आकाश, काल,डिक, आत्मा , मन यी सवै द्रव्य हुन भनेका छन् | यस कुरोलाई विचार्दा हाम्रा ऋषि मुनिहरुले यस पृथ्वीको घटना क्रमको अध्ययन विभिन्न कालक्रमको परिप्रेक्ष्यमा मात्रै गरेनन बरु त्यै काललाईपनि आफ्नो शुक्ष्म अध्ययनको विषय वस्तु बनाए | किनभने ऋग्वेदले त्यै कालक्रम प्रष्ट्याउने क्रममा नयाँ संवत्सरको उत्पत्तिको वर्णन ” ऋत सूक्त ” मा यसरी गर्न पुगेको देखिन्छ : –

” रतं च सत्यं चाभीद्धात तपसो.अध्यजायत | ततोरात्र्यजायत ततः समुद्रो अर्णवः ||
समुद्रादर्णवादधि संवत्सरो अजायत | अहोरात्राणिविदधद विश्वस्य मिषतो वशी ||
सूर्याचन्द्रमसौ धाता यथापूर्वमकल्पयत | दिवं चप्र्थिवीं चान्तरिक्षमथो सवः ||- ऋग्वेद /१०/१०/१-३

अर्थात ज्यादै प्रकाशमान तापबाट ऋत एवं सत्य अर्थात मूल तत्व तथा भाषित हुने प्रकृति पदार्थहरुको अधिकृत उत्पत्ति हुन् पुग्यो | सृष्टि काल पुराभएपछि रात्रि प्रलयको अवस्था आयो ,त्यो सकिंदा अर्णव समुन्द्र गतिमान मूल द्रव्यको अथाह प्रवाह उत्पन्न हुन पुग्यो |अर्णव समुन्द्रको माध्यमले संवत्सर समय कालचक्रको प्रादुर्भाव हुन् पुग्यो | यो विश्वलाई आफ्नो वशमा राख्ने परमात्माले परेलो झिम्क्याए सरह दिन र रात्रिको स्वरुप बनाए | मूल द्रव्यको प्रवाह उत्पन्न भएपछि कालको वोध हुन् थाल्यो | काल जहिले पनि परिवर्तन सापेक्ष्य भएको हुँदा जवसम्म परिवर्तनशील पदार्थहरु निर्माण हुन पुग्दैनन तवसम्म समयको अस्तित्व रहन सक्दैन | त्यसकारण शृष्टि चल्न थालेपछि समयको अनुभव हुन थाल्दा समयको सानो ईकाई दिन ,रात्रि निर्धारण भएर गएको हो | विराटरुपमा हेर्दा दिन र रात्रि सृष्टि एवं प्रलयकालका द्द्योतक भएपनि शृष्टि चक्र प्रवाहित हुन थालेपछि जुन दिन सूर्य उदाए त्यै दिनदेखि समय प्रवाहको पहिलो दिन हुन् पुग्यो | हाम्रा मुलुकमा काल निर्धारण प्रक्रियाका ३ नियामकहरु रहन पुगे –

१. पृथ्वीले आफ्नो धुरीमा घुमेर दिन रात बनाउछ |
२. चन्द्रमा जसको गतिले पक्ष र महिना बन्दछ |
३. सूर्य जसलाई पृथ्वीले घुम्दा ऋतु चक्र र वर्ष बन्न पुग्दछ |

नयाँ बर्षको शुरुवात
=============
सनातन हिंदू नववर्षको शुरुवात चैत्र शुक्ल प्रतिपदाबाट र सूर्यले मेष राशीमा संक्रमण गरेको दिन वैसाख १ गतेदेखि हुने गर्दछ | चैत्र शुक्ल पक्ष पाञ्चाङ्ग रचना गरिएको पक्षपनि मानिन्छ | गणितज्ञ भाष्कराचार्यले यसै पक्षमा दिन, महीना र वर्षको गणना गरी पाञ्चाङ्ग निकालेका थिए | विक्रम संवतको संबंध कुनै धर्म विशेष संग नरही यस पृथ्वीको सम्पूर्ण प्रकृति, खगोल सिद्धांत , ग्रह-नक्षत्रहरु संग रहेको छ | यसको वैज्ञानिक आधार र वैश्विक स्वीकार्यताको कारणले गर्दा नेपालको गौरवशाली परंपराले यसलाई कायम राख्न सकेको छ | हाम्रा ग्रन्थहरु अनुसार यो सृष्टि २ अर्व बर्ष पुरानो हो | यहीकुरा आधुनिक विज्ञानले पनि भन्दैछ | ग्रह र नक्षत्रहरुको गतिलाई हरेक बर्ष अद्द्यवाधिक गरि त्यस अनुसार दिन, महिना ,वर्ष र त्यसको सूक्ष्मतम भाग गणना गरि पात्राहरु निकालिने भएका कारण ती सम्पूर्ण चलायमान पिण्डहरुको गतिको प्राचीनतम र प्रमाणित आधार दिन सक्नु नै यो संवत्सरको ध्येय हो | हाम्रो जन्म, नामकरण, नयाँ शुरुवात ,विहे व्रतवन्ध र मृत्यु उपरांत गरिने श्रद्धादी कर्म पनि यसै गणना आधारित रहन पुगेको छ | यो गणना तिथि,मिति र दिनको गणना मात्र होइन यो सृष्टिको त्यस्तो अधारहो जसले समयका ३ आयामहरुलाई प्रतिविम्वित गर्ने गर्दछ | कालको अद्द्योपांत अध्ययन विना मानव जातिले भूत हाम्रो इतिहाँस हो , वर्तमान त्यै इतिहाँसको परिणाम हो , खगोल अध्ययन त्यसैको परिणति हो | भविष्य यसले निर्देशन गर्ने दिशा हो जस भित्र मानव जातिको गन्तव्य र प्रप्तव्यको आकांक्षा रहेको छ भन्ने कुरा बुझ्न सक्तैन | त्यसैले शृष्टिको तिनै कालको वोध गराउने निर्दिष्ट कालचक्रलाई नेपालमा पाञ्चाङ्ग भन्ने चलन बसेर गएको हो भन्नेकुरा बुझ्नु ज्यादै जरुरी देखिन आएको छ |

नेपालमा चिह्निने पाञ्चाङ्गका ५ तत्वहरु
=========================

दिनको अवधि सँधै एकनासको हुँदैन | यसको औसत समय २४ घण्टा ३ मिनेट ५६.५५५ सेकेन्ड मानिन्छ | व्यावहारिक रुपमा औसत दिन ८६,४०० सेकेन्डको र चान्द्र महिना २९.५३०५८८१ दिनको हुने गर्दछ | यै खगोलीय गणना संग समाञ्जस्यता राखिएको नेपाली पात्राहरुलाई हाम्रा पूर्वजहरुको अनुपम खोज मानिएको हो | तिथिहरुको घट ,बढ भएर अधिक मासको व्यवस्था गर्नु हाम्रा पुर्खाहरुको अति सुक्ष्म गणनाको व्यावहारिक समायोजनको पक्ष हो | हाम्रा पाञ्चाङ्गमा ५ तत्वहरु रहेका छन – वार ,तिथि नक्षत्र योग र करण |
वार :-विष्णु धर्मोत्तर पुराण ,आर्य भट्ट ,ब्रह्म गुप्त तथा भाष्कराचार्य जस्ता ज्योतिषाचार्य तथा गणितज्ञले सूर्योदयदेखि दिनको सुरुवात भएको माने | पृथ्वीको जुन भाग सूर्यको अघिल्तिर पर्दछ त्यसलाई अह: र सूर्यको पछिल्तिर पर्ने भागलाई रात्र भनियो | एक अहोरात्रको २४ होरालाई अंग्रेजहरुले २४ आवर (hour) भने | दिनको प्रत्येक घन्टाको सम्वन्ध एउटा ग्रह संग रहन पुगेको कारण सूर्योदयकालमा जुन ग्रह रहन पुग्दछ त्यै ग्रहको नाउँबाट सम्बन्धितवारको नाउँ राखिन पुग्यो | तर ,शृष्टिको शुरुवात सूर्योदयकालबाट भएको हुँदा पहिलो बार सूर्यको नाउँबाट आइतवार राखिई तद अनुरुप वारहरुको नाउँ २५ औं होरा अनुसार राखिदि लगियो र त्यै परम्परा सम्पूर्ण विश्वमा रहन पुगेको छ | तिथि :- चान्द्र दिनलाई तिथि भनिन्छ | पृथ्वीको परिभ्रमण गर्दै चन्द्रमाको १२ अंश सम्मको गतिलाई तिथि भनिने चलन छ | औंशीको दिन चन्द्रमा ,पृथ्वी र सूर्यको मध्य भागमा रहन पुग्ने हुनाले यसलाई शुन्य अंश अर्थात् ० डिग्रि भनिन्छ | चन्द्रमा सूर्य भन्दा १८० डिग्री टढा रहन पुग्दा पूर्णिमा तिथि हुन पुग्दछ | यसरी १५,१५ दिनको तिथि बनेको हुन्छ | करण : तिथिको आधिभाग करण हो | तसर्थ एउटा तिथिमा दुई करणहरु रहेका हुन्छन | नक्षत्र :- आकाश मण्डलमा भएका ताराहरुको आकृतिको आधारमा नक्षत्रहरुको नाउँ राखिएको हुन्छ | जसरी पृथ्वीको दूरी किलोमिटरले नाप्दछ त्यसरीनै आकाशको दूरी नक्षत्रले नापेको हुन्छ | काल गणना गर्न आकाश मण्डललाई २७ नक्षत्रमा बाँडिएको हुन्छ – अश्विनीदेखि रेवती सम्म | २७ नक्षत्रको चार पाउ अर्थात १०८ चरण हुन्छन | यसमध्ये ९ पाउको समुह बनाई एउटा राशी निर्माण गरिएको हुन्छ ,त्यसलाई भनिन्छ -मेष ,वृष , मिथुन …….मीन | सूर्यको राशि चक्र प्रवेशको दिनलाई संक्रान्ति भनिन्छ | बर्ष भरिमा १२ संक्रान्तिहरु हुन्छन | जुन नक्षत्र महिनाभारी देखिन्छ र त्यै नक्षत्रमा चन्द्रमाले पूर्णता पाउने हुँदा त्यै नक्षत्रबाट त्यो महिनाको नाउँ राखिएको हो |

नेपालमा समयको गणना
================
नेपालमा काल गणना दुई किसिमले गर्ने गारिएको छ – ती हुन् स्थूल काल गणना र सुक्ष्म | स्थूल काल गणनाले यस ब्रह्माण्डको उत्पत्ति भए देखिको गणना गर्दछ | अर्कोले पृथ्वीमा भएको वर्तमान शृष्टिको शुरुवातदेखि अहिले सम्मको परिचय दिन्छ | हाम्रा पूर्वजहरुले खगोलिय गतिको आधारमा समय मापन गरि त्यो कालको अनन्त यात्रालाई वर्तमान समय संग जोडी समाजका प्रत्येकले यसलाई सम्झिन सकुन भनेर संकल्पको माध्यमद्वारा अनन्त कालदेखि आजसम्मको काल यात्रालाई दिग्दर्शन गराउँदै ल्याएका छन् | हरि ॐ बिष्णु बिष्णु बिष्णु श्री मद्भगवतो महापुरुसष्य ………………करिश्ये | यस पृथ्वीको समय इतिहाँसको साँचो मन्वन्तर विज्ञानमा रहेको हुन्छ | यसले ग्रहहरुको सम्पूर्ण इतिहाँसलाई १४ मन्वन्तरमा बाँडेको हुन्छ | सम्पूर्ण सौर मण्डल , परमेष्ठि मण्डल वा आकाश गंगाको केन्द्रको भ्रमण पुराभएपछि त्यसलाई मन्वन्तरकाल भनिएको छ | यसको पूर्ण आयु ३०,६७,२०,००० बर्षको हुने गर्दछ | परमेष्ठि मण्डलले स्वयम्भुव मण्डलको परिभ्रमण गर्ने भएकोले त्यससमय खण्डलाई अर्थात ४३२००००००० बर्षलाई कल्प भन्ने गरिएको हो | ऋषि मुनिहरुले अन्तरिक्षमा रहेका ग्रहहरुको गतिलाई आधार मानि युगको ईकाईहरुको निर्माण गरेका थिए | त्यस मध्येको हो , पंच वर्षीय युग |यो युगमानको प्रारम्भिक वैदिक इकाई हो |जव सूर्य र चन्द्रमा ५ बर्षपछि घनिष्ठा नक्षत्रमा आउंथे त्यतिखेर उत्तरायण सहित पंच वर्षीय युगको शुरुवात हुन् पुग्दथ्यो | संवत्सर , इदवात्सर , परिवत्सर ,इदावात्सर तथा अनुवत्सर यसैको नाउँ हो | वृहस्पतिले एक राशि भोग गर्न एक बर्ष लाउँछन् ,यसरी १२ बर्षमा एउटा परिभ्रमण पुरा हुने भएकोले त्यसलाई बार्हस्पत्य बर्ष भन्ने गरिएको हो | प्रभवादी सम्वतसरहरुको ६० बर्षे युग , माथिको १२ बर्षे र ५ बर्षेको संयुक्त रुप हो | पृथ्वीलाई प्रभावित गर्ने सातै ग्रहहरु अश्विनी नक्षत्रमा रहन आइपुग्दा चतुर्युगी मान शुरु भएर गएको हो | जो ४३२००० बर्षलाई १,२,३,४, ले गुणन गर्दा क्रमशः सत्य,त्रेता,द्वापर,कलि हुन् पुग्दछ | आजको दिनमा शृष्टिको शुरुवात भएको १९५५८८५११८ बर्ष हुँदैछ |

कालगणनाको प्राचिनता
================
काल गणना प्राकृतिक ,खगोलीय ,राजनीतिक ,सामाजिक एतिहाँसिक चेतनाको द्द्योतक हो | काल गणना कालतत्वमै आधारित भएको हुँदा यसले यो ब्रह्माण्ड व्याप्त गर्न सकेको छ | यो काल गणना घटना विशेष, व्यक्ति विशेषमा आधारित रहेको छैन | नक्षत्रको गतिमा आधारित भएको यो कालगणना समस्त ब्रह्माण्डको उत्त्पत्ति ,पृथ्वीको शृष्टि चक्रको प्रारम्भ तर्फ इंगित हुन पुगेको छ | यसैकारण यो काल गणना वैश्विक स्तरमा वैज्ञानिक मानिन सकेको हो | व्यक्ति ,जाति ,घटना र देश विशेषसंग सम्बन्धित नभएको कारण यसलाई शृष्टियाब्द वा कल्पाब्द भनिएको हो | औंशीको दिन चन्द्रमाले आफ्ना सम्पूर्ण कलाहरु सूर्यमा विसर्जित गरेको कारण उसले जुन शुक्ष्म शक्ति प्राप्त गर्दछ त्यसलाई अमृत कला भनिन्छ त्यो अमृत कला चैत्र शुल्क प्रतिपदादेखि शुरु हुन् जाने भएको र त्यसै दिनदेखि नयाँ संवत्सर फेरिएर वैशाख १ गतेदेखि सूर्य संक्रमण अनुसार नया बर्ष हुन् पुगेको हो | चैत्र शुल्क प्रतिपदा पृथ्वी दिवशपनि हो | यो रामको राज्यारोहण दिन पनि हो | यै पक्षमा भगवान राम जन्मिएका पनि हुन् | वाशंतिक नवरात्र यै दिनदेखि शुरु हुन् पुग्दछ | राजा विक्रमादित्य ईशापूर्व दोश्रो शताव्दीमा यसै दिन जन्मिएका थिए | न्याय शास्त्रका प्रवर्तक महर्षि अक्षपाद गौतम यसैदिन जन्मिएको मानिन्छ | अस्तु -प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *