Best Online News From Nepal

नक्कली १२ जना डाक्टर पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २४ माघ २०७२ मा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा काम गरिरहेका १२ जना डाक्टर पक्राउ गर्यो । त्यसको तीन महिनापछि महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली इन्जिनियरको प्रमाणपत्र बनाउने गिरोहसहित १० इन्जिनियरलाई नियन्त्रणमा लियो । केही समय नबित्दै सीआईबीले बुधबार मात्रै नक्कली प्रमाणपत्रधारी एक पाइलटलाई पक्राउ गरेको छ ।

सीआईबीले विशेष सूचनाको आधारमा नक्कली प्रमाणपत्र पेस गरी हवाई उड्डयनमा काम गरिरहेका पाइलटको खोजी कार्य अघि बढाएको थियो । नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा सीआईबीले करिब ७० पाइलटको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गरिरहँदा नक्कली प्रमाणित भएको एकजना पाइलटलाई बुधबार सार्वजनिक गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ । स्वास्थ्य, हवाई उड्डयन र निर्माण यातायातजस्तो सर्वसाधारणको जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्रमै कत्तिसम्म खेलाँची हुँदो रहेछ भन्ने नमुना हुन् उल्लिखित घटनाहरू । यसअघि सवारीचालक अनुमति पत्र (लाइसेन्स) देखि सरकारी छाप तथा लेटरप्याड किर्ते गर्नेहरूलाई मात्र प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो । तर, पछिल्लो पटक डाक्टर, इन्जिनियर र पाइलटकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली फेला परेपछि प्रहरीले आफ्नो अनुसन्धानको दायरा फराकिलो बनाएको सीआईबीका निर्देशक प्रहरी नायब उपरीक्षक (डीआईजी) नवराज सिलवाल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *