नेपालमा स्वास्थ्य सेवामा नक्कली चिकित्सकहरु देखिएपछि नेपाल मेडिकल काउन्सिलले नेपालमा रहेका सबै चिकित्सकहरुको प्रमाणपत्रको छानविन कार्य जोडतोडका साथ अघि बढाइएको बताएको छ।
काउन्सिल नेपालमा चिकित्सकहरुलाई प्रमाणपत्र दिने निकाय हो।
उसले नेपालमा १७ हजारको संख्यामा रहेका चिकित्सकहरुको प्रमाणपत्र छानविन गरी गल्ती गरेकोलाई कारबाही गर्ने र चिकित्सा पेसाप्रतिको विश्वासमा आँच आउन नदिइने जनाएको छ।
नक्कली चिकित्सक पत्ता लगाउन ‘अपरेशन क्वाक’ नामको छानविन प्रक्रिया सुरु भएको छ र त्यसमा परीक्षा नियन्त्रण कार्यालय, उच्च-माध्यामिक शिक्षा परिषद र प्रहरीको संयुक्त टोलीले काम गरिरहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ।
अहिलेसम्म नक्कली प्रमाणपत्र भेटिएका १४ जना चिकित्सकमाथि कारबाही प्रक्रिया अगाडि बढाइसकेको काउन्सिलले त्यस्तो संख्या अझै धेरै हुन सक्ने आशंका गरिरहेको छ।