Best Online News From Nepal

धर्म निरपेक्षता र अनधिकृत रूपले आएको शंकराचार्यको गद्दीसमेत दुवै अस्वीकार्य छ

स्वामी रमणानन्द गिरि

 

करिब १२ सय वर्षपहिले भारतको केरलामा जन्मिई वैदिक सनातन धर्मको प्रचारप्रसार गर्ने एउटा महान् सन्तको नाम हो— शंकराचार्य। ३२ वर्षको अल्पायुमै उहाँले आफ्नो अद्वितीय विद्वत्ता, धर्मनिष्ठा, वाक्पटुता र यौगिक सामथ्र्यद्वारा सनातन धर्मको पुनर्जागरणमा अतुलनीय योगदान दिनुभएको थियो। वैदिक धर्मविरोधी तत्वहरूद्वारा मन्दिर फोड्ने, मूर्ति उखेल्ने र तीर्थहरूलाई दूषित गर्नेजस्ता काम भइरहँदा आफ्नो प्रबल पाण्डित्यले शास्त्रार्थमा ती सबै विरोधी मतलाई परास्त गरी सम्पूर्ण सनातन धर्मावलम्बीप्रति उहाँले ठूलो गुन लगाउनुभएको थियो।

शास्त्रार्थमा सबैलाई जितेकाले उहाँ जगद्गुरु हुनुभयो र वैदिक धर्मको व्यवस्था अक्षुण्ण राख्न भारत वर्षका प्रमुख चार तीर्थमा चार पीठको स्थापना गर्नुभयो। ती पीठको कार्य क्षेत्र, अधिकार र कर्तव्यको बाँडफाँट गर्दै उहाँले मठाम्नायानु शासन भन्ने धार्मिक आचारसंहितापरक ग्रन्थ रचना गर्नुभयो। यसअनुसार ती चार पीठमा अभिषिक्त सन्न्यासी आद्यजगद्गुरु शंकराचार्यकै स्वरूप हुन्छ (मठाम्नाय, श्लोक, ५१)।

मठाम्नाय शंकराचार्यका पीठहरूको व्यवस्थापनसम्बन्धी संविधान नै हो, जसअनुसार जितेन्द्रिय, पवित्र, वेदवेदांग आदि शास्त्रहरूको विज्ञ एवं आचारनिष्ठ दण्डी संन्यासी शंकराचार्य बन्नयोग्य हुन्छ। वैदिक धर्ममाथि आउन सक्ने सबैथरी आक्षेप र समस्याको शास्त्रीय समाधान गर्न सक्षम नभएको वा आचारभ्रष्ट भएको अवस्थामा त्यस संन्यासीलाई पदच्युत गरी योग्य व्यक्ति चयन गर्नुपर्ने व्यवस्था छ (मठाम्नाय, श्लोक ४९)। आद्यजगद्गुरु शंकराचार्यले चार दिशामा चार मात्र शंकराचार्य पीठको स्थापना गर्नुभएको छ। ती सबैको गोत्र, सम्प्रदाय, क्षेत्र, आराध्यदेव र पीठसँग सम्बन्धित वेदहरूको पनि निर्धारण गरिएको छ।

अहिले नयाँ पुस्तामा एउटा सहज जिज्ञासा जन्मिएको छ– शंकराचार्यका पीठ चारवटा नै किन ? सनातन धर्ममाथि चारैतर्फबाट आक्रमण भइरहेको सन्दर्भमा ठाउँठाउँमा नयाँ शंकराचार्यहरूको व्यवस्था किन नहुने आदि। नेपालको सन्दर्भमा एउटा नयाँ शंकराचार्य चाहिन्छ भन्ने धारणाअनुसार एक महिला संन्यासीको नाम बारम्बार उठिरहेको छ, जसलाई कहिले ज्योतिषपीठको शंकराचार्य हुनै लागेको, कहिले पशुपतिपीठको शंकराचार्य भएको आदि विभिन्न उपाधि दिँदै सर्वसाधारण जनताको आस्था खल्बल्याउने खालको भ्रम सिर्जना गरिएको छ।

शंकराचार्य हुनका लागि दण्डी साधु हुनुपर्छ। सँगै सम्बन्धित पीठका शंकराचार्यले नै शंकराचार्यको गद्दीमा आफ्नो शिष्य अथवा कुनै योग्य साधुलाई आसीन गराउने परम्परा छ। त्यसमा अन्य कुनै संघसंस्था या बाहिरी तत्वले कुनै निर्णय, निर्देशन त परै जाओस्, सुझावसमेत दिन सक्दैन। सामान्य मानिसहरूको शंकराचार्य गद्दीप्रतिको आस्था दुरुपयोग गर्दै स्वघोषित रूपमा शंकराचार्य बन्नु र बनाइनु दुवै धर्म र स्वयम् आद्यजगद्गुरु शंकराचार्यको धार्मिक संविधानमाथिको ठाडो हस्तक्षेप हो।

हालै भारतको उत्तराखण्डस्थित ज्योतिर्मठको शंकराचार्यको गद्दीमा को आसीन हुने भन्ने विवादमा इलाहावाद उच्च न्यायालयले गरेको व्यवस्था मननीय छ। कारणवश त्यहाँ पीठासीन शंकराचार्यद्वारा नै नयाँ शंकराचार्यको व्यवस्था हुन नसकेकाले उच्च न्यायालयले काशी विद्वत्परिषद्, भारत धर्ममहामण्डल र अन्य तीन पीठका शंकराचार्यहरूले परस्पर विचार गरी सर्वसम्मत रूपमा अविलम्ब शंकराचार्यको नियुक्तिका लागि आदेश दिएको छ। काशी विद्वत्परिषद् र भारत धर्ममहामण्डलले नाम चयन गरे पनि त्यसको अन्तिम निर्णय भने अन्य तीन शंकराचार्यहरूले नै गर्नुपर्नेछ। किनभने पीठको मर्यादा टुटेमा या आवश्यक पर्दा सहायक पीठहरूको निर्माण गर्नुपर्दा पनि चार पीठका शंकराचार्य नै त्यसमा एक मात्र आधिकारिक मानिनुहुन्छ।

यही विवादको सन्दर्भमा भारतको एउटा न्यायालयले ५ मे २०१५ मा ३०८ पेजको फैसला सुनाउँदै भारतभर शंकराचार्यको नाम लिई घुम्ने पचासौं अनधिकृत व्यक्ति र संस्थाहरूमाथि कारबाही गर्नुपर्ने र चार पीठबाहेक अन्य व्यक्ति या संस्थालाई शंकराचार्यको उपाधि धारण गर्ने अधिकार नरहेको व्यवस्था गरेको कुरा पनि यहाँ मननीय छ।

शंकराचार्य एउटा गरिमामय पद हो। त्यो नाममा आद्यजगद्गुरु शंकराचार्यको गरिमा, तपस्या र त्याग जोडिएको छ। जब शंकराचार्यले चार पीठ मात्रै आफ्ना आधिकारिक प्रतिनिधि हुन् भनी व्यवस्था गर्नुभएको छ भने उहाँमाथि आस्था राख्ने सबैले उक्त निर्णयलाई मान्नु नै उचित देखिन्छ। कसैले श्रद्धाले भारतमा पनि पशुपतिनाथको मन्दिर बनाउन सक्छ, तर त्यो केवल नेपालस्थित पशुपतिनाथको प्रतीत या स्मृतिस्थल मात्र हुन सक्छ, आधिकारिक पशुपति मन्दिर हुन सक्दैन। पुरातात्विक विश्व सम्पदास्थलहरू र सांस्कृतिक धरोहरहरू जहिले पनि निश्चित एवं स्थायी हुन्छन्, तिनमा फेरबदल या थपघट गर्नु सांस्कृतिक अतिक्रमण हो। वैदिक सनातन धर्मको सन्दर्भमा शंकराचार्यपीठ पनि त्यस्तै सांस्कृतिक सम्पदा हो।

पसी समन्वय नै धर्मरक्षाको एक मात्र विकल्प हो। विभिन्न बहानामा नयाँ संस्था र पीठहरू खडा हुँदा आपसी समन्वय बलियो हुनुको साटो झन् भाँडिने अवस्था आउँछ।

हो, नेपालमा विभिन्न क्षेत्रबाट धार्मिक सहिष्णुतामाथि प्रहार भएकै छ। त्यसको उपयुक्त प्रतिकारका लागि सक्षम एवं सबल नेतृत्व आवश्यक परेको छ। तर जोसुकै व्यक्तिले म शंकराचार्य हुँ भनी दाबी गर्ने र सन्त समाजसँगको आपसी परामर्श एवं सहयोगविना आफूखुसी प्रचारबाजी गर्दै हिँडेर मात्र यो समस्याको समाधान हुन सक्दैन। त्यसमाथि भारतको कुनै एक संस्था या समूहले नेपालका लागि नयाँ पीठ र नयाँ शंकराचार्यको व्यवस्था गर्नु झनै उपहासयोग्य एवं लज्जास्पद छ। नेपालभित्र धर्मको निर्णय गर्न यहींकै सन्तहरूको समन्वय आवश्यक छ। धार्मिक अभियन्ताहरूबीच समन्वय नभएकै कारण नेपाललाई धर्मनिरपेक्ष बनाइँदासमेत सन्तहरूबीच समन्वय हुन सकेन। व्यक्तिव्यक्तिपिच्छेका अलगअलग धार्मिक संगठन र अभियानका कारण नेपालमा धर्मरक्षाका लागि कुनै साझा अभियान बन्न सकेको छैन। आफू अध्यक्ष बन्न नपाउँदा विश्वस्तरीय हिन्दु संगठनलाई पनि टुक्य्राउने र आफू सच्चा धार्मिक अभियन्ता भएको दम्भ पालिरहने मनोरोग अहिले नेपालमा व्याप्त छ।

यस्तो विकराल परिस्थितिमा आपसी समन्वय नै धर्मरक्षाको एक मात्र विकल्प हो। विभिन्न बहानामा नयाँ संस्था र पीठहरू खडा हुँदा आपसी समन्वय बलियो हुनुको साटो झन् भाँडिने अवस्था आउँछ। केही धर्मप्रेमी विद्वत्वर्गभित्र यो आशंकासमेत उब्जिएको छ– नेपालभित्रका साधुसन्तको आपसी तालमेल खल्बल्याउन र जनआस्थालाई विभाजित गरी धर्मको साझा अभियानलाई असफल पार्न पर्दापछाडिबाट कसैले यो हल्ला मच्चाइरहेको त छैन ? ‘फुटाऊ र राज गर’ भन्ने सिद्धान्तका साथ अंग्रेजी हुकुमतले सयौं वर्ष छिमेकी राष्ट्र भारतमाथि सफलतापूर्वक शासन गरेको इतिहास हामीसामु नै छ।

यसको व्यवस्थाका लागि नेपालभित्र विभिन्न धार्मिक मठ, गुरुकुल र आ श्रमहरूका माध्यमले समाज सेवा गरिरहेका साधुसन्तहरूको आपसी परामर्श, समन्वय र दीर्घकालीन राणनीतिको आवश्यकता छ, नकि अनावश्यक कोलाहल एवं प्रचारबाजीको।

हामीसँग केही यक्षप्रश्न छन्— धार्मिक आचारलाई कसरी जीवनोपयोगी बनाउने ? अहिलेको बदलिँदो विश्व परिवेशलाई सनातन धर्मका मूल्यमान्यताअनुसार कसरी दिशानिर्देश गर्ने ? विभिन्न कालखण्डमा देखा परेका विकृतिलाई कसरी हटाउने ? वैदिक वाङ्मयको विशाल ज्ञानसम्पदालाई नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्ने ? वेदभित्रको विज्ञानलाई उजागर गरी कसरी लाभ लिने ? आदि। हामीले अध्ययनशील भई वैदिक वाङ्मयभित्र एउटै मात्र मोती पहिल्याउन सक्यौं भने पनि समाज लाभान्वित हुन सक्छ। यससँगै धर्मको औचित्य र महत्वलाई स्थापित गर्न पनि सकिन्छ।

जर्मनीका कैयौं विश्वविद्यालयमा वैदिक विज्ञानको अनुसन्धान भइरहेको छ। अमेरिकी अनुसन्धान एजेन्सी नासाले अन्तरिक्षयानसँग संवाद र सूचना सम्प्रेषणका लागि समेत संस्कृतको प्रयोग गर्दैछ। तर नेपालभित्र हामी भने धर्मलाई रुढीवादी र अग्रगमनको विरोधी जस्तो ठानी यसको अथाह लाभबाट वञ्चित भइरहेका छौं। धर्मरक्षा भनेको धर्मभित्र रहेको मर्मको अनुसन्धान र उपयोग हो। सूर्यको महत्व र उपयोगिता स्वयं स्थापित भएजस्तै संसारलाई ज्ञान र विज्ञानको पहिलो आलोक दिने सनातन धर्म र वैदिक वाङ्मयको महत्व पनि स्वयं स्थापित छ। तर यहाँ समुद्रभित्र मोती खोज्न डुबुल्की लगाएजस्तै हाम्रो लगनशीलता, अध्ययन र निष्ठाको खाँचो छ। ऋषिहरूले नेपालका यिनै हिमशृंखलामा बसी वैदिक ज्ञान र उच्चतम आदर्श संसारभर फिँजाएको तथ्य कसैबाट लुकेको छैन।

आधुनिक नेपाललाई त्यस्तो चरित्रबल र वैचारिक बल चाहिएको छ कि छैन, सरकारले विचार गर्नुपर्ने अवस्था आएको छ। नेपालका शिक्षा केन्द्रहरूबाट वैदेशिक रोजगारमा पठाउने भरियाहरू मात्र उत्पादन गर्ने हो कि आफ्नो विचार बलले संसारलाई नै उज्यालो बनाउने देशभक्त र चरित्रवान् नागरिक तयार गर्ने हो, रोज्नुपर्ने अवस्था छ। आफ्नो माटोको धर्म, संस्कार र चिन्तनको रक्षा गर्नु व्यक्ति, समाज एवं राज्य सबैको दायित्व हो। यही दायित्व भुल्नाले हामी दिशाहीन भएका हौं। त्यसैले नेपालका सबै धार्मिक अभियन्ता, साधुसन्त र नागरिक अगुवाहरूले समेत एउटा विराट् मन्थन गरी नेपालका सांस्कृतिक सम्पदाहरूको कसरी सदुपयोग गर्ने र यसबाट नेपाललाई कसरी विश्वस्तरीय पहिचान दिलाउने भन्नेबारे साझा निर्णय गर्नु पनि अपरिहार्य छ।

सनातन धर्म नेपालमा जन्मिएकाले यसको महिमा र व्यापकताभित्र नेपाली माटोको पनि गौरव एवं अस्मिता जोडिएको छ। भर्खरै नेपाल भ्रमणमा आउनुभएका भारतको पुरीस्थित गोवद्र्धन पीठाधीश्वर शंकराचार्य निश्चलानन्द सरस्वती महाराजले भने झैं नेपाललाई कुनै बाहिरी दिशानिर्देशको आवश्यकता छैन। यसले आफ्नो पहिचान र शक्ति आफैं पहिल्याउन मात्र बाँकी छ।

त्यसैले नेपालको सन्त समाजलाई बाहिरी प्रभाववश आएको धर्म निरपेक्षता र अनधिकृत रूपले आएको शंकराचार्यको गद्दीसमेत दुवै अस्वीकार्य छ।


– लेखक नेपाल सन्त समाजका उपाध्यक्ष हुन्।