Best Online News From Nepal

देखिँदै नाकाबन्दीको असर : तराईका घरजग्गा पास हुनै छोडे

नेपालमा झण्डै ५ महिना लगातार भएको नाकाबन्दीका कारण आम जनताले त सास्ती पाए नै, यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा परेको छ । तराई केन्द्रित नाकाबन्दीले सिङगो देशलाई नै कुनै न कुनै तवरले असर पुर्यायो । त्यसमाथि तराईका जिल्लामा हुने आर्थिक क्रियाकलाप त शून्य नै भए । यो अवधीमा तराईका जिल्लामा घरजग्गा तथा रियल स्टेट कारोबार ठप्प प्रायः भयो । मधेस आन्दोलन पिल्सिएका तराईका ८ वटा जिल्लाको घरजग्गा रजिस्ट्रेसन तथा घर भवन स्थायी नक्सा पास शून्य जस्तै भएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको आर्थिक गतिविधि अध्ययन गरी जारी गरेको अर्धवार्षिक प्रतिवेदनअनुसार समग्र घरजग्गा रजिस्ट्रेसन संख्यामा २८ प्रतिशतले कमी आएको छ । गत वर्षको साउनदेखि पुससम्ममा सो संख्यामा १.८ प्रतिशतको वृद्धि थियो । यो अवधिमा घर र भवन नक्सा पास संख्यामा ३२.७ प्रतिशतले कमी आएको छ । ४७ जिल्लामा अध्ययन गरिएको थियो । आन्दोलनबाट बढी प्रभावित बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरीमध्ये महोत्तरीमा घरजग्गा तथा रियल इस्टेट कारोबार शून्य नै रहेको छ । त्यस्तै, सर्लाही, सिरहा, रौतहट र सप्तरीमा एउटा पनि घररभवनको स्थायी नक्सा पास भएको छैन । सप्तरी, बारा, रौतहट र सर्लाहीमा घरजग्गा रजिस्ट्रेसन ८० प्रतिशत भन्दा बढिले घटेको अध्ययनले देखाएको छ ।

गत असोज ५ गते पछि मधेस केन्द्रित दलहरूले तराईका जिल्ला पाँच महिनाभन्दा बढी ठप्प पारेका थिए । सो अवधिभर सरकारी कार्यालय पूर्ण रूपमा बन्द रहे भने विकास–निर्माणका काम हुन नपाउँदा अधिकांश आयोजनाको पनि बजेट पनि फ्रिज भएर गएको छ । सीमा अवरोधसँगैको बन्द–हड्तालका कारण आर्थिक गतिविधि ठप्प हुँदा राजस्व संकलनमा पनि ठूलो असर परेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार आठ जिल्लाको राजस्व संकलन ७३.८२ (औसत) प्रतिशतले घटेको छ । महोत्तरीको राजस्व संकलन शून्य नै छ ।

कृषि उत्पादनमा पनि गिरावट 
राष्ट्र बैंक अनुसन्धान विभागको आर्थिक विकास शाखाले आव ०७०÷०७१ देखि कार्यान्वयनमा ल्याएको ‘आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन २०७०’ अनुसार प्रतिकूल मौसम तथा सीमा अवरोधका कारण कृषि उत्पादन पनि घटेको छ । यो अवधिमा धान उत्पादन ७.८ प्रतिशत, आलु ३.७ प्रतिशत र कोदो २.२ प्रतिशत घटेको छ भने तरकारी उत्पादनमा ८.६ प्रतिशतले गिरावट आएको छ । अध्ययनमा झापा, रुपन्देही, सिरहा, धनुषा, महोत्तरी, सर्लाहीलगायत धान उत्पादन पकेट क्षेत्र पनि समावेश भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *