Best Online News From Nepal

देउवा प्यानलबाट महामन्त्रीमा केसीको उम्मेदवारी घोषणा

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले १३औं महाधिवेशनका लागि महामन्त्रीमा उम्मदेवारी घोषणा गरेका छन्। राजधानीमा आयोजित कार्यक्रममा नेता केसीले आफ्नो उम्मेदवारी वरिष्ठ नेता शेरबहादुर देउवाको समूहबाट हुने जानकारी दिँदै आफूले १८ वर्षसम्म संस्थापन समूहबाट न्याय नपाएपछि फरक समूहमा पुगेको बताए।

उनले भने, ‘महामन्त्रीमा अरू जोसुकै मैदानमा उत्रिए पनि अब मेरो उम्मेदवारी परिवर्तन हुँदैन, यो अन्तिम निर्णय हो।’ देउवा समूहको औपचारिक घोषणा बुधबार हुने जनाइएको छ।

उनले कांग्रेसमा व्याप्त विरासतको राजनीति, एकाधिकार र सानो झुन्डको हालिमुहाली तोड्न आफूले देउवा समूहबाट उम्मेदवारी दिन लागेको तर्क गर्दै संस्थापन पक्षका नाममा दुई-चार जनाले सिङ्गो पार्टी कब्जा गर्न खोजेको आरोप लगाए।

लेखकको उम्मेदवारी केसमा
कांग्रेसका युवा नेता रमेश लेखकले महाधिवेशनले सक्षम, सबल र गतिशील नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन्। महाधिवेशनमा खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका नेता लेखकले पत्रकार भेटघाटमा आदर्श र सिद्धान्तमा होइन, पार्टी सञ्चालनको विधि र प्रक्रियामा नेताबीच अहिले केही मतभेद रहेको र काँग्रेसभित्र नै अहिले सहकार्य, सहमति र एकता कायम गर्न आवश्यक रहेकामा जोड दिए। उनले संविधान लेखन र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आफूले गरेको योगदानको कदर सबैबाट हुने विश्वास व्यक्त गरे।

गुट संस्थागत नगर्न सुझाव
नेपाली कांग्रेसको आसन्न १३औं महाधिवेशनमा गुट संस्थागत नहुने गरी निर्वाचनमा जान नेता कार्यकर्ताले सुझाव दिएका छन्। देशको सबैभन्दा ठूलो पार्टीका रुपमा रहेको कांग्रेसमा गुटबन्दी बढ्दै जाँदा पार्टी कमजोर हुने भन्दै एकबद्ध भएर आउन उनीहरुले केन्द्रीय शीर्षनेतालाई आग्रह गरेका हुन्। क्षेत्र नं ४ चितवनका क्षेत्रीय सभापति सरिता केसीले भने, ‘महाधिवेशनलाई कसरी एकताको बनाउने भन्नेतर्फ नेताहरु चिन्तित नभएको सन्देश बाहिर गएको छ।’

बर्दिया जिल्ला क्षेत्र ३ बाट महाधिवेशन प्रतिनिधिका रुपमा काठमाडौँ आउनुभएकी कालिकादेवी विष्टले नेताहरु गुट–उपगुटमा छुट्टिएर आउँदा आफूहरुलाई निकै अप्ठेरो पर्ने बताए। छपन्न वर्षदेखि झापामा रही काँग्रेसको आस्थामा बस्नुभएका ७५ वर्षीय महाधिवेशन प्रतिनिधि जितबहादुर पुरीले देशको ठूलो पार्टीका हैसियतले देशप्रति पार्टीको ठूलो दायित्व बहन गर्नुपर्ने अवस्थामा आफ्नै पार्टीभित्र गुट–उपगुट चलाएर लडाइँ गर्नु उचित नभएको धारणा राखे।

Source: Nagarik News

Leave a Reply

Your email address will not be published. Required fields are marked *