Best Online News From Nepal

देउताको परिभाषा –

प्रवीण अधिकारी –

16711796_598880156985157_2070402815463131965_n
=============
कुनै पनि परालौकिक शक्ति , जो आफै अजर ,अमर र आफ्ना पराप्राकृतिक गुण र शक्तिको कारण पूजनीय भएका हुन्छन तिनलाई देउता वा देव भन्ने चलन हाम्रो मान्यतामा रहेको छ | सनातन हिंदू धर्ममा देउता भन्ने शब्द परमेश्वर (ब्रह्म)को लौकिक रूप वा ईश्वरको सगुण रूप हो | वैयाकरणिय हिसाबले ‘देव’ शब्दमा ‘तल्’ प्रत्यय लाग्दा ‘देउता’ शब्द बनेको हुन्छ | तसर्थ देव र देउता शब्दको अर्थ पर्यायवाची ठानिन्छ | महर्षि यास्कले निरुक्तमा यसको ब्याख्या गर्दै भनेका छन् ‘जसले केही दिन्छ , उ देउता हो अर्थात देव शब्द दिनु संग सम्बन्धित छ र त्यसकारण त्यस शब्दलाई शक्तिसंपन्न ठानिन्छ | तिनले आफ्ना गुण आफूमै राख्न सकेको कारण देउताले आफ्नो शक्ति आफ्ना आराधकलाई दिन्छन भन्ने मान्यता रहेको हुन्छ | देउता विराट शब्द हो भने देव शब्दले अरु अरु गुणलाई आफु संग सामेल गरि देउता भनिन पुगेको भएता पनि नेपालमा देउता , ईश्वर ,भगवान ,देव आदि इत्यादि सबै एउटै अर्थमा प्रयोग गर्ने गरिन्छ | यस ब्रह्माण्डका रचयिता परम परमात्माकालागि पनि ईश्वर , देउता , देव र भगवान शब्दनै प्रयोग हुन्छ | यी देवी देउताहरु जड‌, र चेतन‌ दुबै रुपमा भेटिन्छन | जड देव परमात्मा पनि मानिन्छन | महादेव पनि भानिन्छां भने चेतन देउताको रुपमा बाबु ,आमा ,अतिथी सबैलाई समेटिएको हुन्छ |

निघंटू ग्रन्थमा देउता शब्दको अर्थ :
=======================
” निघण्टु ग्रन्थस्य पञ्चमाध्याये सङ्गृहीतशब्दाः अस्मिन् काण्डे विवृताः । अत्र देवताशब्दानां निर्वचनेन सह देवताविज्ञानं, गौणमुख्यदेवतापरिज्ञानमपि दर्शितमित्यतः काण्डमेतत् प्रामुख्यं भजते । अत्र १५१ शब्दाः व्याख्याताः । मन्त्राणां अर्थाः त्रिविधाः भवन्ति । ते आधिभौतिकं, आधिदैविकं, आध्यात्मिकञ्चेति । आधिभौतिकार्थस्य साहाय्येन आधिदैविकस्य, आधिदैविकेन आध्यात्मिकस्य च ज्ञानं भविष्यति । उत त्वं सख्ये ………….. अफलामपुष्पाम् । (ऋक्.१०.७१.५.) इति मन्त्रस्य व्याख्याने उक्तं हि आचार्येण – अर्थं वाचः पुष्पफलमाह । याज्ञदैवते पुष्पफले । देवताध्यात्मे वा । (निरु.१.१९.) अस्मिन् दैवतकाण्डे आधिदैविकार्थः मन्त्राणां दर्शितः । अपि च मन्त्राणां देवतापरिज्ञाने मार्गदर्शनं कृतम् । तर्हि किं नाम देवता ?
१. यत्काम ऋषिर्यस्यां देवतायामार्थपत्यमिच्छन् स्तुतिं प्रयुङ्क्ते तद्दैवतः स मन्त्रो भवति । (निरु.७.१.)
मन्त्रद्रष्टा ऋषिः यस्य विषये अर्थापत्तिम् इच्छति सः मन्त्रः तद्दैवतः भवति ।
२. षड्गुरुशिष्यग्रन्थे उच्यते – तेन वाक्येन यत्प्रतिपाद्यं वस्तु सा देवता ।
३. एष एव अभिप्रायः बृहद्देवतायामपि (१.६.) दर्शितः ।
अनेन ज्ञायते यत् मन्त्रे प्रतिपादित विषय एव देवता इत्यभिधीयते । मन्त्रद्रष्टा ऋषिः यथा अर्थमिच्छति तथा देवतानां स्तुतिः = वर्णनं च भविष्यति । आधिदैविकस्तरे बह्व्यः देवताः भवन्ति । प्रायः ते सर्वे जडदेवताः च भवन्ति । किन्तु आध्यात्मिकदृष्ट्या एक एव देवः = परमात्मा स्तुतिपात्रः भवति | तस्यैव वर्णनं मन्त्रेषु भवति । माहाभाग्याद्देवताया एक आत्मा बहुधा स्तूयते । एकस्यात्मनो अन्ये देवाः प्रत्यङ्गानि भवन्ति । (निरु.७.१४.)देवेषु महान् ऐश्वर्यशाली परमात्मा सर्वत्र स्तुत्यो भवति । सा एव सर्वेषां मन्त्राणां मुख्यदेवता । अन्याः देवताः तस्यैव अङ्गानि भवन्ति । ओंकारः सर्वदेवत्यः अन्या देवतास्तद्विभूतयः । एकैव महानात्मा देवता । तदप्येतदृचोक्तम् – इन्द्रं मित्रं वरुणं …… । (सर्वानुक्रमणी)अत्र तु एकं सद् विप्रा बहुधा वदन्ति इति वेदप्रामाण्यं च दर्शितम् । देव शब्दः दिवादिगणस्य दिवु क्रीडादि धातुना सिध्यति । निरुक्ते देव शब्दस्य निर्वचनमेवं वर्तते । देवो दानाद्वा दीपनाद्वा द्योतनाद्वा द्युस्थानो भवतीति वा । यो देवः सा देवता । (निरु.७.१५.) ” |||

जब देउता शब्द वेद मन्त्रको विषय वस्तु हुन पुग्छ अनि तिनलाई देउता भनिन्छ | यस वाहेक कुनै शक्ति अथवा पदार्थ प्राप्तगर्न जव प्रार्थना गरिन्छ र उसले दिन थाल्छन भने ती पनि देउता कहलिञ्छन | कुनै वेदमन्त्रमा जो प्रति याचना गरिन्छ तिनलाई त्यस मन्त्रको देउता भनिन्छ |

यजुर्वेद र ॠग्वेदमा देउताको परिभाषा
=========================
यजुर्वेद अनुसार देउताहरु मुख्यत: १२ ओटा मानिन्छन | शुक्ल यजुर्वेदले भन्छ :- ” अग्निर्देवता वातो देवता सूर्यो देवता चन्द्रमा देवता वसवो देवता रुद्रा देवतादित्या देवता मरुतो देवता विश्वेदेवा देवता बृहस्पतिर्देवतेन्द्रो देवता वरुणो देवता ” | यसमा अग्नि र वायुको नाम पनि देउताको रुपमा आएको देखिन्छ | अब यिनलाई देउता मान्ने कि नमान्ने ? हाम्रो ग्रन्थहरुले ३३ ओटा बाहेक अरुपनि थुप्रै देउताहरु अर्थ्याएको छ | भगवतीका साथ ६४ योगिनी, ५२ भैरव , अप्सरा, यक्षिणी , ४९ प्रकारका मरुद्गण र ५६ प्रकारका विश्वेदेवपनि साथै भएको मानिन्छ |

उता अथर्ववेदले भन्छ :- ” अहमादित्यरुत विश्वेदेवै “|

हाम्रा वैदिक सनातन हिन्दू धर्ममा कति देउताहरू छन् ? भन्ने कुरा सप्रमाण बताउनु पर्दा वेदको शिरोभाग उपनिषद अनुसारको आधारले ब्याख्या गरेर बताएर अर्थ्याउने धेरै व्यक्तिहरु देखिन्छन | त्यस्ता व्यक्तिले बृहदारण्यक उपनिषदपनि आफ्नो आधार ग्रन्थको रुपमा उल्लेख गर्दछन | उनीहरुको मतमा बृहदारण्यक उपनिषदमा एउटा प्रसंगमा शाकल्य ऋषिले याज्ञवल्क्य ऋषिलाई सोधेका छन् – देउता कतिओटा छन् ? कति देवाः ?-३/९/१-२ | अनि याज्ञवल्क्य ऋषिले जवाफ दिएका छन् – देउता ३३ मात्र हुन् | ” त्रयास्त्रीशत्वेव देवा: ३/९/१-२ ” | ती ३३ देउताहरू को को हुन् ? भन्दा ८ वसु + ११ रुद्र + १२ आदित्य +१ इन्द्र+ १प्रजापति वा दुई अश्विनिकुमारहरु =३३ यिनै ३३ देउताहरू हुन् -ब्रिहदारण्यकोपनिषद -३/९/१-२ | फेरि त्यहाँ अर्को प्रश्न पनि गरिएको छ र भनिएको छ – कति देउता छन् ? कतम: ? -३/९/५ त्यसको जवाफमा याग्यवल्क्यले अर्थ्याएका छन – ” एको देव इति | -३/९/५ ” | यी जो एउटा देउता छन् उनको नाउँ के हो त? त्यसको जवाफामा भनिएको छ = ब्रह्म – ब्रह्म तदित्याचक्षाते -३/९/५ | यी प्रसंग भए उपनिषदको कुरा |

यस्तैकुरो ॠग्वेद र श्वेताश्वातर उपनिषदमा यसरी बताइएको छ :-
————————–————————–————
श्वेताश्वातर उपनिसदमा कहींपनि ३३ कोटी देउताको नाउँ लिइएको छैन | त्यसकारण हामी सनातनीहरुले कोटी शब्दको अर्थ बताउने पर्ने बाध्यतापनि देखिंदैन | यी ३३ देउतापनि एउटै देउता =परमात्मा =ब्रह्म =भगवानका विभिन्न रुपहरु हुन् भन्न सकिन्छ | एउटै ब्रह्म नामक देउतालाई विभिन्न प्रकारले अनेकौं नाउँ राखेर बोलाइएको हो भन्दा हुन्छ |

त्यसैले ” एकं सद्विप्रा बहुदा वदंती ” -ऋग्वेदले भन्यो | अनि तिनै एउटा देउता सबै चराचर जगतमा व्याप्त हुन् पुगेको ठानियो |
” एको देव: सर्व भूतेषु गुढ: ” – श्वेताश्वातरोपनिषद -६/११ | हामीद्वारा देखिने सुनिने सबै कुरो त्यो एउटा देव भित्र समेटिएको मानियो | अनि भनियो ” सर्व खल्विदम् ब्रह्म ” ३/१४/१ , यसकारण हाम्रो सनातन धर्ममा एउटै देउता मान्नथालिएको कारण हामीले ३३ देउता त् के सारा विश्वलाई त्यहि रुपमा हेर्न थाल्यौं | यसैकारण ” सर्व खल्विदम् ब्रह्म ” ३/१४/१ ,लाई अर्थ्याउँदै सबैले हाम्रो सनातन धर्ममा एउटै देउताको पैरवी गर्न थालेका हुन् |

अब हाम्रो सामाजिक र लोक परम्पराले हुर्काएको मान्यताको विश्लेषण गरि हेरौं
===================================================

श्रुतिर्विभिन्ना स्मृतयो विभिन्नाः नैको मुनिर्यस्य वचः प्रमाणम् ।
धर्मस्य तत्वं निहितं गुहायां महाजनो येन गतः सः पन्थाः ॥ – महाभारत

हाम्रा वेद र धर्मशास्त्र १३०० शंख्यात्मक रुपमा भएको मानिन्छ अर्थात थुप्रै अनि विभिन्न प्रकारका छन भन्ने ठानिन्छ | कोई त्यस्ताखाले एउटा ॠषिमुनि छैनन् जसको वचन प्रमाणको रुपमा प्रत्येकले मानेको होस अर्थात हाम्रा श्रुतिहरु , स्मृतिहरु र ॠषिमुनिहरुको मत भिन्न-भिन्न रुपमा व्यक्त गरिएको छ | धर्मको तत्त्व अत्यंत गूढ (गोप्य) हुने बताइन्छ – त्यो साधारण मान्छेको समझ भन्दा परको कुरो हो |यस्तो अवस्थामा हाम्रा महापुरूषहरु अर्थात अधिकतर श्रेष्ठ व्यक्तिहरु औ हाम्रा पुर्खाहरुले जुन मार्ग अनुकरण गरे हामीलाई आजसम्म डोर्याए त्यो नै हाम्रो धर्मको सुमार्ग हो र त्यहिकुरो हामीले हाम्रो आचरण बनाउनै पर्दछ |

माथि व्यक्त गरिएको मत अनुसार हाम्रो सनातनी समाजले विभिन्न मान्यताहरु हुर्काएर आएको छ | त्यसकारण हाम्रो देशमा कसैले भन्छन ईश्वर एउटा मात्र छन , कसैले भन्छन ईश्वर ३३ ओटा छन , कसैले भन्छन ३३३९ ओटा छन् , अनि कसैले भन्छन ईश्वर ३३ करोड शंख्यामा अनिगिन्ती रहेका छन | तर सत्य के हो भने एउटै ब्रह्म नामक देउतालाई हामी धर्मावलम्बीले विभिन्न प्रकारले अनेकौं नाउँले पुकारेका हौँ किनभने हाम्रो नेपालमा कोटी शब्दको अर्थ करोड़पनि हो , प्रकारपनि हो र श्रेणीपनि हो | त्यसकारण सनातन हिंदू देवी देउताहरुको हकमा यी दुवैअर्थ हाम्रो समाजले लागु गर्न पुगेको छ |

अब उदाहरणको रुपमा हेरौं – यदि हामीले आदित्य अर्थात सूर्यलाई एक श्रेणीको वा एकै प्रकारको वा एउटै कोटिको हुन भनेर मान्यौं भने आदित्यको कोटिमा १२ देउताहरु अर्थात आदित्यहरु भेला हुन आइपुग्छन , जसको नाउँ १२ ओटा बेग्ला बेग्लै राखिएको छ | तर यी सबै १२ बेग्ला बेग्लै कोटिका चाहीं होइनन किनभने पर्जन्य, इंद्र र त्वष्टाको कोटिमा अन्य कोहिपनि परेका देखिन्नन् | आदित्यको कोटिमा १२ सदस्य, वसुको कोटि या प्रकारमा ८ सदस्य ,रुद्रको कोटिमा ११ सदस्य , दुई अश्विनी कुमारहरु आदि आदि | त्यसैकारण कोटिको अर्थ प्रकार नै हो, करोड़ नै हो भनेर कोही सनातनी हिन्दुहरुले जिद्धि गरेर बोल्न सक्दैनन किनभने हामी प्रत्येक सनातानिहरुले के कुरा बुझेका छौ भने – देउताहरुको एउटा अवस्था छ , तिनको छुट्टै योनि छ , जस्तो मान्छेको छुट्टै अवस्था छ त्यस्तै योनि पनि छ | कसरी भन्दा – हामी मान्छेको योनिमा नेपाली ,भुटानी ,भारतीय, चिनियाँ , अम्रिकाने , अफ़्रीकी, रूसी, जापानी आदि धेरैकोटि अर्थात श्रेणिहरु छन | जसको शंख्या अरबौं छ | त्यस्तै देव योनिमा ३३ किसिमका देउताहरू मात्र छन भन्यौं भने मणिभद्र आदि अनेकौं यक्ष, चित्ररथ, तुम्बुरु, गन्धर्व, उर्वशी, रम्भा आदि अप्सराहरु , अर्यमा आदि पितृगण, वशिष्ठ आदि सप्तर्षि, दक्ष, कश्यप आदि प्रजापति, वासुकि आदि नाग, आदि सबै हराउन पुग्नेछन | त्यस्तै धेरै सनातानिहरु कश्यप आदिलाई देउता मान्दैनन किनभने इनि ब्रह्माद्वारा जन्मिएका थिए , देउताहरुको जन्मदाता यिनै थिए | उनीहरुको तर्कमा यिनीहरु ब्रह्माका सन्तान थिए | त्यसकारण यी सबै ब्रह्मरुपका हुन पुगे | इनको पृथक गन्ति गर्नु हुन्न रे | त्यसो हो भने कश्यपद्वारा प्रकट गरिएका १२ आदित्य ,८ वसु तथा ११ रुद्रलाई कश्यपरूप मानेर छोडिदिए कस्तोहोला ? वेदमा भएका सबै रूद्रलाई शिवको अवतार माने के होला ? हनुमानपनि रुद्र अवतार हुन भनेर पार्वतीलाई हनुमानको पत्नी भन्दिए कुरो कहाँ पुग्ला ?

यहाँ हामी प्रत्येकले विचार गर्नु पर्ने के हो भने शिवजीको हनुमान अवतार रुद्र उर्जाको रुपमा भएपनि स्वरूपतः र उद्देश्यतः उनि भिन्न हुन | त्यस्तै समग्र संसार नारायण स्वरुपको भएपनि स्वरूपतः र उद्देश्यतः भिन्न हो | यसैकारण हामी सीतालाई कृष्णकि पत्नी र रुक्मिणीलाई रामकि पत्नी भन्न कहिल्यै सक्तैनौ किनभने यो ब्रह्माण्डमा जे कुरोमा फरक छैन त्यै कुरोमा फरक हुन्छ र जसले सबै एक हुन भन्दछ भने उसले शिव र विष्णुमा एक रुपता किन देख्न सक्तैन ?अर्थात शिव र विष्णुमा फरक देख्नेले राम र विष्णुमापनि फरक देख्न सक्नु पर्छ | यो समग्र संसार नै विष्णुरूप , रुद्ररूप , देवीरूपमा विद्द्यमान भएको ठानिन्छ | यिनमा फरक धेरै छ तर फरक छैनपनि | फरक छैन भने त्यो ३३ओटा देउता भिन्दा भिन्दै देखाउन भएन | एउटै हो भन्ने हो भने त्यो ३३ ओटा देउता पृथक पृथक गन्न भएन किनभने विष्णुको अवतार राम र कृष्णमा फरक छैन भन्ने हो भने , सतीको दस महाविद्या अवतारलाई फरक हुन भन्न भएन | शिवजीको ११ रूद्र अवतारलाईपनि गन्न भएन र यदि एक हुन भन्ने हो भने कमला महाविद्याको पूजागर्दा धूमावती वा मातंगी संग महिषमर्दिनीको मन्त्र जप गरे हुनेभयो | सबै ग्रामदेव, कुलदेव, मष्ट, क्षेत्रपाल , अधिदेउता ,प्रत्यधि देउताहरुलाईपनि एकै ठानेर लागे भयो ? अब ३३ मात्र मान्नेहो भने गणेश, कार्तिकेय, वीरभद्र, अग्नि, वायु, कुबेर, यमराज जस्ता प्रमुख देउता लाई विर्सेपनि भयो |

हाम्रा शास्त्रहरु अनुसार हाम्रा देवी देउताहरुको सिद्धान्त बुझ्नै पर्छ | यस संसारमा मूल रंगहरु सातोटा मानिन्छन | रातो ,निलो र पहेंलो आदि आदि | ति मध्ये कुनै दुई रंग आपसमा मिसाउँदा छुट्टै रंग निस्किन्छ अर्थात यी रंगहरुका कुनैपनि सम्मिश्रणले अनेकौं नयाँ रंगलाई जन्म दिन पुग्छ | ठिक त्यसरीनै ईश्वर एक छन तर यस ब्रह्मांडका विभिन्न कामहरु गर्न विभिन्न रूपमा ती अवतरित हुँदा अनेकौं हुन पुगेका छन | यस ब्रह्मांडको विभिन्न काम् गर्न ईश्वरको पांच मूल सिद्धान्त अवतरित हुने गर्छ | ती हुन –

उत्पत्ति : प्रत्येक वस्तु उत्पन्न हुन्छन |
स्थिति : प्रत्येक वस्तु जो उत्पन्न हुन्छन तिनको संरक्षण हुञ्छ |
लय : प्रत्येक वस्तु जो उत्पन्न र संरक्षित हुन्छन ती नष्ट हुन्छन |
व्यापकता : ईश्वर प्रत्येक वस्तु मा छन |
आनंद : ईश्वर को गुण सर्वोच्च एवं अनंत सुख कारी हुञ्छ |

यी पांच मूलभूत सिद्धान्त एक अर्कोसंग मिल्न पुग्दा एक ईश्वर करोडौं अद्वितीय स्वरुपमा विभिन्न कार्यहरु पूर्ण गर्नकोलागि अवतरित हुन पुगे | वेदमा कतै १३, कतै ३३,कतै ३६ ,कतै ३३३९ र ६००० को चर्चा छ तर , एक्लो वालखिल्यहरुको संख्या ६०,००० छ | सौनाकादी ऋषिहरु ८८,००० छन | ऋग्वेदका मन्त्रहरुमै लाखौँ देउताहरू उल्लेखित छन् | भनेपछि के ती सबै असत्य हुन त ? कदापि होइनन |

अर्कोकुरा , मान्छेको चर्चा गर्दा त्यै मान्छेको मात्र नाउँ लिइन्छ जसको त्यो चर्चा संग सम्बन्ध हुन्छ , सबैको कहिल्यै पनि गरिंदैन | त्यस्तै जहाँ जस्तो प्रसंग छ त्यहाँ त्यस्तै देउताको नाउँ लिने गरिएको हुन्छ | यसको अर्थ त्यो होइन जसको चर्चा गरिएन ती कतै छैनन् | तिनको चर्चा कतै गरिएको होला तर तिनको अस्तित्व छैन भन्न सकिंदैन |

यी ३३ देउताहरु भित्र गरुड परेका छैनन् तर वेदमा त छन | विनायकको रुपमा वेदमा गरिएको छैन भन्दैमा गणेशजी वेदमा छैनन् भन्न मिल्दैन किनभने उनको चर्चा र सैकडौ अवतारको वर्णन तंत्रग्रन्थहरुमा उल्लेख गरिएको छ | ३३ कोटि देउतामा कोटिको अर्थ करोड़ पनि हो किनभने देउताहरूको वासस्थान सैकडौ दिव्यलोकमा पनि रहेको मानिन्छ | वैदिक कालपछि पौराणिक , तांत्रिक , साहित्य र धर्म तथा लोकधर्मको वैदिक देववाद भित्र यति धेरै प्रभाव परेको छ कि वैदिक देउताहरु पछिल्लाकालमा आफ्ना मौलिक स्वरूप र गुण छोडेर लोकमानसमा विभिन्न स्वरूपमा प्रतिष्ठापित हुन पुगे | धेरै वैदिक देउताहरु गौण हुन पुगे | नयाँ देवस्वरूपहरुको कल्पना गरेर लगियो | त्यसले गर्दा देववादको स्वरूप र महत्व अपेक्षाकृत व्यापक हुन पुग्यो | हिंदू धर्ममा प्रत्येक उपासकहरु आफ्नो रुचि अनुसार आफ्नो देउता चुन्न स्वतंत्र भएर गए किनभने शास्त्रहरुले पनि गर्ने कार्य र उद्देश्य अनुसार देउताहरुको उपसना गर्नु भनेर प्रष्ट्याएर लग्यो |

जसले गर्दा राजाका देउता विष्णु र इंद्र, ब्राह्मणको देउता अग्नि, सूर्य, ब्रह्मा, शिव , देउताहरुको विष्णु , ब्राह्मणहरुको रुद्र , यक्ष र गंधर्व हरुको चंद्रमा ,विद्दार्थीहरुकोलागि सरस्वती , वैष्णवहरुका विष्णु , किन्नरहरुकी पार्वती ,ऋषिहरुका ब्रह्मा र महादेव , मनुहरुको सूर्य, विष्णु र उमा , ब्रह्मचारीहरुको ब्रह्मा , वैखानसहरुको अंबिका , यतिहरुको शिव , विभिन्न गणहरुको गणपति या गणेश विशेष देउताको रुपमा चिह्निंन पुगे | तर , समान्य गृहस्थहरुकोलागि यस्तो भेदभाव लागु हुन पुगेन | तिनकालागि सबै देवीदेउताहरु पूजनीय मानिए | त्यसैले भनियो ” गृहस्थानाञ्च सर्वेषु: ” |

सनातनी हिंदूहरुको देउताहरुको परिवारको उद्गम विन्दू ब्रह्मा मानिन्छन किनभने त्रिदेवमा ब्रह्मा प्रथम हुन | नेपालीहरुका मनमा ब्रह्मा नै स्त्रष्टा हुन तिनै प्रजापति हुन | ती एक हुन र तिनको इच्छा भयो म अनेकौं होऔं (एकोऽहं बहु स्याम्‌) | त्यो नै यस विश्वको समृद्धिको कारण बन्न पुग्यो | मंडूक उपनिषद्मा ब्रह्मालाई नै देउताहरुमा प्रथम, विश्वको कर्ता र संरक्षक भनिएको छ | कर्ताको रूपमा वैदिक साहित्यमा ब्रम्हाको परिचय विभिन्न नाउँले दिइएको छ | जस्तो विश्वकर्मन्‌, ब्रह्मस्वति, हिरणयगर्भ, प्रजापति, ब्रह्मा | पुराणहरुमा यी नाउँ बाहेक धाता, विधाता, पितामह आदिपनि राखिएको छ |

सनातनी हिन्दूहरु वेदमा वर्णित देउताहरुलाई वैदिक देउता भन्ने गर्छन | यिनको स्वरुप हिन्दू धर्मका अहिले प्रचलित भएका देउताहरू भन्दा फरक छ | वेदका प्रत्येक मन्त्रका देउता हुन्छन | त्यसै कारण देउताको अर्थ – दाता, प्रेरक या ज्ञान-प्रदाता लाउने गरिन्छ | रूद्र, आदित्य, दम्पत्ति, बृहस्पति,अग्नि, इंद्र, सोम, मित्रा-वरुण, सूर्य, अशिवनौ, ईश्वर, द्यावा-पृथ्वी आदि वैदिक देउताहरू हुन | वेदले शाश्वत वस्तुहरु र भावनालाई देउता भनेको छ भने पुराणहरुले दिव्य व्यक्तिहरु र प्राणिहरु जसले करोडौं व्यक्तिहरुलाई सन्मार्गतिर डोर्याएको छ ती सबैलाई देउता भनिएको छ |

अब देउताहरुको शाब्दिक र चारित्रिक विश्लेषण गरि हेरौं –
=====================================
शाब्दिक अर्थ केलाएर त्यसलाई चारित्रिक रूपमा प्रष्ट्याउनु सनातनी हिन्दूहरुको खुवी मानिन्छ |जस्तो इन्द्र – ईन्द्रको अर्थ बिजुली हो |उनलाई वृत्तासुरको संहार कर्ता भन्ने गरिन्छ | अब हेरौं के हो त वृत्तको अर्थ ? यहाँ वृत्तको अर्थ हो मेघ अर्थात बादल | यस कारण इन्द्र लाई वर्षा गराउने र भूमिको उर्वरता बढ़ाउने , मानव जस्तै देखिने दिव्यशक्ति स्वरुप भएका देउता भनिएको हो | पश्चिमा विद्वानहरुले यी देउताहरुलाई ग्रीक र पारसी धर्म संग लगेर गांसे | जस्तो – द्यौ-पित्र – Jupiter, सोम – Hoam आदि | -प्रवीण अधिकारी

https://www.facebook.com/praveen.adhikari.79/photos?pnref=lhc

Leave a Reply

Your email address will not be published. Required fields are marked *