Best Online News From Nepal

दुई वर्षपछि सगरमाथा आरोहण सुरु

काठमाडौं–गएका दुई वर्ष लगातार ठूला प्राकृतिक विपत्तिका कारण रोकिएको सर्वोच्च शिखर सगरमाथा आरोहण यसपालि नौजना शेर्पा चुचुरो पुगेपछि पुनः सुरु भएको छ ।

यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर चुम्ने आशाका साथ त्यसतर्फ २ सय ८८ विदेशी र एक नेपाली आरोही (झापाका अनिष लुइँटेल) तथा करिब ४ सय ‘हाइ अल्टिच्युड वर्कर’ ५ हजार ३ सय ८० मिटर उचाइको आधारशिविरमा बसिरहेका छन् । यी सबै ३४ आरोहण दलमा सहभागी छन् ।

ती सबैलाई चुचुरो पुग्ने ‘बाटो’ बनाउन गएका नौ शेर्पाले बुधबार साँझ ५ बजेर २ मिनेटमा सगरमाथा शिखर पुगेका हुन् । उनीहरू दक्षिणीपूर्वी मोहोडा (नेपाली भेग) बाट शिखर पुगेको सगरमाथा आधारशिविरमा रहेका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘इन्स्ट्रक्टर पासाङतेन्जी शेर्पासहित नौजना सगरमाथा शिखर पुगेका छन्,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागका नायबसुब्बा तथा केही वर्षअघि सगरमाथाको सफल आरोहण गरेका श्रेष्ठले बुधबार साँझ टेलिफोनबाट नागरिकसँग भने, ‘यसमा को पहिलो पुग्यो भन्नेले अर्थ राख्दैन, यो सामूहिक काम हो, सबैजना सँगै पुगेका हुन् ।’

उनका अनुसार शिखर पुगेका अन्य आठमा निमाछिरी शेर्पा, आङतेम्बा शेर्पा, मिङ्माछिरी शेर्पा, ग्याल्जेनदोर्जे शेर्पा, आङग्याल्जेन शेर्पा, मिङ्मा शेर्पा, ल्हाक्पाछिरिङ शेर्पा र शेरेग्याल्जेन शेर्पा छन् । उनीहरूले सगरमाथाको ७ हजार ९ सय २० मिटर उचाइमा अवस्थित चौथो क्याम्पबाट चुचुरोसम्म बाटो बनाएका छन् । डोरी टाँग्ने, भ¥याङ राख्नेलगायत काम गर्दै उनीहरूले बाटो बनाएका हुन् ।

‘दुई–चार दिनयता सगरमाथाको मौसम सफा छ,’ श्रेष्ठले भने, ‘यो मौसमको फाइदा उठाउँदै अब आरोहीहरू विस्तारै चुचुरोतिर जान थाल्नेछन् । बिहीबार पनि एक–दुई आरोहण दलका एक दर्जन आरोही शिखरतिर जाने तयारीमा जुटेका छन् ।’

सामान्यतयाः जेठ पहिलो साताबाट दोस्रो साताभित्र अधिकांश आरोही शिखर पुग्ने गर्छन् । उनीहरू चैत दोस्रो सातादेखि सगरमाथातर्फ जाने गर्छन् । त्यसपछि आधारशिविर पुगेर झन्डै एक महिनासम्म त्यहीँ बसेर त्यहाँको वातावरणसँग आफूलाई घुलमिल (एक्लिमेटाइज) गराउँछन् । आधारशिविरबाट पहिलो क्याम्प, दोस्रो क्याम्प जाने र फर्केर आधारशिविर आउनजाने गरिरहन्छन् । अनुमति पाएको ७५ दिनभित्र सगरमाथा आरोहण गरिसक्नुपर्ने सरकारी नियम छ ।

यसपालि आरोहणमा आएका अधिकांश आरोही तिनै हुन् जसले २०७२ रु २०७१ मा अुनमति शुल्क तिरेर पनि आरोहण गर्न पाएका थिएनन् । २०७१ वैशाख ५ गते आएको भयानक हिमपहिरोमा परी १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइेत भएपछि सरकारले नै आरोहण गतिविधि स्थगन गरेको थियो ।

त्यस्तै २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि उत्पन्न हिमपहिरोमा परेर १६ जना गाइडको मृत्यु भएको थियो । त्यस घटनापछि पनि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा आरोहण स्थगन भएको थियो । पहिलो घटनालगत्तै सरकारले अनुमति लिइसकेर पनि आरोहणमा जान नपाएका सबै आरोहीलाई आगामी पाँच वर्षभित्र जहिले आए पनि आरोहणमा जान दिने निर्णय गरेको थियो ।

२०७१ मा एक नेपाली र ३१ विदेशी आरोही सहभागी दलले पर्यटन विभागबाट अनुमति लिएका थिए । त्यसबाट विभागले ३२ लाख ५० हजार अमेरिकी डलर (त्यसबेलाको ३१ करोड ३९ लाख १७ हजार ५ सय रुपैयाँ) रोयल्टी उठाएको थियो । सगरमाथा आरोहण अनुमति लिएका ३१ विदेशी दलमा ३ सय ३४ आरोही थिए । तीमध्ये २ सय ७७ पुरुष तथा ५७ महिला छन् । तिनमा ८५ अमेरिकी, ३५ बेलायती, २५ भारतीय, २३ जापानी र २२ चिनियाँ आरोही थिए ।

ती आरोहीमध्ये केहीले आरोहणमा नफर्कने बताए पनि यसपालि अधिकांश फर्केर आएका छन् । पर्यटन विभागका अनुसार प्रत्येक विदेशी आरोहीले दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ११ हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ । यसअघि यस्तो शुल्क २५ हजार डलर (२५ लाख रुपैयाँ) थियो । नर्मल रुटबाहेक सगरमाथा आरोहण गर्न प्रत्येक विदेशी आरोहीले १० हजार डलर (१० लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ । यसअघि १५ हजार डलर (१५ लाख रुपैयाँ) थियो ।

त्यसैगरी नर्मल रुटबाट सगरमाथा आरोहण गर्न विदेशी आरोहीले शरद ऋतुमा प्रतिव्यक्ति ५ हजार ५ सय डलर तथा शिशिर र वर्षामा २ हजार ७ सय ५० डलरमात्र तिरे पुग्छ । यसअघि १२ हजार ५ सय र ६ हजार २ सय ५० डलर तिर्नुपथ्र्यो । यो रुटबाहेक शरदमा ५ हजार तथा शिशिर र वर्षामा २ हजार ५ सय डलर लाग्छ । यसअघि २० हजार र १० हजार डलर छ । सरकारले वसन्त ऋतुमा सगरमाथा जाने एकजनालाई २५ हजार डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर लिने गर्छ ।

source: nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *