काठमाडौं, ५ जेठ — प्रधानमन्त्री केपी शर्मा ओलीले दशबर्ष भित्र नेपाल समृद्ध बन्ने बताउनुभएको छ । कान्तिपुर हाफ म्याराथनको आठौं संस्करणको शनिवार उद्घाटन गर्दै प्रधानमन्त्रीले देश अब विकास र समृद्धिको दौडमा निक्लिएको बताउनुभएको हो । उहाँले देश बिकासको आफ्नो दृष्टिकोण पनि सुनाउनुभयो ।

‘दश वर्षमा नभए कहिले हुने ? शहरमा बाटो बनिसकेपछि गाउँमा खेत खन्न जाने होइन । शहरमा बाटो बन्दै गर्दा गाउँमा खेत पनि खन्दै गर्ने हो, हिमालमा चौंरी पाल्ने हो । सबै कुरा एकै पटक गर्ने हो’ प्रधानमन्त्रीले भन्नुभयो ।

नेपालाई मानिस र प्रकृतिले संयुक्त रुपमा सृजना गरेको स्वर्ग बनाउने सोच रहेको उहाँले बताउनुभयो  ‘कोही विदेशी अबको दश वर्षपछि नेपालबाट फर्केर जाँदा कसैले कस्तो रहेछ त्यो देश भनेर सोधेपछि उसले भन्नेछ– नेपाल मानिस र प्रकृतिले संयुक्त रुपमा सृजना गरेको एक स्वर्ग रहेछ’ प्रधानमन्त्रीले भन्नुभयो ।

नेपाल उत्पादन र निर्माणमा अगाडि रहेको र नेपालीहरु स्वास्थ्यका दृष्टिकोणमा पनि काम गर्न सक्षम रहेको प्रधानमन्त्रीले बताउनुभयो । ‘नेपालमा जनतालाई खानलाउनको कुनै दुःख छैन । नेपाल उत्पादन र निर्माणमा पनि काफी अगाडि छ । नेपालीहरु स्वस्थ छन् ।  आरोग्यता नेपालीको पहिलो प्राथमिकतामा छ । उपचारको राम्रो विमा भएकाले रोगलाग्दा कसैलाई दुःख छैन’ उहाँले भन्नुभयो ।

स्रोत-http://www.chakrapath.com/content/kantipur-marathon-pm-kp-sharma-oli.html