प्रमुख पूजा र उत्सव
महासप्तमी
नवरात्रिको सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्व अधिक रहेको पाइन्छ। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैं घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश -भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालीका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पूजिन्छ। अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्। साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौँको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्र्याइन्छ ।
महाष्टमी
नवरात्रिको आठौं दिनमा महाकाली -भद्रकाली)को विशेष पूजा-आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ। मांसाशनं ये कुर्वन्ति तैः कार्यं पशुहिंसंनम् |महिषाsजवराहाणां वलिर्दानं विशिष्यते ||(-देवीभागवत नवरात्रप्रकरण ) यी दिनहरूमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ। यसै दिन दशैंघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ।देवी देवताहरूलाई अर्पण गरेको मांसभक्षण गर्नुलाई दोषी मानिन्न|अभ्यर्च्य पितृदेवानां खादन्मांसं न दोषभाक्||-(मनुस्मृति) महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ। धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन्।वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगम हो । वेदमा आयुधको बारेमा प्रशस्त चर्चाहरू पाइन्छन् । भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन् । अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ । हामी खस जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छौँ । हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् । नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध -हतियार) हरू छन् । भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ । हिन्दु धर्मावलम्बीहरू अहिंसावादी हुन् तर वैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्धयाउन आँटे भने हतियारको पूजामात्र नभएर उठाउन पनि तयार छन् । त्यस्तै देशका विभिन्न दुर्गा मन्दिरहरूमा धुमधाम पुजाआजाका साथै राङ्गा,बोकाको बलि पनि चढाइन्छ । सुदूूर-पश्चिमको प्रमुख शक्तिपिठ निङ्गलाशैनी मन्दिरमा लगभग १३०० राङ्गा र ४०० बोकाको बलि चढाइन्छ ।
महानवमी
नवरात्रिको नवौ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा-आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले । त्यस्तै देशका विभिन्न दुर्गा भगवती मन्दिरहरूमा बोका तथा रांगा बलि चढाउने प्रचलन रहेको छ । सुदूूर-पश्चिमको प्रमुख शक्तिपिठ मध्ये एक उदयदेव मन्दिरमा पनि लगभग १०० राङा र ५० बोकाको बलि चढाउदै आइरहेको छ ।
विजया दशमी
नवरात्रिको दशौ दिनलाई विजयादशमी पनि भनिन्छ | यस तिथि निर्धारण देहाय आधारमा हुन्छ ।
श्रवणर्क्षेण संयुक्ता दशमी शुक्लपक्षगा।। ईषमासिस्थिता ज्ञेया विजया दशमी तिथिः।।
(आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दसमीलाई विजयादसमी भन्ने बुझ्नुपर्छ।)
सा नवमीविद्धा कर्तव्या नत्वैकादशीयुक्ता।।
(दसमी तिथिको निर्धारण गर्दा नवमीले युक्त दसमी मान्य हुन्छ, एकादसीसहितको दसमी मान्य हुँदैन।)
मध्याह्ने विजयमुहूर्तं इति केषाञ्चिन्मतम्।। विजयाख्योऽष्टमः।। (मुहूर्त निर्धारण गर्दा विजय नामको मुहूर्त मध्याह्नमा पर्छ, जुन मुहूर्तलाई कसैले आठौं मुहूर्त मानेका छन्।)
किञ्चित्सन्ध्यामतिक्रम्य किञ्चिदुत्पन्नतारकाः।। विजयो नाम योगोऽयं सर्वकर्मसु सिद्धिदः।।
(कसैले साँझ बितेपछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसङ्ग उल्लेख गरेका छन्। तर विजय नाम गरेको योग नै सबै कार्यका निम्ति सिद्धिदायक हुन्छ।)
उक्त लिखित प्रमाणका आधारमा विजयादसमीको साइत निर्धारण गर्न न्यूनतम आधारका रूपमा श्रवण नक्षत्र र विजय मुहूर्त (मध्याह्नको समय) लाई लिनुपर्ने हुन्छ।
यस सम्बन्धमा श्रीमद्देवीभागवत नवरात्र प्रकरणमा नवरात्र पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने कथन छ | वैदिक ज्योतिष अनुसार चान्द्रवर्षमा ३५४दिन हुने कुरा बताइएको छ |चान्द्रकलाविज्ञानका आधारमा वर्षभरिमा लगभग ६ महिनाको कृष्णपक्षको चतुर्दशी मात्र क्षय भई बाँकी वर्ष भरी कुनै पनि तिथि घट्-बढ् नहुने सिद्धान्त विश्वकै सर्व प्राचीन वैदिक ज्योतिषको रहेको छ|यस आधारमा शुक्लप्क्षमा त कुनै पनि तिथि घट्-बढ् हुने कुरै भएन ,कृष्णपक्षमा पनि केवल १४औं दिन मध्याह्न पछि चन्द्रकला क्षय भयो भने मात्र सो महिनामा चतुर्दशी मात्र टुटी सोही १४औं दिनलाई औंसी मान्ने सिद्धान्त वेदका ज्योतिषको रहेकाले पुराणहरूमा पनि नवरात्रलाई कहीं पनि तिथि घट्यो भनेर अष्टरात्र र कहीं पनि तिथि बढ्यो भनेर दशरात्र हुने कुरा मिल्दैन | आजभोली निरयण अर्वाचीन ज्योतिषका आधारमा गणित गरी वेद-पुराणहरूका सिद्धान्त विपरीत खण्डतिथि मान्ने सिद्धान्त गणित अघि सारी कहीले आठै दिनमा र कहीले दशौं दिनको दशैं पर्व लेख्ने गर्दछन् , तर पनि यदा कदा सामाजिक समस्या आई पर्दछ |जस्तै दोलखा भीमेश्वरमा बजार समितिले पञ्चांगको निर्णय विपरीत अष्टमी र नवमी एकैदिनमा परेको छ भन्दा हाम्रो संस्कृति अनुरुप दुई दिनको कार्य खप्ट्याउन मिल्दैन भनेर न मानेको कुरा सर्व विदितै छ | षोडशोपचारले अर्थात् सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ। यति गर्नाले कसैले पनि आफु माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ। त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः ‘आवाहनं नजानामि नजानामि विर्जसनम्। पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी। यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंकोलागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन्।
टीका लाउँदा दिने आशिषः-
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।
आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ। अन्त्यमा यो टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ।यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ।
‘आवाहनं नजानामि नजानामि विर्जसनम्।
पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी।
इमां पूजां मया देवी यथाशक्त्या निवेदितम्।
रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम्।।’
यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मुलिद्वारा भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको लुगाले ठाँटिएर टीका लगाउन जान्छन्।
