Best Online News From Nepal

दयनिय अवस्थामा नेपालका उत्पादनमूलक उद्योग : लगानी र जनशक्ति दुबैको अभाव

नेपालका उत्पादनमूलक उद्योगमा दक्ष जनशक्तिको अभाव देखिएको छ । यसैपनि पर्याप्त लगानी भित्रिन नसक्दा समस्यामा परिरहेको यस्ता उद्योगहरुले दक्ष जनशक्ति पनि पाउन छाडेपछि उत्पादनमा विस्तारै हस आउन थालेको छ । यस्ता उद्योगहरु चलिरहेपनि क्षमताअनुरुपको उत्पादन गर्न सकिरहेका छैनन् । उत्पादनमूलक क्षेत्रको विशेषतः प्राविधिक, हेवी इक्युपमेन्टजस्ता क्षेत्रमा जनशक्ति अभाव भएको उद्योगीहरु बताउँछन् । अदक्ष कामदारहरु राख्दा सिकुन्जेल बस्ने र दक्ष भइसकेपछि  विदेश जाने गरेकाले समस्या भएको उनीहरुको गुनासो छ । स्थानीय जनशक्ति सबै विदेश जान थालेपछि भारतीय नागरिकले नेपालमा काम गर्ने गरेका छन् ।

जनशक्ति अभावका कारणहरु
स्वदेशमै पर्याप्त उद्योगधन्दा खुल्न नसक्दा जागिरमा छनोटको अवसर नहुनु, अर्धदक्ष तथा अदक्ष कामदार वैदेशिक रोजगारीमा जानुले दक्ष जनशक्ति अभाव भएको हो । दक्ष जनशक्ति नहुँदा भारतीय कामदार नेपाल आएर काम गर्ने गरेका छन् । विदेशको तुलनामा नेपालमा तलब सुविधा कम हुन्छ । त्यसैले पनि एकपटक विदेश गएर आएकाहरू नेपालमा काम गर्न खोज्दैनन् । त्यस्तै, उद्योगहरूको संख्या बढ्न नसक्दा जागिरमा छनोटको अवसर बढ्न सकेको छैन । जनशक्तिको क्षमताअनुसार तलब नपाएकाले पनि हातमा सीप भएकाहरु नेपाली उद्योगमा काम गर्न नचाहेको कतिपयको बुझाइ छ । त्यसमाथि पनि नेपालको व्यापार–व्यवसाय नै स्थायित्व नभइसकेको अवस्था छ । यस्तो अवस्थामा जागीर पनि स्थायी नहुने देखेपछि दक्षजनशक्ति स्थायी जागीरको खोजीमा विदेश पस्ने गरेका छन् ।

अस्थिर राजनीतिक अवस्थाका कारण उत्पन्न कमजोर शान्ति सुरक्षा, ऊर्जा संकटले कम समय उद्योग सञ्चालन र असन्तुलित श्रम सम्बन्ध जस्ता कारणले नेपाली उद्योगहरु स्थायी हुन सकिरहेका छैनन् भने दक्ष कामदारहरुको विश्वास पनि गुमाइरहेका छन् । पूर्णक्षमतामा चल्ने वातावरण सिर्जना र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने कार्यलाई ऊर्जा संकटले नै अवरोध गरेको उद्योगीहरु बताउँछन् । विद्युत्मा दीर्घकालीन व्यवस्थापनको उपाय खोज्नुपर्ने उनीहरुको भनाइ छ । विद्युत् व्यवस्थापनले रोजगारी सिर्जनामा टेवा मिल्ने उनीहरूको भनाइ छ ।

लगानीमैत्री वातावरण आवश्यक
पूर्णक्षमतामा चल्न नसकेका कारण बढ्दो लागत एवं कम गुणस्तरका कारण स्थानीय उत्पादनले सस्तो मूल्यमा प्राप्त हुने चिनियाँ र भारतीय सामानसँग प्रतिस्पर्धा गर्न  सकेको छैन । स्वदेशी उत्पादन कम हुनु र रेमिट्यान्सले उपभोग बढाइदिँदा व्यापारघाटा निरन्तर बढिरहेको छ । आयत र निर्यातबीचको ग्याप बर्षेनि बढ्दो छ । १ वस्तुको निर्यात गर्दा झन्डै ११ वस्तुहरू आयत हुने गरेको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको प्रतिवेदनमा उल्लेख छ । राजस्व बढ्यो भने सबैथोक हुन्छ भनेर सरकारले आयात प्रतिस्थापनको विकल्प सोच्न नसक्दा आयतमुखी भएको व्यवसायीको गुनासो छ । नीतिगत रूपमा लगानीमैत्री वातावरण बनाउन सकेमा आन्तरिक तथा विदेशी लगानीसमेत आउने उनीहरू बताउँछन् ।

प्रतिस्पर्धा बढेसँगै सम्बद्ध क्षेत्रमा काम गर्ने कामदारमा पनि दक्षता तथा छनोटको अवसर हुन्छ । वर्षेनि साढे ४ लाख श्रम बजारमा प्रवेश गर्छन् तर मुस्किलले ५० हजारले मात्रै स्वदेशमै रोजगारी पाउने गरेका छन् ।

Source Businesssansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *