Best Online News From Nepal

तीन दशकपछि पुनः सञ्चालनमा आउँदै जिरी विमानस्थल

तीन दशकपछि सगरमाथाको प्रवेशद्वारमा रहेको दोलखा जिल्लाको जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याइने भएको छ । प्रयोगमा नआउँदा गौचरनमा परिणत भइसकेको विमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि गृहकार्य सुरु भएको छ ।

वि.सं. २०४२ सालदेखि पूर्णरुपमा बन्द रहेको जिरी विमानस्थल यसअघि देखि नै सञ्चालनमा ल्याउने बहस चले पनि पूरा हुन सकेको थिएन । पटक–पटक विमानस्थललाई सञ्चालनमा ल्याउनका लागि जिरीका राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीको समूहले नागरिक उड्डयन प्राधिकरणसँग अनुरोध गरे पनि सुनुवाइ हुन सकेको थिएन । विमानस्थल पुनःनिर्माणका लागि सर्भेको काम सुरु गर्न लागिएको छ । लामो समयको प्रतीक्षापछि जिरीको विमानस्थल पुनःनिर्माणका लागि सर्भे गर्न नागरिक उड्डयन प्राधिकरणबाट इन्जिनियर जिरी आइसकेका छन् ।

इन्जिनियर अशोक शाहका अनुसार सर्भेको काम बुधबारबाट सुरु भएको छ । झन्डै एक सातासम्ममा  सर्भेको काम सकिएपछि रिपोर्ट प्राधिकरणमा बुझाइने र त्यसपछि थप काम अघि बढ्नेछ । यसअघि पनि विमानस्थल सञ्चालनमा ल्याउने प्रयास भएको थियो । तर विमानस्थलको नाममा उक्त जग्गाको धनीपुर्जा नभएपछि विवादका कारण सफल हुन सकेको थिएन । यस पटक कुनै विवाद उत्पन्न भए राजनीतिक दलका प्रतिनिधिले सल्ट्याउने गरी सर्भेको काम सुरु गर्न लागिएको नेपाली काँग्रेस जिरी नगर कमिटीका सभापति टङ्क जिरेलले बताए  ।

पर्यटनमा टेवा पुग्ने अपेक्षा
जिरीको विमानस्थल पुनःसञ्चालनमा आउन सके कुनै समय स्विजरल्यान्डको जुरिच सहरसँग तुलना गरिँदै आएको जिरीमा पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । जिरीमा पर्यटन विकास गर्न सकिए स्थानीयवासीको आर्थिक विकासमा समेत प्रत्यक्ष भूमिका रहनेछ । २०४२ सालसम्म नियमित रुपमा सञ्चालनमा रहेको जिरी विमानस्थल सडक सञ्जालले जिरीलाई छोएपछि बन्द भएको स्थानीय होटल व्यवसायी भूमिराज खड्काले बताए । विमानस्थल बन्द भएसँगै जिरी विमानस्थलका रुपमा प्रयोग भएको जग्गा पशु विकास फार्म जिरीले प्रयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *