Best Online News From Nepal

तीनपटक मूल्य घटाउँदा पनि बिकेन डेढ वर्षअघि ढुवानी भएको खाद्य संस्थानको चामल

चन्द्र पन्दाक । ताप्लेजुङस्थित नेपाल खाद्य संस्थानको चामल विक्री नहुँदा गोदाममा नै थन्किएको छ । करिव डेढ वर्षअघि ढुवानी भएको चामल बिक्री नभई हाल खाद्य संस्थानको गोदाममै थन्किएको हो । खाद्य संस्थान ताप्लेजुङका प्रमुख ललितकुमार यादवले तीन पटकसम्म मूल्य घटाएर सस्तो मूल्यमा समेत चामल विक्री नभएको जानकारी दिए ।

प्रमुख यादवले आर्थिक वर्ष २०७१/७२ मा ढुवानी गरिएको चामल अहिलेसम्म बिक्री नभएकाले गोदाममा थन्क्याएर राखिएको बताए । उक्त आर्थिक वर्षमा यस जिल्लाका लागि एक लाख ९९ हजार ३०० किलोग्राम अर्थात एक हजार नौ सय ९३ क्विन्टल ढुवानी भएकोमा अझै एक हजार दुई सय क्विन्टल भन्दा बढी चामल बिक्री नभई मौज्जात रहेको यादवले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा ढुवानी भएको चामल नबिकेका कारण गएको आर्थिक वर्ष २०७२÷७३ मा चामल नै ढुवानी नगरिएको यादबले बताए । समयभित्र चामल विक्री नभएपछि मूल्य तीन पटकसम्म घटाउँदा पनि बिक्री नभएको यादवको भनाइ छ । शुरुमा प्रतिकेजी ४३ रुपियाँले बिक्री भएको चामल मूल्य घटाएर हाल ३६ रुपियाँमा पुग्दा समेत बिक्री नभएको उनले बताए ।

हाल खाद्य संस्थानमा उपलब्ध सोना मन्सुली चामल बाहिर बजारमा प्रतिकेजी आठ रुपियाँले महङ्गो अर्थात ४४÷४५ रुपियाँ प्रतिकेजीका दरले खरिद विक्री हुँदै आएको छ । यसरी खाद्य संस्थानको बजारमा भन्दा धेरै सस्तो मूल्य पर्ने भएपनि सन्तोषजनक विक्री नभएको संस्थान प्रमुख यादव बताउँछन् । प्रायः बिक्री ठप्प रहेको संस्थानको चामल हिजोआज भने सामान्य रुपमा बिक्री भइरहेको संस्थान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एक साता यतादेखि भने औसतमा दैनिक आठ देखि १० बोरासम्म चामल बिक्री हुन थालेको छ ।

अब नजिकिँदै गरेको दशैं तिहार जस्ता चाडपर्वका समयमा केही बढी चामल बिक्न सक्ने थोरै आशा रहेको संस्थान प्रमुख यादबले बताए । उनले चाडपर्वका समयमा केही बढी विक्री भएमा हालको मौज्जात चामलले आगामी मंसिर÷पुस महिनासम्मलाई पुग्ने र त्यसपछि आवश्यक देखिएमा चामल पुनः ढुवानी गरिने बताए ।  हाल संस्थानसँग रहेको चामलको भर्खरै गुणस्तर मापन पनि गरिएकाले उपभोग गर्नलाई भने योग्य नै रहेको उनको भनाइ छ ।

यता चामल विक्री नहुनुको कारण हाल गाउँगाउँसम्म सडकको पहुँचले हुनसक्ने बताइएको छ । गाउँसम्म सडकको पहुँच पुगेकाले घर गाउँमै खाद्यान्न लगायत आवश्यक सामान ढुवानी हुन थालिएको छ । यस्तै बजारको भन्दा संस्थानको चामल सस्तो छ भन्ने सर्वसाधारणलाई जानकारी नभएको हुनसक्ने पनि खाद्य संस्थानले जनाएको छ । कार्यालय प्रमुख यादबले संस्थान आफैंले धान खरिद गरी कुटाएको चामल भएकाले राम्रो भएको र सर्वसाधारण उपभोक्ताले संस्थानको चामल खरिद गरी उपभोग गर्न पनि आग्रह गरेका छन् । गोरखापत्रबाट

Source Businesssansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *