Best Online News From Nepal

तामाङ संस्कार र गोसाइकुण्ड को ईतिहास

 

डा. कृष्णकुमार तामाङ___ 

रसुवा जिल्लामा अवस्थित गोसाई कुण्ड समुन्द्र सतहदेखि ४३८० मिटरको उचाइमा रहेको छ । यो ताल वरिपरि ठूलाठूला पहाडी चट्टानले घेरिएको छ । यहाँ जनैपूर्णिमामा ठूलो मेला लाग्छ । यो आन्तरिक पर्यटनमध्ये अत्यन्त व्यस्त पर्यटकीय स्थल हो ।

 

Gosaikunda_lake-592935d112f013.13942481

सनातन धर्मका आराध्यदेव पशुपतिनाथसँग जोडिएका प्रसंगहरूमा बौद्ध र हिन्दुहरूको शास्त्रीय धार्मिक पुस्तकहरूमा नामकरणको विविधता भए तापनि प्रकृति र धर्मको संरक्षक भगवान् शिवजीलाई भोलेनाथ, महादेव तथा बौद्ध धर्मावलम्बीहरूबाट गुरु बज्र आदि बहुनामबाट सम्बोधन गरेको पाइन्छ । नेपालको बौद्ध धर्मावलम्बीहरूमा पनि गोसाइँकुण्डप्रति धार्मिक आस्था र श्रद्धा पाइनुले हाम्रो राष्ट्रि«यता र सौहाद्र्रता झन् घनिष्ट भावनात्मक रहेको पुष्टि हुन्छ । नेपालको मध्य क्षेत्रअन्तर्गत रसुवा जिल्लाको हिमाली क्षेत्रमा रहेको गोसाइँकुण्डको उत्पत्ति र विशेषता भौगर्भिक कारणभन्दा धार्मिक किंवदन्तीहरूमा छुट्टै रोचक व्याख्या रहेको छ ।

गोसाइँकुण्ड प्रसंगसँग जोडिएको यो एउटा किंवदन्तीबारेमा प्रकाश पार्न केही इतिहास हेर्नुपर्ने हुन्छ । विसं २०६८ को नेपालको जनगणनामा जनजाति संख्या १ सय २५ मध्ये एक बहुसंख्यक रहेको तामाङ जातिले हिमाली, पहाडी मध्यक्षेत्रलाई आप्mनो मुख्य थलोको रूपमा चलखेल गरी आएको पाइन्छ । तामाङ जातिमा गोले थर भएकाहरू गोसाइँकुण्ड जान चाहँदैनन् । भनिन्छ, गोलेका पुर्खाहरूले त्यहाँ आफ्ना पुस्तालाई जान प्रतिबन्ध लगाएका छन् । त्यो ठाउँ गोलेका लागि प्रतिबन्धित छ त ? नुवाकोटकी राधादेवी तामाङका अनुसार उहिले गोसाइँकुण्ड भएको ठाउँमा गुरु बज्रका अनुकम्पा भएका विशेष सिद्धिप्राप्त झाँक्री गोले र स्थानीय नागको युद्ध भएकोमा पराजित नागका वंशजले गोले पुस्ताका सन्तानहरूको अनिष्ट गर्ने आशंकाले नागको कोपबाट बच्न त्यहाँ जान रोक छ ।

गेसाइँकुण्ड महिमाको गाथा वर्णन गर्दा धेरै अघि कुनै समय देव र दानवहरूबिच समुद्र मन्थन गरेर अमृत निकाल्ने सम्झौता भएछ । तर, अमृत अघि कालकुट विष उत्सर्जन भएर सर्वनाश हुन लाग्दा भगवान् शिवजीले चराचर जगत्लगायत पृथ्वी र देवदानवहरूको रक्षा गर्न सो विष पान गर्नुभएछ । विष अत्यन्त तीव्र र भयानक प्रभाव गर्ने भएको हुनाले शिवजीले ननिलेर गलामा राख्दा जलन पैदा हुन गई गला निलो वर्णमा रूपान्तरित हुन गएछ । निदानका लागि भगवान् शिवजीले त्रिशूल प्रहार गरी हिमालयबाट निश्रित शीतल जल प्रयोग गर्नुभएको त्यो पावन भूमि कालान्तरमा गोसाइँकुण्डको नामले परिचित भएको हो ।

जनैपूर्णिमा वर्षको भाद्र महिनामा पर्छ । भक्तजनहरू सो अवसरमा गोसाइँकुण्ड स्नान गरी पुण्य आर्जन गर्ने र जनै फेर्ने गर्छन् । अन्य गैरतागाधारी नाडीमा पण्डितद्वारा मन्त्र उच्चारणसहितको डोरा लगाउनाले कल्याण हुने विश्वासअनुरूप वर्षमा एक पटक धारण गर्छन् । यसका अतिरिक्त अरू कैयन् सम्प्रदायका पनि त्यहाँ एकत्रित हुने गर्छन् । दैवी शक्तिका उपासकहरू जसलाई बोलीचालीको भाषामा झाँक्री भनिन्छ, कसै–कसैले लामा पनि भन्ने गरेको सुनिन्छ, त्यहाँ वार्षिक पूजा गर्न पुगेका हुन्छन् । लामा र झाँक्री दुई पृथक्, कुनै हिसाबले एकरूपता नभएको बेग्लै विषय हुन् । लामा धार्मिक धर्मगुरुको कार्य गर्ने पवित्र शुद्ध धर्मसम्बद्ध हुने आदरणीय हुन्छन् भने झाँक्री स्थानीय देवदेवीको आराधना गरेर झारफुक गर्दै बिरामी निको पार्ने हिन्दु तथा नेवार समुदायका आयुर्वेदिक उपचार गर्ने वैद्यजस्तै औषधिमुलो गर्ने साधक हुन्छन् । नेपालका तामाङ, थकाली, शेर्पा, गुरुङ र अन्य हिमाली क्षेत्रका आदिवासी जनजातिहरू बौद्ध धर्मावलम्बी हुन् ।

 

gosaikunda-1024x768 images (1)

लामा बन्नका लागि बौद्ध दर्शन, शास्त्र, सिद्धान्त, आदर्श तथा वाद आदिको गहन अध्ययन, अन्वेषण तथा गुरुको निर्देशन एवं निगरानीमा नीति–नियमहरूको पालना गर्दै दीक्षा ग्रहण गरेको हुनुपर्छ । हिन्दु, मुस्लिम, इसाई, सिखका पुरोहित–पण्डित, मौलाना, पास्टर, ज्ञानी भएजस्तै बौद्धका पुरोहित लामा हुन् । सांसारिक मोह बन्धनबाट मुक्त ब्रह्मचर्यको जीवनयापन गर्न केस मुण्डन, गेरु वस्त्र र माला लिनका अतिरिक्त गृहस्थी सामान्य व्यवहारमा आधारित रहेर पनि बौद्ध अनुयायी रहन सकिन्छ । अर्कोतर्फ झाँक्री अनेकन् वेशभूषामा सजिएर ढ्याँग्रो ठोक्दै आफ्नै शैलीमा अबिर, अक्षता, खरानी आदिको सहारामा अस्वाभाविक शारीरिक भावभंगीहरू गर्दै देवीदेवता फलाक्ने गर्छन् । आधुनिक नेपालको सन्दर्भमा यो अभ्यास बिस्तारै लोपोन्मुख भएको छ । तामाङहरू बौद्धमार्गी हुनुअघि बोन धर्म मान्ने प्रकृतिपुजक हुने गरेको र वर्तमान परिप्रेक्ष्यमा कतिपयले यदाकदा अन्य आस्था लिएको पनि भेटिन थालेका छन् । यद्यपि, नितान्त व्यक्तिगत मामिला हुन् । गेलेबाहेकका अन्य झाँक्री गेसाइँकुण्डमा आफ्ना सिद्धिको पुनर्ताजगी र थप ऊर्जा हासिल गर्नाको मनशाय लिएर गोले मेमेको जस्तो अद्भूत शक्ति प्राप्त गर्न र आशिष थाप्न पुगेका हुन्छन् ।

 

images

आजपर्यन्त कहीं कतैबाट यस विषयमा शोध, अध्ययन अन्वेषण र प्रमाण जुटाउने प्रयत्न भएको कसैको जानकारीमा छैन । त्यो धार्मिक स्थल गोलेको तपोभूमि हो तर अनिष्ट हुने सन्त्रासले कोही गोले त्यहाँ जान सकेका छैनन् । गोले मेमेद्वारा स्थापना गरिएका देवता गुरु बज्र त्यहाँ विराजमान भएकाले दैवी शक्ति एवं गोले मेमेको प्रतापले नागको दुष्प्रभावबाट रक्षा हुने ईश्वरीय कृपा सबैलाई प्राप्त होस्, अस्तु ।

lamagole@yahoo.com

प्रकाशित मिति: २०१५-०८-२९ १०:२९ | 

स्रोत – राजधानि दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *