Best Online News From Nepal

डलरको भाउ बढ्यो, नेपाली मुद्रा आजसम्मकै कमजोर

नेपाली मुद्रा अहिलसम्मकै सबैभन्दा कमजोर बनेको छ । अमेरिकी डलरको भाउको तुलनामा नेपाली मुद्रा हालसम्मको कमजोर भएको हो । केही समययता बलियो हुँदै गएको डलरको भाउ बुधबार पनि उकालो लागेसँगै नेपाली मुद्रा डलरसँग कमजोर देखिएको हो । बुधबार डलरको भाउ २९ पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको विनिमय दर १०९.७७ पैसा तोकेको छ । बैंकहरुले डलरको विनिमय दर एकसय १० रुपैयाँ १० पैसासम्म तोकेका छन् । राष्ट्र बैंकले उपलब्ध गराएको ’रिफरेन्स रेट’ अनुसार अमेरिकी डलर यसअघि डलर फागुन ३ गते अर्थात सोमबार सबैभन्दा उच्च मूल्यमा पुगेको थियो । सोमबार डलरको भाउ १०९ रुपैयाँ ४८ पैसा पुगेको थियो ।  बुधबार वाणिज्य बैंकहरुले अमेरिकी डलर एकसय १० रुपैयाँमा कारोबार गरिरहेका छन् ।

अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारतीय रुपैँयाँका आधारमा निर्धारण हुन्छ । १४ वर्षअघि सरकारले एकसय भारु बराबर एकसय ६० रुपैयाँ नेपाली रुपैयाँ हुने निर्धारण गरेपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्छ । डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ । डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ । बस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुने छ ।

डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ । आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ । विदेशबाट आउने मोटर, मोवाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडालगायत सामान महँगो पर्ने छन् । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुन गई उपभोग्य वस्तुको मूल्य प्रभावित हुन्छ । त्यस्तै, डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ भने बजेट घाटा बढ्छ । सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनालाई समेत बढी पैसा तिर्नु पर्ने हुन्छ । विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ ।

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *