Best Online News From Nepal

विपि का कारण मानसरोबर बेचियो- अरुण कुमार सुवेदी

जनमत संग्रहपछि डाक्टर सिंह भैरहवाबाट राष्ट्रिय पञ्चायतका सदस्य भएँ । एक दिन टंकप्रसादकहाँ आएर भने–‘म पञ्चायत व्यवस्थामा एकचोटि प्रधानमन्त्री हुनुपर्यो ।’ 

‘राष्ट्रिय पञ्चायतका दुई तिहाइ सदस्यले समर्थन गरे प्रधानमन्त्री हुन्छ’, भने टंकप्रसादले ।

डाक्टर केआई सिंहले मलाई सोधे– ‘ए सुवेदी भाइ, सही गराउन हिँड्न सक्छस् ?’

‘मैले राष्ट्रिय पञ्चायतका ७५ जना सदस्यको सही ल्याइदिन सक्छु’ भनें । तर, मैले सिंहलाई सर्त राखें– ‘तपाईं प्रधानमन्त्री भएपछि मेरो तीनवटा काम गर्नुपर्छ । तर, त्यो अहिले भन्दिनँ । पहिला प्रधानमन्त्री हुनुहोस् ।’

त्यसका साक्षी थिए, टंकप्रसाद । त्यो बेला राष्ट्रिय पञ्चायतमा १ सय ४ जना सदस्य थिए । म दिनरात कुन सांसद कहाँ बसेको छ, तिनको घर—घरमा धाएर ७० प्रतिशत सांसदको समर्थन ल्याएँ । धेरै खुसी भएर उनले ५० चोटि जुँगा मुसारे । प्रधानमन्त्री नोमिनेसनको फाराम लिन सिंहदरबार गयौं । त्यतिबेला राष्ट्रिय पञ्चायतको कार्यालय काठेघरमा थियो । उपसचिवसँग फाराम मागे डाक्टर सिंहले । जहिले लिन गए पनि कर्मचारीले प्रधानमन्त्रीको उम्मेद्वारले भर्ने फाराम छाप्न दिएको भन्न थाले । छापेर आउँछ भनेर भन्दाभन्दै संसद् भवनमा सूर्यबहादुर थापा निर्विरोध प्रधानमन्त्री चुनिएको घोषणा भयो । सिंह थ्याच्च भुइँमा बसे र बर्रर आँसु झारेर भने — ‘हुँदैन भनेको भए त म बूढो मान्छे संसद् भवनमा कुदिरहने थिइनँ ।’

सिंह केही पनि नबोलीकन घरतिर लागे । त्यसपछि टंकप्रसादकहाँ पनि गएनन् । मसँग पनि भेटेनन् । एकैचोटि उनी बिरामी भए । सरकारले मर्ने बेलामा बैंकक लग्यो तर सिंहको लासमात्रै पशुपति आर्यघाटमा आइपुग्यो । डाक्टर केआई सिंह महान् पुरुष थिए । उनी बित्दा खूब रोएँ म । सिंह ७०–७५ वर्षजति बाँचे होला । यसरी सिंहदरबार कब्जा गरेर राजसिंहासनमा बसेको महान् मान्छेको अन्त्य भयो ।

सिंह राजसिंहासनमा बसिरहेको भए राजा हुन्थे, त्यो खुबीको मान्छे थिए तर उनी आप्mना दुई—चार जना भोलुन्टियर्स लिएर रसुवागढीबाट चाइना प्रवेश गरे । रसुवागढी काटिसकेपछि चाइनिजले नै पेकिङ लिएर गए । र, माओत्सेतुङलाई भेटाए । माओले सिंहलाई स—सम्मान बस्ने बन्दोबस्त गरिदिएछन् । त्यो बेला उनीसँग जाने एउटा कार्यकर्ता आजसम्म पनि मलाई भेट्न आउँछ । हरेकपटक म उसलाई खर्च दिएर पठाउँछु ।

त्यसपछि पनि हामी प्रजा परिषद्को काममै लाग्यौं । जनमत संग्रहमा पूर्वाञ्चलका जंगल सूर्यबहादुर थापाले सबै ध्वस्त पा¥यो । उसले बेचेको सखुवाका काठमा अहिले भारतका रेल चलेका छन् । एक दिन टंकप्रसादले प्रेस कन्फरेन्समै भने– ‘म मरेपछि अर्को जन्म लिएर भारतीयसँग लड्छु । किनभने, साह्रै अत्याचार भयो । अब यस्तो हुनुहँुदैन ।’

त्यस्ता नेता थिए टंकप्रसाद ।

टंकप्रसादको एउटा रोचक प्रसंग छ ।

उनी प्रधानमन्त्री भएपछि चाइना सरकारको निम्तोमा गएछन् । दिनभरि त्यहाँ विकास निर्माण आदि—इत्यादि हेरेछन् । सानी भाउजू (टंकप्रसादकी श्रीमती) आफू बसेको होटलको तल घुम्न निस्किछन् । घुम्दा—घुम्दै एउटा ज्वेलरी पसलमा पुगिछन् र उनलाई एउटा हीराको औंठी साह्रै मन परेछ । टंकप्रसादको पीए पनि साथैमा रहेछ । हीराको औंठी ओल्टाइपल्टाइ हेरिछन्, सानी भाउजूले । ‘औंठी मनपरेको भए लगाउनूस् न’ भनेछ भ्रमण टोलीको धनी व्यापारीले । प्रधानमन्त्रीले बेलुकी केही भन्ने हुन् कि भनेर भाउजू डराइछिन् । पीएले प्रधानमन्त्रीलाई ‘म भन्छु’ भनेर पाँच डलर दियो र त्यो औंठी किनेर भाउजूले लगाइन् ।

बेलुकी टंकप्रसाद होटलमा आए । उनले श्रीमतीको हातमा हीराको औंठी चम्केको देखेपछि सोधेछन्, ‘कहाँ पाइस् ?’ उनले गहना पसलमा पाँच डलरमा किनेको बताइछिन् । टंकप्रसादले सानी भाउजूको पाखुरामा च्याप्प समातेर घिसार्दै गहना पसलमा लगेछन् । राष्ट्रको पैसाले औंठी लगाउने भन्दै तुरुन्त पसलमै फिर्ता गराएछन् । टंकप्रसाद रिसाएपछि बौलाहा बाहुनजस्ता देखिन्थे ।

व्यापारी त छक्क पर्यो— ‘यो कस्तो प्रधानमन्त्री ?’ यो कुरा पछि चाइना सरकारले थाहा पायो । चाउ एन लाई प्रधानमन्त्री थिए । नेपाल भ्रमणमा आउँदा चाउ एन लाईले त्यही आंैठी किनेर ल्याएछन् र टंकप्रसादकै घरमा गएर सानी भाउजूलाई उपहार दिए । टंकप्रसादले चाइना गएर सगरमाथाको विषयमा छिनोफानो गरेका थिए । ‘चाइनाको ‘चोमोलुङ्मा

(सगरमाथा) नेपालको हो’ भन्ने फैसला गरेर आए । त्यो सम्झौता गरिसकेपछि चाइनाले अर्को कुरा उठायो, ‘मानसरोवर हाम्रो हो ।’ सगरमाथा छुट्टिएपछि मान मानसरोवरको कर नेपाललाई दिन छाड्यो ।

मानसरोवरको वरपर एउटा हिमाल छ । त्यो हिमालको साइडमा सुन र चाँदीका पहाडहरु छन् । त्यसैका लागि चाइनाले मानसरोवर आफ्नो भनेको हो । नेपालको त्यो सम्पत्ति चाइनाको हात पर्यो । बीपी कोइराला चाइना जाँदा त्यही कागजमा सही गरेर फर्किए । टंकप्रसाद चाइनाबाट फर्केपछि त्यहाँको सरकारले उनको निजी खर्चका लागि पाँच लाख रुपियाँ दियो । त्यही पैसाले टंकप्रसादले पुल्चोकमा इन्जिनियरिङ कलेज खोलिदिए । टंकप्रसाद प्रधानमन्त्री हुँदा राजा महेन्द्रले लेखेको चिठी पनि छ । महेन्द्रको ह्यान्डराइटिङमै लेखिएको छ ः

‘टंकप्रसादजी,

प्रधानमन्त्री, नेपाल ।

तपार्इंको सरकारबाट सेन्सर भई आएको २० हजार रुपियाँले गोकर्णको पर्खाल बनाउन नपुगेकाले थप २० हजार निकासा गरिदिनू ।’

टंकप्रसादसँग राजा पनि डराउँथे । उनी हिम्मत भएका नेता थिए । गणेशमान सिंह पनि टंकप्रसादका भक्त थिए । पछि बीपीले अनेक बहाना गरेर कांग्रेसमा लगेका हुन् । टंकप्रसादको मन्त्रीमण्डलमा गणेशमान उद्योगमन्त्री थिए । त्यतिबेला गणेशमानको चाक्सीबारीको घर चूडाप्रसाद शर्मालाई दिने भनेर ठिक्क पारिएको थियो । त्यो गणेशमान मन्त्री हुँदा एउटा व्यापारीले ६० हजार रुपियाँमा किनिदिएको हो । त्यसमा गणेशमानको एक पैसा परेको छैन । गणेशमानले त्यो व्यापारीका लागि के गरिदिए, थाहा छैन । तर, त्यो एकप्रकारले घुस खाएको हो । चाक्सीबारीको घर नपाएपछि चूडाप्रसादलाई डिल्लीबजारमा एउटा पुरानो घर दिएर व्यवस्थापन गरे प्रजा परिषद्कै पार्टी सदस्यहरुले ।

मैले जीवनमा त्यस्ता नेताहरुसँग संगत गर्न पाएँ ।

सबै राजनीतिक पीडितले जमीन पाइसकेका थिए । रामहरि शर्माको घर बत्तीसपुतलीमा थियो भने टंकप्रसादको घर बानेश्वर हाइटमा । ०४६ सालपछि रामहरिको घरमा नेपाल प्रजा परिषद्को महाधिवेशन भयो । सबै पितृ भइसकेका नेता जम्मा भए । युवामा हामी पाँच–सात जनामात्रै थियौं । त्यहाँ मातृकाप्रसाद कोइराला, कीर्तिनिधि विष्ट र श्रीभद्र शर्माले एउटा नयाँ पार्टी खोल्ने चर्चा चलेको थियो । पहिलो दिन भाषणभुषण भयो ।

दोस्रो दिन टंकप्रसादले मलाई निर्देशन दिए, ‘हामी बूढा भयौं । तिमीहरु युवा हौ । आफ्नो भविष्यका लागि प्रस्तावित पार्टीमा जाऊ ।’

मैले ठाडै इन्कार गरें, ‘म मातृका बसेको राजनीतिक पार्टीमा बस्दिनँ । मातृका भनेको कोशी बेच्ने दलाल हो । उसको प्रधानमन्त्रीत्वमा कोसी बेचिएको हो ।’
टंकप्रसादले मलाई भने, ‘तँ भरे मकहाँ आइज ।’
अरु अरुतिर लागे । म टंकप्रसादको घरमा गएँ ।

उनले मलाई सम्झाए, ‘मातृका सज्जन मान्छे हो । मातृकाले कोशी बेचेकै हैन । कोशी त राजा महेन्द्रले दिएको हो । त्यतिबेला मातृका सुतिसकेका थिए । उनलाई थाहा छैन यो कुरा । महेन्द्र र जवाहरलाल नेहरुले राति १२ बजे कोशी बाँधको शिलान्यास गरेका हुन् ।’

मैले आपत्ति जनाएँ, ‘मातृका, तपाईंका सम्धी भएकाले यो कुरा भन्या ? म कम्युनिस्ट हुँदा कोशी ड्याम फोर्न गएको छु । कसरी हुन्छ ?’

टंकप्रसादले मातृकासँग कुरा गरेर सत्यतथ्य पत्ता लगाउन भने उनले । यति भनेपछि मलाई पनि अलि शंका लाग्यो । अनि मात्र रुँदै—रुँदै पन्नामान सिंहसहित हामी हिँड्यौं । मातृकाहरुले प्रस्तावित गरेको पार्टीको अधिवेशन राष्ट्रिय सभागृहमा चल्दै थियो । त्यहाँ गएर हामीले प्रजा परिषद्बाट आएको हुँदा प्रस्तावित पार्टीको नाम ‘नेपाल जनता परिषद्’ राख्न भन्यौं । त्यसको विरोध हुँदाहुँदै पनि नाम ‘जनता परिषद्’ भइछाड्यो ।

अध्यक्ष को बनाउने ? भन्दा मैले नै मातृकाप्रसाद कोइरालाको नाम प्रस्ताव गरें । सबैले ताली बजाए । कीर्तिनिधि विष्ट उपाध्यक्ष भए भने श्रीभद्र शर्मा महासचिव । त्यसमा श्रीशशमशेर राणा पनि थिए । यसरी ‘जनता परिषद्’ गठन भयो । मैले ‘प्रजा परिषद्’ छोडें पनि टंकप्रसादसँग राम्रै सम्बन्ध थियो । म उनको घरमा गइरहन्थें । टंकप्रसादजीको अब पार्टी रहेन । उनकी छोरी मीना आचार्य असाध्यै घमण्डी आइमाई थिइन् । उनीसँग कोही मान्छे टिक्दैनथ्यो । धेरै मान्छेले ‘प्रजा परिषद्’ छोड्नुको एकमात्र कारण मीना थिइन् । उनी प्रजा परिषद्लाई बाउको बपौतीजस्तो ठान्थिन् ।

टंकप्रसाद बूढा भइसेकका थिए । एक दिन म टंकप्रसाद र रामहरिसँग बसिरहेको थिएँ । टंकप्रसादले भने, ‘म वृद्ध भएँ । मलाई हस्पिटलमा मर्न नदिनू । घरमै ल्याउनू । मेरा तीन छोरा छन् । मेरो लास तीन छोरासहित तैंले पनि बोक्नू । मेरो लास कसैलाई छुन नदिनू । यो कुरा ख्याल गर्नू तैंले ।’

०३९ सालमा बीपीको लास ट्रकमा राखेर काठमाडांै परिक्रमा गरिएको थियो । टंकप्रसाद त्यस्तो गर्न चाहन्थेनन् । टंकप्रसादजी बिरामी भएपछि टिचिङ हस्पिटल लगियो । म टंकप्रसादलाई भेट्न हस्पिटल जान्थें सधैं । मैले भन्दा डाक्टर मान्दैनन्; रामहरिले भन्न सक्दैनन् । गणेशमान सर्वमान्य नेता थिए त्यतिबेला । मैले गणेशमानलाई भनें, ‘टंकप्रसादजीले हस्पिटलमा मर्न नदिनू भनेका छन् ।’

मैले अनुरोध गरेपछि गणेशमानले तुरुन्त आदेश दिए । सबै भएर टंकप्रसादको घर बानेश्वर हाइटमा लगियो । टंकप्रसादजी त्यसै रात बिते । गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री भइसकेका थिए । रामहरि र म बस्यौं । रामहरिले गिरीजालाई फोन गरे । आर्मी ब्यान्ड पठाइदिन भने रामहरिले । गिरीजाले पठाइदिए । बिहान ८ बजे नै पशुपति आर्यघाट लगियो । हृषीकेश शाहलगायत मानव अधिकारवादीहरु ट्रक खोेजेर टंकप्रसादको लास घुमाउने कुरा गर्दैथिए । हामीले पशुपतितिर लग्यौं । पशुपति साह्रै फोहोर थियो । त्यस्तो पानीमा कसरी मुख धुने भन्ने चिन्ता थियो हामीलाई ।

हृषीकेश शाहहरु उर्लेर आर्यघाट आए । ‘त्यो बद्मास को हो ?’ भनेर कुर्लिए । यो सबै अरुण सुवेदीले गरेको भनेर ओइरिए । झम्टिन आए । अब म कुटिनेवाला थिएँ । त्यसैले म र रामहरि शर्मा पल्लो कुनामा लुकेर बसेका थियौं । गणेशमानजी पनि त्यहीँ थिए । मैले भनें, ‘हेर्नोस् बाग्मतीको हालत । पानी कति फोहोर छ ? अब जमीनमुनि आठ–दशवटा पम्प गाड्नुस् ।’

हामीले टंकप्रसादजीको लास चितामा राखिसकेका थियौं । हृषीकेशहरुले ठूलो विद्रोह गरे । यति हुँदाहुँदै पनि सद्गत भयो ।

अरुण कुमार सुवेदीको आत्म वृतान्त जिवन यात्रामा प्रकाशित पुस्तकको अंश (घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तकमा नेपाली राजनीति र खानीहरुको विषयमा धेरै तथ्यहरु उजागर गरिएको छ । )

स्रोत-http://www.chakrapath.com/assets/upload/images/xarun-kumar-subedi.jpg.pagespeed.ic.Cjzy7n3Xbx.webp