Best Online News From Nepal

जो #सनातन हिंदू धर्मको मर्म बुझ्न चाहानु हुन्छ , वहाँहरुले अवश्य पढनुहोस ) के हो त षड्दर्शन ?

प्रवीण अधिकारी

16730316_601351216738051_5628652881597378966_n

============
षड्दर्शन , हाम्रा ऋषिमुनिहरुले दार्शनिक एवं धार्मिक रुपमा पोखेका विचारहरु मंथन गरिएको दर्शनहरु हो , जसलाई ऋषि मुनिहरुका हजारौँ वर्षको चिन्तनले साकार रुप दिएको थियो | यो दर्शन हिन्दू (वैदिक) दर्शनको नाउँले चिह्निएको कारण यसलाई आस्तिक दर्शनपनि भन्ने गरिएको हो | यी दर्शनहरुका प्रणेता निम्नलिखित व्यक्तित्वहरु रहेका थिए –

१ पूर्व मीमांसा: महर्षि जैमिनी (बाग्लुङ्ग )
२ वेदान्त (उत्तर मीमांसा): महर्षि बादरायण(तनहुँ )
३ सांख्य: महर्षि कपिल ( कपिलबस्तु )
४ वैशेषिक: महर्षि कणाद (भारत )
५ न्याय: महर्षि गौतम ( जनकपुर )
६ योग: महर्षि पतंजलि ( भारत )

तत्कालिन वेद ज्ञानलाई सम्झिन र सम्झाउन दुईटा प्रयास हाम्रा ऋषिमुनिहरुले १. दर्शनशास्त्र २. ब्राह्यण र उपनिषद आदि ग्रन्थहरु रचना गरे | ब्राह्यण र उपनिषद ग्रन्थहरुद्वारा ऋषिहरुले माथिका विषयहरु आफ्ना शिष्यहरु र जिज्ञाशु मान्छेहरुलाई मूल वैदिक ज्ञानबाट सरल भाषामा प्रकाश पारे | यी ज्ञानहरु त्यस्तै ज्ञान हुन् जुन ज्ञान आइन्सटाइनले Theory of Relativity तथा अन्य विषयहरु लेखेर पछि मानव जातिलाई दिए | त्यसैले आइन्सटाइनलाई आप्त ज्ञाता मानियो कारण उनले लेखेको कुरोलाई अधिकांश मान्छेले कुनै काईं कुईं नगरी स्वीकारे तर , हाम्रा पूर्वीय दर्शन जान्नेहरू आइन्सटाइनको सिद्धहस्तपन अर्थात आप्तता माथि शंका गर्दछन र उनलाई स्विकार्दैनन | उनलाई प्राचिन र प्रथम ठान्दैनन् किनभने कसैलाई बुझाउन तर्क (Logic) चाहिन्छ | हाम्रा ऋषि मुनिहरुले आफ्नो वेद ज्ञानलाई तर्क दिएर सम्झाउन ६ बटा दर्शन शास्त्रको पुस्तक लेखि सकेका थिए | यी दर्शन शास्त्रहरुले मूल वैदिक ज्ञानलाई तर्कले पुष्टि गरिदिएका छन | तिनले आफ्ना प्रत्येक दर्शन शास्त्रलाई आ आफ्ना विषय बस्तुहरु राखेर पुष्टि गरेका छन | यी विषयवस्तुहरु भौतिक विज्ञान (Physics) को Newtonian Physics, Maganetism Atomi Physics, आदि इत्यादि भन्दा परिपक्क देखिन्छन | दर्शन शास्त्रहरु सूत्रगत रूपमा लेखिएको छ | यस बाहेक ती प्रत्येक दर्शन शास्त्रहरुले त्यो लेखिनुको उद्द्येश्य आफ्नो प्रथम सूत्रमा उल्लेख गरिदिएको छ र अन्त्यमा त्यो उद्देश्य पूर्तिगर्ने सूत्रपनि हामीलाई बताई दिएको छ | वैदिक ज्ञानहरुले भरिएको अद्वितीय पुस्तक भगवद्गीतापनि हो | त्यस ग्रन्थमा समेटिएको ज्ञानको आधार वेद, उपनिषद र दर्शन शास्त्र नै हो |

भगवद्गीता २-३९ र १३-४ मा महर्षि व्यासले लेखेका छन :

एषा तेSभिहिता सांख्ये बुद्धिर्योगे त्विमां श्रुणु ।
बुद्धया युक्तो यथा पार्थ कर्मबन्धं प्रहास्यसि ।। गीता २-३९

-हे अर्जुन ! यो बुध्दि(ज्ञान) जो सांख्य दर्शन अनुसार मैले तिमीलाई सुनाए , अब त्यस्तै बुध्दि म तिमीलाई कर्म योग अनुसार दिन्छु जुन ज्ञानले तिमी आफ्नो कर्म-बन्धन नष्ट गर्न सक्नेछौ |

ऋषिभिर्बहुधा गीतं छन्दोभिर्विविषै: पृथक्।
ब्रह्यसूत्रपवैश्चैव हेतुमदिभर्विनिधैश्चितै:।।४।। गीता१३-४

यो क्षेत्र (शरीर) र क्षेत्रज्ञ (आत्मतत्व) को विषय वस्तुलाई हाम्रा ऋषि मुनिहरू प्रदत्त आर्ष ग्रन्थ वेदले अनेक उपमा दिएर सम्झाएको छ र त्यही विषय वस्तुहरुलाई ब्रह्यसूत्रादी ग्रन्थहरुमा पृथक्-पृथक् (शरीर जीवात्मा र परमात्माको कुरो गरि ) विभिन्न किसिमले बुझाउने प्रयाश गरिएको छ | त्यसै मध्येको पहिलो ग्रन्थ हो –

१. पूर्व मीमांसा
=========

यहाँ मीमांसा शब्दको अर्थ (पाणिनिको भनाइमा ) जिज्ञासा भन्ने बुझिन्छ | जिज्ञासा भनेको जान्ने उत्सुकता हो | त्यसैले यो ग्रन्थको सुरुमै भनिएको छ ” अथः पूर्व-मीमांसा ” | यसमा सोह्र अध्यायहरु रहेका छन् | मान्छेहरु जब यस संसारमा जन्मिन्छां उनीहरुमा पहिलो जिज्ञासा जाग्दछ – अब के गर्ने ? त्यसकारण दर्शनशास्त्रको प्रथम सूत्रमा ऋषिमुनिहरुले मान्छेको त्यही इच्छालाइ अभिव्यक्त गरिदिए र पूर्व मीमांसा त्यसैको प्रतीक हुन पुग्यो | यस दर्शनका प्रवर्तक महिर्ष जैमिनी हुन जो जैमिनिघाट अर्थात ठेउलेखोलो र काली गण्डकीको संगमस्थल जैमिनी घाटमा बसेर तपस्या गर्दथे | उनले लेखेको यस ग्रन्थमा १२ अध्याय, ६० पाद र २,६३१ सूत्र रहेका छन् | यो ग्रन्थको प्रारम्भमै महिर्ष जैमिनिले यसरी लेखेका छन –

” अथातो धर्मजिज्ञासा।।

धर्म गर्नुपर्ने कर्म हो कि होइन त ? भनेर जान्ने जिज्ञासा नै यस पूर्व मीमांसाको विषय बस्तु हो | यसै जिज्ञाशा बताई दिने उद्द्येश्यले यो १६ अध्यायको ग्रन्थको रचना महर्षि जैमिनिले गरेका थिए | मान्छेले गर्ने कर्मको अर्थ ज्यादै विस्तृत हुन्छ र यसैलाई आधार मानि १६ अध्याय र ६४ पद भएको ग्रन्थ लेख्ने जैमिनिलाई सबैले उचित ठाने | धर्मको व्याख्या यजुर्वेदले सुरुमै गर्दिएको छ र यज्ञको महिमा वर्णन गरिएकोबताएको छ | वैदिक ग्रन्थमा यज्ञको अर्थ देवयज्ञ मात्र होइन बरु मान्छेले गर्ने प्रत्येक किसिमको कार्य पनि देव यज्ञ हो भनेर अर्थ्याएको देखिन्छ | सिकर्मीले रुख काटेर बनाएको कुर्सी ,टेबलपनि यज्ञ नै हो | वृक्षको हाँगो दाउरो बनाउनु बाहेक अरु के हुन सक्थ्यो यदि सिकर्मीले काट कुट गरेर कुर्सी र टेबल बनाउन नसकेको भए ? त्यसैले सिकर्मीले त्यो काठलाई मानव जातिलाई चाहिने उपकारी स्वरुपमा परिवर्तन गरिदिएको कारण त्यसले हामी मानव जातिको कल्याण गरेको कारण त्यसलाई पनि यज्ञनै मान्नु परेको हो | मानवजातिको हितार्थ गरिने हरेक किसिमका कामहरु यज्ञ स्वरुपका हुन त्यो नै यसको निचोड हो |

पूर्व मीमांसा ग्रन्थमा मान्छेले गर्ने सबै किसिमका कर्महरुको व्याख्या गरिएको छ | त्यसमा मान्छेले ज्ञान पाउँ सक्ने जुन छ साधनहरुको चर्चा गरिएको छ , त्यो हो – प्रत्यक्ष, अनुमान, उपमान, शब्द, अर्थापत्ति र अनुपलब्धि | मीमांसा दर्शन अनुसार वेद अपौरूषेय, नित्य एवं सर्वोपरि ग्रन्थ हो र वेदले प्रतिपादन गरेको अर्थ नै धर्म कहलिएको हो | मीमांसा सिद्धान्तमा वक्तव्य दुई खालको हुन्छ – अपरिहार्य विधि जसमा उत्पत्ति, विनियोग, प्रयोग र अधिकारका बिधिहरु उल्लेखित छन र अर्को हो अर्थवाद जसमा स्तुति र व्याख्यालाई प्राथमिकता दिइएको छ |

२. ब्रह्यसूत्र (उत्तर मीमांसा)
==================

जब मान्छेले जीवन यापन सुरु गर्दछ अनि उसको मनमा अर्को जिज्ञासा आउन थाल्छ त्यो हो ब्रह्य जिज्ञासा | ब्रह्यसूत्रको पहिलो सूत्र नै तलको हो – ” अथातो ब्रह्यजिज्ञासा।। ” अर्थात ब्रह्यको कुरो थाहापाउने ईक्षा | यो जिज्ञासा श्वेताश्वर उपनिषद्मा वर्णन गरिएको छ | त्यस उपनिषदको पहिलो मन्त्रले भन्छ –

ब्रह्यवादिनो वदन्ति-
किं कारणं ब्रह्य कुत: स्म जाता जीवाम केन क्व च संप्रतिष्ठा:।
अधिष्ठिता: केन सुखेतरेषु वर्तामहे ब्रह्यविदो व्यवस्थाम्।।

ब्रह्यको वर्णन गर्नेहरु भन्छन यस संसारको कारण के हो ? , हामी कसरी जन्म्यौं ? कहाँ रहेका छौं ? (कसरी बस्यौं ?) मान्छेले सुख-दु:ख किन पाउँछ ? यो सब के हो ? किन भएको हो ? आदि इत्यादि | जसले ब्रह्य माथि जिज्ञासा राख्छ उसले यस्ता कुराहरु थाहा पाउनै पर्छ | यसमा पहिलो जिज्ञासा धर्मकर्मको जिज्ञासा हो र अर्कोचाहीं यस संसारको मूल कारण जान्ने ज्ञान चाहिएको हो | अर्को अर्थात पछिल्लो जिज्ञासाको उत्तर नै ब्रह्यसूत्र अर्थात् उत्तर मीमांसा हो | यो दर्शनले वेदको परम र अन्तिम तात्पर्य वोध गराउँदछ , यसैले यसलाई वेदान्त दर्शन भनेर चिह्निएको हो |

वेदस्य अन्त: अन्तिमो भाग इति वेदान्त:।। यसले वेदको अन्तिम उद्द्येश्य र कार्य क्षेत्रहरुको विषयमा शिक्षा दिएको छ | यस ब्रह्मसूत्रको प्रवर्तक महिर्ष बादरायण थिए | जो नेपालकै हालको तनहुँ जिल्लाको गुफामा तपस्यारत थिए | यस दर्शनमा चार अध्याय, प्रत्येक अध्यायमा चार-चार पाद (कुल १६ पाद) र सूत्रहरुको संख्या ५५५ रहेको छ | यसले भन्छ , यो संसारमा तीनबटा ब्रह्य अर्थात् मूल पदार्थहरु रहेका छन् ,जसलाई प्रकृति,जीवात्मा र परमात्मा भनिन्छ | यी तिनोटै अनादि हुन | यसको आदि-अन्त छैन | तिनै ओटालाई ब्रह्य भनेर चिह्निन्छ र जसमा यी तिनोटै कुरो छ त्यो नै जगत् हो र त्यहीनै परम ब्रह्य हो | प्रकृति यस जगतको कारण हो , परमाणुरूप हो जो तीन शक्तिहरु -सत्व, राजस् र तमसको समूह हो | यी तिनै अनादि पदार्थहरुको वर्णन ब्रह्यसूत्र(उत्तर मीमांसा)मा गरिएको छ |

यस ग्रन्थमा जीवात्माको वर्णन गर्दै देखाइएको छ | यस संसारमा हामी जन्म-मरणको बन्धनमा आउनु परेको कारण खुलाइएको छ | साथै जन्म मरणबाट छुटकारा पाउने कुरो पनि त्यहाँ बताइएको छ | यसमा भनिएको छ परमात्मा जो शब्द रुपमा विभिन्न तत्वहरु संग संयुक्त भई व्यक्त भएका हुन्छन , तिनको शुद्ध स्वरूप नेति-नेति नै हो | यो दर्शन मुख्यतः वेद मन्त्रहरुको ब्याख्या नै हो |

३. सांख्य दर्शन
==========

संख्या दर्शनले यो संसारको सृष्टि रचनाको व्याख्या एवं प्रकृति र पुरूषको पृथक-पृथक व्याख्या गरिदिएको छ | सांख्य दर्शन यस संसारको सबै भन्दा पुरानो दर्शन हो | नेपाली समाजमा यो दर्शनको धेरै धेरै प्रभाव पारेको छ साथै महाभारत (श्रीमद्भगवद्गीता),विभिन्न पुराणहरु , उपनिषद, चरक संहिता र मनु संहितामा पनि यो सांख्य दर्शनको उल्लेख गरिएको देखिन्छ | यसका पारम्परिक जन्मदाता कपिल मुनि थिए जो नेपालकै कपिलवस्तुमा बस्दथे | कपिल मुनिको सांख्य दर्शनमा छ अध्याय र ४५१ सूत्रहरु समेटिएका छन् |

यस दर्शनमा यस प्रकृतिका समस्त स्थूल र भूत संग सम्बन्धित सारा तत्वहरुको संख्याको गणना गरिएकोले यसलाई सांख्य दर्शन भनिएको हो | सांख्य संख्याको द्योतक हो | यस ग्रन्थमा २५ बटा तत्वहरु रहेका छन | यसमा सत्य सिद्धान्त प्रतिपादन गरिएको छ | यस संसारको हरेक वस्तुको उत्पत्ति पुरूष र प्रकृतिबाटै भएको हो | पुरूषमा आत्माको भाव समावेस रहन्छ अनि प्रकृति अर्थात पदार्थहरु सृजनात्मक शक्तिका जननी हुन | यस विश्वमा आत्माहरु प्रसस्त छन | यिनीहरुमा चेतना त छ तर गुणहरु छैन | यो प्रकृति तीन गुणहरुको समन्वय हुन पुग्दा बनेको हो | यो त्रिगुण सिद्धान्त अनुसार सत्व, रज र तमको उत्पत्ति हुन पुगेको हो | प्रकृति अविकसित हुँदा यी गुणहरु निष्क्रिय रहेका थिए तर परमात्माको तेजिलो रुपमा सृष्टि हुना साथ् यस प्रकृतिका तीन गुणहरुको संतुलन भाचिन पुग्छ | सांख्य दर्शन अनुसार यस ब्रह्माण्डमा जम्मा २४ मूल तत्वहरु रहेका हुन्छन | जसमध्ये प्रकृति र पुरूष पच्चीसौं हो | प्रकृति अन्तर्वर्ती हुन्छ र पुरूष अर्थ व्यक्ति आत्मा हुन्छ | यस विश्वमा आत्माहरु थुप्रा छन | यी सबै आत्मा समान हुन्छन र विकासको लागि तटस्थ रहन्छन | ती आत्माहरु कुनै न कुनै रुपमा प्रकृति संग संबंधित रहेका कारण तिनको मूक्ति यसैमा हुने गर्छ | आत्मा र तिनका गुणहरु बीचको भिन्नता बुझ्न सक्दा मुक्ति पाइन्छ र मोक्ष संभव हुन्छ , नत्र हुँदैन |

प्रकृतिलाई मूल रूपमा सत्व,रज,तमको साम्यावस्था भन्ने गरिएको छ किनभने यी तिनै अवस्थाले एक अर्कोलाई सन्तुलित (neutralize) गरेको हुन्छ | जसरी त्रिकुटीको तिनोटा खुट्टोले एक अर्कोलाई सन्तुलनमा राख्दछ त्यसरीनै परमात्माको तेज परमाणुले साम्यावस्था भंग गर्दछ र असाम्यावस्था सुरु गर्दछ | सृष्टि अवस्थाको यो नै पहिलो परिवर्तन हो | यो अवस्थानै महत् अवस्था हो | यो नै प्रकृतिको पहिलो परिणाम हो | मन र बुध्दि यसै अवस्थाबाट बन्दछ | यसमा परमाणुको तीन शक्तिहरु बाहिरिन पुग्दा वरिपरिको परमाणुहरु आकर्षित हुनपुग्छन अनि परमाणुको समूह तयार हुन थाल्छ | तीन प्रकारको समूह बन्दछ र यै तिनोटा समूह मध्ये एउटा रजस् अर्को तेजस अहंकार नै वैज्ञानिक भाषामा इलेक्टोन भनिन पुग्छ | अर्को परमाणु-समूह जसमा सत्व गुण प्रधान हुन्छ त्यसलाई वैचारिक अहंकार भनिन्छ त्यसलाई वैज्ञानिक भषामा प्रोटोनपनि भनिन्छ |

तेश्रो परमाणु समूहलाई अर्थात तमस् गुण प्रधानलाई वर्तमान विज्ञानको भाषामा न्यूटोन भनिन्छ जसलाई भूतादि अहंकार भन्ने गरिन्छ | यै अहंकारलाई वैदिक भाषामा आप: भनिन्छ र (अहंकार) प्रकृतिको दोश्रो परिणाम ठानिन्छ | यी अहंकारबाट पाँच तन्मात्रा (रूप, रस,गंध, स्पर्श र शब्द) पंच महाभौतिक तत्वहरु बन्ने गर्दछन अर्थात् तिनोटै अहंकार जब एक समूहमा रहन आइपुग्छन अनि ती परिमण्डल भनिन पुग्दछन | परिमण्डलहरुको समूह पाँच प्रकारका छन् जसलाई पाँच महाभौतिक तत्व भन्ने गरिन्छ :-

१ पार्थिव
२ जलीय
३ वायवीय
४ आग्नेय
५ आकाशीय

संख्याको पहिलो सूत्र हो –

अथ त्रिविधदुख: खात्यन्त: निवृत्तिरत्यन्त पुरूषार्थ:।। १ ।।

अर्थात् अब हामी तिन प्रकारको दु:खहरु -आधिभौतिक (शारीरिक), आधिदैविक एवं आध्यात्मिक बाट छुटकारा पाउन प्रयत्न गर्दछौ त्यै कुरो उनको ग्रन्थमा बर्णन गरिएको छ |

आधिभैतिक- भनेको मान्छेले भोग्ने शारीरिक दु:ख हो जस्तो विराम ,अपाङ्गपन इत्यादि|

आधिदैविक- यो दैवी प्रकोपद्वारा हुने दुख हो , जस्तो बाढि ,तूफान , भूकंप इत्यादि द्वारा उत्पन्न हुने प्रकोप |

आध्यात्मिक- यो दु:ख सिधै मान्छेको आत्मा संग हुन्छ | मान्छे शारीरिक / दैविक दु:खहुँदापनि दुखी हुन्छ | उदाहरणार्थ- संतानहरु आफ्ना बाबु आमा संग बिछोड हुन पुग्दा हुने दु:ख , आफु बसेको समाजको जर्जर अवस्थाले पुर्याउने दुख आदि |
सांख्यको अर्को सूत्र –

सत्वरजस्तमसां साम्यावस्था प्रकृति: प्रकृतेर्महान,
महतोSहंकारोSहंकारात् पंचतन्मात्राण्युभयमिनिन्द्रियं
तन्मात्रेभ्य: स्थूल भूतानि पुरूष इति पंचविंशतिर्गण:।।

अर्थात् सत्व, रज र तमको साम्यावस्थालाई प्रकृति भनिन्छ | साम्यावस्था भंग हुँदा बन्न पुग्छ : महत् तीन अहंकार, पाँच तन्मात्रा, १० इन्द्रिय र पाँच महाभौतिक तत्वहरु अनि पच्चीसौ गुण हो पुरूष |

४. वैशेषिक दर्शन
===========
मूल पदार्थ-परमात्मा, जीवात्मा र प्रकृतिको वर्णन ब्रह्यसूत्रमा गरिएको छ | यो तीन पदार्थलाई ब्रह्य भनिन्छ | प्रकृतिको परिणाम अर्थात् रूपान्तर दुई किसिमले हुन्छ – महत् अहंकार, तन्मात्रा अव्यक्त हुन्छ , यसको वर्णन सांख्य दर्शनमा गरिएको छ | परिमण्डलका पंच महाभौतिक तत्वहरुबाट बनेका चराचर जगत्का सबै पदार्थहरु व्यक्त पदार्थ भनिन पुग्छन | जसको वर्णन वैशेषिक दर्शनमा गरिएको छ |
वैशेषिक दर्शनको प्रवर्तक महिर्ष कणाद हुन | यो दर्शनले परिमण्डल, पंच महाभूत र त्यो भौतिक तत्वबाट बनेका सबै पदार्थहरुको वर्णन गर्दछ , यसैले वैशेषिक दर्शन विज्ञान-मूलक मानिएको हो | वैशेषिक दर्शनको प्रथम दुई सूत्र यस्ता छन –

अथातो धर्म व्याख्यास्याम:।।
अब हामी धर्मको व्याख्या गर्दछौ |
यतोSभ्युदयनि: श्रेयससिद्धि: स धर्म:।।

जे बाट इहलौकिक र पारलौकिक सुख सिध्दि हुन पुग्छ त्यो नै धर्म हो |
कणादको वैशेषिक दर्शन र गौतमको न्याय-दर्शन संग के भिन्नता छ भने यसमा छब्बीसको साटो ७ तत्वहरुको मात्र पुष्टि गरिएको छ जसमा विशेष शब्दलाई निकै बल दिइएको छ |

ती तत्वहरु हुन – द्रव्य, गुण, कर्म, समन्वय,विशेष र अभाव |

वैशेषिक दर्शन न्याय दर्शन जस्तै भएपनि यसको उद्देश्य जीवनमा सांसारिक वासना त्यागि सुख प्राप्त गर्नु र ईश्वर सम्बन्धी विशेष ज्ञान प्राप्तगरि मोक्ष प्राप्त गर्नु हो | न्याय-दर्शन जस्तै वैशेषिक दर्शन पनि प्रश्नोत्तरको रूपमा लेखिएको छ | यस संसारमा पदार्थहरुको संख्या छ ओटा छन – द्रव्य,गुण, कर्म, सामान्य, विशेष र समन्वय | यस दर्शनमा विशेष पदार्थलाई सूक्ष्म किसिमले ब्याख्या गरिएको छ | त्यसैले यसको नाउँ वैशेषिक दर्शन राखिएको हो |

धर्म विशेष पसूताद द्रव्यगुणकर्म सामान्य विशेष समवायानां
पदार्थांना सधम्र्यवैधम्र्याभ्यिं तत्वज्ञानान्नि: श्रेयसम्।। वैशेषिक १|१|८

अर्थात् धर्म-विशेषले उत्पन्न भाका पदार्थहरु द्रव्य,गण, कर्म, सामान्य, विशेष र समवाय रूपका पदार्थहरु मिसिएको धर्मको अघ्ययन-मनन र तत्वज्ञान बुझ्न सक्ता मान्छेले मोक्ष पाउँछ | यो मोक्ष विश्वको अणुयुक्त प्रकृति तथा आत्माले त्यसको भिन्नता अनुभव गर्नु मै निर्भर रहेको हुन्छ |

वैशेषिक दर्शनमा पदार्थहरुको ब्याख्या यसरी गरिएको छ :

जल: चिसो स्पर्श गर्दा थाहापाइने पदार्थ हो |
तेज: तातो स्पर्श गर्दा थाहापाइने पदार्थ हो |
काल: समय उत्पत्ति , स्थिति र विनाशको निमित्त हो |
आत्मा: यसलाई बुझ्नु नै चैतन्य-ज्ञान हो |
मन: मान्छेको सुख-दु:ख आदि बुझ्ने ज्ञानको साधन हो |
पंच भौतिक तत्व : पृथ्वी, जल, आगो , वायु र आकाश |
पंच इन्द्रिय: आँखो , नाक, जिब्रो , कान र यौनांग |
पंच-विषय: गंध,रस,रूप,स्पर्श तथा शब्द |
बुध्दि: यो ज्ञान हो र यो आत्माको गुण हो |

नयाँ ज्ञान
———-
अनुभव र पहिलाको स्मरण |
संख्या: संख्या, परिमाण, पृथकता, संयोग र विभाग |
आदि गुण: सबै गुण द्रव्यमा रहन्छन |
अनुभव: यथार्थ विद्या एवं अयथार्थ वा अविद्या
स्मृति: पूर्व अनुभव र संस्कारद्वारा उत्पन्न भएको ज्ञान |
सुख: इष्ट विषयको प्राप्ति जो आफ्नो स्वभाव अनुकूल रहन्छ | अतीतका कुराहरुको स्मरण र भविष्य प्रतिको संकल्पले सुख पाउँछ र त्यो सुखनै प्रत्येक मान्छेको उद्द्येश्य रहेको हुन्छ |
दु:ख: इष्ट हराउँदा या अनिष्ट आउँदा हुन्छ यसको प्रकृति प्रतिकूल रहन्छ |
इच्छा: कुनै अप्राप्य बस्तुको चाहना नै ईक्षा हो | यो नै कारण हो | धर्म, अधर्म या वेद वमोजिमको कर्म जुन कर्ताको हित र मोक्षको साधन हो , लाईनै धर्म भनिएको हो | अधर्मले अहित र दु:ख दिन्छ |अदृष्ट कुरोहरुमा धर्म र अधर्म दुवै कुरो सम्मिलित भा हुन्छ |

वैशेषिक दर्शनको मुख्य पदार्थहरु
======================
१.द्रव्य: द्रव्य गिनती मा ९ ओटा छन – पृथ्वी, जल, तेज, वायु, आकाश, काल, दिशा, आत्मा र मन |
२. गुण: गुणहरुको संख्या चौबीस ओटा भएको मानिन्छ |
३. कर्म: कुनै कुरो सिद्ध गर्न कर्म गर्नु पर्छ त्यसकारण कर्मपनि मूख्य पदार्थ हो |
४. सामान्य: मान्छेमा मनुषत्व , रुखमा वृक्षत्व सामान्य त् हुनै पर्छ |
५. विशेष: देश काल को भिन्नता भएपनि पदार्थ हरु विच पनि विलक्षण फरक पन रहन्छ |
६. समभाव: जहाँ गुण व गुणीको संबंध हुन्छ त्यसलाई छुट्याउन सकिन्न |
७. अभाव: कुनै वस्तु उत्पत्ति हुनु भन्दा पहिलेको अभाव , कुनै वस्तुको अर्को बस्तु संग रहेको गुणको अभाव आदि यसको उदाहरण हुन |

५. न्याय दर्शन
==========
महिर्ष अक्षपाद गौतमद्वारा लिखित न्याय दर्शन एक आस्तिक दर्शन हो जसमा ईश्वरलाई कर्मफल प्रदाता भनिएको छ | यस दर्शनको मुख्य विषय प्रमाण हो | न्याय शब्द धेरै अर्थमा प्रयोग गरिन्छन तर दार्शनिक साहित्यमा न्याय भनेको त्यो साधन हो जसको सहायताले सम्बन्धित विषय प्रमाणित गराइन्छ –

नीयते प्राप्यते विविक्षितार्थ सिद्धिरनेन इति न्याय:।।

अत: न्यायदर्शनमा अन्वेषण अर्थात् जाँच-बुझको कुरो वर्णन गरिएको छ |
यस ग्रन्थमा पांच अध्यायहरु छन तथा प्रत्येक अध्यायमा दुई दुई खण्ड छन | यसमा कुल सूत्र संख्या ५३९ ओटा छन | न्यायदर्शनमा अन्वेषण अर्थात् जाँचबुझको उपायहरुको वर्णन गरिएको छ | सत्यको खोजी गर्ने १६ बटा तत्वहरु हुने गर्छन | ती तत्वहरुद्वारा कुनैपनि पदार्थको सत्यता (वास्तविकता) पत्ता लाउन सकिन्छ ती हुन –

(१) प्रमाण, (२) प्रमेय, (३)संशय, (४) प्रयोजन, (५) दृष्टान्त, (६) सिद्धान्त, (७)अवयव, (८) तर्क (९) निर्णय, (१०) वाद, (११) जल्प, (१२) वितण्डा, (१३) हेत्वाभास, (१४) छल, (१५) जाति र (१६) निग्रहस्थान |

माथिका सबैको वर्णन न्याय दर्शनमा गरिएको छ | दर्शन शास्त्र तर्क गर्ने व्याकरण हो | वेदार्थ बुझ्न तर्क चाहिन्छ | यसर्थ यो दर्शन शास्त्र वेदार्थ गर्दा सहायक हुन पुग्छ |

दर्शनशास्त्रमा भनिएको छ –

तत्त्वज्ञानान्नि: श्रेयसाधिगम:।।

अर्थात्- यी १६ तत्वहरुको ज्ञानले सत्यको खोज गर्दा सफलता पाइन्छ |
न्याय दर्शनको चार विभाग-

१. सामान्य ज्ञान द्वारा समस्याको निराकरण
२. जगतको समस्याहरुको निराकरण
३. जीवात्माको मूक्ति
४. परमात्माको ज्ञान

न्याय दर्शनमा आघ्यात्मवाद होइन तर्क एवं ज्ञानको पक्ष बलियो छ | यसमा तर्क शास्त्र यसकारण राखिएको हो कि स्पष्ट विचार एवं तर्क-संगत प्रमाण द्वारानै परमानन्दको प्राप्ति हुन सक्छ | न्याय दर्शनमा १. सामान्य ज्ञान २. संसारको क्लिष्टता ३. जीवात्माको मूक्ति एवं ४. परमात्माको ज्ञानलाई आफ्नो उद्देश्य प्राप्तिको लक्ष्य बनाई प्रमाण आदि १६ पदार्थ प्रयोग गरि तार्किक रुपमा समाधान गरिंदा राम्रो हुन्छ | तर , यसमा प्रमाण नै मुख्य विषय हो |

कुनैपनि विषयको यथार्थ कुरो पत्ता लगाउनु र अर्काको झूठो ज्ञानको त्रुटि पत्ता लगाउनु यस दर्शनको मुख्य उद्देश्य हो | दु:खको नास नै मोक्ष हो | न्याय दर्शनको अन्तिम दीक्षा के हो भने यस संसारमा ईश्वरीय गुण मात्र भेट्न /थाहा पाउन सकिन्छ , ज्ञातव्य र प्राप्य हुन सक्छ |नत्र यो संसार बुझ्न सकिन्न |

पदार्थ र मोक्ष
========
मूक्ति प्राप्त गर्न समस्याहरुको समाधान आवश्यक छ र त्यो समाधान १६ पदार्थहरुको तत्वज्ञान पाउँदा मात्र प्राप्त हुन्छ | यसमा प्रमाण र प्रमेयपनि चाहिन्छ | तत्वज्ञान हुन पुग्दा झूठो ज्ञान नाश हुन पुग्छ | रागद्वेष नष्ट गरि मोक्ष पाइन्छ | सोह्र पदार्थहरुको तत्व-ज्ञान निम्नलिखित किसिमले मोक्ष पाउने साधन हुन सक्छ |

दु:ख-जन्म प्रवृति- दोष मिथ्यामानानाम उत्तरोत्तरापाये तदनंन्तरा पायायदपवर्ग:।।

अर्थात-दु:ख, जन्म, प्रवृति(धर्म-अधर्म),दोष (राग,द्वेष), र मिथ्या ज्ञान क्रमैसंग नास हुन पुग्दा मोक्ष पाइन्छ | यसमध्ये प्रमेयको तत्व ज्ञानबाट मोक्ष प्राप्ति हुन्छ र प्रमाण आदि पदार्थ त्यस ज्ञानको साधन हो | युक्ति तर्क हो जसले प्रमाणहरुलाई मद्दत गर्दछ | पक्ष-प्रतिपक्षले निर्धारण गरेको निश्चय नै निर्णय हो | अर्कै अभिप्राय राखी बोलिएका शब्दको अर्कै अर्थलाई प्रमाणित गराउन खोज्नु छल हो |

आत्माको अस्तित्व
=============
आत्मा, शरीर र इन्द्रियहरुमा आत्मा नै भोगने तत्व हो | इच्छा,द्वेष, प्रयत्न, सुख-दु:ख र ज्ञान त्यसका चिह्न हुन | जुनकुरो त्यो शरीरबाट अलग हुन पुग्छन |त्यसलाई भोग्ने घर नै शरीर हो | भोग्ने साधन इन्द्रिय हो | भोगने विषय (रूप,रस,गंध, शब्द र स्पर्श) को अर्थमा रहन्छ | त्यस भोगको अनुभव बुध्दि हो र अनुभव गर्ने अन्तःष्करण मन हो | सुख-दु:ख गराउनु फल हो र त्यसबाट छुट्टिनु मोक्ष हो |

६. योग दर्शन
==========
योग यस विश्वका धेरै देशहरुमा प्रचलित छ | अधिकांशत: यो आसनहरु भनेर चिह्निन्छ | कहीं-कहीं प्राणायामको रुपमा पनि प्रचलित छ जवकि यो आसन इत्यादि कुरो योग दर्शनको एकदम सानो तत्व मात्र हो | यस दर्शनको व्यवहारिक र आध्यात्मिक उपयोगिता सबैले स्विकार्छन किनभने योगको आसन एवं प्राणायामहरुले मान्छेको शरीर र उसको प्राण बलियो तुल्याउन मद्दत गरेको छ |
यस दर्शनका प्रवर्तक महर्षि पतंजलि हुन | यह दर्शन चार पाउ गरेर बाडिएको छ जसमा सूत्र संख्या १९४ ओटा छ | ती चार पद हुन : समाधिपाद, साधनपाद, विभूतिपाद र कैवल्यपाद | योग दर्शनको प्रथम दुई सूत्र हुन्छन –

अथ योगानुशासनम् ।। १ ।।

अर्थात योगको शिक्षा दिनु यो शास्त्रको उद्द्येश्य हो |

योगश्चित्तवृत्ति निरोध: ।। २ ।।

अर्थात् चित्त या मनको स्मरणात्मक शक्तिको उद्ध्येश्य नराम्रो कुरो हटाई , शुभ गुण समेटेर पश्रमेश्वरलाई आफु नजिक राखेको अनुभव गरि मोक्ष प्राप्त गर्ने प्रयास नै योग हो | जीवात्मा को सत्य संग संयोग अर्थात् सत्यप्राप्तिको उपाय| ज्ञान प्राप्ति मान्छेको जीवनको लक्ष्य हो र ज्ञान बुध्दिको श्रेष्ठताबाटै प्राप्त हुनेगर्छ |
भगवद्गीतामा भनिएको छ –

एवं बूद्धे: परं बुद्धवा संस्तभ्यात्मानमात्मना |

अर्थात् यस्तो बुध्दिदेखि टाढा आत्मालाई बुझेर , आत्मा द्वारा आत्मालाई वशमा गर्नु (अर्थात आफुलाई नियंत्रण गर्नु ) यही नै योगको उद्द्येश्य हो | यसलाई प्राप्त गर्ने उपाय योगदर्शनमा बताइएको छ | आत्मामाथि बुध्दिद्वारा नियन्त्रण गर्नु योग दर्शनको मूख्य विषयवस्तु हो |

तप: स्वाध्यायेश्वरप्रणिधानानि क्रियायोग:।। योग० २-१

अर्थात्–तप (निरंतर गरिने प्रयत्न), स्वाध्याय(अध्यात्म विद्याको अध्ययन) र परमात्माको आश्रयबाटै योग गर्न सकिन्छ |

अष्टांग योग:
========
आफुलाई क्लेशबाट मूक्ति दिलाउन र आफ्नो चित्तलाई त्यसमै डुबाउन योगको ८ अंगहरुको अभ्यास गरिनु पर्छ | यो अभ्यासलाई ८ भागमा बाँडिएको छ – १. यम, २. नियम, ३. शासन, ४. प्राणायाम, ५. प्रत्याहार, ६. धारणा, ७. ध्यान र ८. समाधि | मुख्यत: योगको उद्द्येश्य मान्छेको बुद्धि बिकास गर्नु हो | बुध्दि विकास गर्ने अन्तिम सूत्र –

ऋतंभरा तत्र प्रज्ञा।। श्रुतानुमानप्रज्ञाभ्यामन्यविषया विशेषार्थत्वात् ।।

अर्थात योगबाट प्राप्त भएको बुध्दिलाई ऋतंभरा भनिन्छ र हाम्रा इन्द्रियहरुले प्रत्यक्ष देखेर वा अनुभव गरेर पाएको ज्ञान तथा अनुमान गरेर पाएको ज्ञान सामान्य बुध्दि का कारण भिन्न भिन्न अर्थ दिने हुन पुग्छन | यसको अर्थ के हो भने जुन ज्ञान सामान्य बुध्दि द्वारा प्राप्त हुन्छ त्यो छुट्टै हो र ऋतंभरा (योग द्वारा सिद्ध हुन पुगेको बुध्दि) द्वारा प्राप्त हुन पुगेको ज्ञान छुट्टै अर्थ दिने हुन्छ | यसैबाट अध्यात्मज्ञान प्राप्त गर्न सकिन्छ जसबाट मोक्षको बाटो खुल्दछ | आभार: गुरूदत्तजीलाई जसको पुस्तकले यो षड दर्शन मलाई बुझाउन सक्यो )

अस्तु -प्रवीण अधिकारी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *