Best Online News From Nepal

जेष्ठ १५ भित्रै बजेट आउने

सरकारले आगामी जेष्ठ १५ भित्रै बजेट ल्याउने तयारी गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेट आर्थिक समृद्धिको जग बन्ने दाबी पनि गरेका छन् । निजी क्षेत्रका प्रतिनिधिसँगको छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सबै राजनीतिक शक्तिको अबको एजेन्डा आर्थिक विकास रहेको बताउँदै सरकारले त्यसैलाई विशेष जोड दिने बताए । ‘नयाँ संविधानको कार्यन्वयन गराउन सक्ने बजेट ल्याउन चुनौतीपूर्ण रहेको छ, तर हामीले आर्थिक समृद्धिको जग यहीँ बजेटमार्फत बसाल्नु पर्नेछ’ अर्थमन्त्री पौडेलले भने ।

नयाँ बजेट आगामी जेठ १५ गते सार्वजानिक गर्ने गरी तयारी भइरहेको बताउँदै अर्थमन्त्रीले विशेष परिस्थिति र परिवेशलाई बजेटले सम्बोधन गर्नुपर्ने औँल्याउए । उनले निजी क्षेत्रका सवालमा सरकार गम्भीर रहेको बताउँदै राष्ट्र निर्माणमा प्रत्यक्ष संलग्नता राख्न उद्योगी व्यवसायीलाई आग्रह गरे । क्षेत्रीयस्तरीय पूर्व बजेट छलफल कार्यक्रममा पूर्वाधार, ऊर्जा सङ्कट समाधान, कृषि र पर्यटन विकास लगायतका विषय समेट्न माग गरिएको छ । यसैगरी, राजस्वको सुधारको माग गर्दै आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र भन्सार महसुललाई समानुकूल सबलीकरण र सरलीकरण गर्न माग गरिएको छ ।
सुझावमा विराटनगरमा चक्रपथ निर्माण, चीनसँगको व्यापार सहजीकरणका कारण विराटनगर–किमाथाङ्का सडकलाई प्राथमिकता दिन माग गरिएको छ । यसैगरी, विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने बजेट माग गरिएको छ । ऊर्जा सङ्कट समाधानका लागि प्रसारण लाइनको स्तरोन्नति, सुनसरीको बेलगछिया र ढल्केबरमा सबस्टेसन निर्माण, विशेष आर्थिक क्षेत्र घोषणा र पूर्वाधार निर्माणका लागि समेत बजेटमार्फत समेट्न सुझाव पेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *