Best Online News From Nepal

जाति ,वर्ण र छुवाछुतको विषयमा हाम्रा शास्त्रहरुले के के भनेको छ ?

प्रवीण अधिकारी,

333

===============
जाति ,वर्ण र छुवाछुतको विषयमा हाम्रा शास्त्रहरुले के के भनेको छ ? त्यो कुरो कहाँ कहाँ लेखिएको छ ? भन्नेकुरा सबै साथीहरुले जान्नु पर्ने जरुरी ठानी हाम्रा ग्रन्थहरुलाईनै आधारमानेर यसलाई प्रष्ट्याउने छुद्र प्रयाश गरेको छु | एकपटक पढिदिने कोशिस गर्दा बिग्रिहाल्ने केहीपनि छैन | मत मतान्तार तपाइन्हरु संगै सुरक्षित भएर रहने छन् |

वैदिककालमा वर्ण व्यवस्था कर्ममा आधारित थियो | त्यतिखेर जाति शब्दको प्रयोग कसैले गरेको देखिन्न | सबैले वर्ण शब्द प्रयोग गरेको देखिन्छ | त्यसैले जाति व्यवस्थाका कठोर आलोचकहरुले वर्णलाई अचेलको जातिको पर्याय ठान्न पुगेका हुन | अव के हो त यो जाति ? भन्नेकुरो त्यै प्राचिन ग्रन्थहरुलाई आधार मानि वैयाकरणिय सिद्धान्त अघिसारेर बुझ्ने प्रयाश गरी हेरौं |

वैयाकरणिय ब्याख्या
=============
न्यायसूत्रले ‘समानप्रसावात्मिकाजाति’ अर्थात्‌ एकनासको जन्मभएका मान्छेहरु मिलेर जाति शब्द बनेको हो भनेको छ | ‘न्याय सिद्धांत मूक्तावलीले – ” नित्यत्वे सति अनेकसमवेतत्वम्जातिवर्त्त्य ” अर्थात्‌ जाति त्यस्तो शब्द हो जो नित्य छ र आफै सरहको समस्त वस्तुहरु संग समवय संबंध राख्दछ भनेको देखिन्छ | यसलाई व्याकरणले प्रष्ट्याउदै भनेको छ – ” आकृति ग्रहण जातिलिंगनांचनसर्वं भाक्‌ सकृदाख्यातनिर्गाह्या गोत्रंच चरणै: सह ” अर्थात्‌ जाति त्यो हो जसलाई उसको आकृति र हाउ भाउले चिन्न सकिन्छ | यसरी हेर्दा ‘जाति’ शब्दको प्रयोग प्राचीनकालमा सबै किसिमका मानवहरुकोलागि गरिँदो रहेनछ बरु मान्छेको अंतर विवाही योगले जन्मिदा प्राप्त गर्न पुगेको परिणाम रहेछ भन्नेकुरा बुझ्न सकिन्छ |

पछि ” जाति ” शब्द मनुष्यत्व ,गोत्त्व ,ब्राह्मणत्व आदिको वाचक हुन पुगेको देखिन्छ | यसले गर्दा जाति शब्द ” जन्यते उत्पद्दते भिन्नेष्वभिन्नाभिधान प्रत्ययो – बोधो यथा सा जाति: अर्थात एउटै समुदाय भित्र भिन्नभिन्न मान्छेहरुलाई उत्पन्न गर्ने शक्तिलाई जाति भन्न थालेको पाइन्छ भने ” जननं जाति ” भन्दै ” ब्राह्मणादि जाति जात्या चेदवध्योSहं एषा सा जाति: ” भनेको पनि भेटिन्छ | यस बाहेक ” जायते अस्याम ” लाई विग्रह गरिंदा ” जन ” धातुमा क्तिन प्रत्यय लाग्दा जाति शब्द बन्यो जसको अर्थ लाइयो ” गोत्र वा वंश ” | पतंजलीले पाणिनि सूत्र ” जातेरस्त्री विषया दयोपधात् ” मा जाति शब्दको व्याख्या गर्दै ” यथा आकृतिग्रहणा जाति: भन्न पुगे | यहाँ जाति शब्द ” नित्यम् एकम् अनेकानुगतम् ” को पर्यायवाचक हुन पुग्यो | जस्तो मनुष्य ,गोत्व ,मृगत्व ,हंसत्व , पशुत्व आदि किनभने मनुष्य , गो ,मृग ,हंस ,पशु आदिमा आ आफ्नो विशेषता रहन पुगेको कारण तिनले गो,मृग ,पशु आदि समेतलाई समेट्न पुग्दा ब्राह्मण ,क्षत्रिय ,वैश्य तथा शुद्रहरु आकृतिमा मान्छे भएपनि अनुहार हेर्दैमा यो ब्राह्मण ,यो क्षत्रिय हो भनेर खुट्याउन नसकिने भएकोले जातिको अर्थ यस्तो हुन् पुग्यो –

“लिंगानाम् च न सर्वभाक् सकृदाख्यात निग्राह्या जाति: |”

ती सबै शब्दहरु जातिवाचक मानिन्छन जसलाई सबै लिङ्गमा एकनासले प्रयोग गर्न सकिन्न तथा जहाँनिर एउटा व्यक्तिलाई एकपल्ट भनिदिंदा उसका सबै वंशजहरु सबै त्यै जातिका हुन भनेर बुझ्न सकिन्छ जस्तो ब्राह्मण | यो बाहेक केही त्यस्ता जातिवाचक शब्दहरुपनि छन् जसले लौकिक गोत्र वा वेदका फलानो शाखाहरु पढ्ने भन्ने जनाउ दिएको हुन्छ | ब्राह्मण साहित्यहरुमा यस्ता शब्दहरु प्रसस्त छन् | जस्तो:- एतरेय ब्राह्मणमा ” जाति:” , ताण्ड्य ब्राह्मणमा ” जातौ ” ,तैत्तिरिय आरण्यकमा ” जात्यै ” र शतपथ ब्राह्मणमा ” जात्या:” | गौतम धर्म सूत्र र अपस्तम्व धर्म सूत्रले जाति शब्दको प्रयोग पृथक जन समुदायकोलागि गरेको छ | बौधायन धर्म सूत्रले वर्णको अर्थमा प्रयोग गरेको छ | कोषगत अर्थ खोज्दा वाचस्पति ,शिवराम आप्टे ,रामाश्रमी इत्यादिले गरेको अर्थ भेटिन्छ | वाचस्पतिले जन् धातुमा क्तिन प्रत्यय लाउँदा जन्मनि ,गोत्र पुष्प ,फल ,अलंकार सप्तस्वर आदि अर्थिने बताएका छन् भने शिवराम आप्टेले जन्म अनुसार अस्तित्वको स्वरुप , परिवार , वंश , कबिला, वर्ग , ब्राह्मण , क्षत्रिय , वैश्य र शूद्रको श्रेणी प्रकार , नस्ल,पशु जाति आदि लाएका छन भने रामाश्रमीले माथिको दुइटैलाई समर्थन गरेका छन् | तर , हिंदू धर्म कोषले जन्म तथा उत्पत्तिको समानता भनेको छ भने संस्कृत कोषले यसको अर्थ वर्ण, कूल, वंश, वंशावली, गोत्र ,प्रकार ,श्रेणी, समाज ,समूह आदि भनेर अर्थ्याएको छ |

वैदिक काल :
========
वैदिक कालिन समाज अस्थिर र यायावर (घुमन्ते ) भएको कारण त्यतिखेर विशिष्ठ सामाजिक समूहहरु जन्मिसकेका थिएनन | त्यतिखेर समाजका प्रत्येक मान्छेको स्थिति अर्थ दण्डको परिणामले तय गर्ने गर्दथ्यो | वर्णहरुको सामाजिक स्थितिको मापकतन्त्र यही एउटा क्षेत्र मात्र रहेको थियो | एउटाले सय ओटा गाई पाल्दथे | त्यहाँ वर्ण भेद थिएन | त्यतिखेर ब्यबसाय वंशानुगत गरिन्थेन | त्यहाँ एउटा ऋषि आफु कवि थिए ,उनका बाबु वैद्द्य थिए, तिनकी आमा अन्न पिस्थिन | यसर्थ त्यतिखेर जसलेपनि आफ्नो पेसा फेर्न सक्थ्यो भन्नुको अर्थ त्यतिखेर जाति व्यवस्था थिएन | विभिन्न समूह विच भेदभाव नगरी बिहेवारी चल्दथ्यो | वृहस्पतिले आफ्नी छोरी रोमसाको बिहे क्षत्रिय राजा सबनेया भवगव्य संग गरि दिएका थिए | द्विज र शूद्र विच बिहेबारी राम्ररी चल्दथ्यो |

वर्णको अर्थ
=======
वर्ण शब्दको अर्थ यस प्रकार गरिएको थियो – ” वृणोति इति वर्ण ” | अर्थात जोद्वारा वरण गरिन्छ वा निर्धारित गरिन्छ | शब्द कल्पद्रूमले वर्ण शब्दको अर्थ शुक्लादि , कुमकुम , जाति रुपमा वर्णन गरेको छ | वर्णको अर्थमा रंगको स्वरुपपनि गुणको प्रतिकनै ठानिन्छ | यसर्थ प्रतिकार्थ रुपमा वर्ण रंगको अर्थमापनि लिने गरिन्थ्यो | उदाहरणार्थ ब्राह्मण सत्य गुणको ,ज्ञानको , निर्मलत्वको प्रतिक हुन्थ्यो | ज्ञान आलोक पूर्ण हुन्छ | तसर्थ ज्ञानवान ब्राह्मणको रंग सेतो मानिन पुगेको थियो | क्षत्रियको प्रतिक रजोगुण र राग हो लोहित वर्णको हुन्छ तसर्थ तिनको रंग रातो मानिएको हो | वैश्यमा रज र तमो दुवै गुण भेटिने भएकोले तिनको वर्णलाई पहेंलो भनिएको हो शुद्र अज्ञानको प्रतिक मानिएकोले र ती अज्ञानमा बाच्ने भएकोले तिनको वर्ण कालो भनिएको हो |

वर्ण व्यवस्था :
========
ऋगवैदिक समाजले चिन्तन गरेको वर्ण व्यवस्था क्रमशः विकसित हुँदै गयो | यसलाई दैवीय भनेर समाजलाई व्यवस्थित गर्ने प्रयाश गरियो | सम्पूर्ण विश्वलाई यज्ञ अनुष्ठाता पुरुषको अंश बताएर वर्णको क्रम निर्धारण गरिएको थियो | उपनिषद्मा वर्णको उत्पत्ति को आधार कर्म भनिएको छ त्यसको अर्थ विभिन्न कर्मकोलागि नै ब्रह्माले यसलाई उत्पत्ति गरेका थिए भनिएको हो | यी कर्महरुको सम्पादन अमृतत्वको साधन भनिएको हो | आ आफ्नो कर्म गर्दानै मान्छे ज्ञानी तथा श्रेष्ठ हुन्छ भन्ने यसको ज्ञान हो |

धर्म शास्त्रीय विचार
=============
श्रौत सूत्र , गृहय सूत्र र धर्म सूत्रको रचना भएपछि वर्ण व्यवस्थामा अवरोध शुरु हुन पुगेको अर्थमा लिने व्यक्तिहरु थुप्रै भेटिञ्छन | मान्छेले पूर्व जन्मको कर्मको फल यसै जन्ममा पाउँछ भन्ने विचार उपनिषदले वर्ण व्यवस्थामा स्थाईत्व ल्याउने उद्द्येश्यले गर्यो | यस्तो विचार पोख्न छान्दोग्य उपनिषद् निकै अगाडि थियो | सामाजिक मर्यादा कायमराखि सबैले आ आफ्नो कर्म सहि तरिकाले सम्पादन गर्न सकुन भन्ने यसको उद्द्येश्य रहेको थियो | यसैबेला ब्रह्मंको विशिष्ठता र श्रेष्ठता कायम राख्न द्विज शब्दको व्याख्या गरिएर वर्णादिको उपनयन संस्कार गर्नु पर्ने व्यवस्था गरियो भने यसको उद्द्येश्य क्षत्रियहरु ब्राह्मण वर्ग बाहेक अरु वर्णका चाहीं शासक हुन् भन्ने उद्द्येश्य रहेको पाइन्छ | ब्राह्मणको सत्कार गर्नु राजाहरुको कर्तब्य थियो भने ब्राह्मणहरुलाई कुनैपनि किसिमको शारीरिक दण्ड दिइनु हुँदैन भन्ने व्यवस्था गरियो | यसर्थ त्यतिखेर ब्राह्मण (ज्ञानी ) बिरुद्ध बोलिने जो कोहीको बोली अक्षम्य अपराध ठानिन्थ्यो |

वर्ण व्यवस्थाको उत्पत्तिको सिद्धान्त
=======================
वर्ण व्यवस्था एकैचोटि आजको अवस्थामा आईपुगेको होइन | यो अवस्थामा आइपुग्न हजारौं बर्ष लाग्यो र हजारौं रुपमा विकशित हुँदै आएको हो | यसमा थुप्रै सिद्धान्तहरु रहेको पाइन्छ | जस्तो :-

१) दैवीय सिद्धान्त –

प्राचिन वैदिक शास्त्रले वर्ण व्यवस्था दैवी कृत अथवा ईश्वर कृत भनेको थियो | त्यसैले वर्ण विभाजनलाई आदर पूर्वक गर्ने गरिएको थियो | ऋग्वेदको पुरुष सूक्तले वर्णको राम्रो वर्णन गरेको छ | त्यसमा वर्णको उत्पत्ति विराटपुरुषबाट भएको भनिएको छ | जसरी हाम्रो शरीरमा मुख ,हात ,तिघ्रो र खुट्टोको महत्व रहेको छ त्यसरी नै समाज रुपी शरीरको ब्राह्मण ,क्षत्रिय ,वैश्य र शूद्र अंग हुन् | हाम्रो शरीरका सबै अंगहरु मूख्य रहे झैं तथा त्यस मध्ये कुनै अंगको अभावमा हाम्रो शरीर दयनीय हुन् पुगेझैं अर्थात हाम्रो शरीरको संचालनमा हेरेक अंगको महत्वपूर्ण भूमिका रहेझै चारै वर्ण विना समाजको महत्व स्विकार्न सकिएन | यहाँ दैवीय भन्नु पर्ने कारण के रहेको थियो भने ईश्वरको डरले आ आफ्ना वर्ण अन्तर्गत सबै रहुन र त्यसमा आघात पुर्याउने काम कसैले नगरोस |

२)गुणको सिद्धान्त
============
वंश परम्पराबाट मान्छे ठूला हुन सक्तैनन् आ आफ्नो ज्ञान र गुणले महान हुन्छन नजान्ने सिद्धान्त प्रतिपादित हुन पुग्यो | व्यक्तिको अन्तः र वाह्य गुणले नै उसलाई उच्च पद दिलाउँ छ भन्ठानेर सबैका तिन गुण प्रतिपादित गरी | फलतः सत्व ,तम,रज गुनको व्याख्या हुन पुग्यो | सत्व गुणलाई निर्मल , श्रेष्ठतम मानियो भने रजो गुण अनुरक्त ठानियो र तमोगुण अज्ञानको श्रिष्टि मानियो | सत्व गुण ब्राह्मणको लक्षण , राजसिक गुण क्षत्रियको लक्षण ,तर्क शून्यtaa र दुर्गेय तमोगुणको लक्षण हुन पुग्यो | वैश्यमा राजस र तामस दुवै गुणको समन्वित रुप रहेको ठानियो भने शूद्रमा पूर्ण रुपमा तामस गुण रहने व्याख्या हुन पुग्यो |

३) कर्मको सिद्धान्त
=============
वर्ण व्यवस्थामा कर्म सिद्धान्तले धेरै महत्व राख्न पुगेको थियो | शास्त्रकारहरुले ती वर्णहरुकोलागि बेग्ला बेग्लै कर्म निर्धारित गरे | ब्राह्मणकोलागि अध्ययन ,अध्यापन र पूजा ,तपस्या | क्षत्रियकोलागि शासन व्यवस्था र रक्षा , पशुपालन कृषि ,वाणिज्य वैश्यकोलागि र माथिका तिनोटैलाई सहयोग शूद्रकोलागि निर्धारण गरिए | कर्मको आधारमै मान्छेको जीवन रहेको ठानियो | मान्छेको वर्तमान जीवन पछिल्लो कर्मको प्रतिफल मानियो | त्यसकारण राम्रो कर्म गर्ने उच्च कुलीन हुन् पुग्ने र अशुभ कर्म गर्ने अशुभ योनिमा पुग्ने बताइयो |

४) जन्म सिद्धान्त
===========
हाम्रा शास्त्राकारले वर्णको उत्पत्ति जन्म अनुसार पनि हुने ठाने | द्रोणाचार्यको कर्म क्षत्रिय थियो तर उनी जन्मले ब्राह्मण थिए | त्यसैकारण मरुन्ज्याल सम्म ब्राह्मण नै भनिए | उनका छोरा अश्वात्थामामा न ब्राह्मणोचित गुण थियो न उनको कर्मनै ब्राह्मणको थियो | उनी कर्मले क्रुर र ज्यादै घाती थिए त्यैपनि उनी ब्राह्मण नै कहलिएका थिए | राज्य पाएर शासन गर्न थालेपनि कर्ण कहिल्यै क्षत्रिय हुन सकेनन | तसर्थ द्रौपदीले स्वयम्वारको लागि पूर्णतः वहिष्कार गरि दिइन् | परशुरामले क्षत्रिय धर्म अनुशरण गरेका थिए तर क्षत्रिय कहिल्यै भनिएनन | उनले २१ पल्ट पृथ्वीको परिक्रमागरि सबै क्षत्रियहरुको हत्या गरेका थिए | त्यसकारण भन्न सकिन्छ तत्कालिन सामाजिक व्यवस्था कर्ममा नभई जन्ममापनि आधारित रहेको थियो |

सनातनी धर्म शास्त्रकारहरुले वर्णको उत्पत्ति परब्रह्माबाट भएको स्वीकार गरेको कारणले गर्दानै वर्ण व्यवस्था आदिम सबै ग्रन्थहरुमा वर्णन गरिन पुगेको हो | जस्तो – महाभारतले पनि वर्ण व्यवस्थाको वर्णन गरेको छ | फरक के छ भने त्यहाँ विराट पुरुषको ठाउँमा ब्रह्माको उल्लेख गरिएको छ |यस अनुसार ब्रह्माको मुखबाट ब्राह्मण ,हातबाट क्षत्रिय ,र तिघ्राबाट वैश्य र सेवार्थ पदबाट शूद्रको जन्म भएको बताइएको छ | गीतामा भगवान कृष्ण भन्दछन चारै वर्णको शृष्टि मैले तिनको गुण र कर्मको आधारमा गरेको हुँ तथा त्यसको कर्ता र विनाशकपनि म नै हुँ | स्मृति ग्रन्थहरुमा पनि यही कथनलाई पुष्टि गरेको देखिन्छ | मनुलेपनि चारै वर्णको ब्याख्या माथिकै स्वरुपमा गरेका देखिन्छन भने पुराणहरुलेपनि वर्ण व्यवस्थालाई ईश्वर कृत नै मानेको छ | विष्णु पुराण ,मत्स्य पुराण ,वायु पुराणले क्षत्रिय वर्णलाई हातबाट नभनी वक्ष बाट उत्त्पन्न भएको बताएका छन् |

वर्ण विभाजन
=========
वर्ण विभाजन अचानक भएको होइन यो क्रमिक विकासको परिणाम हो | यस भित्र विभिन्न वर्गहरुले आफ्नो प्रतिस्पर्धा र वैचारिक विरोध नगरी निश्चित काम गरेर आ आफ्नो कर्तब्य पालन प्रति उन्मुख होउन | प्रत्येक वर्गको निश्चित कार्यविधि निश्चित हुन सकेको खण्डमा मात्र तिनको आपसी वैमनस्य कम हुन सक्छ भन्ठानेर र समाजका प्रत्येक व्यक्तिले आफ्नो कर्तब्य सम्झेर सामाजिक उत्थानमा योगदान दिन सकुन भन्ने यस भित्रको उद्द्येश्य रहेको थियो | पारस्परिक प्रतिस्पर्धा र संघर्ष रोक्न तत्कालिन समाजका चिन्तकहरुले वर्ण विभाजनको दर्शनको शुरुवात गरे| प्रत्येक व्यक्तिको लागि उसको उन्नतिको लागि र सामाजिक उन्नतिको लागि पनि यो दर्शन तत्कालिन समाजले स्वीकार्यो | किनभने , यसबाट व्यक्तिको मात्र होइन तत्कालिन परिवार र समाजकोपनि उन्नति सम्भाभ भएर गएको थियो | यसबाट मान्छेको शारीरिक र मानसिक उन्नति सम्भव भएको थियो | मान्छेको कायिक , वाचिक र मानसिक उन्नति गर्नु वर्ण व्यवस्थाको अन्तर्निहित चिन्ता रहेको थियो | वर्ण निर्धारण गर्दा तिनले सामाजिक प्रतिष्ठा र कार्यात्मक योग्यता दुवै चिज विचार गरेका थिए | यहाँ सामाजिक प्रतिष्ठा भनेको आफ्नो आचरणले सर्वोच्च स्थान प्राप्त गर्नु रहेको थियो भने कार्यात्मक योग्यता भन्दा कसले आफ्नो काम कुशल पूर्वक गर्न सक्तछ भन्ने रहेको थियो | यै कुरो चिकषित हुँदै जाँदा मान्छेहरु चार वर्ण मा विभाजित हुन पुगे | आफ्नो निजत्व सुरक्षित राख्न चार वर्णको कल्पना गरिएको हो भन्दा गलत हुने छैन | अत्रि संहिता भन्ने ग्रन्थले ब्राह्मणहरुलाई तिनको वृत्ति अनुसार बाडेको छ | जस अनुसार देव ब्राह्मण , मुनि ब्राह्मण , द्वीज ब्राह्मण , क्षत्रिय ब्राह्मण , वैश्य ब्राह्मण , शूद्र ब्राह्मण , निषाद ब्राह्मण , पशु ब्राह्मण , म्लेच्छ ब्राह्मण र चाण्डाल ब्राह्मण रहेका छन | त्यसरी नै क्षत्रिय , वैश्य , र शूद्रहरुपनि वर्गीकृत गरिएका छन् |

छुवाछुत
=====
जतिसुकै कुकर्म र निच व्यवहार गरेको भएपनि आधुनिक समाजले छुवाछुतलाई सामाजिक अपराध ठान्दछ | तर यो व्यबहार नेपालमा मात्र होइन , अमेरिका जस्तो विकसित मुलुकमा आजको दिनमा पनि छ | अमेरिकी निग्रो नेपालमा अस्पृश्य भनिएका भन्दा निकै गुणा ज्यादा पीडित र असह्य छन् | यो छुवाछुतको चलन ब्यबहारमा आउनुअघि यसको शुरुवात जन्मले नभई भयङ्कर पाप र दुष्कर्म गरेका व्यक्तिहरुलाई नसिहत दिने उद्द्येश्यले चलाइएको थियो | त्यस्ता व्यक्ति समाजबाट बहिष्कृत भएका हुने गर्दथे | मनुस्मृतिले ब्रह्म हत्या गर्ने , सुन चोर्ने , सुरापान गर्नेलाई जतित्वबाट बाहिरै राख , त्यस्ताहरु संग संगै बसेर कसैले नखाउ | तिनीहरुलाई छुने काम सम्म नगर | जन्म ,मरण र मृत्यु कार्यमा तिनको पुरोहित्याई सम्म नि नगर | तिनका साथ बिहेबारी नगरी देउ |तिनीहरु धर्म हीन भएकाले यो संसारमा बाचुन्जेल त्यसरीनै विचरण गरि राखुन | मनु र आर्ष ग्रन्थले प्रयोग गरेको शुद्र शब्द अशिक्षित व्यक्तिको द्दोतक हो , त्यस्तालाई नछोउ भनेर कुनै ग्रन्थले भनेको छैन | अस्तु ||| -प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *