Best Online News From Nepal

जरो किलो नेपालमै भएको किराँत धर्मका दर्शनदाता महागुरु फाल्गुनन्द लिङदेनको १३३ औं जन्मजयन्ती

किरात समुदाय एउटै हो । तर त्यसभित्र दुई पृथक मुन्धुम संस्कार व्याप्त छ । पहिलो हो, परम्परागत मुन्धुम संस्कार, जुन संस्कारमा बलिप्रथा व्याप्त छ । दोस्रो हो, सत्यहाङ्मा (साम्जिक) मुन्धुम संस्कार, जसले बलिप्रथा र मद्यपानलाई पूर्ण बहिष्कार गर्छ । सत्यहाङ्माहरूको मुन्धुम लिखित छ । छोरीचेलीको सोतरीत लिनदिन बर्जित गरेको छ ।

कुनै जमाना थियो, किरात समाज (विशेषगरी लिम्बु) मद्यपानमा चुर्लुम्म डुबेको थियो । समाज साँच्चै समाज हुनुबाट विमुख भएको थियो । त्यसलाई आमूल सुधारको खाँचो देखे, फलामसिंह लिङदेन लिम्बु (फाल्गुनन्द) ले । उनले आफ्नो समाज समुदायप्रति सुधारको नजर लगाए । र समाजमा चुम्लुङ (सभा) बसाएर दसबुँदे मुचुल्का उठाए । जुन सामाजिक दस्तावेजलाई लिम्बु समुदायमा समाज सुधारको घोषणापत्र मान्ने गरिन्छ । उनै समाज सुधारक व्यक्तित्व हुन्, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द । उनी किरात धर्मका प्रवर्तक हुन् ।

देश-विदेशमा रहेका किरातीले कात्तिक २५ गते किरात धर्म प्रवर्तक महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाउँछन् । यो वर्ष फाल्गुनन्दको १३० औं जन्मजयन्ती हो । फाल्गुनन्दको जन्म १९४२ कात्तिक २५ गते इलाम चारखोलाको चुक्चिनाम्बामा भएको थियो । किरात लिम्बु जातिभित्र लिङदेन वंशमा जन्मिएका उनले १९८८ वैशाख २४ गते पाँचथर लब्रेकुटीमा ‘बृहत् किरात चुम्लुङ’ (सभा) बसाएर १० बुँदे लिखित ‘सत्यधर्म मुचुल्का’ कायम गराएका थिए । उक्त मुचुल्का जारी गरेपछि किरात समुदायको परम्परा तोडै बलिप्रथा र मद्यपानको चलन हटाएका थिए । बलिपूजा नगर्नु त्यसको सट्टा फलफूल नैवेद्यबाट गर्नु भन्ने अभियान चलाएका थिए । मुचुल्कामा प्रत्येक गाउँ-गाउँमा मन्दिर र पाठशाला बनाउने, लेखपढ सिकाउने, छोरा र छोरीलाई बराबरी व्यवहार गर्नु भनेर सामाजिक थिति बसाएका थिए । देव, पितृ, विवाह शुद्धाइँ गर्दा जीवनको चलन छोडी अब उप्रान्त वेद, धूपवती, सिन्दूर, फलफूलले गर्ने भनेका थिए । छोरीचेलीको सोतरित खाने लिम्बु समुदायको चलन हटाउन भनेका थिए । मृत्यु र सुतक तीन दिन र मृत्युपछि किरियापुत्रीले मात्र ९ दिन बार्ने चलन बसाएका थिए । उनको सामाजिक योगदानलाई लिएर राज्यले फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।

किरात ज्योतिष संघका अध्यक्ष चन्द्रकुमार सेर्मा लिम्बुका अनुसार पशुबलि त्यागेर मृतात्मालाई अदुवा, दूध, चामलको पिण्ड दिने चलन बसाएका थिए । समाज सुधारकका रूपमा परिचित फाल्गुनन्दको निधन २००५ चैत २२ गते भएको थियो । विवाह कर्म चलाउँदा सनातन मुन्धम परम्पराअनुसार हुनुपर्ने भनेका थिए । स्वदेशमा कपास खेती गरी आफैंले धागो कात्ने, बुन्ने चलन बढाई स्वदेशी कपडामात्र लाउने गर्नु र विदेशी कपडा कसैले लाउने नगर्नु भनेका थिए ।

पछिल्लो समय उनको योगदान र मार्गदर्शनलाई कदर गर्नुको सट्टा आफूखुसी व्याख्या गर्ने गरिएको छ । मनोमानीे बहस, टिप्पणी र आलोचनाका पात्र बनाएर तिरस्कार गर्न थालेको पाइएको छ । उनको योगदानमाथि अनावश्यक शंकाको भरमा समाजलाई बिटुलो बनाउन त्यत्ति सान्दर्भिक देखिन्न । यसले धार्मिक, वैचारिक, सामाजिक र साम्प्रदायिक आचरणमाथि नै गलत चित्रण सावित गर्छ ।

फाल्गुनन्दलाई किरात जातिका एक पक्ष (बलिप्रथा मान्ने) ले समाज सुधारकका रूपमा लिने गरेका छन् भने अर्को पक्षले धर्मप्रणेता तथा किरात धर्म दर्शनदाताका रूपमा मान्दै आएका छन् । धर्म विरुद्ध आँच पुग्ने किसिमको आरोप-प्रत्यारोपले कुनै पनि जाति, समुदाय र समाजका लागि सजिलै पाच्य हुँदैन । उदाहरणका लागि किरात धर्मलाई नै लिन सकिन्छ । यसको मतलब किरात धर्ममात्र होइन । अन्य धर्महरूबीच पनि खतराको संकेत हो ।

महागुरु फाल्गुनन्दलाई किरात समुदायको सत्यहाङ्मा धर्मका गुरुका रूपमा चित्रण गरिन्छ । औपचारिक रूपमा उनलाई किरात धर्मगुरु भनिए पनि भित्रभित्रै सत्यहाङ्माका गुरु भनेर एकलौटी रूपमा अनौपचारिक ढंगले व्याख्या नगरिएको भने होइन । फाल्गुनन्दको १० बुँदे मुचुल्काको अनुयायी र परम्परागत संस्कार पालना गर्ने समाजबीच अघोषित दुश्मनी साँध्न हुन्न । यस बारेमा सामाजिक संघ/संस्थाले गम्भीर रूपमा समाधान खोज्न जरुरी छ । किनभने आरोप-प्रत्यारोपले समाज अघि बढ्न सक्दैन ।

फाल्गुनन्दका अनुयायी किरात समुदायका लिम्बुमात्र छैनन्, सुनुवार, याक्खा, राई, लिम्बु लगायत पर्छन् । तर फाल्गुनन्दलाई कुन जाति र समुदायले मान्ने र मान्दै आएका छन् भन्ने आलोचना यत्रतत्र छरिएको छ । हो, किरात धर्म मुन्धुमबारे लिम्बु भाषा, लिपिमा बढी व्याख्या गरिएको छ । त्यो अथाह ज्ञानलाई समस्या होइन, सम्पदाका रूपमा लिन जरुरी देखिन्छ । 

१६ औं राष्ट्रिय विभूति एवम् किराँत धर्मका दर्शनदाता महागुरु फाल्गुनन्द लिङदेनको १३३ औं जन्मजयन्ती समारोहमा शनिबार झापाको अर्जुनधारा–३ स्थित फाल्गुनन्द शान्ति वन बाटिकामा केलाङ माङलाङ प्रस्तुत गर्दै कलाकार । तस्बिर : अमितकुमार साङपाङ राई,

Leave a Reply

Your email address will not be published. Required fields are marked *