Best Online News From Nepal

जय शम्भो ||| अर्धनरनारीश्वर

प्रवीण अधिकारी—-

16905067_602920779914428_5879674465756938420_o

==========
भनिन्छ सृष्टि निर्माण चरणमा यस ब्रह्माण्डमा रहेको शिवतत्वले आफ्नो शक्ति स्वयंबाट अलग्याउँदा शिव पुरूष लिंगको द्योतक र उनकि शक्ति स्त्री लिङ्गकि द्योतक हुन पुगिन | तिनै पुरुष (शिव) एवं स्त्री (शक्ति) वा प्रकृति एकाकार हुन पुग्दा शिव नर र नारीको रुपमा परिभाषित हुन पुगे | त्यसकारण उनलाई अर्धनरनारीश्वर भनिन थालियो | परमपिता ब्रह्माजीले सृजन कार्य शुरु गरेपछि उनले गरेका रचनाहरु उनको जीवनोपरांत नष्ट हुने संकेत देखियो | त्यस्तो संकेत देखिएपछि त्यसलाई चिरस्थायी स्वरुपमा लैजाने अभिप्रायले गहन विचार विमर्ष गर्न ब्रम्हाजी उक्त विषयवस्तु सामाधान गर्ने उद्द्येश्यले शिव नीर पुगे | ब्रह्माजीलाई देख्ना साथ् समस्या सामाधान गरिदिने उद्द्येश्यले अन्तर्यामी शिवजी अर्धनारीश्वर स्वरूपमा शिव र शिवा भई प्रकट भईदिए | त्यो स्वरूप देखेपछि ब्रह्माले पुरूष र स्त्रीको समान महत्व बुझे र शृष्टि प्रक्रियालाई तद अनुरुप संचालन गर्नुपर्ने आवश्यकतामा प्रष्ट भए |

शिव र शक्तिको संबंध
==============
शक्ति शिवजीकि अभिभाज्य अंग हुन् | शिव पुरुष द्योतक हुन् भने शक्ति नारी द्द्योतक त्यसकारण एकअर्काको परिपूरक | शिव बिना शक्ति र शक्ति बिना शिवको अस्तित्व रहँदैन | शिव अकर्ता हुन् | उनी संकल्प मात्र गर्दछन तर शक्ति कर्ता हुन , शिव संकल्प सिद्धी गर्नेकाम गर्दछिन | त्यसकारण –

शिव कारण हुन् ; शक्ति कारक |
शिव संकल्प गर्दछन ; शक्ति संकल्प सिद्धी गर्द्छिन |
शक्ति जागृत अवस्था हो ; शिव सुशुप्तावस्था |
शक्ति मस्तिष्क हुन् ; शिव हृदय |
शिव ब्रह्मा हुन् ; शक्ति सरस्वती |
शिव विष्णु हुन् ; शक्त्ति लक्ष्मी |
शिव महादेव हुन् ; शक्ति पार्वती |
शिव रुद्र हुन् ; शक्ति महाकाली |
शिव सागरका जल हुन् | शक्ति सागरको लहर |
लहर के हो ? पानीको वेग। पानी नभए त्यो लहरको के अस्तित्व ? र , वेग नभए सागरजलको के मूल्य ? यही नै शिव र शक्ति विच रहेको संबंध हो |

अनादि, अनंत, देवाधिदेव महादेव शिव परंब्रह्म मानिएका छन् | उनलाई सहश्रौं नाउँले चिह्निन्छ | उनको त्यै चिह्नाइको कारणले उनी त्र्यम्बकम् मानिई साकार, निराकार, ॐकार र लिंगाकार सबैरुपमा सबै देवी ,देउता , दानव तथा मानवद्वारा पूजित भएका देखिन्छन | उनी सनातन हिन्दू संसारमा रहस्यै रहष्यका भण्डार हुन | ठूल ठूला ॠषि-महर्षि, ज्ञानी, साधक, भक्त र भगवान कहलाइएकाहरु कसैलेपनि उनको वास्तविक रहष्य थाहापाउन सकेको देखिन्न | त्यसकारण उनी व्यक्त गरिंदा ब्रह्मा एवं विष्णुका साथ मुछिन पुगेभने रुद्र रूपमा वेदमै विराजमान भएर रहे | त्यसरी मुछिएका कारण यी तिन देउताहरू सनातन हिंदू धर्मका आधार र सर्वोच्च शिखर हुन् पुगे | उनको चरित्र यति व्यापक रहेको ठानियो कि उनको व्याख्यानले उनलाई विरोधाभाष भित्र पुर्यायो | एकातिर उनी संहारक ठानिन पुगे भने अर्कोतिर उनलाइनै परंब्रह्मपनि मानियो अनि लिंगाकार रूपमा पूजा गर्न थालियो | उनी यति धेरै पूजीए कि आजको दिनमा यो संसारमा उनकै बढि पूजा भएको देखिन्छ | कतिसम्म भने , एकातिर उनी यस संसारका मूल मानिन्छन अर्कोतिर उनीनै यस संसारका अकर्ता ठानिञ्छन | त्यसकारण उनलाई कालोवर्णको छन भनिन्छ भने अर्कोतिर उनी कपूरझैँ सेतापनि मानिन्छन | उनको तेश्रो नेत्र खोलिंदा यो संसार अक्रांत हुन्छ रे | यस ब्रह्माण्डमा अनाचार बढन पुग्दा उनले काकभुशुण्डि जस्ता भक्तहरुलाई मात्र होइन ब्रह्मा जस्ता त्रिदेवहरुलाई पनि दण्डित गरिदिन्छन | उनी सरल छन | उनको त्यै सरलताको कारण उनलाई आशुतोष भगवान भोलेनाथ भनिने गरिन्छ किनभने उनी थोरै भक्तिलेपनि प्रसन्न हुने गरेको शास्त्रमा लेखिएको छ | एकातिर उनी रूद्र कहलिई मृत्युको देउता मानिएका छन भने अर्कोतिर महामृत्यंजयपनि ठानिएका छन् |

जे जस्तो विरोधाभाष उनको चरित्रमा देखाइएपनि उनी सबैमा दृष्टिगोचर भएका छन् | आशुतोष भगवानका रुपमा उनको मनमोहक स्वरुपको व्याख्यान गर्दाखेरि प्राचिन ऋषि मुनिहरू नतमष्तक हुन पुगेका देखिन्छन | त्यसैकारण उनलाई भित्रैदेखि प्रत्येक सनातन हिंदू धर्मावाक्लाम्बिहरुले चिन्नु जरुरी छ | उनी अनादि हुन , अनन्त हुन , विश्वविधाता हुन | यस संसारका एकमात्र कारण हुन जो कहिल्यैपनि जन्म, मृत्यू र कालको बंधनमा बांधिएनन | कसैप्रति निर्लिप्त पनि भएनन त्यसकारण उनलाई महाकाल भन्ने गरियो | उनी यस काश्यपी सृष्टीका मूल कारण हुन तर आफै अकर्ता हुन , तटस्थ रहेका छन | सृष्टी भन्दा पहिले केही थिएन , कोही थिएन – न धरती , न अम्बर, न अग्नी , न वायू, न सूर्य , न प्रकाश, न जीव , न देउता | त्यतिखेर सर्वव्यापी अंधकार र शिव मात्र थिए | त्यसकारण उनले नै सृष्टीको परिकल्पना गर्न पुगेको ठानियो |

त्यतिखेर सृष्टी गर्दा दुईटा कुरो आवश्यक देखियो | त्यसलाई संचालन गर्ने शक्ति र त्यसको व्यवस्थापन | त्यसकारण शिवले आफ्नै शक्ति आफ्ना स्वरुपबाट पृथक गरे तथा त्यै शिव एवं शक्तिले त्यो व्यवस्था गर्नकालागि एउटा कर्ता पुरूषको सृजना गरे जसलाई विष्णु भनिन पुग्यो | भगवान विष्णुको नाभि कमलबाट ब्रह्माको उत्पत्ति हुन थाल्यो | विष्णु भगवानले ब्रह्मालाई निर्माण कार्य सुम्पे ,आफुले पालन गर्ने जिम्मा लिए | फेरी शिवजीको अंशावतार रूद्रले त्यो सृष्टीको विलय गर्ने कार्य वहन गर्न पुग्यो | यस प्रकार सृजन, पालन तथा विलयको चक्र संपादन गर्न त्रिदेवको उत्पत्ति हुन पुग्यो | त्यसपछि शिवजीले यस संसारको आयू निरधारित गरे जसलाई कल्प भनियो | त्यही कल्प समयको ठूलो माप हुन पुग्यो | एक कल्पपछि महादेव शिवले संपूर्ण सृष्टी विलय गर्दछन तथा पुन: नवनिर्माण सुरु गर्दछन | जसको सुरुवात त्रिदेव विचमा भएको बांडफांड अनुसार हुने गरेको छ | यसरी शिव बाहेक सबैकुरो काल बन्धनमा बाँधिन पुगेको मानिएको छ |
शिवको आफ्नो कुनै स्वरुप छैन तर यो सृष्टिमा देखिएको हरेक स्वरुप उनकै हो | उनको कुनै आकार छैन तर उनी आकार विहिन पनि छैनन् | त्यै पनि शिवलिंगलाई निराकार परमात्माको परीचायक मानिन्छ | त्यसकारण उनै परमात्माको परम वाणी ॐ मानिन्छ | शिवलाई त्यसको विलयकर्ता पनि ठानिन्छ | यस श्रिष्टिमा संतुलन कायम राख्न सृजन एवं पालन र विलय आवश्यक ठानियो | यसर्थ ब्रह्मा एवं विष्णुलाई पूरक रुपमा हेरिँदा शिवले रूद्र रूपमा विलयकर्ता वा संहारकको भूमिका खेलेको देखिन्छ | शिव विलयकर्ता हुन तर मृत्यूका देव होइनन किनभने मृत्यूका देउता यम हुन | यहाँ शिवले विनाशक रूपमा भय,अज्ञान, काम, क्रोध, लोभ, हिंसा तथा अनाचार जस्ता खरावी विनाश गरेका कारण त्यसो भनिएको हो भन्नुको मतलव नकारात्मक गुणहरुको विनाश पनि खास अर्थमा सकारात्मक गुणहरुको परिपालन गर्नु नै हो | यस अर्थमा शिव पालक भई विष्णुको पुरक हुन पुगेका छन | शिवको तेश्रो नेत्र प्रलयको पर्याय मानिएको छ | तेश्रो नेत्र ज्ञानको प्रतिक हो जसले हरेक चिज देख्न सक्छ | शिव नटराज हुन भन्नुको मतलव उनले प्रत्येक तर्कको पुष्टी गर्दछन | अर्कोअर्थमा भन्दा सृजन, पालन र संहार एउटा चक्र मानिएको हो र त्यस्तो चक्रको आरंभ वा अंत हुनै सक्तैन | भन्नुको अर्थ हाम्रो दृष्टीले सबैकुराको अन्तनै सृजनको पहिलो चरण भएको देख्न पुग्दछ | जस्तो फलामलाई पगाल्दा त्यसको मौलिक आकार नष्ट भई नयाँ सृजना गर्न बाटो खुल्छ |फलामको मूल स्वरुप नष्ट हुनु नव निर्माणको प्रथम चरण हो | त्यसैकारण संहार सृजनको प्रथम चरण मानिएको हो , र यसै तर्कका कारण शिव जी ब्रह्माका पूरक मानिन पुगेका हुन |

नटराज शिव
========
नटराज शिव भनिंदा त्यसले उनको सम्पूर्ण काल स्वरुपलाई दर्शाउछ , किनभने यस ब्रह्माण्डमा जीवनको गति र कम्पन वाहेक यस ब्रह्माण्डको शून्यता नि:शब्दता आदि सबै कुरो शिवमा रहेको मानिन्छ | यहाँ शिवलाई – नट (अर्थात कला) र राज भनिएको हो | यहाँ शिव कलाका आधार हुन | त्यसैले उनको तांडव नृत्य प्रसिद्ध हुन पुगेको हो | यसमा उनी क्रोधका परिचायक, प्रलंयकारी , रौद्र तांडव गर्ने देखिन्छन भने उनी आनंद प्रदान गर्ने तांडवपनि मानिन्छन | तांडव शब्द शिवको क्रोधको पर्याय हो | रौद्र तांडव गरेकाले उनी रुद्र भनिएका हुन अनि आनंद तांडव गरिंदा उनी नटराज भनिएका हुन | प्राचीन ऋषि मुनिहरुले उनको आनन्द तांडव स्वरुपले सृष्टी अस्तित्वमा आएको स्वीकारेका छन् र रौद्र तांडव गर्दा सृष्टीको विलय भएको मानेका छन |

नटराज शिवको मूर्तिमा चार हात राखिएका छन | उनलाई चारैतिर अग्निले घेरेको छ | उनको एउटा खुट्टो खुम्चिएको तथा अर्को नृत्य मुद्रामा रहेको देखिन्छ | उनले एउटा हातमा डमरु लिएका छन | त्यो डमरूको आवाज सृजनको प्रतीक हो | यहाँ ती शिवको सृजनात्मक शक्तिको द्योतक हो | अर्को हातमा अग्नि छ | त्यो अग्नि विनाशको प्रतीक हो | यसको अर्थ हो उनी एउटा हातले सृजन गर्दछन भने अर्को हातले विलय| उनको अर्को हात अभय (आशिष ) मुद्रामा छ | खरावी संग जोगाउने अर्थमा त्यसको प्रयोग गरिएको हो | उठाइएको खुट्टो मोक्षको प्रतिक हो |अर्थात उनको चरणबाटै मोक्ष सम्भव छ |उनले कुल्चिएको दानव अज्ञानको प्रतीक हो जसलाई उनैले नष्ट गर्दछन यसर्थ उनी अज्ञान विनाश गर्ने मानिएका हुन | उनको चारैतिरको आगो यस ब्रह्माण्डको प्रतीक हो | उनको शरीरमा बेरिएको सर्प कुण्डलिनि शक्तिको द्योतक हो | उनको सबै आकृति ॐ कार स्वरूप जस्तो देखिन्छ त्यसको अर्थ हो ॐ शिवमै निहित छ |

तांत्रिक कलाका साधकहरु शिवलाई कालभैरव अथवा महाकालको रुपमा पुज्दछन |उनको अघोर स्वरुपको पूजा गर्ने साधकहरुको साधनास्थल श्मशान, वन जस्ता विरानो स्थल रोज्छन | जुनस भय उत्तपन्न गर्ने हो | शिव सृष्टिका श्रोत हुन | सबै प्राणीहरुका अराध्य हुन | देउता र मानव बाहेक उनी पशुहरुद्वारा पनि पूज्य छन |त्यसकारण पशुपतिनाथ भनिएका हुन | दिगंबर शब्दको अर्थ हो अंबर (आकाश) लाई वस्त्र सामान धारण गर्ने | जो वस्त्रहिन हुन्छ (अथवा नग्न हुन्छन ) ती पनि यस अर्थमा प्रयोग गरिन्छन | शिव नै यस संपूर्ण ब्रह्माण्डमा व्याप्त रहेका छन | यो अनंत अम्बर तिनै शिवको वस्त्र समान मानिन्छ | उनलाई व्योमकेशपनि भनिन्छ , जसको अर्थ हो कपालले आकाश छुने |जो उनको सर्वव्यापक चरीत्रको द्द्योतक हो | शिव सर्वेश्वर हुन | सर्वशक्तिमान मानिएपनि उनी सरल छन | त्यसकारण भोलेनाथ हुन | उनलाई प्रसन्न बनाउन कुनै जटील विधान चाहिन्न अर्थात आडंबर चाहिंदैन | उनी भक्ति मात्र देख्छन | शिव देवाधिदेव हुन , आडंबर विहिन भएकाले उनि सरल मानिन्छन | वस्त्रको ठाउँमा बाघंबर, आभुषण को ठाउँमा सर्प र मुण्ड माला , श्रृंगारको नाउँमा भष्म लाउछन , त्यसैले भनौ जय शम्भो | -प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *