Best Online News From Nepal

चुनावी धंगधंगीबाट मूक्त हुन चाहनु हुन्छ भने आफ्नो मूल स्वरुपमा फर्कौं र यो रंग न तालको राजनैतिक माहोललाई तिलाञ्जली दिउँ ) ध्वनि ,वाणी विज्ञान र देवनागरी लिपि

प्रवीण अधिकारी –
18447311_637465686459937_3438011291907540457_n

ध्वनि ,वाणी विज्ञान र देवनागरी लिपि

शृष्टिको उत्पत्ति पहिलो महाविस्फोट (बिग बेङ्ग ) भएपछि भएको मानिन्छ | त्यतिखेर आदि नाद उत्पन्न भएको थियो | त्यहि मूल ध्वनि जसको प्रतीक ‘ॐ‘ मानिन्छ , त्यसैलाई नादव्रह्म भन्ने गरिएको छ | पांतजलि योगसूत्रमा पातंजलि मुनिले यसको वर्णनगर्दै ‘तस्य वाचक प्रणव:‘ भनेर त्यसको अभिव्यक्ति ॐ को रूपमा भएको बताएका थिए | यसै कुरालाई पुष्टि गर्दै माण्डूक्योपनिषद्‌ले यसरी भनेको देखिन्छ –

ओमित्येतदक्षरमिदम्‌ सर्वं तस्योपव्याख्यानं
भूतं भवद्भविष्यदिपि सर्वमोड्‌◌ंकार एवं
यच्यान्यत्‌ त्रिकालातीतं तदप्योङ्कार एव॥ – माण्डूक्योपनिषद्‌-१॥

अर्थात्‌ ॐ अक्षर अविनाशी स्वरूपको हो | त्यै ॐ यस जगतको उपव्याख्यानपनि हो | जे भई सक्यो , जे अहिलेपनि भएको मानिन्छ तथा जुन पछि हुने छ , ती सबैलाई ॐकार जगत हो भन्ने गरिएको छ | यस बाहेक त्यो ॐ भन्दा परको भएपनि जुनकुरो तिनै कालसंग सम्बन्धित हुन पुगेको छ त्यस्ता तत्वहरुलाईपनि हाम्रा शास्त्रहरुले ॐ कार परिवारको नै ठानेको पाइन्छ |

हाम्रो वाणीको स्वरूप कस्तो हुन्छ ?
======================
ऋग्वेदको एउटा ऋचाले वाणीको परिभाषा यसरी दिएको भेटिन्छ –

चत्वारि वाक्‌ परिमिता पदानि
तानि विदुर्व्राह्मणा ये मनीषिण:
गुहा त्रीणि निहिता नेङ्गयन्ति
तुरीयं वाचो मनुष्या वदन्ति॥ -ऋग्वेद १-१६४-४५

अर्थात्‌ वाणीको चार पाउ हुन्छन जसलाई हाम्रा पूर्वाचार्यहरुले राम्ररी चिह्नेका थिए | त्यसमध्ये तिनोटा शरीर भित्र भएकाले गुप्त मानिए | तर , चौथो चाहीं हामी सबैले अनुभव गर्न सिक्यौं | यही कुरो हृदयंगम गरेर पाणिनीले वाणीको चार पाउलाई यसरी प्रष्ट्याउन पुगे –

१. परा, २. पश्यन्ती, ३. मध्यमा, ४. वैखरी

वाणीको उत्पत्ति
===========
पाणिनीले भनेका छन् वाणी उत्पन्न हुने मूल ठाउँ प्राणीहरुको आत्मा हो अर्थात आत्मानै वाणीको पहिलो रुप हो | यो अनुभूति गर्ने विषय हो | यसलाई कुनैपनि यन्त्रको मद्दतले सुन्न सकिन्न | ध्वनिको यो स्वरुपलाईनै परा भनिएको हो | जब आत्माले बुद्धिको मद्दतले हाम्रो मानषपटलमा कर्ता, कर्म वा क्रियाको चित्र कोर्न पुग्दछ त्यतिखेरको वाणीको त्यो स्वरुपलाई पश्यन्ती भन्ने गरिन्छ | हामी जे कुरा बोल्दछौं त्यो कुरोको चित्र हाम्रो मनमा बनिने भएकोले वाणीको दोश्रो स्वरुप वा चरणलाई पश्यन्ती भन्ने गरिएको हो | यसअघि आफ्नो मन र शरीरको ऊर्जा समेटिएर हाम्रो शरीरबाट जुन ध्वनि निस्किन खोज्दछ त्यो हाम्रो छातीको बाटो नि:श्वास भई हाम्रो कण्ठ सम्म आइपुग्ने गर्दछ | वाणीको यही स्वरुपलाई हाम्रा पूर्वाचार्यहरुले मध्यमा भन्ने गरेको हो | वाणीको माथिका तिनै स्वरुप सुन्न सकिंदैन | त्यसपछि त्यो निस्किने ध्वनि कंठ माथि रहेका पांच ठाउँलाई छुँदै सर्वस्वर, व्यंजन, युग्माक्षर र मात्रा स्वरुपमा भिन्ना भिन्नै स्वरुपमा अभिव्यक्त हुन पुग्ने गर्दछन | त्यसरी सुनिन पुग्ने वाणीलाई वैखरी भनिएको हो र यही वैखरी वाणीबाटै सम्पूर्ण ज्ञान, विज्ञान, जीवन व्यवहार तथा बोलचालको अभिव्यक्ति भएर गएको मानिएको छ |

वाणीको अभिव्यक्ति
=============
पाणिनीले अति सूक्ष्म रुपमा हाम्रो मुखबाट निस्किने वाणीको विचार गरेर कदेखि ज्ञ सम्मको वर्ण कुन अंगको मद्दतले निस्किने गर्दछ भनेर जुन विश्लेषण गरे त्यो निकै विज्ञान सम्मत मानिन पुग्यो किनभने उनले व्याख्या गरेको भन्दा अन्य किसिमले तपाइँ हामी कसैले पनि त्यसरी ध्वनि निकाल्न सक्तैनौं | पाणिनीले ऋग्वेद्‌ शिक्षाको वर्णन गर्दै भने – वाणी आफ्नो चार पाउमध्येको अन्तिम पाउ बोलीमा पर्दछ | मान्छेको शरीरको पांच अंगको सहाराले ध्वनि उत्पन्न हुन पुगेको हुन्छ | यस आधारमा स्वर र व्यजंनहरुको सम्बंध जुन अंगमा पुगेर स्थापित भएको हुन्छ त्यसलाई वर्गीकरण गरेर यसरी देखाएका छन –

१. कंठ्य – श्वास कंठबाट निस्किएको कारण ध्वनि निस्किएको हो यस अन्तर्गत निम्न अक्षरहरु आउछन – अ,आ, क, ख, ग, घ, ङ, ह र विसर्ग |
२. तालव्य- कंठदेखि अली माथि दांतनीर तालुबाट जब हाम्रो श्वास निस्कन्छ त्यतिखेर ध्वनि इ,ई,च,छ,ज,झ,ञ,य र श स्वरुप अभिव्यक्त हुन पुग्दछ |
३. मूर्धन्य- जीव्रो अलिपछि पारेर हाम्रो कोमल तालुमा पुर्याउदा निस्किने ध्वनी निम्न अक्षरको रुपमा निस्किने गर्दछ -ऋ,ट,ठ.ड,द,ण,ष |
४. दंत – जीब्रो दांत संग ठोक्किएर जुन जुन अक्षरहरुको उच्चारण हुन्छ ति हुन लृ,ल,त,थ,द,ध,न,स |
५. ओष्ठ्य- दुवै ओठको मद्दतले जुन जुन अक्षरको उच्चारण हुन्छ त्यो हो – उ,ऊ,प,फ,ब,भ, म, र व |
६ . यस बाहेक ए,ऐ,ओ,औ,अं,अ: अतिरिक्त मिश्रित स्वरको रुपमा रहेका छन् |

माथि उल्लेख गरिएको ध्वनि शास्त्रको आधारमा लिपि विकसित भएर आजको अवस्थामा आई पुगेको हो , तर समय क्रममा लिपिहरु बदलिदै गएपनि त्यसको आधार ध्वनि शास्त्रको मूलभूत सिद्धान्तनै रहन पुग्यो | प्रख्यात पुरातत्वविदहरुले प्राचीन मुद्राहरुमा प्राप्त लिपिहरु अध्ययन गरेर प्रमाणित गरेर भने प्राचिन मुद्राहरुमा अंकित लिपि माहेश्वरी लिपि हो र त्यो वैदिक लिपि हो | त्यसपछि व्राह्मी तथा देवनागरी लिपि विकसित हुँदै गएको हो |

स्वर विज्ञान
=======
सबै वर्ण, संयुक्ताक्षर, मात्रा आदि उच्चारणको मूल ‘स्वर‘ हो | अत: यसलाईपनि अध्ययन ,अनुभव गर्दै निष्कर्षको रूपमा प्रतिपादन गरी भनियो – स्वर तीन प्रकारका छन् –

उदात्त- उच्च स्वर
अनुदात्त- तल्लो स्वर
स्वरित- मध्यम स्वर

यसको अझ सूक्ष्मतम विश्लेषण गर्दै व्याख्या गरिंदा त्यो नै संगीत शास्त्रको आधार बन्न पुग्यो | संगीत शास्त्रमा सात स्वर रहेको मानिन्छन जसलाई ” सा रे ग म प ध नि ” को प्रतीक चिन्ह भनेर चिह्निदै आइएको छ | यही सात स्वरलाई मूल तीन स्वरमा विभाजन गरिएको छ |

उच्चैर्निषाद, गांधारौ नीचै ऋर्षभधैवतौ।
शेषास्तु स्वरिता ज्ञेया:, षड्ज मध्यमपंचमा:॥

अर्थात्‌ निषाद तथा गांधार (नि ग) स्वर उदात्त हुन | ऋषभ र धैवत (रे, ध) अनुदात्त हुन | षड्ज, मध्यम र पंचम (सा, म, प) यी स्वरित हुन | यी सातै स्वरलाई विभिन्न स्वरुपमा समायोजन गर्दा विभिन्न रागहरु उत्पन्न हुन पुगे र ती रागहरुबाट उत्पन्न हुन पुगेका विभिन्न ध्वनि तरंगहरुले मानव, पशु प्रकृति सबैमा आफ्नो प्रभाव पारेको देखिंदा त्यसकोपनि सूक्ष्म अध्ययन गरिन पुग्यो | वेदका विभिन्न मंत्रहरु विशिष्ट तरिकाले उच्चारण गर्दा वायुमण्डलमा विशेष प्रकारको कंपन उत्पन्न हुन पुग्यो जसलाई मंत्रविज्ञानको आधार मानियो | यी कुराहरुको अनुभूति गर्नु परे वेद मंत्रहरु सुन्न ईक्षा भए तमाम मंदिर ,गुम्वाहरु निर बसेर मंत्रपाठ गरेको सुन्दा हाम्रो मनले नजिकबाट अनुभूति गर्न सक्दछ | यस बाहेक प्राचिन कालदेखि हाम्रो मुलुकमा विभिन्न रागहरु गाउँदै आएको पाइन्छ | विहान वेलुकीको समयमा हर्ष, शोक, उत्साह, करुणा अभिव्यक्त गर्दा भिन्न-भिन्न प्रसंगमा भिन्न-भिन्न राग गाउने चलन बसेर गयो | दीयोबाट अन्य दीयो बल्नु र मेघ मल्हार गाउँदा पानी पर्छ भन्ने कुरापनि ग्रन्थहरुमा उल्लेखित गरिएको भेटिन्छ |

ध्वनि कम्पन
=========
कुनैपनि घंटीमा प्रहार गर्दा त्यसको ध्वनि ढिलो सम्म सुनिने गर्दछ | यसको प्रक्रिया के हो ? यो कुरो व्याख्या गर्दै वात्स्यायन तथा उद्योतकरले भने कुनैपनि ध्वनि प्रसारक यन्त्र वा घंटीमा हिर्काउँदा ध्वनि परमाणुहरुले आफ्नो ठाउँ छोडेर ( जसलाई कम्प संतान-संस्कारपनि भनिन्छ ) बाट उत्पन्न भएको कम्पन र वायुको मद्दतले अघि जाँदा तथा मन्द तथा मन्दतर हुँदै अविच्छिन्न रूपमा सुनिन पुग्दछ | यो तरंग स्पन्दनको कारणले उत्पत्ति भएको हो |

प्रतिध्वनि
======

विज्ञान भिक्षु आफ्नो प्रवचन भाष्य अध्याय १ सूत्र ७ मा भन्दछन – प्रतिध्वनि के हो ? यसको व्याख्या गर्दै उनले भनेका छन् -पानी वा ऐनामा जुन चित्र देखिन्छ , त्यो प्रतिबिम्ब हो | यसरी ध्वनि ठोक्किएर लामो समयसम्म सुनिन पुग्दछ भने त्यो प्रतिध्वनि हो | जसरी पानी वा ऐनाको बिम्ब वास्तविक चित्र होइन त्यसरी नै प्रतिध्वनि पनि वास्तविक ध्वनि होइन |

रूपवत्त्वं च न सामान्य त: प्रतिबिम्ब प्रयोजकं
शब्दास्यापि प्रतिध्वनि रूप प्रतिबिम्ब दर्शनात्‌॥
विज्ञान भिक्षु, प्रवचन भाष्य अ. १ सूत्र-४७

शब्दको धर्म
========
शब्दका अनेकौं गुणहरु हुने गर्दछन | ‘तत्व चिंतामणि‘ ले भन्दछ – ” वायोरेव मन्दतर तमादिक्रमेण मन्दादि शब्दात्पत्ति।” वायुको सहायताले मन्द र तीव्र शब्दहरु उत्पन्न हुने गर्दछन | वाचस्पति, जैमिनी, उदयन आदि पूर्वाचार्यहरुले निकै विस्तारपूर्वक आ -आफ्ना ग्रंथहरुमा ध्वनिको उत्पत्ति, कम्पन, प्रतिध्वनि, त्यसको तीव्रता, मन्दता, त्यसबाट प्राप्त हुने परिणाम आदिको विषयमा हजारौँ वर्ष पूर्व जुन विश्लेषण गरेका थिए त्यो आजपनि उत्तिकै सटिक र चमत्कार पूर्ण रहेको पाइन्छ |

ध्वनि शास्त्रमा आधारित देव नागरी लिपि
============================
हाम्रो विडम्वना नै मानिनु पर्दछ कि १८ औं ,१९ औं शताव्दीमा थुप्रै पाश्चात्य विद्वानहरुले देवनागरी लिपि सम्बन्धमा प्रसस्त भ्रम फैलाउने काम गरेका थिए | उनीहरुका अनुसार पूर्वीय प्राचीन विद्वानहरु अर्थात हाम्रा आराध्य ऋषि मुनिहरू लेख्न जान्दैनथे र उनीहरुको लेखन कलासंग कुनै किसिमको सम्वन्ध थिएन भनेर | त्यसबाहेक उनीहरुले ईशा पूर्व निकै शताव्दी अघि यहाँ विकसित हुन पुगेको व्राह्मी लिपिको मूलपनि वाहिरबाटै ल्याइएको थियो भनेर उद्घोष गरे | त्यहीकुरो पछ्याउंदै डा. ओरफ़्रिड र म्युएलर जस्ता विद्वानहरुले दक्षिण एशियाका वासिन्दाले लेखन कलाको विकास ग्रीकहरुले सिकाएको उद्घोष गर्न भ्याए | सर विलियम जोन्सले त प्राचिन व्राह्मी लिपि सेमेटिक लिपिबाट उत्पन्न भएको समेत बताउन पुगे | प्रो. बेवर ती माथिका भन्दा एक पाईला अघि बढदै व्राह्मी लिपिको मूल फोनेशियन लिपि हो भनेर अर्थ्याउन पुगे | उता डा. डेव्हिड डिरिंजरले अरेमिक लिपिबाटै व्राह्मी लिपि उत्पन्न भएको हो भनेर लेख्न भ्याएका थिए | त्यही कुरो पछ्याउंदै म्याक्समूलरले ” संस्कृत साहित्यको इतिहाँस ” लेख्दा दक्षिण एशियामा लेख्ने कलाको विकास ईशा पूर्व ४०० वर्ष पहिलेमात्र भएको भनेर लेखिदिए | हाम्रो दुर्भाग्य नै भन्नु पर्दछ त्यसपछि यताका विद्वानहरुलेपनि ती पाश्चात्य विद्वानहरुसंग आफ्नो थुतुनो मिलाएर त्यसमा स्वरमा स्वर मिलाए फलतः त्यही कुरोले आजसम्म प्रश्रय पाउन पुग्यो | यिनै झूठ कुराहरुले हाम्रो विद्वत समाजमा जरो गाडन पुग्दा नेपालको विद्वत परम्परा र ग्रंथहरुमा अंकित लिपिको विकासको गाथा जान्ने प्रयाश क्रमशः ओझेल पर्दै गयो |

हेरौं वास्तविकता के हो त ?
=====================
देवनागरी लिपिको उद्गमस्थल यही क्षेत्र हो | यसै क्षेत्रमा ध्वन्यात्मक आधारमा लेखिने परम्परा वेदकाल देखिनै विद्यमान रहेको थियो | हेरौं त्यसका केही पुरातत्वीय प्रमाण –

जब विद्वानहरु क्षणिक स्वार्थमा लिप्त हुन्छन र विश्व विद्दालयको डिग्रिकोलागि मात्र लालायीत हुन्छन ततिखेर सत्य कुराहरु ओझेलमा पर्छन | व्रिटिश अनुसन्धाता एरिक गिलले आदर्श ध्वन्यात्मक लेखन बाधाहरुको वर्णन गर्दै आफ्नो टाइपोग्राफीमा भनेका छन कुनैवेला कुनै अक्षर कुनै ध्वनिको पर्यायवाची रहेको थियो तर रोमन लिपि अध्ययन गर्दा कुनै अक्षर संधै हरेक ठाउँमा कुनै ध्वनिको पर्याय रहेको थियो भन्ने कुरा भन्न सकिन्न | उनले रोमन अक्षरको ध्वनि लेखन, मुद्रण सही तरिकाले हुने गर्दछ भन्नु मूर्खतापूर्ण हुनेछ भनेका छन् जतिसुकै हाम्रा पुर्खाहरुलाई मूर्ख मानिएपनि नेपालमा ध्वन्यात्मक लेखन परंपरा युगौंदेखि थियो भन्नेकुरा हामी प्रत्येकले स्विकार्न सक्नु पर्दछ | हाम्रो प्राचीन वाङ्मयले भन्दछ –

यसै शिलशिलामा हाम्रा ग्रन्थहरुले लुकाएर राखेको यो सत्य इतिहाँस हेरम – प्राचिन सनातनी ग्रन्थहरुमा उल्लेख भएका ” देवनागरी लिपि ” को बिकास कसरी भएर गएको रहेछ ?

शास्त्रीय आधारहरु
=============
यस भूखण्डमा ध्वन्यात्मक लेखन परंपरा युगौं युगदेखि आजसम्म चलेर आएको हो | त्यसको केही प्रमाण –

१. यजुर्वेद्को तैत्तरीय संहितामा रहेको एउटा कथा अनुसार कुनै समयमा देउताहरु बोली सकेपछि आफ्नो वॊली अदृश्य हुन् पुग्दा बडो चिन्तित हुन पुगे | अनि उनीहरुले निराकार वाणी साकार गर्ने उपाय खोज्न ऋषि मुनि संग समेत सहयोग मागे | उपाय खोज्ने क्रममा तिनीहरु देवराज ईन्द्र कंहा पुगे र भने ” वाचंव्या कुर्वीत ” अर्थात्‌ वाणीलाई आकार देउ | त्यसपछि ईन्द्रले भने मैले वायुको सहयोग लिनु पर्छ | देवताहरुले यसलाई अनुमोदन गरेपछि इन्द्रले वाणीलाई आकार दिए | वाणीलाई आकार दिनु भनेको लेखन विद्या सुरुवात गर्नु भनेको हो | यही कुरो ” इन्द्र वायव्य व्याकरण ” को नामले प्रसिद्ध छ र अहिले पनि दक्षिण भारतमा प्रयोग गरिदैछ |

२. अथर्ववेदमा गणक ऋषिले लेखेको गणपति अथर्वशीर्षको निम्न सूक्तले लेखन विद्याको सुरुवातको प्रष्ट प्रमाण दिएको छ हेरम –
” गणादिं पूर्वमुच्चार्य वर्णादिं तदनन्तरम्‌। अनुस्वार: परतर:। अर्धेन्दुलसितम्‌। तोरण रुद्धम्‌। एतत्तवमनुस्वरूपम्‌। गकार: पूर्वरूपम्‌। अकारो मध्यरूपम्‌ अनुस्वारश्र्चान्त्यरूपम्‌।बिन्दुरुत्तररूपम। नाद: संधानम्‌। संहिता संधि:। सैषा गणेश विद्या। ”

अर्थात्‌ पहिले ध्वनिको गणको उच्चारण गर अनि त्यसै क्रममा वर्ण (रंगको सहायताले ) पछि लेख त्यसपछि अक्षरलाई अनुस्वार देउ , त्यो अर्ध चंद्रयुक्त होओस | यस प्रकार हे गणेश तिम्रो स्वरूप, चित्र यस्तो होओस की ग्‌ अर्थात व्यंजन तथा बीचको स्वरको भाग अर्थात आकार रूपदंड तथा अंत मुक्त अनुस्वार रहोस | यसको नाद र संधिरूप उच्चारण गर्नु नै गणेश विद्या हो , जसलाई गणपति अर्थात गणेशले जान्द्छन |

३. ध्वनि सूत्र दिने भगवान शिव हुन् | भिन्न-भिन्न वेदका शाखाहरु जान्ने विद्वानहरु मर्दै सकिन थालेपछि अब वेद शाखा जान्ने मान्छे कसरी जोगाउने भन्ने प्रश्नलीई सनकादि ऋषिहरू अनुनय विनय गर्न आशुतोष भगवान शिवजी नीर पुगे | तिनको प्रार्थना सुनेर भगवान शिवले नृत्य गर्दै आफ्नो डमरू चौध पल्ट बजाए | त्यसबाट १४ ध्वनि सूत्र निक्ल्यो , जसलाई माहेश्वर सूत्र भनियो |

माहेश्वर सूत्रको वर्णन गर्दै भनिएको छ –

” नृत्तावसाने नटराजराजो
ननाद ढक्कां नवपंचवारम्‌।
उद्धर्तुकाम: सनकादिसिद्धान्‌
एतद्विमर्षे शिवसूत्रजालम्‌। ”
कौशिक सूत्र-१

यै चौध माहेश्वर सूत्रहरुको उल्लेख पाणिनीले निम्न प्रकारले गरे (१) अ इ उ ण्‌ (२) ऋ लृ क्‌ (३) ए ओ ङ्‌ (४) ऐ औ च्‌ (५) ह य व र ट्‌ (६) ल ण्‌ (७) ञ म ङ ण न म्‌ (८) झ भ ञ्‌ (९) ध ठ घ ष्‌ (१०) ज ब ग ड द श्‌ (११) ख फ छ ठ थ च ट त्र य्‌ (१२) क प य्‌ (१३) श ष स र्‌ (१४) ह ल्‌

४. वेदको स्मरण र शुद्धता जस्ताको त्यस्तै रहोस भनि विभिन्न ऋषिहरुले जटा, माला, शिखा, रेखा, दण्ड, रथ, ध्वज, तथा घन पाठको जटिल पद्धति विकसित गरे , त्यस्तो कुरो नलेख्या भए आज सम्म वेद जस्ताको त्यस्तै सुरक्षित राख्न सकिन्थेन |

५. महाभारतकार महर्षि व्यासलाई महाभारत लेख्न निकै कष्ट महशुश हुन थाल्यो | कसले लेख्ने निर्णय गर्न कठिन थियो ? यो कुरो समाधान गर्न गणेशजीलाई आह्वान गरियो – ‘काव्यस्य लेखनार्थाय गणेशं स्मर्यताम्‌ मुने‘ | गणेश जी आए अनि महर्षि व्यासले उनलाई भने ” लेखको भारतस्यास्य भव गणनायक:, अर्थात्‌ ‘तिमी महाभारत ग्रंथको लेखक बन | ‘ यसको अर्थ हो गणेशजी त्यस समयका मूर्धन्य लिपिकार रहेका थिए |

पुरातत्वीय प्रमाण
============
नेपालमा प्राचीन कालदेखि लिपि कलाको विकास भएर गएको हो र त्यो लिपि पूर्णतया ध्वनि शास्त्रमा आधारित रहन पुगेको थियो | जुनकुरो विश्वको अन्य लिपिमा रहेको देखिन्न | ‘व्रिटिश म्यूजियममा रहेको एक सील (क्र. ३१-११-३६६/१०६७-४७३६७-१८८१) जो ईसापूर्व छैठौं शताव्दीको हो मा बेबीलोनी कीलाक्षर लिपि एवं व्राह्मी लिपि दुवै एक साथ रहेको देखिन्छ | त्यो कीलाक्षरहरुलाई सङ १९३६ मै पढिएको थियो तर माझको लिपि लाई वालावलकर भन्ने विद्वानले पढेर दक्षिण एशियाले लिपि बाहिरबाट सापट लिएको हो भन्ने मान्यता लाई झूठो तुल्याए |उनले त्यो सील सम्राट अशोक भन्दा पहिलेको माहेश्वरी लिपि भएको बताएका थिए जसको पाठ यस्तो रहेको छ – ” अवखेज्ञराख नु औहर्मनुभ्य: ददतु ” यी शब्दहरु कीलाक्षरमा लेखिएको अनुबंधको संस्कृत रुपान्तर हो | यस वाक्यबाट म्याक्डोनल एवं ब्यूहलर मिलेर स्थापना गरिदिएको मान्यता झूठो ठहरिन पुगेको छ | पेरिसको लूण्रे म्यूजियम मा ईसा पूर्व (३०००-२४००) को एक पेलेस्टाइन उत्खनन मा भेटिएको सार्गन राजा कहाँ उपलब्ध भएको सील छ | यस सील ले सिंधु घाटी संग सामिप्यता राखेको हुँदा यूरोपीय विद्वानहरुको भनाई खुइलिन पुगेको देखिन्छ |-प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *