Best Online News From Nepal

चिनसँग जोडिने अवसरको बेवास्ता गर्दै सरकार

पाँचथर तथा ताप्लेजुङका विभिन्न गाउँ छिचोल्दै ओलाङचुङगोलाको टिप्ताला नाका हुँदै चीन जोड्ने सडक सरकारको प्राथमिकतामा नपरेकोमा स्थानीयबासीले गुनासो गरेका छन् । उत्तरी र दक्षिणी नाका जोड्न छोटो सडक हुने राष्ट्रिय योजना आयोगबाट चालु आर्थिक वर्षमा ‘तमोर कोरिडर’ नामाकरण भएपनि बजेट, निर्माणको प्राथमिकता तथा लक्ष्यका हिसाबले प्राथमिकतामा पर्न नसकेको स्थानीयवासी बताउँछन् ।

चीनसँग पारस्परिक व्यापारिक सम्बन्धसँग ताप्लेजुङका विभिन्न विकट गाउँलाई यो सडकले राहत पुर्याउने भएपनि प्राथमिकतामा नपर्दा स्थानीयवासी रुष्ट छन् । दुर्गम गाउँका बासिन्दाले समेत राहत पाउने यो सडकमा सरकारको ध्यान नपुगेको स्थानीयवासीको भनाइ छ । चालु आर्थिक वर्षमा पनि कम बजेट परेको यो सडकखण्डमा ‘तमोर करिडर’ नामाकरण भएपनि आगामी आर्थिक वर्षका लागि पनि प्राथमिकतामा राखेर बजेट छुट्याउने प्रयास नभएको बताइँन्छ । आगामी आर्थिक वर्षका लागि बजेट तयार गर्ने समय चलिरहँदा यो सडकका लागि प्राथमिकतामा राखेर बजेट बनाउने काम नभएको सडक विभाग स्रोतले जानकारी दिएको छ । अर्को आर्थिक वर्षमा पनि थोरै बजेट मात्र आउने अनुमान इन्जिनियरले लगाइरहेका छन् । बजेट तयार भइरहँदा यो सडकका लागि ठूलो बजेट नआउने सङ्केत प्राप्त भएको छ ।

ताप्लेजुङका सीमावर्ती गाउँ चिनियाँबजारमा निर्भर छन् । ताप्लेजुङ, पाँचथर र तेह्रथुमका गाउँलाई तराईका सुविधायुक्त सहरमा छिटो बाटो भएर जोड्ने विकल्पका रुपमा यो सडकलाई लिइएको छ । पूर्वी पहाडका गाउँलाई चीनसँग सडकले जोड्नका साथै छिटो र सहज बाटो भएकाले यो सडक महत्वपूर्ण रहेको छ । मूलघाटबाट पाँचथरको लुवघाट–माझिटार– लिम्बुनी पुल हुँदै ताप्लेजुङको दोभान–ओलाङचुङगोला हुँदै चीनलाई यो सडकले छुन्छ ।

यो सडकको डिपिआर तयार भइसकेको छैन । मूलघाटदेखि १ सय ८० किलोमिटरमा टिप्ताला नाका पुगिने अनुमान रहेको छ । टिप्तलादेखि २ सय ६० किलोमिटरमा विराटनगरको रानीभन्सार पुगिने भएकाले उत्तर दक्षिण जोड्ने उपयुक्त नाका भएको सिनियर डिभिजनल इन्जिनियर कुवेर नेपाली बताउँछन् । अहिले पाँचथर र ताप्लेजुङको सुरुवाती खण्डमा ट्रयाक खोल्ने काम मात्र भइरहेको छ । टिप्तालादेखि ६० किलोमिटर टाढा रहेको चीनको सिगात्सेसम्म रेल आउँछ । सिगात्सेदेखि दशगजा क्षेत्रसम्म उतातर्फ सडक रहेको नेपालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *