Best Online News From Nepal

घटस्थापना / विश्व शान्ति दिवस, जरो किलो महाअभियानको संकल्प दिवस

 

तस्विर – श्रीकृष्ण धिमाल

आश्विन शुक्ल पक्षदेवीभागवत महापुराण अनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावणमाथि विजय प्राप्त गरेको वर्णन आउँछ । त्यहाँ आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ । यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवी-देवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन न मिल्ने हुन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । क्रमशः दशमीका दिन प्रातः काल मात्र यस व्रत समापन हुन्छ । यसै दिन जमरा राखिन्छ । यस दिन घट कलशको स्थापना गरी देवी-देवतालाई आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँघरमा चलिआएको अन्न छरिन्छ । जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यस स्थानको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा-आजा गरिन्छ। ब्रह्मवैवर्त पुराण अनुसार वर्णन गरिएका नव दिग्दुर्गाहरू यी हुन् : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश। पहिलो दिन शैलपुत्री दोस्रो दिन ब्रह्चारिणी, यसैगरी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ । षष्ठी तिथिमा विशेष कार्य-: बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन विशेष कार्य-: दसैं घरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ । अष्टमीमा विशेष कार्य-:कालरात्रिको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ । खस मष्टपूजकले बाज उडाउने चलन छ । शस्त्रास्त्र -हातहतियार) हरूको पनि पूजा गर्नुपर्छ । महानवमीमा विशेष कार्य-:नवदुर्गा स्वरूप नौ जना कन्याको र दशमीका दिन विहान अपराजिता देवीको पूजा गरिन्छ ।

हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी-देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालीका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ। यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो। गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । नौ रात्रिसम्म पूजा गरेर दशौं दिन विहान टीका-प्रसाद ग्रहण गरे पछि बचेका अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुने कुरा वनौषधिविज्ञहरूको छ । जौका जमरालाई महौषधि भनिएको छ । निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी), स्त्रोत्र रत्नावली, कालीका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ। पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ। पूजक अनुसार वलि दुई प्रकारको हुन्छ | श्रौतयज्ञानुसारको पशु वलि र साकाहारीहरूले प्रदान गर्ने नरिवल ऊखु कुभिण्डो आदि स्मार्तवलि |वलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ।

आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिन्, बिसं २०७४ को बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना । स्थानीय निर्वाचन समापन भएको नेपाली गाउँघरमा यस वर्षको दशैंमा कहिँकतै चुनाव अनि प्रजातन्त्र पनि जोडिएर आउनेछ । दुर्गाभवानीको कृपाले समृद्धिको शुरुवात अनि प्रजातन्त्र संस्थागत गर्न नेपाल सदैव अघि रहोस् भन्ने सदिक्षाका साथ आजको आलेखको श्रीगणेश गर्दैछौं ।

चाहे गाउँमा बस्नुहुन्छ या शहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवार विना तर यस वर्षको दशैंको रौनकले तपाइलाई छुनेवाला छ, छुने मात्र हैन अाजदेखि अाधिकारीक रूपमा छोर्इ नै सक्यो । ल है! अाज जमरा छर्ने दिन अर्थात् घटस्थापना । जमरा अर्थात् जौको जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ अनि नवरात्रीभरिनै हरेक दिन पूजाअर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भएतापनि दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अकुुंरित वालाहरू समावेश हुन्छ । माटो, पानी, हावा, फूल, आँकुरासंग जुटेको यो संस्कारले वनस्पतीसंग हामी अत्यन्तै नजिक छाैं भन्ने स्पष्ट पार्छ । हिन्दूहरुको महान पर्व दशैंमा जमरा संस्कृती एउटा मौलिक धरोहरको रुपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्नकालागि अाजको दिन अर्थात् घटस्थापना महत्वपूर्ण दिन हो ।

नवरात्रीको शुरुवात आजबाट भयो, अब हरेक विहान देशका सम्पूर्ण नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड हुन्छ । विहान विहान जमराको पुजापाठ गर्ने गर्नुपर्दछ अनि दशमीको दिन चामल, रातो अविर, दहि अथवा केरा मिश्रीत अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी अाफ्ना मान्यजनहरूबाट प्राप्त आशिषले जीवनमा खुशीयालि प्राप्त गरिन्छ ।

जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुराचाँही परिवारको संख्या अनुसार निर्धारण गरिन्छ, संयुक्त परिवारहरुले निकै ठुलो ठाँउमा जमरा छर्ने गर्दछन् भने परिवारको सदस्य संख्या कम भएको परिवारहरूले सानो ठाउँमा जमरा छर्ने कार्य गर्दछन् । यसरी छरिने जमरालार्इ माटोको चर्तुभूज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीको दिन भने आवश्यक्ता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यहि जमरा, टिका अनि सद्भावले दशैंको रौनकता बढाउँदछ, प्रत्येक मुहारमा दशैंको अाकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ ।

दशैंको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक फरक छ । कतै सामूहिक रुपमा दशैंघर स्थापना गरेर, गुठीमा या शक्तिपिठ अनि मठमन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजाकक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनाैट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाअोस्, यसरी प्रकाश नपरेका जमराका वालाहरू पहेँला हुन्छन । घटस्थापनाबाट प्रारम्भ हुने दशैंको नवरात्र भनेको जमराको ९ दिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो । जौको दाना भित्र रहेको जीवनशक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषण गर्दछ ।

१६ अाैं शताब्दिका राजा महेन्द्र मल्लले निर्माण गरेको बसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा गोर्खाबाट ल्याइएको फूलपातीहरु फूलपातीकै दिन भित्राइन्छ । यसरी भित्र्याइँदै अाएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहिअाएको छ । उहिले धेरै अघि अहिले जस्तो यातायातको सहज सुबिधा नभएको बेला भने गोर्खाबाट आबुखैरेनीसम्म हरेक एक एक किलोमिटरमा सरकारी कर्मचारीहरु उभ्याउन लगार्इ एउटा कर्मचारीले एक किलोमिटर पार गरि अर्कोलाई हस्तान्तरण गर्ने र अर्को सोही अनुरूप अर्को एक किलोमिटरको दुरीमा भएकोलार्इ हस्तान्तरण गरेर रितपूर्वक फूलपातीलाई रिले दौडजस्तै गरि मानव साङ्गलो निर्माण गरेर आबुखैरैनीसम्म फूलपातीलाई ल्याइन्थ्यो । आबुखैरेनीदेखि भने गाडीमा राखेर काठमाण्डौसम्म ल्याइन्थ्यो । यसरी ल्याइएको जमरालाई काठमाण्डौको जमलसम्म गाडीमा ल्याएर त्यसपश्चात् तलेजु भवानीको मन्दिरमा अवस्थित दशैंघरसम्म पारम्परीक बाजागाजा सहित भित्राउने गरिन्छ । गोर्खाबाट ल्याइएको फूलपाती कुनैपनि अवस्थामा चाैबिस घण्टा नबित्दै काठमाण्डौ ल्याइपुर्याउनुपर्ने मान्यता समेत रहेको छ ।

लमजुङ्गको मोरियाकोटमा स्थानियवासीहरुले राइनासकोटको तल्लो भेगलाई (धमलिकुवा र गरमवेशीका केही स्थानिय भेगहरु) परिक्रमा गर्दै तल रहेको दूधपोखरी खोला र मर्स्याङ्गदीको दोभानमा गर्इ नुहाई-धुवाई गरि चोखो भर्इ कुबिण्डो तथा अन्य मौसमी फलफूलहरु लगायत फूलपाती बोकेर राइनासकोट स्थित राष्ट्रिय विभूति वीर सिपाही भक्तिथापाको मन्दिरमा फूलपाती ल्याएर पूजाआजा गर्नेगरिन्छ । स्मरणीय होस् उक्त मन्दिर कुनैपनि सीपाहीको नाममा स्थापित देशकै एक्लो मन्दिर हो । राइनासकोट एउटा अत्यन्त सुन्दर र मनमोहक दृश्यहरु भएको लमजुङ्ग जिल्लाको पर्यटकिय स्थल हो जहाँबाट १५ वटा जिल्ला देखिन्छ । यस ठाउँमा दशैं लगायत शिवरात्रीमा पनि दर्शनार्थीहरुको विशेष भिड रहन्छ । यस बाहेक मेची देखि महाकालीसम्मका सम्पूर्ण शक्तिपिठहरु र कालीमाताको मन्दिरमा प्रातः कालदेखिनै मेला लाग्ने गर्दछ ।

सभ्यताको प्रक्रियालाई अनि इतिहासलाई हेर्दा मानवले जङ्गली यूगको समाप्तीसंगै ब्यवस्थितरुपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । ठूूल्ठूला नदिको किनारामा भएको यो मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्रदेशहरु अनि चिनमा पनि हजारौं वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरिनै जौलाई धेरै पुरानो अन्नकारुपमा विशेष महत्वका रूपमा हेरिन्छ । हाम्रा सनातन संस्कारहरु जौ, तुलसी, कुश र तिलबिना संकल्पित र पूर्ण हुन सक्दैनन् । नेवारी भाषामा भने जौ लाई तःछो भनिन्छ भने अंग्रेजीमा बार्ली भनिन्छ । जौको पौष्टिक्ता निर्विकल्प छ, टिभी रेडियोमा अाउने विज्ञापनहरूमा धेरै पाैष्टिक भनिएका आयातीत महँगा खानेकुराहरुमा पनि जौको मात्रा देखाएर नै प्रचार प्रसार हुने गर्दछ । यसमा ऐण्टिअक्सिडेन्ट र विटाक्यारोटीन लगायतका तत्वहरु पाइन्छ ।

यहि जौको अंकुरणलाई शिरमा राखेर टिका थाप्ने संस्कारले हरेक नेपालीहरुलाई सद्भाव, सदाचार, समृद्धी अनि दुर्गा भवानीको शक्ति प्राप्त होस् र जसरी छरिएको जमरा विस्तारै अंकुरण हुदै जान्छ त्यो प्रक्रियामा पहिले जरा माटोतर्फ बढ्न थाल्दछ अनि जरा पलाएपछि विस्तारै जमराका पातहरु माथि माथि बढ्न थाल्छ, त्यसैगरि शायद प्रकृतीले पनि हामीले हाम्रो जरा अर्थात संस्कार, परम्परा र मानवीय आधारहरुका बारेमा जानकारी दिएको पनि हुनसक्छ । बिरुवाहरु जतिसुकै ठूला, अग्ला र मोटा भएपनि, उनिहरुको हाँगाले आकाशै छुन खोजेतापनि जराभने माटोमै हुन्छ । अर्थात् हामीले जतिसुकै परिवर्तन या प्रगति गरेर अाकाशै छोए पनि हाम्रो बहुमूल्य संस्कार र परम्पराको जग भने विर्षन हुँदेन भन्ने महत्व दर्शाउँदछ ।

यो दशैंमा सबैको जय होस्, मङ्गल होस्, भातृत्व बढोस् अनि शान्ती छाओस्, हाम्रो शिरमा जमरा शोभायमान रहोस्, बडादशैंको मंगलमय शुभकामना ।
——–

Leave a Reply

Your email address will not be published. Required fields are marked *