Best Online News From Nepal

‘ग्यासको मूल्य घट्दैछ’

नेपाल सरकार आपूर्ति मन्त्रालयले सोमबारदेखि नाकाबन्दी अघि कै ब्यवस्थाअनुसार पूरा तौलको ग्यास सिलिन्डर बजारमा बिक्री गर्न दिने निर्णय गरेको छ । सोमबार आपूर्तिमन्त्री गणेशमान पुनले आधा सिलिन्डर ग्यास बेच्ने गत कात्तिकको निर्णय स्थगित गर्दै पुरानै व्यवस्था लागू गर्ने निर्णय गरेका हुन् । सोमबारदेखि नै ग्यास उद्योगहरुले सिलिन्डरमा १४ दशमलव २ किलो कै ग्यास भर्न सुरु गर्ने आपूर्ति मन्त्रालयले जनाएको छ । भारतीय नाकाबन्दीपछि ग्यासको वितरण सहज बनाउन भन्दै सरकारले गत कात्तिकमा ‘७ दशमलव १ किलोको सिलिन्डर भरेर बेच्ने’ निर्णय गरेकोमा भारतबाट ग्यास आयात बढेकाले भरि सिलिण्डर बेच्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । आयल निगमका अनुसार सामान्य अवस्थामा दैनिक ६० बुलेक ग्यास भित्रिने गरेकोमा भारतबाट अहिले दैनिक ४० बुलेट  ग्यास आइरहेको छ । आयल निगमले पनि मन्त्रालयलाई ग्यासको आयात बढेको भन्दै आधा सिलिन्डरबाट फेरि भरि सिलिन्डरमा जान राय दिएको थियो । ग्यास उद्योगी तथा व्यवसायी र उपभोक्तावादी संस्थाहरुले पनि आधा सिलिन्डरले उपभोक्तालाई लगातार लाइनमा बस्न बाध्य बनाएको भन्दै भरि सिलिण्डर नै बेच्न पाउने निर्णय गर्न दवाव दिँदै आएका थिए । यसैबीच, सरकारले गरेको निर्णय र यसले बजार पार्ने प्रभाव सम्बन्धमा विजनेस संसार डटकमका लागि सहकर्मी रुपा कोइरालाले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :
होल्डिङ गर्ने प्रवृत्ति गलत

आधा सिलिण्डर ग्यास विक्रि गर्दा डिलर खर्चदेखि लिएर लोडिङ खर्चसमेत सबै बढेपछि उपभोक्ताहरु समस्यामा परेको देखियो । कतिपय अवस्थामा उपभोक्ताहरु ठगिएको पनि पाइयो । यस्तो गलत अवस्थाको अन्त्य गर्नको लागि ग्यास विक्रेता महासंघकै आह्वानमा सरकारले भरि सिलिण्डर ग्यास विक्रि गर्ने निर्णय गरेको हो । आपूर्तिमा देखिएको असहजतासँगै ७.१ केजी ग्यास वितरण गर्न थालिएकोमा सोमबारदेखि १४.२ केजी नै ग्यास पठाउने निर्णय भएको छ । ग्यास होल्डिङ गरे राख्दा न त उपभोक्तालाई फाइदा हुन्छ न त बजारलाई नै व्यवस्थित बनाउन सकिन्छ । त्यसैले, ग्यास होल्डिङ गरेर नराख्ने निर्णय भएको हो ।
अबदेखि सँधै भरि सिलिन्डर
७.१ केजी ग्यास भर्ने प्रणाली खर्चिलो भएकाले संकटको समयमा लागू गरिएको सो प्रणालीमा अब फेरि फर्किनुपर्ने अवस्था रहँदैन । एलपीजीको आयात बढेसँगै उपभोक्तामाझ १४.२ केजी ग्यास नै पठाउने निर्णय भइसकेको छ । सोहीअनुरुप सोमबारदेखि भरि सिलिण्डर ग्यास विक्रि सुरु गरिसकिएको छ । यद्यपि, आधा सिलिण्डर भरिरहँदा समेटिएका जति उपभोक्ता भरि सिलिण्डर वितरण गर्दा नसमेटिन सक्छन् । विस्तारै विस्तारै अभाव कम हुँदै जान्छ । त्यसैले बजार तथा वितरण प्रणालीलाई एकदमै व्यवस्थित गरेर लैजानु जरुरी छ ।

ग्यास अभाव तत्काल हट्दैन
अहिले भारतले ७० प्रतिशतका दरले मात्रै इन्धन उपलब्ध गराइरहेको अवस्था छ । जबसम्म शतप्रतिशत इन्धन आउँदैन तबसम्म बजारमा स्वभाविक रुपले अभाव देखिइरहन्छ । त्यसमाथि पनि ग्यासको लोडिङ लगभग ६० प्रतिशतका दरले भइरहेको छ । एलपीजी भनेको अरु पेट्रोलियम पद्धार्थभन्दा अलि फरक प्रकृतिको हुन्छ । धेरै टाढाको रिफाइनरीबाट ल्याउनुपर्ने हुन्छ, उद्योगहरुमा ल्याएर साना सिलिण्डरहरुमा १४.२ केजीका दरले भर्नुपर्ने हुन्छ, त्यसपछि डिलरहरुमा पठाउनुपर्ने र डिलरमार्फत उपभोक्तमाझ पुग्ने हुन्छ । ग्यास वितरणमा यस किसिमको लामो प्रकृया भएकाले पनि ग्यास अभावको अवस्था तत्काल सहज हुने देखिँदैन ।

मेकानिजमको अभाव
यतिबेला आम उपभोक्ता र डिलरसँग ठूलो मात्रामा सिलिरुन्डरहरु खाली भएर बसेको अवस्था छ । त्यसमाथि नेपालमा एउटा उपभोक्ताले एकभन्दा बढी सिलिण्डर लान नसक्ने मेकानिजमको अभाव छ । यसका लागि हामीले विभिन्न स्वरुप र विभिन्न ढंगले पहल गरिरहेको भएपनि सरकार परिवर्तन भइरहँदा राम्रो सिस्टम लागू गर्नतर्फ सरकारको ध्यान केन्द्रित हुन नसकिरहेको देखिन्छ । एउटा सरकारले नियम बनाएपनि अर्को सरकारले त्यसको कार्यान्वयन नगर्ने लगायतको राजनितीक समस्यामा पनि ग्यास वितरण प्रणाली फसिरहेको देखिन्छ । त्यसकाण पनि तत्काल बजार सहज हुने स्थिती छैन । यद्यपि, यसै महिनामा यदि लोडिङ बढेर आयो भने मात्रै बजार सहज हुन सक्छ अन्यथा बजार तत्काल सहज हुन्छ भन्ने मलाई लाग्दैन । बजारमा अहिले ६० प्रतिशतका दरले ग्यास आपूर्ति भइरहेको छ । कतिपय कम्पनिहरुमा सिलिन्डर अभावका कारण बजारमा ग्यास पठाउन नसकिइरहेको अवस्था छ । केही उद्योगहरुमा ठूलो संख्यामा खाली सिलिण्डरहरु छन् । एउटा उपयुक्त प्रणालीको विकास हुन नसक्दा यस किसिमको समस्या देखा परिरहेको छ । यो परिस्थितीबाट पाठ सिकेर सरकारले नयाँ ढंगले एउटा अनुकुल प्रणालीको विकास गर्नु जरुरी भइसकेको छ ।

मूल्य घट्छ
संसारमा नयाँ नयाँ प्रविधिहरु भित्रिरहेको अवस्थामा ग्यास आपूर्ति तथा वितरण प्रणालीमा समेत विभिन्न प्रविधिको प्रयोग गर्दै सहजता ल्याउन सकिने थुप्रै विकल्पहरु हामीमाझ छन् । वितरण प्रणालीलाई पारदर्शी बनाउने विकल्पहरु पनि हामीमाझ नभएका हैनन् । ग्यास विक्रेता महासंघले पनि पटकपटक यस विषयमा छलफल गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य घट्दा पनि नेपालका उपभोक्ता दोहोरो मूल्य तिर्न बाध्य छन् भनेर हामीले आयल निगम र आपूर्ति मन्त्रीसँग पनि छलफल गरेका छौँ । सरकारले तत्काल पेट्रोलियमको मूल्य पनि घटाउनुपर्छ । मूल्य घटाउनका लागि केकसरी जान सकिन्छ, भन्ने विषयमा आफूले सहयोग गर्ने भन्दै मन्त्रीज्यूले पनि आश्वासन दिनुभएको छ ।

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *