Best Online News From Nepal

गजेन्द्रनारायण सिंह, गोरेबहादुर खपांगी, डा. गोपाल गुरुंग, डोरबहादुर बिष्ट, भिक्षु अश्वघोष सग को अन्तर सम्वाद।

Dr.Nirmala Mani Adhikary

गजेन्द्रनारायण सिंह, गोरेबहादुर खपांगी, डा. गोपाल गुरुंग, डोरबहादुर बिष्ट, भिक्षु अश्वघोष :— मधेश केन्द्रित राजनीतिका मानक बनेका गजेन्द्रनारायण सिंह (नेपाल सद्भावना पार्टीका संस्थापक), जनजाति केन्द्रित राजनीतिका मानक बनेका गोरेबहादुर खपांगी (जनमुक्ति पार्टीका संस्थापक), आदिवासी र जनजाति शब्द सुन्न समेत नचाहने र मंगोल राजनीति अगाडि बढाउन अग्रसर डा. गोपाल गुरुंग (मंगोल नेशनल अर्गनाइजेसनका संस्थापक), नेपालमा ब्राह्मणका आलोचक एवं हिन्दू धर्मका विरोधीहरुले मन पराउने मानवशास्त्री डोरबहादुर बिष्ट (फ्याटालिज्म एण्ड डेभ्लप्मेन्ट र अन्य पुस्तकहरुका लेखक), बौद्ध भिक्षुको चीवर पहिरेर पनि कम्युनिस्ट पार्टीको सांसद बन्न नहिच्किचाउने भिक्षु अश्वघोष (हाल नेपालका थेरवादी बौद्धहरुका संघ नायक) आदिको जीवनको उत्कर्ष कालमा मैले उहाँहरुसँग विचार विमर्श, वादविवाद, तर्क, बहस र कतिपयसँग संवाद गर्ने मौका पर्यो । माथि नाम उल्लेखित व्यक्तित्त्वहरुमध्ये धेरैजनासँग प्रत्यक्ष भेट भएर विचार विमर्श, वादविवाद, तर्क, बहस वा संवाद भयो भने कतिपयसँग पत्रपत्रिकामार्फत् भएका शास्त्रार्थ तेतिबेला चर्चित भएका थिए ।

गजेन्द्रनारायण सिंह जब मन्त्री बनेर नेपालको शासनसत्ताको यथार्थ बुझ्नु भयो, तब उहाँले आफ्नो राजनीतिलाई मधेशको घेराबाट माथि उठाएर राष्ट्रिय स्वरुप दिन चाहनु भएको थियो । तर जसरी वीपी कोइरालाको जीवनका अन्तिम वर्षहरुमा क्रमशः आउँदै गरेको वैचारिक परिवर्तन उहाँकै कार्यकर्ताहरुले समेत मेसो पाएनन् र विरोधीहरुले पनि वीपी कोइरालाका पहिलेका विचार र व्यवहारकै आधारमा आलोचना गरिरहे, उसरी नै गजेन्द्रनारायण सिंहको जीवनका पछिल्ला समयमा आएका वैचारिक परिवर्तनलाई पनि छायाँमा पारिएको अवस्था छ । उहाँले आफ्नो राजनीतिक जीवनको धेरै समय पहाडी र मधेशी भन्ने भेदलाई जोड दिने र द्विराष्ट्रियतावादीजस्तो देखिने गरी कथित पहिचानको राजनीतिमा व्यतीत गरेको भए तापनि जब मन्त्री बनेर नेपालको शासनसत्ताको यथार्थ बुझ्नु भयो, तब उहाँले नेपाल त द्विराष्ट्रिय देश होइन रहेछ, सबै मिलेर साझा नेपाली राष्ट्रियता आत्मसात् गर्नु पर्छ भन्ने बोध व्यावहारिक अनुभवका आधारमा समेत गर्नु भएको थियो । कुनै बेला गजेन्द्रबाबुको आलोचनामा कडा लेखहरु लेख्नु परेको थियो मैले, तर कालान्तरमा उहाँमा आएको बृहत्तर राष्ट्रिय सोचको कारणले हाम्रो भेटमा बहस होइन, संवाद हुन थाल्यो । आज मधेश अलग्गै राष्ट्रियता हो भन्नेहरुले गजेन्द्रनारायण सिंहको नाम दुरुपयोग गरेका छन् । गजेन्द्रनारायण सिंहसँग उहाँको जिन्दगीका अन्तिम वर्षहरुमा भएका संवादका आधारमा म के भन्ठान्छु भने आज गजेन्द्रनारायण सिंह जीवीत रहनुभएको भए हामीले विकास गरेको राज्यराष्ट्र सिद्धान्तको समर्थन गर्नुहुन्थ्यो ।

जीवनको लामो समय कम्युनिस्ट पार्टी (तत्कालीन माले) को कार्यकर्ताको रुपमा बिताएका गोरेबहादुर खपांगीले कालान्तरमा नेपालमा जनजातिको नाममा कथित पहिचानको राजनीतिलाई रोज्नुभयो । दशैँ बहिस्कारको नारा दिएर उहाँले घृणावादी राजनीति गरेका हुनाले उहाँहरुले छरेको भ्रमको निवारणको लागि मैले पुस्तक तथा लेखहरु लेख्नु परेको थियो । तर, पछि गोरेबहादुर खपांगी मन्त्री बनेर नेपालको शासनसत्ताको यथार्थ बुझेपछि विगतमा गरेका गल्तीलाई बुझेर आइन्दाचाहिँ बृहत्तर नेपाली राष्ट्रियताको पक्षपाती हुने निश्चयमा उहाँ पुगेको देखियो । आज नेपाललाई बहुराष्ट्रिय देशका रुपमा अनथ्र्याएर कथित पहिचानको राजनीति गर्नेहरुले खपांगीको जिन्दगीको अन्तिम वर्षहरुमा आएको वैचारिक परिवर्तनलाई बुझ्नु र अनुकरण गर्नु आवश्यक छ । नेपालमा बाहुन क्षेत्री आदिका साथसाथै आदिवासी जनजाति भनिइने भनाउनेहरुलाई समेत पटक्कै मन नपराउने गोपाल गुरुंगले कथित पहिचानवादी राजनीतिको नाममा घृणावादी कित्ताकाट गर्ने कार्यलाई मंगोल राजनीतिको ब्यानरमा अगाडि बढाउन चाहनु भएको थियो ।

गजेन्द्रनारायण सिंह र गोरेबहादुर खपांगीसँग कुराकानी प्रत्यक्ष भेटमा मात्र हुन्थ्यो भने गोपाल गुरुंगलेचाहिँ एउटा नयाँ पर्चा मात्रै पनि निकाल्दा पनि मलाई हुलाक मार्फत् पठाइहाल्नु हुन्थ्यो । तत्कालीन नेकपा (माओवादी) ले जातीय मोर्चाहरुलाई सक्रिय बनाएपछि मंगोल नेशनल अर्गनाइजेसन कमजोर भएको उहाँलाई महसुस भएको थियो, तर मैले उहाँलाई भन्ने गरेको थिएँ ः तपाइँको राजनीतिको मुख्य आधार जातीय प्रजातीय नश्लीय घृणा हो र माओवादीले तेस्तो घृणा मौलाउने परिस्थिति निर्माण गरेर तपाइँको लागि उर्वर भूमि तयार पार्दैछन् । माओवादीको क्षयीकरणको क्रम जति बढ्दो छ, गोपाल गुरुंगको जीवनकालमा खासै संगठन विस्तार नभएको उनको अर्गनाइजेसनले कार्यकर्ता पाउने क्रम बढ्दो छ । लेखाइमा घृणावादी कित्ताकाटलाई अगाडि सार्ने गोपाल गुरुंग प्रत्यक्ष भेट एवं कुराकानीमाचाहिँ शिष्ट एवं मिजासिला रहेको मैले पाएको थिएँ । अझै केही वर्ष बाँचेका भए गोपाल गुरुंगले जातीय प्रजातीय नश्लीय घृणामा आधारित राजनीति परित्याग गर्नु हुन्थ्यो होला जस्तो लाग्छ । यो लेखोट धेरै लामो भइसकेको हुनाले डोरबहादुर बिष्ट र भिक्षु अश्वघोषको प्रसंग अर्को लेखोटमा लेख्नेछु । यो लेखोटको बिट् मार्ने बेलामा मलाई एत्ति भन्नुछ :- सहृदयताको सम्बन्धलाई जोड दिने मेरो प्रवृत्तिको निर्माणमा मेरो जिन्दगीमा भेटिएका सबैथरि व्यक्तिहरुको योगदान छ, कसैको सकारात्मक त कसैको नकारात्मक । सहृदयता जिन्दावाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *