Best Online News From Nepal

“खस आर्य” रे ? हैट् …… नचाहिँदो कुरा

डा. निर्मल मणी अधिकारी /

 

1917706_1152193377489_6054639_n

नेपालको अहिलेको संविधान एउटा बेकामे दस्ताबेज हो भन्नु पर्नाको कारण एउटा मात्रै छैन । यो संविधानलाई आलोचना गर्नु पर्ने धेरै कारणहरु छन् । तीमध्येको एउटा कारण हो यो संविधानमा उल्लेखित “खस आर्य” भन्ने शब्दावली ।
“खस” र “आर्य” शब्दहरुलाई मिसाएर एउटा हुँदै नभएको जाति हो कि, प्रजाति हो कि, समुदाय हो कि, खै के हो उभ्याउन खोजिएको छ ।
संविधानमा “खस आर्य” शब्दावली उल्लेख गर्नाले कम्तीमा पनि दुईवटा भयानक घातक असर परेको छ । पहिलो, संविधानमा “खस आर्य” शब्दावली लेखेर त्यसको परिभाषा समेत जसरी राखिएको छ, उक्त कार्यले आर्य शब्दको अनर्थ गरी वैदिक मान्यतामाथि विभत्स आक्रमण गरेको छ । दोस्रो, संविधानमा “खस आर्य” शब्दावली लेखिएको देखाएर कतिपय जाति/समुदायमा गलत प्रचार गर्न थालिएको छ कि “लौ हेर त, पहाडी बाहुन-क्षेत्रीले संविधानमा आफ्नो लागि विशेषाधिकार लेखेर राखेका छन्” (जुन तथ्यपूर्ण होइन) । दुवै तरिकाबाट विशेषतः वैदिक हिन्दू समुदायलाई एवं सामान्यतः एकथरि नेपालीबाट अर्कोथरि नेपालीलाई फुटाउने, जुधाउने, घृणावादी कित्ताकाट गराउने षडयन्त्रमा जकड्याएको छ देशलाई ।
‘आर्य’ शब्द जाति/प्रजातिवाचक होइन; यो संस्कारसँग सम्बन्धित छ । आर्यलाई जाति/प्रजातिवाचक भन्ठान्नाले कुरो गडबड भएको छ । खासमा आर्य शब्द जातिवाचक हुँदैहोइन; यसलाई जातिवाचक बनाउने षडयन्त्र इसाईहरुको हो र त्यसमा कम्युनिस्टहरुले लागे-पुगेसम्म योगदान गरेका छन् ।
वैदिक संस्कृत वाङ्मयको अनुशीलन नगरी वैदिक शब्द ‘आर्य’को यथार्थता÷ वास्तविकता जानिँदैन । ‘आर्यत्व’ बुझ्न वेदको सहायतालेमात्र सकिन्छ ।
ईश्वरवाचक ‘अर्य’ शब्द (ऋग्वेद–१।८६।६) ‘ऋ गतौ’ धातुमा ‘अचोयत्’ गरेपछि ‘ऋहलोण्र्यत्’ सूत्रले (अष्टाध्यायी–३।१।१२४) ‘ण्यत्’ गर्नाले निष्पन्न भएको हो । यो ईश्वरवाचक ‘अर्य’ शब्दमा नै ‘तस्यापत्यम्’ (अष्टाध्यायी–४।१।९२) सूत्रले ‘अण्’ प्रत्यय लाग्नाले ‘आर्य’ पद निष्पन्न भयो । यी जम्मै कुराको विवेचना गर्दा आर्य भनेको ईश्वरपुत्र, श्रेष्ठ, उत्तम गुणयुक्त, सद्गुण परिपूर्ण आदि हो भन्ने स्पष्ट हुन आउँछ । “कर्तव्यमाचरन् काममकर्तव्य मनाचरम्, तिष्ठति प्राकृताचारे स तु आर्य इति आर्य इति स्मृतः ।।” श्लोकले यसैलाई प्रष्ट्याउँछ । यी सबै कुराले आर्य भनेको बानीबेहोरा एवं धारणासँग सम्बन्धित छ भन्ने प्रमाणित हुन्छ । वेदका आधिकारिक भाष्यकार सायणाचार्यले विभिन्न स्थानमा आर्यको अर्थ गर्दा कतैपनि जातिबोधक अर्थ गरेका छैनन् ।
अम्बेडकरले ऋग्वेदका पाना–पाना पढेर गणना गर्दा ‘अर्य’ शब्द ८८ (अठासी) स्थानमा र ‘आर्य’ शब्द ३१ (एकतीस) स्थानमा भेटे; र कतैपनि यी जातिवाचक भएको पाएनन् । यी तमाम सत्य तथ्य विपरित आर्य शब्दलाई कुनै एउटा जात वा प्रजाति भनिइनु पटमुख्र्याइँ हो ।
हामी एउटा उदाहरण हेरौं । वेदमा भनिएको छ— “कृण्वन्तो विश्वमार्यम्” (ऋग्वेद–९।६३।५) अर्थात् सारा विश्वलाई आर्य बनाऊ । हामीले माथि विवेचना गरेझैं आर्यत्व संस्कार, बानीबेहोरा, धारणासँग सम्बन्धित भएको खण्डमा “विश्वलाई आर्य बनाऊ” भन्दाखेरीमा सबैको नराम्रो/खराब संस्कार, बानीबेहोरा, धारणा हटाइदिएपछि सबैलाई आर्य बनाउन सकिने हुन्छ; र कामकुरो मिल्छ पनि । यदि हिन्दू बनाऊ, वा बौद्ध बनाऊ, शिख बनाऊ, वा इसाई बनाऊ, वा मुस्लिम बनाऊ भनेको भए अहिले विभिन्न मिसनरीहरुले गरेझैं धर्मान्तरणको खेती गरे पुग्दो हो । तर यदि आर्य भनेको बाहुन-क्षेत्री जस्ता चुच्चा नाके होभने के अर्थ आयो त विश्वलाई आर्य बनाऊ अर्थात् “कृण्वन्तो विश्वमार्यम्” सन्देशको ! के यहीकि नेप्टो नाकलाई सनासाले तानेर चुच्चो पार्ने ? अफ्रिकाका काला मानिसहरुलाई बार्निस घसेर रंग फेर्ने कि ? चीनका होचा प्रजातिलाई दुईपट्टिबाट तानेर अग्ल्याउने ? —के अब सारा विश्वलाई आर्य यसरीनै बनाउने ? यसरी छर्लङ्ग हुनआउँछकि बाहुन–क्षेत्री जस्ता चुच्चो नाक हुनेहरु आर्य र मंगोलियन जस्ता थेप्चो नाक हुनेहरु अनार्य भन्नु मुर्खतापूर्ण, बेतुके, पुङ्माङे, हावादारी हो । आर्य र अनार्य नाकको किसिमले छुट्टिने कुरो होइन; आर्य र अनार्य छालाको रंग हेरेर खुट्टिने तत्व पनि होइन । आर्य भन्ने जात हुँदैन र अनार्य भन्ने जात पनि हुँदैन । वस्तुतः आर्यत्व/अनार्यत्व एउटा संस्कार हो । संस्कार सपारेर जो कोही पनि आर्य बन्न सक्छ; अनि संस्कार बिग्रेको खण्डमा जो कोही पनि अनार्य हुन्छ । संविधानमा “खस आर्य” शब्दावलीको परिभाषा जसरी राखिएको छ, उक्त कार्यले आर्य शब्दको अनर्थ गरी वैदिक मान्यतामाथि विभत्स आक्रमण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *