Best Online News From Nepal

को हुन योगमाया?

डा. दीपेश न्यौपाने  शनिवार, भदौ ३१, २०७४

यसै बात्का अर्थ नलाई धरता पाएनौ।
पैसा धेरै पायौ भने बेर ता लाएनौ।।
धर्म थाम्ने इन्साफीले यति चाल पाऊन्।
कुनकुन जातले जुनजुन ल्याउँछ जातमा मिलाऊन्।।
(योगवानी,१३)


विश्वमा महिला हित, अधिकार तथा समानता प्राप्तिको लागि लड्ने महिलामा मार्गरेट थ्याचर, मेरी ओल्सटनक्राफ्ट, भर्जिनिया उल्फ, टोनी मोरिसन, अलिस वाकर, सिमोन द ब्युभोर, क्याथरिन म्यान्सफिल्ड, जर्मेन ग्रियर आदिको नाम आउँछ। नेपालको महिला आन्दोलनको इतिहास पल्टाउने हो भने सहाना प्रधान, शैलजा आचार्य, मंगलादेवी सिंहहरूको नाम लिइन्छ। त्यसभन्दा पनि पहिले जागरुक, संघर्षशील, सिर्जनशील र स्वाभिमानी विदुषी योगमाया न्यौपाने नेपालमा जन्मिएकी थिइन्।

मानव विवेकशील र सामाजिक प्राणी भए पनि ऊ काम, क्रोध, लोभ, मोह र अहंकार आदिको जालोमा जेलिइरहेको हुन्छ। उसलाई एकछिन भोकसमेत खप्न गाह्रो हुन्छ। दान, धर्म, कर्म, अनुदान, सहयोग त झन् धेरै कम मानिसले मात्र गर्छन्। थोरै मानिसले मात्र भौतिक जीवनको माखेसाङ्लो तोडी आध्यात्मिक मार्ग अवलम्बन गर्छन्। मानव जातिको भलाइ तथा हितलाई सर्वोपरि ठान्दै आफ्नो सम्पूर्ण जीवन सामाजिक रूपान्तरणमा अर्पण गर्ने मानिस झनै कम हुन्छन्। त्यस्ता मानिस समाजका सम्पत्ति हुन्।

हालको भोजपुर जिल्लाको षडानन्द नगरपालिका— १, नेपालेडाँडा, सिम्लेमा १९२४ साल असारमा योगमाया न्यौपानेको जन्म भएको थियो। करिब १३/१४ वर्षको उमेरमा भारतको आसामको फूलबारीमा उनको घरजम भयो। पछि गीता, पुराण, वेदका सारतत्वहरूको श्रवण गर्दै जाँदा वैराग्य उत्पन्न भई घर, वास तथा परिवार, धन, सम्पत्ति आदि सबै त्याग गरी १९७३ सालमा जन्मस्थान नेपालेडाँडा आएर आ श्रम बनाई बस्न थालिन्। सबै जातजातिका मानिसलार्ई एकै ठाउँमा जम्मा गरेर भजन, कीर्तन र भक्ति गरी तत्कालीन समाजमा भएका विसंगति तथा विकृतिविरुद्ध चेतनाको ज्योति फैलाउन कोसिस गरिन्। १९९५ साल कात्तिक २७ गते विद्रोहस्वरूप अग्नि समाधिको योजना बनाइन्, जसमा २४० जना मानिस जिउँदै आगोमा होमिन तयार भए। तर कार्यक्रम सुरु हुनुअगावै तत्कालीन सरकारका प्रमुख जुद्धशमशेरको निर्देशनमा उनीसहित करिब १५ जना महिला तथा पुरुषहरूलाई पक्राउ गरी जेलमा हालियो। तैपनि विरोधको यात्रा जारी राखिन्।

योगमायाले सबै जातजातिका मानिसलाई आफ्नो कुटीमा प्रवेश गराउँथिन् समाजमा भएका अन्याय, अत्याचार, शोषण, दमन लैंगिक भेद, छुवाछूत र असमानता जस्ता कुरीतिहरूको विरोध हुन्थ्यो। यो जातीय पद्धतिविरुद्धकोे ठूलो विद्रोह थियो। जातीय कुप्रथाविरुद्ध उनले ठूलो अभियान नै सञ्चालन गरेकी थिइन्। समाज सुधारको लागि उनले तत्कालीन शासकहरू चन्द्रशमशेर तथा जुद्धशमशेरलाई समेत बिन्ती चढाइन्।

योगमायाको बलिदानबाट विश्वका सम्पूर्ण मानव समाजले ठूलो पाठ सिक्न जरुरी छ। योगमायाले जस्तै व्यक्तिगत स्वार्थ त्यागी राष्ट्र र समाज सुधारको लागि समर्पित हुन सके धरती बस्नयोग्य हुन्छ।

१९९३ सालको बडादसैंको रामनवमीको दिन उनले जुद्धशमशेरलाई समाज सुधारका छब्बीसबुँदे मागसहित काठमाडौंको बज्रघरमा भेटिन्। उनका माग सत्य, भिक्षा तथा धर्मराज्यको स्थापनालगायत थिए। राणाशासकहरूद्वारा कुनै परिवर्तनको संकेत नदेखाइएकाले विद्रोहस्वरूप १९९८ असार २२ गते एकादशीको दिन योगमायासहित ६८ जनाले बिहानै अरुण नदीको ढुंगाबाट जलसमाधि लिए। वास्तवमा यो संसारकै इतिहासमा अनुपम उदाहरण हो। योगमायाले राणाशासनको अन्धकार समाज रूपान्तरण गर्न साहसिक कदम उठाइन्। आफ्नो जीवनलाई बलि चढाएर समाज परिवर्तनको लागि नैतिक दबाब दिनु साधारण कुरा पक्कै होइन।

योगमाय आशुकवि पनि थिइन्। उनले गौचरन मास्न नहुने, समाजमा छुवाछूत र भेदभाव हुन नहुने, सतीप्रथा पूर्णरूपमा निर्मूल हुनुपर्ने, दासप्रथाको अन्त्य गरिनुपर्ने, पुरोहितले कर्मकाण्ड गरी यजमानहरूलाई ठग्न नहुने, जोगी तथा सन्न्यासीहरूले गलामा रुद्राक्ष भिर्नुभन्दा सदाचारयुक्त समाज बनाउनुपर्नेजस्ता विचार फैलाइन्। ठूलासाना पाथीहरू चलाउन बन्द गरिनुपर्ने, तमसुकमा अंक थपेर साहुमहाजनहरूले निमुखा गरिबहरूलाई ठग्न नहुने, वनजंगल जोगाउनुपर्ने, काटमार गरेर हिंस्रक बन्न नहुने, समाजमा भ्रष्टाचार रोकिनुपर्ने, नारी र पुरुषबीच भेदभाव गर्न नहुने, दुःखी जनताले न्याय पाउनुपर्ने, व्यापारीहरूले सामान मिसावट गरी बेचबिखन गर्न नहुनेजस्ता साहसिक विचार राखेकी थिइन्। त्यसैले उनलाई सामाजिक एकताकी प्रतिविम्बको रूपमा लिन सकिन्छ। उनका वाणीमा समाज सुधार गर्ने उद्देश्य हुन्थे।

अन्त्य कालमा त्यो घुसले फटाउला धाँजा।
बडो कष्ट मिली जाला त्यो घुस निस्की जाँदा।।
अहिले मात्र पचेको छ भरे पच्ने छैन।
सम्झी राख सत्य वचन झुट्टा हुने छैन।। (योगवानी, २४)

समाज सुधारको लागि जीवनलाई आहुती वा बलि चढाउनु साधारण कुरा होइन। त्यो बलिदानमा व्यक्तिगत स्वार्थ थिएन। त्यो विशुद्ध सामाजिक तथा धार्मिक सुधारको लागि गरिएको विद्रोह थियो। एकदुईजनाले मात्र सुटुक्क समाधि लिएको भए त्यसलाई फरक ढंगले हेर्न सकिन्थ्यो। योगमायाको कुटीदेखि समाधिस्थलसम्म तत्कालीन शासकहरू तथा सामाजिक विकृतिको विरुद्धमा विरोधका आवाज घन्काउँदै जानु र अन्त्यमा समाधि लिनुलाई आत्महत्या भन्न मिल्छ ? त्यो समाज परिवर्तनको लागि गरिएको ठूलो बलिदान हो। योगमायाले गरेको जलसमाधिलाई सामाजिक परिवर्तनको खातिर गरिएको आन्दोलनको एक उत्सर्गको रूपमा विश्लेषण गर्न सकिन्छ।

यो सम्पूर्ण स्वदेशी जनचेतनाबाट अभिप्रेरित, स्वतस्फूर्त र मौलिक क्रान्ति थियो, जसले देशको लागि, जनताको लागि, न्याय र नैतिक स्वतन्त्रताको लागि झुक्किएर वा बाध्यतावश वा भवितव्यमा परेर होइन, तर अन्तरमनको इच्छाले ज्यान दिन्छ, त्यो क्रान्तिको लागि व्यक्तिको महान् बलिदान हो। जब यस्तो बलिदान एकजना व्यक्तिले मात्र होइन, उसको प्रभाव, ओज र सन्देशका कारण प्रभावित भएर त्यस्तै माग राख्तै नैतिक दबाब सिर्जना गर्न अरू धेरै पनि मृत्युमा होमिन्छन् भने यो घटनालाई सामाजिक परिवर्तनको लागि गरिएको महान् क्रान्ति किन नमान्ने ? राणाशासनको समयमा एक नारीले त्यत्रो महान् सामाजिक क्रान्तिको रथ हाँक्नु सामान्य कुरो हो र ? समाज रूपान्तरणको लागि यति ठूलो संख्यामा जीवन बलिदान गरिएको घटना कहाँ होला र ?

योगमायाले समाज सुधारको लागि गरेको विद्रोह धेरै कठोर र साहसिक थियो। पटकपटक राणा प्रधानमन्त्रीहरूलाई भेटी समाज सुधारको लागि पहल गर्नु, उनीहरूलाई चुनौती दिनु, सामूहिक आत्मदाहको योजना बनाउनु, कसैसँग नझुक्नु बरु कैदी भएर बस्नु, जलसमाधिद्वारा विद्रोहको उत्सर्ग देखाउनु आदि उनका साहसिक विद्रोहका उदाहरण हुन्। यसले के देखाउँछ भने गान्धीले अंग्रेजहरूको विरुद्धमा गरेको भोकहडतालभन्दा पनि योगमायाले गरेको विद्रोह धेरै कठोर र धेरै साहसिक छ। एकता, समानता, भ्रातृत्व, शान्ति र अहिंसाका प्रतिमूर्ति मार्टिन लुथर किङले अमेरिकामा काला र गोराबीचको असमानताको विरुद्धमा शान्तिपूर्ण आन्दोलनको आँधीबेहरी चलाई विश्वमा चर्चित बने। योगमायाले पनि सामाजिक अन्याय र भेदभावको विरुद्धमा चेतना फैलाउने कोसिस गरिन्।

विश्वको इतिहास पल्टाउने हो भने सत्यका पक्षधर दार्शनिक सुकरातलाई विषसेवन गराई मारियो। चाल्र्स डार्बिनको सिद्धान्तलाई पागलपन भनी घृणा गरियो। ग्यालिलियोले पृथ्वीले सूर्यको वरिपरि परिक्रमा गर्छ भनी पत्ता लगाउँदा तत्कालीन समाजमा उनी आँखाका कसिंगर बने। फ्रायडको मनोविज्ञानलाई आधारहीन र उडन्ते विचार भनी खिल्ली उडाइयो। आइन्सटाइन तथा कपर्निकसका सिद्धान्तहरूलाई तथ्यहीन भनियो। तर तीनै दर्शन तथा सिद्धान्तहरू आज मननयोग्य, सान्दर्भिक र यथार्थपरक प्रमाणित भएका छन्। योगमायालाई तत्कालीन समाजले अलिच्छनी, कलंकित महिला भनी उपहास गर्‍यो। तर योगमायाका वाणीहरू तत्कालीन समयमा अपाच्य मानिए पनि अहिले ती विचार चेतनास्वरूप धेरै समसामयिक, सान्दर्भिक र अनुशरणयोग्य मानिन्छन्।

योगमायाको विषयमा विभिन्न अध्ययन, खोज तथा अनुसन्धान भएका छन्। डा. मातृका तिम्सिना, उत्तमप्रसाद पन्त, पवन आलोक, डा. स्वामी प्रपन्नाचार्य, कविता चापागाईं, प्रा.डा. शोभा पोख्रेल, नेपाली साहित्यकी धरोहर पारिजात, अमेरिकी समाजशास्त्री बार्बरा निम्री अजिज, बेलायतका प्रोफेसर माइकल हट, पंक्तिकारलगायत ४० भन्दा बढी स्वदेशी तथा विदेशी लेखक तथा अनुसन्धानकर्ताले योगमायाको विषयमा लेख, रचना तथा पुस्तकहरू प्रकाशन गरिसकेका छन्। योगमायाको योगदानको कदरस्वरूप हुलाक विभागले रु. १० अंकित हुलाक टिकटसमेत प्रकाशन गरिसकेको छ। यो टिकटले योगमायाको फोटो तथा जन्ममितिसम्बन्धी विवादसमेत टुंगो लगाइसकेको छ। पारिवारिक स्रोत तथा प्राज्ञ प्रा. दिनेशराज पन्तको ६ महिनाभन्दा बढीको अनुसन्धानबाट योगमायाको जन्ममिति १९२४ साल भनी ठेगान लागेको छ। योगमायाको बलिदानको घटनामा आधारित एक चलचित्रको समेत निर्माण हुँदैछ।

योगमायाको जन्मघर भएको स्थल पहिचान गरी सोही ठाउँमा साइनबोर्ड राखिसकिएको छ। बोर्डमा योगमायाको जीवन सम्बन्धका मुख्य तथ्यहरू उल्लेख गरिएका छन्। त्यस्तै कक्षा १० को अंगे्रजी पुस्तकमा उनीसम्बन्धी एक पाठ्यांश राखिएको छ, जसले वार्षिक करिब पाँच लाख विद्यार्थीहरूलाई योगमाया र उनको योगदान सम्बन्धमा जानकारी दिन्छ। त्यस्तै योगमायासम्बन्धी विभिन्न संस्था पनि स्थापना गरिएका छन्। यति हुँदाहुँदै पनि योगमायाको जन्मभूमि, तपोभूमि, योगभूमि तथा ज्ञानभूमि भोजपुर, नेपालेडाँडा, मजुवाबेंसी सम्बन्धित सरोकारवालाहरूको ध्यान नपुग्दा अझै ओझेलमा परेको छ।

योगमायाको बलिदानबाट विश्वका सम्पूर्ण मानव समाजले ठूलो पाठ सिक्न जरुरी छ। योगमायाले जस्तै व्यक्तिगत स्वार्थ त्यागी राष्ट्र र समाज सुधारको लागि समर्पित हुन सके धरती बस्नयोग्य हुन्छ। एकता, भाइचारा, भ्रातृत्व, शान्ति, अहिंसाकी प्रतिमूर्ति हुन् योगमाया। यस्तो ज्ञानकी खानी योगमायालाई राष्ट्रिय विभूति घोषणा गरी उनको जन्म तथा तपोभूमि भोजपुरको नेपालेडाँडा, मजुवाबेंसीलाई धार्मिक तथा सांस्कृतिक केन्द्रको रूपमा विकसित गर्नैपर्छ।
–न्यौपानेले योगमायाका बारेमा विद्यावारिधि गरेका छन्।

स्रोत- अन्नपुर्ण पोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *