Best Online News From Nepal

के हो स्मार्ट सिटी ?

सोच्नुस् त त्यस्तो सहर, जहाँ जताततै हरियाली, सुन्दर र शान्त छ । हरेकसँग इन्टरनेट र विभिन्न किसिमका ग्याजेट छन् । अनि चौबिसै घन्टा बिजुली अनि खानेपानीको व्यवस्था ।

फराकिला सडक । ढलको सही रुपमा निकास । अहिलेको जस्तो नभई व्यवस्थित सार्वजनिक यातायात । ठाउँठाउँमा सफा सार्वजनिक शौचालय । सुरक्षित भवनहरु । इन्धन, फोहरमैला र सरसफाइको पनि सोचेजस्तै व्यस्थापन । नागरिकलाई सरकारी सेवा लिँदा लाइन बसेर बिल तिर्नु नपर्ने । अधिकांश नागरिकसँग अनलाइन पेमेन्ट सुविधा ।

यी र यस्तै सुविधाले भरिपूर्ण सहर । साच्चिकै यस्तै सहर भइदिए हाम्रो जीवन कस्तो होला ?

हामी कुरा गर्दैछौं स्मार्ट सहरको । अहिले विश्वव्यापी रूपमै सहरीकरण बढ्दो छ । अनि यही अनुपातमा सहरी पूर्वाधार र सेवा सुविधाहरूको माग बढिरहेको छ । अमेरिका, युरोपका स्मार्ट सहरबारे त हामीले बेलाबेला सुन्ने गरेका छौं ।

हाम्रै छिमेकी देश भारतले पनि एक सय सहरलाई स्मार्ट सिटी अवधारणा अन्तर्गत विकास गर्न कार्यक्रम सञ्चालन गरिरहेको छ । चीनका कयांै सहरहरूमा प्रविधिको प्रयोगमार्फत सहरी जनजीवन सुविधाजनक र व्यवस्थित बनाउन स्मार्ट सहर विकासमा जुटिरहेको देखिन्छ ।

कसरी बुझ्ने स्मार्ट सहर ?
अहिले सहर विकासको चर्चा गर्ने बित्तिकै धेरैले ‘स्मार्ट सहर’ नाम लिइहाल्छन् । तर, स्मार्ट सिटीको ठ्याक्कै साझा परिभाषा कतै भेटिदैन । संयुक्त राष्ट्र आर्थिक र सामाजिक परिषद्ले समेत स्मार्ट सहरको कुनै सर्वस्वीकार्य परिभाषा नरहेको स्पष्ट पारेको छ । उसले विकासको तह र सामाजिक आर्थिक आधारमा विभिन्न राष्ट्रहरूले र आफ्ना सहरका लागि स्मार्ट सहरको परिभाषा भिन्न हुन सक्दछ भन्ने ठम्याएको छ ।

विकसित राष्ट्रहरूले इन्टरनेट सुविधा र प्राविधिक प्रगतिको प्रभावलाई आधार बनाएर नागरिकको सेवामा पहुँच, रोजगारी, किफायती आवास र स्वस्थ वातावरण पक्षहरूलाई प्राथमिकता दिँदै स्मार्ट सहरहरूको विकासमा जोड दिएका छन् ।

साधारणतया सूचना प्रविधिको कुशल प्रयोगमार्फत सार्वजनिक सेवा सुविधामा जनताको सहभागितासहित पहँुच र दिगो वातावरणीय अवस्थाका साथ सहरबासीको जीवनको गुणस्तर राम्रो हुने सहरलाई नै स्मार्ट सहर भन्न सकिन्छ ।  

नेपालका लागि के हो स्मार्ट सहर ? 
विज्ञहरुले नेपालको सन्दर्भमा स्मार्ट सिटीको परिभाषा र विषय नै पहिले निक्र्योल हुनुपर्ने बताउँछन् । यसर्थ स्मार्ट सिटीको परिभाषा देश र सहरअनुसार फरक हुने भएकाले हामीले स्मार्ट सिटीका आधारभूत मापदण्ड र सूचक के–के हुन् पहिला टुंगो लगाउन आवश्यक रहेको उनीहरु औल्याउँछन् । तैपनि विश्व परिवेश हेर्दा शहरीकरणमा भएका सूचना प्रविधिको प्रयोग गर्ने नै स्मार्ट सिटीको मुख्य वशेषता हो ।

‘जनता, सरकार, आवागमन, आर्थिक अवस्था, बसोबासको अवस्था, वातावरणको अवस्था हेरेर त्यसमा सूचना प्रविधि कसरी प्रयोगमा ल्याउन सकिन्छ र प्रभावकारी बनाउन सकिन्छ र त्यसलाई सूचना प्रविधिमैत्री बनाउन नै हाम्रो परिवेशमा काम हुन सक्छ,’ कण्ठले भने ।

यसपछि मात्रै नेपालका लागि सुहाउँदो परिभाषा तयार गर्न सकिने उनको भनाई छ । ‘नेपालको परिपे्रक्ष्यमा स्मार्ट सहर भन्नाले इन्टरनेट लगायत आधुनिक सूचना प्रविधिको प्रयोग भई ई (विद्युतीय) सुशासन स्थापित भएको, व्यवस्थित सार्वजनिक यातायात र पूर्वाधारहरू मार्फत खानेपानी, बिजुली, ढल र टेलिफोन आदि जस्ता सहरी सेवा सुविधाहरू भरपर्दो भएको, हरित प्रविधिमा आधारित आवास, इन्धन र फोहरमैला एवं सरसफाइको व्यस्थापन भएको र सहरी योजना तर्जुमा, व्यवस्थापन र कार्यान्वयनमा नागरिक सहभागिता सुनिश्चित भई  सुरक्षित वातावरणको साथ सहरबासीहरूको जीवनको गुणस्तर उन्नत भएको सहर भन्ने बुझ्न सकिन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *