हामी मनन गरौं, नेपाल विश्वकै प्राचीनतम सभ्यता र संस्कृति जीवन्त रूपमा लिएर बाँचेको मुलुक हो । यहाँका वैदिक सनातन, बौद्ध, जैन, किराँत, बोन, सिक्ख लगायतका धार्मिक मत र सम्प्रदायहरुका बीचमा विगतमा धर्मको नाउँमा हिंसात्मक झडप भएको इतिहास छैन । यहाँसम्म कि मेरो धर्म यो र तिम्रो धर्म त्यो भनेर पहिचान खोज्ने पद्धति पनि हाम्रो होइन ।
अर्कोतिर हामीले विश्वमा हालसालै रवाण्डा, सिरिया, इराक, अफगानिस्तानलगायतका देशहरूमा भएका घटनाहरुलाई नियाल्यौं भने एउटा कुरा प्रष्ट देखिन्छ । त्यो के भने सद्भावपूर्ण सम्बन्धमा बाँचेका स्थानीय जनताको बीचमा बाहिरी विधर्मी तत्वको प्रवेश हुँदा जातीय नरसंहार सम्म हुने गरी अविश्वास सिर्जना गराइयो र परिणामत: केही वर्षभित्रै लाखौंको नरसंहार मच्चाउने काम भयो । हाम्रा शत्रुहरुलाई के राम्रोसँग थाहा छ भने यदि हजारौं वर्षको हाम्रो जीवन्त इतिहासलाई मेट्न सकिएन भने हामी नेपाली अझै पनि एकपल्ट विश्वगुरु बन्न सक्छौं र अहिले कायम रहेको वैश्विक संरचना भत्किने निश्चित छ । यो हुन नदिन हाम्रा वैरीहरुलाई ती माथि उल्लेखित नरसंहारका घटना नेपालमा दोहोर्याउनु आवश्यक भैसकेको छ । हालसालै देखिएका केही घटनाक्रम त्यही शृङ्खलाका कडी मात्रै हुन् । जस्तैः इयुको नाममा “खसआर्य” समुदायलाई संविधानको क्लस्टरिङबाट हटाउन “सुझाव” दिनु, एउटी जनप्रतिनिधिको नाममा गाईको मासु खान पाउने कानुन बनाउने भन्ने घोषणा आउनु, सरकारले हाम्रा मौलिक सनातन पर्वहरुको अस्तित्व समाप्त पार्ने नियतवश विदा कटौती गर्नु र भर्खरै आफ्नो मौलिक धर्मको रक्षाका लागि अभियान सञ्चालन गरिरहेका एक सन्तमाथि सांघातिक आक्रमण हुनु । के यी सबै घटनाहरु फगत संयोग मात्र हुन्?