रचनाकारः कनकधारा स्वामी स्वदेशानन्द
……………………………. ××××÷ …………………
झुल्कन्छन् हिमशैलबाट जहिल्यै श्रीसूर्यनारायण!
शोभायुक्त भएर यो क्षितिजको देखिन्छ प्यारो वन!
आफ्ना पूर्ण कला प्रदर्शित गरी डुल्छन् जहाँ चन्द्रमा!
जागे राष्ट्रिय स्वाभिमान सबमा के छैन नेपालमा?।।०१।।
तारा टिल्टिलि साँझको प्रहरमा चम्केर रातैभरि!
देखिन्छन् रमिता पहाड़तिरका पाखा-पखेराभरि!
यस्तो सौम्य छ स्वर्ग भूमितलमा, को जान्छ रे स्वर्गमा?
जागे राष्ट्रिय स्वाभिमान सबमा के छैन नेपालमा?।।०२।।
चौंरी,बाघ,बँदेलले प्रकृतिको शोभा छरेकै छ रे!
फक्री लाल गुराँस, बाबर-बुकी नेपाल फक्रन्छ रे!
नेपाली ममता र प्यार समता पाइन्छ आपस्तमा!
जागे राष्ट्रिय स्वाभिमान सबमा, के छैन नेपालमा?।।०३।।
छन् डाँड़ा हरिया हिमालमनिका डाँफे उडी सुन्दर!
टारी खेत झुले सुवर्णमयका बाला सुनौला तल!
धर्तीकै अति दिव्य सुन्दर छटा देखिन्छ नेपालमा!
जागे राष्ट्रिय स्वाभिमान सबमा के छैन नेपालमा?।।०४।।
खोला कत्ति पवित्र छन् जल-सुधा तिर्खा-क्षुधा मेटिने!
झर्ना झर्झर नाद झंकृत गरी संगीत बिर्साउने!
कर्णाली तटको पवित्र महिमा पाइन्छ नेपालमा!
जागे राष्ट्रिय स्वाभिमान सबमा के छैन नेपालमा?।।०५।।
आस्थाकी ममता हिमालतनया पाथीभरा छिन् यहीँ!
गौरी शङ्कर छन् हिमाल भगवान् आशीष भर्छन् यहीं!
छन् देवालय,चैत्य,मन्दिर,गुफा, छन् बुद्ध नेपालमा!
जागे राष्ट्रिय स्वाभिमान सबमा के छैन नेपालमा?।।०६।।
रचनाकालः ३० जनवरी २०१७
समय साँझ ६ बजेर ३० मिनेटतिर
स्थानः कामाख्या धाम, गुवाहाटी, असम