Best Online News From Nepal

कृषि बिर्सेर समृद्धि ? हैट् !!!

निर्मलमणि अधिकारी, पीएच. डी.

 

 कृषिको पुनरुद्धार र कृषकको मूलप्रवाहीकरण अनिवार्य छ नेपालको रैथाने अर्थतन्त्रको लागि

 

कृषि, उद्योग, व्यापार र सेवा–व्यवसायको अन्तर्सम्बन्धित प्रणाली बनाउन सक्नै पर्छ हामीले यदि नेपाललाई स्वावलम्बी, समृद्ध, आत्मनिर्भर, विकसित, सुखी राष्ट्र बनाउने हो भने ।
कृषिको पुनरुद्धार एवं किसानको मूलप्रवाहीकरण अनिवार्य छ नेपालको प्रगति, समृद्धि, विकास गर्न ।
सुकिलो मुकिलो बनेर गजक्क परेर मञ्चमा बस्ने, अजंगका माला लगाउने, अबीर जात्रामा दंगदास हुने, खादा पहिरेर मखलेल हुने, रत्तिभर जानकारी नभएको विषयवस्तुबारे समेत लम्बेतान भाषण ठोक्दिने, तर कामकाज पटक्कै नगर्ने प्रवृत्ति भएका व्यक्तिहरु नै नेता, हाकिम, अगुवा हुँदासम्म नेपाल उँभो लाग्नेवाला छैन ।
खेती किसानी गरेरै राजनीति एवं नागरिक समाजमा नेता, अग्रणी, गण्यमान्य हुने र खेती किसानी गरेरै धनी, समृद्ध, सम्मानित बन्ने परिस्थिति भयो भने नै देश स्वावलम्बी, समृद्ध, आत्मनिर्भर, विकसित, सुखी हुनेछ ।
कृषिको पुनरुद्धार नहुँदासम्म नेपालको स्वावलम्बी, आत्मनिर्भर, दिगो विकास हुनेवाला छैन ।
सिंचाइ, खाद (मल), जनशक्ति र उत्पादकत्वको सुनिश्चितता नहुँदासम्म नेपालमा कृषिको पुनरुद्धार हुनेवाला छैन ।
कृषि अनुसन्धान, उद्यमशीलता, व्यावसायिकतालाई राष्ट्रिय नीतिको प्राथमिकतामा नराखी कृषिका आधारशिलाको सुनिश्चितता हुनेवाला छैन ।
पढे लेखेका भनाउँदाहरुले कृषि कर्म पटक्कै नगर्ने प्रवृत्ति कायम रहँदासम्म श्रमको सम्मान, सीप सिकाउने शिक्षा, किसानको मूल प्रवाहीकरण हुनेवाला छैन ।
देशको युवा शक्ति मात्र होइन, शरीरमा थोरै मात्र पनि तागत भएको किशोर र प्रौढ वयको श्रम शक्ति समेत विदेश पलायन भइरहेको तथ्य तथ्यांक सबैलाई जानकारीमा रहेकै हुनु पर्ने हो । सुरुमा गाउँहरु खाली भए, अब क्रमशः पूरा देश नै सक्रिय, सबल, तागतिलो श्रम शक्तिबाट वञ्चित हुँदैछ । एता देशभित्रचाहिँ रोजागारीका लागि विदेशी (भारतीय, चिनीया, बांग्लादेशी र अन्य पनि) कार्यरत छन् र श्रम बजारको माग पूरा गर्न थप विदेशी आउने स्पष्टै आँकलन गर्न सकिन्छ । सुरुमा श्रम शक्तिका रुपमा आपूर्ति भएको विदेशी जनबलले भविष्यमा राजनीतिक, सामाजिक, सांस्कृतिक, रणनीतिक पाटाहरुमा समेत चुनौती खडा गर्नेछ । श्रम शक्तिको कमीले सबैभन्दा ठूलो असर कृषि क्षेत्रलाई परेको छ र नेपालको कृषि प्रणाली एस्तै तरिकाले त केही दशकभित्रैमा ध्वस्त हुने दुरावस्था देखिन्छ ।
कृषिको पुनरुद्धार भएन भने वैदेशिक रोजगारी, पर्यटन, उपभोग्य सामग्री केन्द्रित व्यापार, दलाली र कम्प्युटर सफ्टवेयर आदि क्षेत्रबाट हुने कमाइले देशको अर्थतन्त्रलाई धान्न सक्ने छैन । थोरैतिनै हुने कमाइ आयात प्रणालीमार्फत् विदेशतिरै बाहिरिनेछ । एक परनिर्भर, परावलम्बी, हीन अर्थतन्त्रका कारणले नेपाल कष्टैकष्टको भड्खालोमा फस्नेछ ।
जग्गा बाँझो राख्नेलाई जरिवाना (वा विशेष कर) लगाउने र जग्गाबाट अन्न, सागसब्जी, फलफूल, जडीबुटी आदि उब्जाउनेलाई प्रोत्साहन अनुदान दिने पद्धति बसाल्दा कृषिको पुनरुद्धारमा गहकिलो अग्रगामी फड्को हुन सक्छ । उपयुक्त प्रविधि÷प्रौद्योगिकीको अधिकतम प्रयोग गर्दा कृषि क्षेत्रको कायापलट भई उत्पादकत्व एवं व्यावसायिकताको मापदण्डमा हाम्रा कृषक अब्बल ठहरिन सक्छन् । हामीले अनुसन्धान आधारित नीति बनाउनै छ कि कृषि र पशुपालन, पशुव्यवस्थापन, पशुविकासको एकीकृत विकास कसरी गर्ने, जंगल र कृषिको सन्तुलन, पारस्परिक व्यवस्थापन एवं युगपत् दिगो विकास कसरी गर्ने, अनि कृषिलाई कसरी हामीले पेटेन्ट अधिकार हासिल गर्ने क्षेत्रका रुपमा सदुपयोग गरी वैश्विक अर्थतन्त्रमा मजबुत स्थान हासिल गर्ने । अर्गानिक भनिने खानाको माग संसारभरि नै भइरहेको यो बेलामा कृषि–आधारित उद्योग, व्यापार र सेवा–व्यवसायमा नेपाली मौलिक रैथाने खाना तथा पेय पदार्थको मूलप्रवाहीकरण कसरी सम्भव छ भनेर अनुसन्धान एवं उद्यमशीलतामा अग्रसर हुन ढिला गर्नु हुँदैन ।
कृषिको पुनरुद्धार नगरी नेपालमा प्रगति, विकास, समृद्धिको कुरा गर्नु त कथाको सोम शर्माको हावादारी कल्पना मात्र हो, कथाको ढपोरशंखको जस्तो डिङ् हँकाइ मात्र हो, दोहोरै प्वाल भएको पुङ्माङ्मा दही जमाउन खोजेजस्तो मूर्खता मात्र हो ।
कृषि, उद्योग, व्यापार र सेवाकोअन्तर्सम्बन्धित प्रणाली बनाउन सक्नै पर्छ हामीले यदि नेपाललाई स्वावलम्बी, समृद्ध, आत्मनिर्भर, विकसित, सुखी राष्ट्र बनाउने हो भने ।
कृषिको पुनरुद्धार एवं किसानको मूलप्रवाहीकरण अनिवार्य छ नेपालको प्रगति, समृद्धि, विकास गर्न ।

 

email: vedicbrahman@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *