Best Online News From Nepal

कृषकहरुलाई खुसीको खबर : अब गुणस्तरीय बीउ खोज्दै भौतारिनु नपर्ने

बाली लगाउने बेला बीउ नपाउने समस्याबाट मुक्त भएपछि भैरहवाका किसान उत्साहित बनेका छन् । रुपन्देहीको मोतिपुरमा मुलुककै ठूलो मध्येको एक बीउ प्रशोधन तथा भण्डार केन्द्र समुदायमै हस्तान्तरण भएपछि किसानको समस्या हटेको हो । यसअघि ब्याड वा खेत तयार गरेर राख्दा समेत बीउ नपाउँदा किसानहरुले निकै सास्ती खेप्नु परेको थियो । अघिल्लो वर्षदेखि व्यावसायिक रुपमै काम भए पनि पूर्ण रुपमा सञ्चालन भएको थिएन । तर, अबदेखि गुणस्तरीय बीउ यही केन्द्रबाट पाउने भएपछि किसानहरुमा उत्साह छाएको छ ।

नेपालमा निजी क्षेत्रबाट ७० प्रतिशत बीउ उत्पादन गरेको तथ्यांक छ । त्यो बीउ गुणस्तरीय भएको दाबी गरिए पनि कतिपय समयमा नउम्रिने, उम्रिए पनि राम्रो नफल्ने गर्दा किसानले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । मुलुकलाई बीउमा आत्मनिर्भर बनाउने योजना सहित कृषि मन्त्रालयले देशका बिभिन्न चार स्थानमा बीउ भण्डारण केन्द्र स्थापना गरेको छ । त्यसमध्ये रुपन्देहीको मोतिपुर एउटा हो । सरकारको जलस्रोत तथा सिचाई व्यवस्थापन आयोजना अन्तर्गत रुपन्देहीको मोतिपुरमा प्रशोधन केन्द्र निर्माण भएको हो । २ करोड १८ लाख ११ हजार लागतमध्ये ८० प्रतिशत एसियाली विकास बैंकको अनुदान हो भने २० प्रतिशत सिम्रिक कृषि सहकारीको हो । भण्डारण केन्द्रमा ९१ लाखको मेसिनरी सामानहरु पनि अनुदानमा आएको हो । मोतिपुरमा रहेको बीउ भण्डारको जिम्मा कृषि सहकारीले लिएको छ । यो सहकारीमा ३ सय ४९ जना सदस्य छन् । ती सदस्यको करिव २ सय हेक्टर जमिन रहेको र केही बीउ त्यहीं खपत हुने अपेक्षा छ । खेतियोग्य जमिन खण्डीकरण भएको र उत्पादन घट्ने डर भएकाले उन्नत बीउमा जोड गरिएको हो ।

भण्डारण केन्द्रमा एक सय मेट्रिक टन बीउ भण्डारण गर्न सकिन्छ भने प्रशोधन मेसिनले एक घण्टामा एक टन प्रशोधन गर्न सक्छ । गएको वर्ष ४९ मेट्रिक टन धानको बीउ प्रशोधन गरी बिक्री गरिएको थियो । गहुँको बीउ साढे ५२ टन बिक्री गरिएको थियो । अहिले भण्डारण केन्द्रमा राधा ४ जातको ४१ मेट्रिक टन, राम जातको ३७ मेट्रिक टन, सव १ जातको ६३ मेट्रिक टन र सुख्खा ३ जातको २ मेट्रिक टन गरी १ सय ४३ मेट्रिक टन धानको बीउ भण्डारण छ । केन्द्रले आगामी वर्ष एक सय मेट्रिक टन गहुँको बीउ प्रशोधन तथा भण्डारण गरेर राख्ने योजना बनाएको छ ।

बीउ भण्डारण केन्द्र स्थापना भए पनि सरकारी अनुदानको बीउ र निजी क्षेत्रको बीउमा मूल्य फरक पर्दा निजी क्षेत्रको बीउ बिक्री नहुने गरेको किसानको गुनासो छ । नेपालमा गुणस्तरीय बीउ उत्पादन प्रशस्त मात्रामा भएपनि बजारीकरणमा समस्या रहेको छ । मुलुकलाई आवश्यक ७० प्रतिशत बीउ उत्पादन गर्ने निजी क्षेत्रले उत्पादनको ५० प्रतिशत मात्रै बिक्री गर्न सकेको तथ्यांक छ । उत्पादनमा ह्रास आउनु बीउको कमजोरी भएको भण्डारण केन्द्रको दातृ निकाय एसियाली विकास बैंकको दाबी छ । उपयुक्त बीउ भएमा थोरै जमिनमा पनि धेरै फलाउन सकिने बैँकको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *