Best Online News From Nepal

किराती मुन्दुमको अभिलेखीकरण

समिक्षा

डा. धनप्रसाद सुवेदी—-

हाम्रो गाउँमा पाखे माइला भन्ने बिजुवा धामी थिए । उनी मुन्दुम जान्ने बिजुवा हुन्, उनले झारफुक गरेपछि जस्तोसुकै बिरामी पनि निको हुन्छ भन्ने विश्वास थियो । त्यसैले हाम्रा घर, टोलमा जोसुकै बिरामी हुँदा पनि पाखे माइलाकहाँ लगिन्थ्यो ।

मलाई पनि धेरै पटक पाखे माइलाले झारफुक गरेका थिए । सामान्य बिरामीलाई उनी मनमनै के के भन्थे र अक्षता मन्साएर झारफुक गर्थे । अलिक सिकिस्त बिरामीलाई झारफुक गर्दा भने लय हालेर मन्त्र पढ्थे । उनको लयबद्ध मन्त्र कुनै गीत जस्तो लाग्थ्यो, अर्थ नबुझे पनि सुनिरहुँ लाग्ने । त्यसरी लयबद्ध मन्त्र पढेर झारफुक गरेपछि उनी भन्थे— लौ मैले मुन्दुमबाट देवीदेवतालाई पुकारा गरेको छु, देसानमेसानले दुख दिएको रहेछ भने सन्चो हुन्छ ।

वैशाखे पूर्णिमादेखि गाउँमा साकेला नाचको रौनक सुरु हुन्थ्यो (अहिले पनि हुन्छ) । जुन घरमा ढोलझ्याम्टा बज्न थाल्थ्यो हामी दौडँदै त्यही घरमा पुग्थ्यौँ । कोही झ्याम्टा बजाउने कोही ढोल बजाउने अनि हातमा चिन्डो बोकेका र टाउकामा सेतो फेटा बाँधेका नछुङ (धामी) भने पाखे माइलाले झारफुक गर्दा जस्तै गरी लय हालेर मुन्दुम गाउने र बेला बेलामा अरुहरुले पनि हो….. भन्दै नछुङको स्वरमा स्वर मिलाउने गर्थे ।

साकेलाको मुख्य दिन त्यसरी नै टोलटोलबाट झोलझ्याम्टा बजाउँदै र नछुङहरुले मुन्दुम गाउँदै साकेला थान जाँदा हामी केटाकेटीहरु पनि खुसी हुँदै पछिपछि दौडिन्थ्यो । मुन्दुम भनेको के हो ? सानैमा मैले छिमकी सुवासेम्पा काकालाई सोधेको थिएँ । ‘हाम्रो मुन्दुम तिमेर्को वेद जस्तै हो, थुतुरी वेद’ उनले भनेका थिए ।

घरमा काठको गाता लगाएको वेदको किताब थियो । मेरो भर्खरै वर्तमन भएको थियो र बुबाले मलाई त्यही वेदभित्र भएको रुद्री पढ्न सिकाउन थाल्नु भएको थियो । त्यसैले मुन्दुम भनेको वेदजस्तै अप्ठेरो किताब रहेछ भन्ने मैले त्यति बेला बुझेँ ।

मुन्दुम झारफुक र साकेलाका बेला नछुङले फलाक्ने विषय मात्र नभएर यो त किराती जातिमा प्रचलित सृष्टि दर्शन, संस्कृति तथा संस्कारको विधि विधान सबै हो र यो मौखिक परम्परामा सुरक्षित छ भन्ने पछि थाहा भयो ।

किरात अन्तर्गत सामान्यतः राई, लिम्बु, याक्खा र सुनुवार जाति पर्दछन् र यी चारै जातिका संस्कार, संस्कृति मुन्दुममा आधारित छन् । भाषिक विविधताका कारण यसका अनेक नाम छन् (जस्तै ः मुन्दुम, मुन्धुम, मुक्दुम, मुन्तुम, रिद्दुम, मिन्दुम, पेल्लाम, मुक्दुम आदि) र पाठगत भेद पनि हुने नै भयो । यस्ता भेद भए पनि मुन्दुमको साझा पहिचान भनेको यो अहिलेसम्म श्रुति परम्परामा बाँचेको छ र यसले प्रकृति तथा पितृहरुको उपासनामा जोड दिन्छ ।

नेपालमा राजनीतिक परिवर्तनसँगै नयाँ जागरण सुरु भएको छ । अब मौखिक परम्परामा रहको मुन्दुमलाई लेख्य रुपमा ल्याउन थालिएको छ । त्यसैको पछिल्लो कडीका रुपमा चाम्लिङ राई खाम्बातिमले चाम्लिङ राईको संस्कारमा आधारित ‘मुन्दुम होसुङ’ प्रकाशित गरेको छ । चाम्लिङ भाषामा होसुङ भनेको संस्कार हो । यसैले यस मुन्दुममा चाम्लिङ राईका संस्कार विधिको वर्णन गरिएको छ । जयकुमार राईको संयोजकत्वमा ज्ञावनसेर राई र विश्वराम राईले सङ्कलन गरेको मुन्दुमलाई भोगीराज राईले सम्पादन गरेका हुन् ।

चाम्लिङ नेपाली भाषामा रहेको मुन्दुमलाई खस नेपाली र अङ्ग्रेजी भाषामा समेत अनुवाद गरिएको छ । खस नेपालीमा अनुवाद गडुलमान राईले र अङ्ग्रेजी अनुवाद प्रा.डा. विष्णु एस. राईले गरेका छन् । उदयपुर जिल्लाको बलम्ता र ताम्लिछा क्षेत्रलाई केन्द्र बनाई सङ्कलन गरिएको यस मुन्दुममा खोँरोधिम्मा (गर्भपूजा), हियाफ्राह्मा (सुत्केरी चोख्याउने), नुङहैमा (न्वारान), रोँ–इमा (पास्नी), मारिमो च्युमा (छोरी पूजा), वाडाका (पान्देउ पूजा), टोँ खोर्मा (छेवर र गुन्यु चोलो), तिम्मारी—बासारी (बिवाह) र सिये मायेको हालाम् (मृत्यु) गरी ९ ओटा संस्कार विधिको वर्णन गरिएको छ ।

मुन्दुम झारफुक र साकेलाका बेला नछुङले फलाक्ने विषय मात्र नभएर यो त किराती जातिमा प्रचलित सृष्टि दर्शन, संस्कृति तथा संस्कारको विधि विधान सबै हो र यो मौखिक परम्परामा सुरक्षित छ भन्ने पछि थाहा भयो ।

चाम्लिङ मुन्दुममा खोँरोधिम्मा अर्थात् गर्भपुजा संस्कारको वर्णन पाइन्छ । कुनै महिला गर्भवती भएको थाहा भएपछि यो पूजा गरिन्छ । यो पूजासँगै पेटका बच्चाका लागि पनि खानेकुराको भाग लगाइने चलन छ । यो संस्कारसँगै गर्भवती आमा र गर्भको बाबुले गर्न नहुने कुराहरुका बारेमा सचेत गराइन्छ । परम्परा अनुसार गर्भवती आमाले आँगन बढार्न, सर्प मार्न, लास वा मलामी हेर्न, हलो जोत्न, भैँसी बाँधेको दाम्लो नाँघ्न, नाम्लो दाम्लो बाँट्न, सूर्य र चन्द्र ग्रहण हेर्न, धागो कात्न, तान बुन्न हुँदैन । बाबुले काटमार र सिकार गर्न र मलामी जाँदा ढुङ्गा बोक्न हँुदैन । चाम्लिङ राईमा सुत्केरी भएपछि धेरै रगत बग्ने हुनाले त्यो रगतमा भूत प्रेतले दुःख नदिउन् भन्नाखातिर हियाफ्राह्मा संस्कार गरिन्छ ।

यसमा कुखुराको भाले (छोरा जन्मिँदा) वा पोथी (छोरी जन्मिँदा) को मन्छाउने चलन छ । चाम्लिङ राईहरु छोराको ६ दिन र छोरीको ५ दिनमा न्वारान गर्छन् । घर वा मावलीतिरका हजुरआमाले नाम राखी दिने चलन छ । बालक छोरा ६ महिनामा र छोरीको ५ महिनामा भात खुवाउने (पास्नी) चलन छ । पास्नीका अवसरमा मान्यजनहरुले बच्चालाई चामलको टिका लगाई आशीर्वाद दिने चलन छ । त्यस्तै छोराको ६ वर्षमा केश काट्ने र छोरीलाई ५ वर्षमा गुन्यु चोलो दिने संस्कार छ ।

चाम्लिङ राई जातिमा बच्चा जन्माएका महिलाहरुको स्वास्थ्य राम्रो होस् भनेर मारिमो च्युमा संस्कार गर्ने चलन छ । बच्चा जन्माएका महिलालाई पटुका कस्न, खुर्पा भिर्न र टाउकामा मजेत्रो बाँध्न लगाई चुलाका छेउमा बसाइन्छ र आगो तपाइन्छ र अरु विधि पनि गरिन्छ ।

मुन्दुम होसुङबाट चाम्लिङ राईको संस्कार मात्र होइन, त्यस जातिका मानिसको सामूहिक धारणा, मनोविज्ञान, आचरण, व्यवहारसमेत अध्ययन गर्न सकिन्छ । चाम्लिङ राईमा एक पत्नी र एक पतिको अवधारणा देखिन्छ, बहुविवाहलाई अस्वीकार गरिएको पाइन्छ । त्यस्तै यौन अनुशासनलाई कडाइपूर्वक पालना गर्नु पर्छ भन्ने मान्यता छ ।

किरात राई जातिका पुर्खा हौँछाले नागकन्या सिकुरिमासँग बिहे गरेका थिए । उनीहरुका सन्तानलाई दुःख बिमारले भेट्यो र सकुरिमाका माइती पट्टिका देवी देवताको पूजा गरेपछि सन्चो भयो । त्यसैको परम्परामा अहिले पनि वाडाको पुजा गर्ने चलन छ । यसमा सुँगुरको पकाएको, पोेलेको मासु, भात आदिले पूजा गर्ने चलन छ । चाम्लिङ राई जातिमा गरिने विवाह संस्कारको विधि विधान, केटी माग्दादेखिका बिहेका रीतहरु र वर र वधु पक्षका बिचमा हुने संवाद आदिको समेत चर्चा गरिएको छ । मृत्यु संस्कारका विधि विधान र मृतकलाई पितृमा लैजाने विधि समेतको वर्णन पाइन्छ ।

मुन्दुम होसुङमा चाम्लिङ राईका नौ ओटै संस्कारका विधि विधानहरु, ती संस्कारका लागि चाहिने सामान र पूजा विधिको सविस्तार वर्णन गरिएको छ । यसका साथै हरेक संस्कारमा नछुङद्वारा गाइने मन्त्र (रसिया) हरु दिइएको छ । यस्ता रसियामा सम्बन्धित संस्कारसँग सम्बन्धित भूत, प्रेत, देवीदेवता र विशेष गरी पुर्खाहरुको पुकारा पाइन्छ । गर्भपूजामा सुत्केरी बेथा लामो नलागोस् र बच्चा स्वस्थ जन्मियोस् भन्ने कामना गरिन्छ । मारिमो च्युमामा बच्चा जन्माएकी महिलाको स्वास्थ्य राम्रो होस् भन्ने प्रार्थना हुन्छ । वाडाका (पान्देउ पूजा) को रसियामा भने किरात पुर्खाहरुको उत्पत्तिदेखि वंश विस्तारसमेतको कथा रहेको छ ।

मुन्दुम होसुङबाट चाम्लिङ राईको संस्कार मात्र होइन, त्यस जातिका मानिसको सामूहिक धारणा, मनोविज्ञान, आचरण, व्यवहारसमेत अध्ययन गर्न सकिन्छ । चाम्लिङ राईमा एक पत्नी र एक पतिको अवधारणा देखिन्छ, बहुविवाहलाई अस्वीकार गरिएको पाइन्छ । त्यस्तै यौन अनुशासनलाई कडाइपूर्वक पालना गर्नु पर्छ भन्ने मान्यता छ । विवाहमा केटा पक्षले केटी पक्षसँग गर्ने संवाद यस्तो हुन्छः ‘हाम्रो छोराले तपाईंको छोरी लगेर काखमा लिनेछ, सम्हाल्ने छ । बानीव्यहोरा परिवर्तन गर्ने छैन, अरुसँग लसपस गर्ने छैन । लुकीछिपी अरुसँग लसपस ग¥यो भने हामी हर्काछौँ । स्वास्नी पनि एउटै बनाउने छ, दुई वटा बनाउँदैन । बाटो बिराउँदैन, यही बाटो हिँडिरहनेछ पृ. २२०) ।’

मुन्दुम होसुङका आधारमा हेर्दा चाम्लिङ राईहरुमा पूर्वजन्म, परजन्म, स्वर्ग, नरक आदिबारे विश्वास र खास धारणा देखिँदैन । तर मरेपछिको मृतात्माको पनि बस्ने र खाने ठाउँ भने हुन्छ भन्ने विश्वास देखिन्छ । मुन्दुममा भनिएको छ – ‘मान्छे मर्नेमा मरिगयौ, हराइगयौ । …. रुङरी (चेत) छुट्यो, चुला अगेना छोड्यो, दरदाजुभाइले छोड्यो । … हिजोदेखि भइआएको हो । आकाश धर्ती पनि छुटिजान्छ, धर्ती पनि चिरिजान्छ । ढुङ्गा पनि पल्टिजान्छ । फूलहरु प्नि झरिजान्छ । राजा पनि मरिजान्छ । धामी पनि मरिजान्छ । मान्छेको शरीर सबै यस्तै हो । यस्तै भइरहन्छ । अब दुःख मन नगरीकन मरेका पितृहरुलाई खोज्दै जाऊ । भोलिपर्सि तिम्रो खाने, बस्ने ठाउँ धामीले देखाइदिन्छ (पृ. २७३) ।’

मुन्दुम होसुङका आधारमा हेर्दा चाम्लिङ राईहरुमा पूर्वजन्म, परजन्म, स्वर्ग, नरक आदिबारे विश्वास र खास धारणा देखिँदैन । तर मरेपछिको मृतात्माको पनि बस्ने र खाने ठाउँ भने हुन्छ भन्ने विश्वास देखिन्छ ।

किरात संस्कारमा चिन्डोको विशेष महत्त्व छ । हरेक संस्कार र संस्कृतिमा चिन्डो चाहिन्छ । जाँड, रक्सी पितृलाई चढाउन र सगुन वा प्रसादका रुपमा बाँड्न चिन्डोको उपयोग गरिन्छ । संस्कारहरुका अवसरमा बोलिने संवाद र रिसियाका आधारमा हेर्दा चाम्लिङ राईहरुमा म र मेरो भन्दा पनि हामी र हाम्रोको भाव देखिन्छ । उनीहरु कुनै अलौकिक देवताको पूजा आराधना होइन, आफ्नै प्राचीन पुर्खाहरुको आराधना गर्छन्, प्रकृतिको पूजा गर्छन् ।

प्रायः हरेक संस्कारमा तीन चुलाको पूजा गरिन्छ, त्यो भनेको पितृपूजा हो । चाम्लिङ राईका हरेक संस्कृति कृषि र श्रममा आधारित देखिन्छन् । कोदाको जाँड, सुँगुर तथा कुखुराको मासु, अन्डा, अदुवा, काउलो, हसिया, सिलिपा (तितेपाती) आदि सामग्रीहरु किरात संस्कारका लागि नभई नहुने वस्तुका रुपमा रहेका छन् । किरात संस्कारमा बोलिने संवाद र रिसयाका आधारमा हेर्दा किरातीहरु ज्यादै नम्र, भद्र, पाहुना, नरनाता, इष्टमित्रहरुको अत्यन्तै सम्मान गर्ने र अत्यन्तै कृतज्ञ र गुणग्राही देखिन्छन् ।

मुन्दुममा किरात जातिका इतिहास, जीवन जगत्प्रतिका धारणा, संस्कार, संस्कृति सबै सुरक्षित छन् । त्यसैले मुन्दुमका अनेक भाग हुन सक्छन् । किरात राई चाम्लिङ खाम्बातिमले यसअघि नै ‘मुन्दुम ः सृष्टिकथा’ प्रकाशन गरिसकेको छ, निकट भविष्यमा संस्कृतिसँग सम्बन्धित मुन्दुमको अर्को भाग प्रकाशनको तयारी गरेको छ भने मुन्दुम होसुङ चाहिँ दोस्रो मुन्दुम कृति हो ।

मुन्दुम होसुङले चाम्लिङ राईका संस्कारका विधिविधानलाई अभिलेखीकरण गरेको छ । साथै सम्पूर्ण राई किरातीहरुका संस्कार, इतिहास, संस्कृति र मनोविज्ञान बुझ्न सहयोग गरेको छ । नेपाली समाज, संस्कृति, जीवन पद्धतिको अभ्ययन गर्न चाहने जोसुकैलाई यो कृति अत्यन्त उपयोगी देखिन्छ ।

साभार- अन्नपुर्ण पोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *