Best Online News From Nepal

किन ओइरिँदैछ सिमेन्ट उद्योगमा विदेशी लगानी?

विदेशी सिमेन्ट उत्पादक कम्पनीहरू नेपालका सिमेन्ट उद्योगमा लगानी आकर्षित देखिएका छन्। नाइजेरियाको डांगोटे, भारतको रिलायन्स, चीनको हङकङ रेड लायन र हुवाजिन सिमेन्टले नेपालमा लगानी इच्छा देखाएका छन्।
ती विदेशी सिमेन्ट उत्पादक कम्पनीको लगानी सहजीकरणका लागि लगानी बोर्डले प्रक्रिया अगाडि बढाइरहेको छ। डांगोटेले ५ सय ५५ मिलीयन अमेरीकी डलर,  होङ्सीले ३ सय ६० मिलियन,  हुवाजिनले १ सय ४० मिलियन र रिलायन्सले ४ सय मिलियन बराबर लगानी गर्ने इच्छा  देखाएका छन्।
अस्थिर राजनीति र घरिघरि सरकार फेरिइरहने गरेका कारण स्वदेशका लगानीकर्ता लगानी गर्ने वातावरण नभएको भनी हच्किरहेका बेला विदेशी सिमेन्ट उत्पादक कम्पनीहरू भने भटाभट लगानी गर्न तम्सिएका हुन्।
हङकङ रेड लायनले नेपालको शिवम् सिमेन्टसँग मिलेर होङ्सी शिवम् सिमेन्ट उद्योग दर्ता गरिसकेको छ। यसको कुल लगानी ३६ अर्बमध्ये ७० प्रतिशत होङ्सी र बाँकी शिवम् सिमेन्टको हिस्सा छ। यसले वार्षिक ४३ लाख टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ। होङ्सी शिवम्ले १ हजार प्रत्यक्ष र १० हजार जनालाई अप्रत्यक्ष रुपमा  रोजगाारी दिने लगानी बोर्डको आँकलन छ।
भूकम्पपछिको पुनर्निर्माण तथा आगामी दिनमा हुने सडकको विस्तारका ठूलो मात्रामा सिमेन्टको आवश्यकता पर्ने देखिन्छ। होङ्सी शिवम् सिमेन्टका सञ्चालक रमेश गुप्ताका अनुसार भारततर्फको निर्यात सम्भावना, भूकम्प पछिको पुनर्निर्माण तथा आगामी दिनमा जलविद्युतको उत्पादन बढ्ने भएका कारण विदेशी कम्पनी ठूलो मात्रामा लगानी लिएर नेपाल आउन लागेका हुन्।
सरकारले तीन वर्षभित्रै लोडसेडिङमुक्त बनाउने योजना बनाएको छ। जलविद्युतको उत्पादन बढ्दै गएका कारण विदेशी कम्पनीको नेपालमा चासो बढेकोे छ। जलविद्युतको उत्पादन  बढेसँगै नेपालमा विद्युत महसुल छिमेकी देशको तुलनामा सस्तो हुने यी कम्पनीको अपेक्षा रहेको गुप्ताले बताए।
अहिले कैयन सिमेन्ट उद्योगले लोडसेडिङको समयमा जेनेरेटरमार्फत पनि विद्युत उत्पादन गरेर उद्योग सञ्चालन गरिरहेको छ। जेनेरेटरमार्फत विद्युत उत्पान गर्दा प्रतियुनिट ३० देखि ३२ रुपैयाँ  पर्दछ। तर, अहिले विद्युत महसुल भने प्रतियुनिट १० रपैयाँ मात्रै छ। विद्युत उत्पादन बढेसँगै विद्युत महसुल घट्ने र  उत्पादन लागत पनि कम हुने नेपाल भित्रिन लागेका विदेशी कम्पनीको आश छ।
होङ्सी शिवम्का सञ्चालक गुप्ताले भन्छन्, ‘भारतमा निर्यातको सम्भावना तथा देशमा रहेको बढ्दो माग, जलविद्युतको सम्भावना लगायत कारणले विदेशी सिमेन्ट उत्पादक कम्पनी नेपाल भित्रिन इच्छुक छन्।’
विद्युत उत्पादन बढेपछि लागत मूल्य कम हुने मात्रै होइन, जलविद्युत गृह निर्माणकै लागि समेत सिमेन्ट लाग्ने भएका कारण उनीहरू नेपालमा लगानी बढाउन खोजिरहेको गुप्ताको भनाइ छ।
भौगर्भिक हिसाबले उत्तर प्रदेश, बिहार र उत्तराखण्डमा चुनढुङ्गाको खानी छैन। त्यसैले त्यहाँ सिमेन्ट उद्योग स्थापना हुन सकेका छैनन्। यिनै क्षेत्रलाई लक्षित गरेर नै विदेशी कम्पनी नेपालमा सिमेन्ट उद्योग खोल्न लागिरहेको गुप्ता बताउँछन्। विद्युत उत्पादमा वृद्धि गरी सिमेन्ट उत्पादनको लागतमा कमी ल्याउन सके भारतको उत्तर प्रदेश, बिहार र उत्तराखण्डमा मात्रै नभई तिब्बत र बंगलादेशमा समेत नेपालले सिमेन्टको निर्यात गर्न सक्ने बलियो सम्भावना रहेको बताइन्छ।
अहिले नेपालमा ४७ वटा सिमेन्ट उद्योग छन्। यिनीहरूबाट वार्षिक ३५ देखि ४० लाख टन सिमेन्ट उत्पादन हुने गरेको छ। तर,  वर्सेनि माग भने २० प्रतिशतले बढिरहेको छ। आगामी ३  वर्षमा यो माग बढेर २५ प्रतिशत पुग्ने आँकलन सिमेन्ट उत्पादक कम्पनीहरूको छ।
अहिले पनि माग अनुसार सिमेन्ट उत्पादन हुन सकेको छैन। जसका कारण गत आर्थिक वर्ष २०७२÷०७३ मा मात्रै भारतबाट ११ अर्ब रुपैयाँ बराबरको सिमेन्ट आयात भएको राष्ट्र बैंकले उपलब्ध गराएको आँकडामा उल्लेख गरिएको छ।
देशमै रहेका सिमेन्ट उद्योगले पनि अहिले भारतबाट क्लिन्कर आयात गरिरहेका छन्। सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवकुमार थापाका अनुसार देशमा रहेका ४७ वटा सिमेन्ट उद्योगमध्ये १४ वटाले आफैँ क्लिन्कर उत्पादन गर्छन्। साथै यी १४ सिमेन्ट उद्योगले अन्य उद्योगलाई क्लिन्कर बिक्रीसमेत गर्दै आएका छन्। अबको दुई वर्षभित्र सिमेन्टमा देश आत्मनिर्भर हुने थापाको दाबी छ।
क्लिन्कर उत्पादनको लागि चुनढुङ्गाको आवश्यकता पर्छ। नेपालमा चुनढुङ्गा खानी भए पनि खानीमा स्थानीयको बिरोध छ। जसका कारण उद्योगहरूले सहज रुपमा खानी सञ्चचालन गर्ने वातावरण नभएको थापाको भनाइ छ। यी ४ कम्पनीका सिमेन्ट उद्योगले भने क्लिन्कर पनि स्वदेशमै उत्पादन गर्नेछन्।
स्थापनाको क्रममा रहेको डांगोटेले २१ लाख टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ। हुवाजिनको  १० लाख टन  उत्पादन गर्ने योजना छ। भारतको रिलायन्स कम्पनीले  वार्षिक  ५० मेट्रिक टन  सिमेन्ट उत्पादन गर्ने योजना बनाएको छ। भारतीय कम्पनी रिलायन्सको व्यवस्थापनमा भएको फेरबदलका कारण हालसम्म कुनै पनि काम अघि बढ्न सकेका छैन। जसका कारण नेपालमा यसले कम्पनी समेत दर्ता गर्न सकेको छैन।
होङ्सी सिमेन्टबाहेक अन्यको उद्योग दर्ता हुन सकेको छैन। डांगोटे, हुवाजिन र होङ्सी शिवम् भने कम्पनीको रुपमा दर्ता भइसकेका छन्। यी विदेशी ठूला उद्योगले नेपालमा उत्पादन सुरू गरे भने नेपालले भारततर्फ सिमेन्ट निर्यात गर्न सुरू गर्ने आँकलन गरिएको छ। रहेको छ।
भूगर्भविदहरू महाभारत पर्वत शृंखलामा ठूलो मात्रामा चुन ढुङ्गा खानी रहेको बताउँछन्। यसै पर्वत शृंखला अन्तर्गत पर्ने नेपालमा ठूलो मात्रामा चुनढुङ्गा रहेको उनीहरूको दाबी छ। विदेशी कम्पनीहरू पनि यही चुन ढुङ्गा र विद्युत उत्पादन पछि लागतमा हुने अन्तर देखेर नेपालमा लगानी गर्न खोजिरहेको अधिकारीहरू बताउँछन्।
तर, विदेशी कम्पनीहरू नेपालमा खुलिहाल्न त्यति सजिलो पनि छैन। किनकि स्वदेशी सिमेन्ट उत्पादक कम्पनीले समेत उद्योग स्थापनाका क्रममा कैयन झन्झट व्यहोर्नु परिरहेको सन्दर्भमा निकै कठिन हुने उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका बताउँछन्। ‘सरकारी कर्मचारी तथा सरोकार समितिका नाममा गठन भएका विभिन्न समूहका कारण उद्योगले झन्झट व्यहोर्नुपर्छ,’ मुरारका भन्छन्, ‘उद्योग मन्त्रालयमा मात्रै गएर पुग्दैन, देशका १२ वटा निकायबाट अनुमति लिन जानुपर्छ, स्थापनाको लागि लामो समय त यही अनुमतिको लागि नै बित्ने गर्छ।’
विदेशी कम्पनीहरूले पनि यस्तै समस्या भोग्ने गरेका छन्। विदेशी लगानीमा स्थापना हुन खोजेका यस्ता उद्योगले जग्गाा अधिग्रहणको प्रमुख समस्या भोग्ने गरेका छन्। तीन सय बिघासम्म खरिद गर्ने यस्ता उद्योगहरूलाई जग्गा हदबन्दीले सताएको लगानी बोर्डका एक उच्च अधिकारीले बताए।
Source Setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *