नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनले आधारभूत तह (कार्यालय सहयोगी) को तलब २५ हजार नपुर्याइए आन्दोलन गर्ने बताएका छन् । बुधबार अर्थमन्त्री विष्णु पौडेललाई भेटेर उनीहरुले तलव बढाउन माग गरेका हुन् । अन्य ट्रेड युनियन पनि तलब वृद्धिका लागि आ–आफ्नो ढङ्गले जुटेका छन् । बुधबार बिहान र बेलुकी गरी दुईपटक कर्मचारीहरूले अर्थमन्त्रीलाई भेटेका थिए ।
तलब वृद्धिको विषयले आधिकारिक ट्रेड युनियनको चुनावी अभियान ओझेलमा परेको संगठनको भनाइ छ । सरकारी जागिरकै भरमा कर्मचारी बाँच्न सक्ने अवस्था नभएकाले तलब वृद्धिको विषयले सबै कर्मचारीको भावना समेट्ने उनीहरुको तर्क छ । न्यून तलबकै कारण मुलुकमा सुशासन कायम हुन नसकेको तर्क गर्दै कर्मचारी ट्रेड युनियनहरू कर्मचारीको तलब वृद्धिमा सरकारले कञ्जुस्याई गर्न नहुने बताउँदै आएका छन् । तलब वृद्धि र महँगी नियन्त्रणको विषयमा सरकार संवेदनशील नभए निजामती प्रशासन झनै कमजोर र भ्रष्टाचारतर्फ उन्मुख हुने उनीहरुको भनाइ छ ।
यता, सरकार बजेट निर्माणमा जुटेको र आम्दानी अनुसार खर्च गर्ने गरी १० देखि २० प्रतिशतसम्म कर्मचारीको तलब वृद्धि गर्ने तयारीमा रहेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ । भेटमा अर्थमन्त्री पौडेलले आगामी बजेट कर्मचारीलाई प्रोत्साहन गर्ने खालको आउने बताएका थिए । ‘तपाईँहरू ढुक्क हुनुहोस्, आगामी बजेट कर्मचारीलाई अभिप्रेरित गर्ने गरी आउँछ’– अर्थमन्त्री पौडेलले भने ।
सरकारले आधिकारिक ट्रेड युनियनको चुनाव आगामी जेठ १९ गते गर्ने घोषणा गरेको छ भने बजेट जेठ १५ गते सार्वजनिक हुन्छ । निजामती सेवामा करिब ८० हजार कर्मचारी कार्यरत छन् । हरेक कर्मचारीलाई दश हजार रुपियाँका दरले तलब वृद्धि गर्दा बहालवाला कर्मचारीका लागि मात्र वार्षिक नौ अर्ब ६० करोड रुपियाँ बराबरको आर्थिक दायित्व बढ्छ ।
One or two to rereebmm, that is.