भारतीय प्रबन्धकलाई सम्पादक भन्दा माथिको हैसियतका साथ महाप्रबन्धकको पद दिने निर्णयपछि कान्तिपुर मिडिया ग्रुप, केएमजी भित्र देखापरेको त्रासदीपछि अध्यक्ष कैलाश सिरोहियाले बुधबार पत्रकारहरु समक्ष स्पष्टिकरण दिने भएका छन् ।
केएमजी स्रोतका अनुसार मंगलबार कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा र काठमाडौँ पोष्टका अखिलेश उपाध्यायले राजीनामा दिइ अध्यक्षको निर्णयको विरोधमा उत्रिएपछि त्यसले पत्रकार र अन्य कर्मचारीमा थप अन्यौल सिर्जना गरेको छ ।
भारतको टाइम्स अफ इन्डिया ग्रुपमा कार्यरत रजनीश ऋषीलाई महाप्रबन्धकमा ल्याउने र सम्पादकीय नेतृत्व उनीप्रति जवाफदेही हुने सहमतिसँगै दुई मिडिया हाउसबिच अन्य केही गोप्य कारोबार बारे पनि ‘डिल’ भएको आरोप केएमजीमा कार्यरत वरिष्ठ पत्रकारहरुले लगाउन थालेका छन् ।
यसैबिच कान्तिपुर सम्पादकको यसअघिको नियुक्तिमा निर्णायक भूमिका खेलेका पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल समक्ष पनि कान्तिपुर पत्रकारहरुको एउटा समूह पुगेको र सिरोहियाको वर्तमान निर्णयले सञ्चारमा विदेशी भूमिका अपरदर्शी तरिकाले भित्रने खतराप्रति सचेता गराउँदै त्यसमा सरकारले आवश्यक कदम चाल्नु पर्ने माग उनी समक्ष राखेको बुझिएको छ ।
शर्मा र उपाध्यायले राजीनामा दिएपछि कान्तिपुर र काठमाडौँ पोष्टमा उनीहरुका उत्तराधिकारी बारे व्यवस्थापनबाट कुनै संकेत नआएको पनि त्यहाँ कार्यरत पत्रकारहरुको भनाई छ । कान्तिपुरका हाल सम्पादक हरिबहादुर थापा र काठमाडौँ पोष्टका सम्पादकलाई समेत प्रधान सम्पादकको राजीनामापछि कुनै विशेष जिम्मेवारी नतोकिएको पनि पत्रकारहरुले बताए ।
अनौपचारिक रुपमा अध्यक्ष सिरोहियाले पत्रकारहरुसँग मंगलबार रजनीश ऋषीको नियुक्ति सञ्चार गृहको आर्थिक अवस्था सुधारको उद्देश्यले मात्र गरिएको र सम्पादकीय स्वतन्त्रतामा त्यसले प्रतिकुल असर नपार्ने स्पष्टिकरण दिएर आस्वस्त पार्न खोजेका थिए ।
https://deshsanchar.com/2018/07/11/74797/