Best Online News From Nepal

कंग्रेस महाधिवेशनः मनोनयन दर्तापछि बन्दसत्र

बिहिबारदेखि शुरु भएको नेपाली कांग्रेसको महाधिवेशनमा भावी नेतृत्वको निम्ति शुक्रबार मध्यान्हसम्म उम्मेदवारी दर्ताको समयसीमा सकिएपछि बन्दसत्र शुरु हुने नेताहरुले बताएका छन्।

बन्दसत्रमा कार्यवाहक सभापति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम र महामन्त्रीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

त्यसपछि ती प्रतिवेदनहरुमाथि छलफल शुरु गर्ने तालिका छ।

कांग्रेसको तीन मुख्य पदाधिकारी र केन्द्रीय सदस्य गरी कुल ६५ पदका निम्ति उम्मेदवारी दर्ता गराउने समय शुक्रबार मध्यान्ह सकिनेछ।

दाबी विरोध

त्यसपछि दाबी विरोध लगायतका प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुली भन्छन्, “शुक्रबार बिहान ७ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता गर्ने समय राखिएको छ, त्यही अनुसार सबैले मनोनयन दर्ता गरिरहेका छन्, शनिबार ११ बजेपछि अन्तिम नामावली प्रकाशित गर्नेछौँ र २३ गते बिहान ८ बजेपछि साँझ ४ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुनेछ।”

मनोनयन दर्ता सकिएपछि शुरु हुने बन्दसत्रमा तीन हजारभन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन्।

कार्यक्रम

प्रतिवेदनहरुमाथि सहभागीले लिखित रुपमा आ-आफ्ना धारणा राख्न सक्ने बताइएको छ।

महाधिवेशनका आयोजक समितिका एक सदस्य नवीन्द्रराज जोशीले भने, “महाधिवेशन प्रतिनिधिहरु आ-आफ्ना क्षेत्रका वा समग्रमा देशका प्रतिनिधिका नाताले उहाँहरुले अधिवेशनलाई के कसरी सोच्नु भएको छ र के चाहना राख्नु भएको छ भन्ने कुरा महत्वपूर्ण विषय हो, त्यसैले ती सबै विचारहरुलाई परिष्कृत गरेर नीति तथा कार्यक्रम जनसामु आउँछ भन्ने आशा गरौँ।”

तीनवटा छुट्टाछुट्टै प्यानल घोषणा भइसकेकाले यो महाधिवेशन पनि विगतका जस्तै नीति तथा कार्यक्रममाभन्दा चुनावी प्रतिस्पर्धा र नेतृत्व चयनमा केन्द्रित हुने ठानिएको छ।

Source: BBC

Leave a Reply

Your email address will not be published. Required fields are marked *