पुँजीगत लाभकर तिर्नु नपर्ने अडानमा रहेको एनसेलले कर तिर्ने संकेत देखाएको छ । सम्बद्ध स्रोतका अनुसार कर उन्मुक्ति दिलाउने जिम्मा लिएका पदाधिकारीले नै उन्मुक्ति दिने अवस्था नरहेको भनेर ‘हात उठाएपछि’ एनसेलको नयाँ व्यवस्थापन कर तिर्न नरम देखिएको हो ।
ठूला करदाता कार्यालयले लाभमा तिर्नुपर्ने २५ प्रतिशतमध्ये १५ प्रतिशत अग्रिम करकट्टी दाखिला गर्न दिएको समय आइतबार सकिँदैछ ।
बुधबार काठमाडौं आएका एक्जिएटाका प्रेसिडेन्ट तथा सीईओ जमालुद्दिन इब्राहिमले उच्चपदस्थ पदाधिकारीसँग भेटेर यसबारे सल्लाह गरेका थिए । कर उन्मुक्ति दिने अवस्था नरहेको बुझेपछि उनले कर दाखिला गर्न थप समय माग गरेका थिए । एभरेस्ट बैंकमा रहेको एनसेलको खातामा शुक्रबार करिब ९ अर्ब रुपैयाँ विभिन्न स्रोतबाट दाखिला भएको स्रोतले जानकारी दियो । ठूलो रकम बैंकमा जममा भएको छ, त्यो रकम एनसेलले कर तिर्न वा अर्को कुनै प्रयोजनलाई जम्मा गरेको हो, त्यो अहिले नै थाहा हुने कुरा भएन बैंक स्रोतले जानकारी दिएको समाचार अन्नपूर्ण पोष्टमा छ ।