सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताएका छन् ।
नेपाल टेलिकमले सबै स्थान र सबै नेपालीको पहुँच पुग्ने गरी सेवा विस्तार गरेको तथा यसै वर्ष मात्रै ७ सय ३८ वटा टावर थप्न मन्त्रालयले निर्देशन दिइसकेको पनि बताए।
उनले मापदण्ड अनुसार पत्रकारिता क्षेत्रभन्दा बाहिरका संस्थालाई लोक कल्याणकारी विज्ञापन अन्तरगत कुनै अनुदान नदिएको स्पष्ट पारे।
श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र न्यूनतम पारिश्रमिक लागू गराउन समिति नै गठन भएको भन्दै त्यसको सफल कार्यान्वयनका लागि ठूला मिडियालाई घचघचाउने काम भइरहेको बताए।
नेपाली सञ्चारमाध्यमका प्रसारित हुने विज्ञापनमा नेपाली नै हुनुपर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर रहेको भन्दै क्लिन फिडको व्यवस्था लागू भएपछि विस्तारै समाधान हुने बताए।
उनले सरकारले २ करोड पत्रकार वृत्तिकोषका लागि छुट्याएको र सो कोष सञ्चालनका लागि कार्यविधि र निर्देशिका पनि मन्त्रालयले तयार गरिसकेको जानकारी गराए।
सञ्चार मन्त्रालय अन्तरगत विनियोजित बजेटबारे २१ जना सांसदहरूले प्रश्न उठाएका थिए ।