
पेरुको उत्तर तटीय क्षेत्रमा १ सय ४० जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । चिहानमा ५ देखि १४ वर्ष उमेरसमूहका बालबालिका रहेको पुरातत्वविद्हरुले दाबी गरेका छन् ।
भेटिएको चिहान ५ सय ५० वर्ष पुरानो रहेको बताइएको छ । तत्कालिन चिमु सभ्यताको मध्यक्षेत्र तथा अहिलेको ट्रुजिलो शहरनजिकै फेला परेको सो सामुहिक चिहान मानव इतिहासमै सबैभन्दा ठुलो चिहान भएको पुरातत्वविद्हरु जनाएका छन् ।
बालबालिकाको सामूहिक चिहानसँग पेरुमा पाइने लामा नामक २ सय वटा जनावरको समेत चिहान भेटिएको बीबीसीले उल्लेख गरेको छ । ती जनावरहरु समेत १८ महिनाभन्दा कम उमेरका रहेको बताइएको छ ।
सो क्षेत्रमा यसअघि सन् २०११ मा गरिएको ३ हजार ५ सय वर्ष पुरानो मन्दिरको उत्खनन्का क्रममा ४० जना मानिस र ७४ वटा जनावरको सामूहिक चिहान फेला परेको थियो ।