Best Online News From Nepal

एक थोपा रगतको लागि छटपटाउँदै बाजुराका महिला

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला स्वास्थ्य कार्यालयको आकस्मिक कक्षमा प्रसूति हुन नसकेर बोकेर ल्याइएका दुई महिला छट्पटाइरहेका छन् । जिल्लाको पूर्वोत्तर जगन्नाथ गाविस–३ की २२ वर्षीया वसन्ती विष्ट चार दिनदेखि प्रसव पीडामा छट्पटाइरहनु भएको छ । उहाँलाई गाउँको स्वास्थ्य चौकीमा प्रसूति गराउन ल्याइएको र त्यहाँ उपचार हुन नसकेपछि आफन्तले बोकेर कोल्टीमा रहेको प्राथमिक स्वास्थ्यचौकीमा पु¥याइयो, त्यहाँ पनि उपचार हुन नसकेको र तीन दिनसम्म कोल्टी विमानस्थलमा जहाज नआएका कारण सदरमुकाम ल्याइएको कुरा उहाँका देवर रामबहादुर विष्टले बताउनुभयो । “कोल्टीमा जहाज आएन, जिल्लामा ल्याएका हौँ, यहाँ पनि रगत नपाएर समस्या भएको छ । घरका चारै जना यहाँ आएका छौँ । भाउजु बाँच्ने हो कि मर्ने हो थाहा छैन । उहाँको शरीरमा हेमोग्लोबिनको मात्रा ०.२ मात्र रहेको छ,” उहाँले बताउनुभयो ।

विष्टको साल निस्के पनि बच्चा ननिस्केका कारण रक्तस्राव भएको हो । त्यसपछि शरीरमा रगतको कमी भएको छ । आकस्मिक प्रसूति सेवा दिनका लागि समस्या भएको कुरा जिल्ला स्वास्थ्य कार्यालय, बाजुराकी सि. अनमी ललिता थापाले बताउनुभयो । थापाले भन्नुभयो– “विष्टलाई ‘ओ’ पोजिटिभ रगत चाहिएको हुनाले कम्तीमा ६ पिन्ट रगत चाहिएको छ । ” एक पिन्ट रगत उपचारमा संलग्न डाक्टर राजन न्यौपानेले दिनुभयो भने थप रगत हालसम्म पाइएको छैन ।

त्यस्तै, रगत नपाएकै कारण सात दिनदेखि बडीमालिका नगरपालिका–९ कि सारदा विकसमेत छट्पटाइरहनुभएको छ । उहाँको शरीरमा रगतको कमी भएको हुनाले प्रसव पीडा भएका कारण जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचारका लागि उहाँलाई ल्याइएको थियो ।‘रगत पाइएको छैन, रगत पाइयो भने शल्यक्रिया गरेर बच्चा निकाल्न मिल्दो रहेछ,’ उहाँका श्रीमान् सुर्जे विकले बताउनुभयो ।

जिल्लामा रगत सङ्कलन केन्द्र नभएपछि यहाँका नेपाली सेना, प्रहरी जवान र स्वास्थ्यकर्मी आफँैले रगत दिएर बिरामी बचाउने गरेका छन् । ‘नेपाल रेडक्रस सोसाइटी, बाजुराले ब्लड बैङ्क स्थापना गर्नुपर्ने हो तर केन्द्रबाट स्वीकृति नपाएका कारण समस्या भएको छ । सबैले सर्वदलीय बैठक बसालेर धेरै पटक पठाएका छौँ तर हालसम्म आएको छैन,’ नेपाल रेडक्रस शाखा बाजुराका मन्त्री रामबहादुर शाहीले बताउनुभयो ।

जिल्लामा रगत सङ्कलन केन्द्र छैन, रगत नपाएका कारण अधिकांश महिलाले अकालमा ज्यान गुमाउनु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *